पोखरा: गण्डकी प्रदेशकै जेठो संस्कृत माध्यमिक विद्यालय, पोखराको १२५ औं अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान समारोह एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ ।      समारेहको पोखरा महानगरपालिका ...

काठमाण्डाै:  नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वर्षकाे उत्कृष्ट प्रशिक्षककाे अवार्ड जितेका छन् ।   मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर अलमुताइरीलाई 'स्पाेर्ट्स अवार्ड–२०७८' अन्तर्गत वर्षकाे उत्कृष्ट प्रशिक्षककाे अवार्ड दिएकाे हाे ।   यस विधामा क्रिकेटका डेभ वाटमोर, भलिबलका जगदीश भट्ट, तेक्वान्दोका कविराज नेगी र बक्सिङका दीपक महर्जन मनोनयनमा थिए । बाँकी चार जना मनाेनीतलाई पछि पार्दै अलमुताइरीले अवार्ड जितेका हुन् ।    अलमुताइरीकै प्रशिक्षणमा नेपाल पहिलो पटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो । उनकै प्रशिक्षणमा नेपाल माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाएकाे थियाे । अलमुताइरीकै प्रशिक्षणमा नेपालले अफ्रिकी देश मोरिसससँग खेलेका दुई वटा मैत्रीपूर्ण खेल पनि जितेको थियो ।

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका छन् । सोलुखोला दुधकोशी जलविद्युत परियोजना उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले हाइड्रोजनको प्रयोग गुणात्मक रुपले वृद्धि हुँदै गएको र आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका हुन् ।   प्रचण्डले भने,‘ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजनतिर जाने यो उत्कृष्ठ अवसर हो । डीजेल र पेट्रोलको गाडी होइन, हाइड्रोजन गाडी चढ्ने सुझाव आएको छ । त्यसका लागि पनि मैले तयारी गरेको छु ।’ नेपाल ग्रीन इनर्जीको प्रचुर सम्भावना रहेको देश भएको बताए ।   उनले भने,‘प्रकृतिले हामीलाई धेरै चिज दिएको छ । म हाइड्रोजन गाडी तयारीमा छु । हाइड्रोजनको प्रयोग गुणात्मक रुपले वृद्धि हुँदैछ । हाइड्रोजनलाई आर्थिक उत्पादनसँग जोड्न जरुरी छ । अर्थतन्त्र संकट समाधानमा सरकार गम्भीर भएर लागेको छ । ’  

पोखरा:  जिल्ला ट्राफिक कार्यालय कास्कीले होली पर्वको दिन हिजो (शुक्रबार) ट्राफिक नियम उल्लघन गर्ने ३ सय बढी सवारीसाधनलाई कारबाही गरेको जनाएको छ ।  पोखराको सिर्जनाचोक, चिप्लेढुङ्गा, लेकसाइड र हेम्जामा होली मनाउने क्रममा ट्राफिक नियम उल्लघंन गर्ने ३ सय ५६ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको हो ।    होलीको दिनमा कुनै अप्रिय दुर्घटना हुन नदिन ट्राफिक कार्यालयले १७ ठाउँ बढीमा सवारी चेकिङ गरेको थियो ।  कारबाहीमा पनर्मो मोटरसाइकल, स्कुटर, कार र जिप छन् । सवारी चालक अनुमति पत्र नभई गाडी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सिट क्षमताभन्दा बढि यात्रु राख्ने, तिव्र गतिमा सवारी चलाउने, हेल्मेट नलगाई मोटरसाइकल/स्कुटर कुदाउँने लगायत सवारी कारबाहीमा परेका छन् ।  जसमध्ये सबैभन्दा बढी मोटरसाइकल र स्कुटर कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । ‘ट्राफिक नियम उल्लघंन गरी कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर छन,’ पाठकले भने, ‘धेरैले मादक पदार्थ सेवन गरेको, हेल्मेट नलगाएको, क्षमता भन्दा बढी सवार भएर यात्रा गरेको कारण बढी कारबाहीमा परेका छन् ।’ पाठकका अनुसार २०२ जना मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, १५४ जना हेल्मेट नलगाउने र क्षमता भन्दा बढी सवार गर्ने कारबाहीमा परेको छन् । भने ११९ जना पक्राउ परेका छन् ।  यसैबीच, हिजो मात्रै पोखरामा ८ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा परी एक जना गम्भिर घाइते भएका छन् ।  घाइतेको हाल मणिपाल अस्पातालमा उपचार भईरहेको पाठकले बताए ।   

काठमाडौं: नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सङ्क्रमणकालीन न्यायको मान्यता अनुरुप यो सत्य निरुपण मेलमिलाप आयोगमार्फत  समाधान गर्ने विषय भएको बताउनुभएको छ ।   मङ्गलबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले अहिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा जे जस्ता बहस उठेको र छलफल चलिरहेको सन्दर्भमा यसको क्षेत्राधिकार भनेको सङ्क्रमणकालीन न्यायको मान्यता अनुसार सत्य निरुपण मेलमिलाप आयोगमार्फत समाधान गर्नुपर्ने बताउनुभएको हो ।   महासचिव गुरुङले भन्नुभयो, “अहिले सङ्क्रमणकालीन न्याय  सम्बन्धितको विषयमा जे जस्ता बहस उठिरहेका छन्, छलफल चलिरहेका छन् । यसको क्षेत्राधिकार भनेको सङ्क्रमणकालीन न्यायको मान्यता अनुसार सत्य निरुपण मेलमिलाप आयोगमार्फत नै समाधान गर्ने विषय हो । यो विषायन्तर कसैले पनि गर्नुहुँदैन र क्षेत्राधिकारको अन्तर पनि कसैले पनि गरिनुहुँदैन ।”   उहाँले यस विषयमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ सहित माओवादीका अन्य घटक दलहरुसँग पनि छलफल भएको बताउनुभयो । “साथ साथै माओवादी आन्दोलनको सन्दर्भमा दीर्घकालीन रुपमा कसरी जान सकिन्छ भन्ने विषय पनि थियो । मुख्यतः दुइवटा विषयसँग बढी नै सम्बन्धित थियो”, मङ्गलबार बिहान बालुवाटार बैठकमा पनि यी दुई मुख्य विषयमा छलफल भएको उहाँको भनाइ छ ।   राज्यको प्रचलित कानुन अनुसार पनि सङ्क्रमणकालीन न्याय बृहत् शान्ति सम्झौता अन्तर्गत केन्द्रित गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको प्रचलित कानुनले, राज्यको बृहत् शान्ति सम्झौता र प्रचलित कानुनले चाहिँ सत्य निरुपण मेलमिलाप आयोग अथवा सङ्क्रमणकालीन न्यायको सिद्धान्त र मान्यताअन्तर्गत केन्द्रित गरेको छ । यस कारणले गर्दा ती निकायमा छिटोभन्दा छिटो संयन्त्र परिपूर्ति गरेर त्यसमार्फत नै सबै समस्या सम्बन्धित प्रक्रियाका बाँकी समस्या छिटोभन्दा छिटो हल गरिनुपर्छ ।”

ताप्लेजुङ:  आफू जन्मे–हुर्केको गाउँको माया सबैलाई हुन्छ । त्यही भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ । जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन् । गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको, हुर्किएको गाउँमा फर्किएकाहरूले प्रष्टै झल्काउँछन् । “आफू जन्मे–हुर्केको ठाउँको माया सबैलाई लाग्छ, मलाई पनि त्यो मायाले तानेर बेला–बेलामा जन्मेहुर्केको आफ्नो गाउँमा ल्याउँछ”, गृहजिल्ला ताप्लेजुङ आउनुभएका डा सन्दुक रुइतले भने ।    जन्मगाउँ ओलाङ्चुङगोला प्रस्थान गर्नुअघि फक्ताङलुङ गाउँपालिकाको तापेथोकमा आयोजित आँखा शिविरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जन्मभूमिप्रति आफ्नो छुट्टै दायित्वसमेत रहेको बताए । सानो छँदै मनभरि गाउँको माया र सम्झनाको भारी बोकेर उज्यालो भविष्यका लागि गाउँ छाडेका डा रुइत जिम्मेवारी र दायित्वका भारी बोकेर यतिबेला गृहजिल्ला आइपुगेका हुन् । आँखारोग विशेषज्ञ भएपछि विभिन्न समयमा यहाँ आउनुभएका डा रुइत हालै विश्व प्रतिष्ठित ‘इशा अवार्ड’ प्राप्त गरेपछि पहिलोपटक सोमबार आफ्नो जन्मथलो ओलाङचुङगोलामा पुगेका छन् । उनी लेलेपको इलाडाँडाबाट पैदल हिँडेरै आफ्नो गाउँमा पुगेका हुन् ।   हजारौँको आँखामा ज्योति दिएका डा रुइतलाई राज्यको नजर आफ्नो जिल्लाको भिरपाखा, दूरदराजका गाउँमा नपुग्दा भने दुःख लागेको छ । सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले भने, “सुदूरपूर्वी यस क्षेत्रका नागरिकलाई धेरै दुःख छ, यो ठाउँमा राज्यको पनि आँखा पुगेको छैन, विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, तमोर काबेलीजस्ता नदीनाला, प्रसिद्ध तीर्थस्थल पाथीभरा, करिब चार सय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा रहेको यो जिल्ला जैविक विविधताले भरिपूर्ण छ, यसको प्रवद्र्धन हुनुपर्छ, नागरिकको जीवनस्तर उकास्नुपर्छ ।”   यहाँका नागरिकमा उसबेला देखिएको कठिनाइ आज पनि झण्डै उस्तै देखिएको भन्दै उनीहरूको जीवनस्तरलाई कसरी उकास्न सकिन्छ भन्ने आफूलाई चिन्ता भएको उनले भनाइ थियो । हरेक हिसाबले सम्भावना बोकेको जिल्ला भएकाले यहाँको विकास र समृद्धिका लागि सबै जना मिलेर अघि बढ्नुपर्ने आवश्यकतामा उनले जोड दिए । ओलाङचुङगोलाप्रति मात्रै नभई समग्र जिल्लाप्रति नै आफ्नो केही दायित्व भएकाले भित्रैबाट केही गरौँ–गरौँ लाग्ने उनले भनाइ थियो ।   यस्तै संसारभरका पर्यटकको मुख्य आकर्षण र गन्तव्यका रूपमा यस जिल्लालाई चिनाउने र विकसित गर्ने आफ्नो इच्छा रहेको समेत बताए । यसले यहाँको आर्थिक गतिविधि बढ्नुका साथै नागरिकहरू गुणस्तरीय स्वास्थ्य, शिक्षाको पहुँचमा पुग्ने र आत्मनिर्भर हुने बाटो खुल्ने उनले भनाइ छ । यसका लागि पर्यटन र अन्तरदेशीय व्यापार प्रवद्र्धनका लागि मुख्यरूपमा तमोर करिडोरको चाँडो निर्माण सम्पन्न हुनुपर्ने उनले प्रष्ट पारे । यस सडक संरचना छिटो सम्पन्न भएमा टिपताला नाका हुँदै आयात–निर्यात हुने र यसले यहाँका जनतालाई फाइदा पुग्ने उनले बताए । तमोर करिडोर ओलाङचुङगोलासँग जोडिन करिब तीन किलोमिटर बाँकी रहेको छ । उता टिपतालाबाट ओलाङचुङगोला बस्ती तीन वर्षअघि नै सडक सञ्जालले जोडिएको छ ।    कुनै समय उत्तरी चीनसँगका विभिन्न नाकाहरूलाई तिब्बतसँग जोडिएको टिपताला नाकाले लिड गर्ने गरेको तर हाल बन्द अवस्थामा रहेको सुनाउँदै उनले यसलाई खोल्न सरकारले कूटनीतिकरूपमा पहल गर्नुपर्ने बताए । निर्माणाधीन तमोर करिडोरले छिमेकी मुलुक चीन र भारतलाई सबैभन्दा छोटो मार्गबाट जोड्ने भएकाले सडक पूर्वाधारको निर्माण चाँडो सम्पन्न गरेर टिपताला नाका सञ्चालनमा ल्याउन आवश्यक भएको बताए । छिमेकी मुलुक चीनसँग व्यापारिक सम्बन्ध राखेर मुलुक र जनताको आर्थिक समृद्धिका लागि सरकारले कूटनीतिक पहलकदमी चाल्नुपर्ने उनले भनाइ छ ।    टिपताला नाका हाल बन्द रहेको छ । कोभिड सङ्क्रमणकालमा चीनले बन्द गराएको नाका हालसम्म नखुल्दा सीमावर्ती क्षेत्रका नागरिकलाई समस्या छ । झण्डै तीन वर्षदेखि नाका बन्द रहँदा टिपताला नाका हुँदै आयात–निर्यात पनि ठप्प छ । सीमावर्ती गाउँ ओलाङ्चुङगोला, घुन्सा, याङ्माका बासिन्दाले तिब्बतबाट खाद्यान्नलगायतका सामान आयात गर्ने गर्थे भने यहाँ उत्पादित गलैँचा, घ्यू, छुर्पी र जडीबुटी निर्यात गर्थे ।    सपनाझैँ लाग्छन् गाउँघरका पहाड र विगत   सात वर्षको हुँदा उनका बुवाले डा सन्दुकलाई पढाउन १५ दिन लगाएर दार्जिलिङ पुर्‍याएका । उनलाई त्यो बेला लेलेप, तापेथोक, मित्लुङ, ताप्लेजुङ बजार, पाँचथर हुँदै दार्जिलिङ जाँदाको क्षण अलिअलि याद छ । बाटोमा हिँड्दै गर्दा उनका बुवाले माथि–माथिका डाँडा हेर्दै विभिन्न नाम लिएर देखाएका गाउँ सम्झिँदा मनमनै सपनामा बसेका ठाउँहरूजस्तो लाग्ने उनले सुनाए ।   आँखा शिविरमा आँखा जाँच गराउन तापेथोकमा आएकाहरूलाई घर गाउँ सोधीसोधी जाँच गरिरहेको देखिन्थ्यो । “आँखा उपचारमा आएकाले आफ्नो गाउँको नाम सुनाउँदा सानैमा आफ्ना बुवाले सुनाएको गाउँको नाम याद आयो, पहिले ती ठाउँहरू विकट थिए, मुस्किलले हिँड्नपथ्र्यो, अहिले केही ठाउँमा गाडी गुड्ने सडक पुगेको छ, कतिपय बिरामी मुस्किलले हिँडेर टाढा–टाढाबाट आउनुभएको पाएँ”, डा रुइतले भने ।   उसबेला गाउँमा जाने पैदल बाटो पनि त्यति सहज थिएन । गाउँमा बिजुली, टेलिफोन कुरै भएन । याक, चौँरीपालन, जडीबुटी सङ्कलन मुख्य पेसा थियो । गोलावासीले तिब्बतमा आफ्ना उत्पादन बेचेर नुन, तेल र खाद्यान्नलगायत अन्य सामान ल्याउने गर्थे । त्यो बेला यहाँका नागरिकको दुःख सम्झिँदा गाउँमा अझै पनि त्यति सहज र सुविधा नहोला भन्ने उनलाई लाग्ने गरेको छ । त्यसैले पनि आफू जहाँ पुगे पनि आफ्नो गाउँघर, आफन्त र यहाँका बासिन्दाको सम्झना उनलाई आइरहन्छ ।    गाउँका अग्ला पहाड र भिरपाखामा बसोबास गरिरहेका नागरिकको दुःखमा राज्यको नजर पुगोस् भन्ने उनलाई लाग्छ । अझै पनि यहाँका दूरदराजका गाउँका नागरिक गुणस्तरीय शिक्षा स्वास्थ्यको पहुँचमा छैनन् । राम्रो पठनपाठन, स्वास्थ्योपचारका लागि कम्तीमा सदरमुकाम फुङलिङसम्म नै आउनुपर्छ । ओलाङचुङगोला, याङ्मा, घुन्साजस्ता गाउँबाट दुई–तीन दिनको समय लगाएर सदरमुकाम आउनुपर्छ ।    डा रुइत जन्मे–हुर्केको गाउँ ओलाङचुङगोला पुग्न सदरमुकाम फुङलिङबाट अहिले दुई दिनको समय लाग्छ । यहाँबाट १५ दिनको समय लगाएर सात वर्षको उमेरमा पढाइका लागि दार्जिलिङ पुगेर शिक्षा आर्जन सुरु गर्नुभएका डा रुइतले विस्तारै आफूलाई चिकित्सा विज्ञानमा समर्पित गर्नुभयो । विभिन्न ठाउँमा अध्ययन र सेवासँगै पछिल्लोपटक अष्ट्रेलियामा रहेर एक वर्षको अध्ययनपछि नेपाल फर्किएर काठमाडौँमा आँखा चिकित्सालयको स्थापना गरे । उनी अहिले तिलगङ्गा आँखा प्रतिष्ठानको संस्थापक एवं नेत्ररोग विशेषज्ञका रूपमा विश्वभर परिचित छन् ।    उनलाई विश्वका गरिबहरूका लागि आँखाका देवताका रूपमा लिने गर्दछन् । उनले एक लाखभन्दा बढी मानिसको आँखाको ज्योति पुनःस्थापित गरेको बताइन्छ । विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत उनी पछिल्लोपटक प्रतिष्ठित इशा अवार्डबाट सम्मानित भएका छन् । झण्डै तीन दशकदेखि मानवताका लागि सेवा गरेवापत बहराइन सरकारका तर्फबाट राजा हमादबिन इसा अल खालिफाले सो पुरस्कार प्रदान गरेका थिए ।    यसैबीच सोमबार गाउँमा पुग्दा उनलाई आफ्नो भूगोल र समुदायको शिर उच्च राखेकामा खुसी व्यक्त गर्दै आफन्त तथा गाउँलेले भव्य स्वागत गरेका छन् । विश्वमाझ आफ्नो छुट्टै पहिचान बनाउनुभएका डा रुइतलाई लामो समयपछि जन्मेको गाउँमा पुग्दा जति खुसी र उत्साह थियो उति नै आफन्तलाई पनि । उनलाई स्वागत गर्न गाउँभरका आफन्त एकै ठाउँमा जम्मा भएका थिए ।    तिलगङ्गा आँखा प्रतिष्ठान र फक्ताङ्लुङ गाउँपालिकाको आयोजनामा फक्ताङ्लुङ गाउँपालिकामा सञ्चालित शिविर सम्पन्नपछि उनी आफ्नो गाउँमा पुगेका हुन् । शिविरमा उनले आफ्ना गाउँठाउँका ७० जना मोतियाबिन्दुको समस्यामा परेका बिरामीको शल्यक्रिया गरेका छन् ।    गाउँमा फर्किएर ज्योति दिएकामा उनीप्रति गाउँलेले खुसी व्यक्त गरे । यस्तै शिविरमा दुई हजार चार सय बढीले आँखाको जाँच तथा उपचार सेवा लिएका थिए । चार जनाको भने जटिल समस्या देखिएकाले तिलगङ्गा आँखा अस्पतालमा उपचारका लागि सिफारिस गरिएको बताइएको छ । बिरामीलाई शल्यक्रिया गरिने स्थान तापेथोकसम्म आउन–जान गाडीको व्यवस्था गाउँपालिकाले मिलाएको थियो ।    आफ्नै गाउँठाउँमा जन्मे–हुर्केको छोराकै हातबाट उपचार गर्न पाउँदा स्थानीयवासी हर्षित देखिन्छन् । दूरदराजका गाउँमा निःशुल्क नेत्र शिविर सञ्चालन हुँदा यहाँका धेरै नागरिकले आँखा देख्न पाउँदा नयाँ जीवन पाएको बताएका छन् । 

काठमाडौं:  आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालमा हुने अन्तिम त्रिकोणात्मक शृंखला खेल्न आउने यूएईको टोली घोषणा भएको छ ।   एमिरेट्स क्रिकेट बोर्डले मंगलबार मुहम्मद वासिमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यूएईमा सोमबार सकिएको लिग टु कै शृंखलामा नेपाल विरुद्धको खेलबाट कप्तानी डेब्यु गरेका वासिमले नै कप्तानमा निरन्तरता पाएका छन् । उनले सीपी रिजवानलाई रिप्लेस गरेका हुन्   घरेलु मैदानमा खेलेको शृंखलामा रहेका ३ खेलाडी परिवर्तन भएका छन् । आलिसा शाराफु, राहुल भाटिया र सबिर अलीको स्थानमा अश्वन्त भल्थापा, आर्यंश शर्मा र जावर परिद टिममा समावेश भएका छन् ।   आर्यंशले यू-१९ विश्वकप छनोट खेलेका थिए । नेपाल यूएई र पपुवा न्युगिनी सम्मिलित लिग टू को अन्तिम शृंखला बिहीबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।   असद भालाको कप्तानीमा यूएईमै खेलेको पपुवा न्यु गिनीको टोली नेपाल आउने छ ।

जनकपुरधाम:  मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले होलीले विभिन्न समुदायबीच सद्भाव र मेलमिलाप बढाउने बताएका छन् ।   होली पर्वको अवसरमा आज शुभकामना दिँदै उनले यस्ता पर्वले समुदायहरूलाई आ-आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन गर्न पनि अभिप्रेरित गर्ने बताए ।   बहुजातीय, बहुभाषीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले भरिएको सुन्दर देश नेपालको मुख्य पहिचान अनेकतामा एकता रहेको उल्लेख गर्दै उनले यहाँका हरेक जातजाति र धर्मावलम्बीहरूमा आ-आफ्नै सांकृतिक महत्व र मौलिक परम्परा रहेको बताए ।   असत्यमाथि सत्यको विजयका रूपमा मनाइने होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने, आपसी मेलमिलाप र सद्भावको यस पर्वले मधेस प्रदेश, देश र देश बाहिर रहेका सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् भन्ने कामनासमेत मुख्यमन्त्री यादवले व्यक्त गरे ।   ‘कुमतिको होलीका दहन होस् र यहाँहरूको जीवन रसरङ्गमय, प्रेममय होस् र खुसीयालीका साथै आपसी एकता र सद्भाव कायम रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु’, उनले भने ।

काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको छ । मुद्दाको फागुन २५ गतेलाई पेसी तोकिएका सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।  अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट हालेका थिए ।   २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा मात्र आफूले लिएर अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ ।   सर्वोच्च प्रसाशनले यसअघि दरपिठ (दर्ता नहुने) आदेश गरेको थियो । सो निर्णय विरुद्ध रिट निवेदकले पुनः सर्वोच्चमा निवेदन दिएका थिए । निवेदनमा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल लगायतका कानुन व्यवसायीले बहस गरेका थिए । सर्वोच्च प्रशासनको आदेशविरुद्धको निवेदनमा सुनुवाई गर्दै न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले निवेदन दर्ता गर्न आदेश गरेका हुन् ।     प्रचण्डको अभिव्यक्तिलाई लिएर सशस्त्र द्वन्दका पीडित पक्षले उनीमाथि कारबाहीको माग गरेर प्रहरी प्रधान कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग लगायतमा उजुरी दिएका थिए । तर, सो उजुरीउपर प्रक्रिया अघि नबढेको भन्दै उनीहरू सर्वोच्चमा पुगेका हुन् । सार्वजनिक रूपमा नै जिम्मेवारी लिएपछि प्रचण्डको अभिव्यक्ति छानबिनको माग गरिएको छ । 

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्त्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको बताउनुभएको छ।    मंगलबार बिहान काठमाडौंको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।       प्रधानमन्त्रीले भन्नुभयो, “आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ। जसले यसको महत्वलाई ठीक ढंगले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न सक्छ, जनआकांक्षा सम्बोधन गर्न सक्छ। यसर्थ, खेल क्षेत्र विविधतामा एकता, सुशासन, दीगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकोमा हामी सबै गौरव गर्नैपर्छ।”      प्रधानमन्त्रीले “खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएको, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका र आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएको” भन्दै खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेकोसमेत बताउनुभयो।   प्रधानमन्त्रीको सम्बोधन पूर्णपाठ ​ एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित यस १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपले एसियन एथलेटिक्समा नेपालको पहिचानलाई थप फराकिलो बनाउने विश्वाससहित सर्वप्रथम प्रतियोगिताको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु। ​ दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तीन पटक स्वर्ण पदक जित्ने क्रममा धावक बैकुण्ठ मानन्धरले साढे तीन दशकभन्दा अगाडि २ घन्टा १५ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै म्याराथुनमा राखेको कीर्तिमान अहिलेसम्म कायमै छ।    पछिल्लोपटक नेपालमा आयोजित १३ औं सागमा १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बन्नुले एथलेटिक्समा नेपालले प्राप्त गरेको सफलता प्रमाणित गर्दछ। यी सफलताहरूले नेपाली खेलाडीहरूको दक्षता र खुबीमात्रै प्रदर्शन भएको छैन, सिंगो राष्ट्रकै गौरव र प्रतिष्ठासमेत उच्च भएको छ।   त्यसबीचमा अन्य खेलाडीले पनि एथलेटिक्स खेलमार्फत आ–आफ्नो ठाउँबाट विशिष्ट योगदान गर्दै आउनुभएको छ। विश्व खेलकुदको महाकुम्भको रूपमा रहेको ओलम्पिकमा नेपालबाट सबैभन्दा बढी एथलेटिक्स खेलाडीकै सहभागिता रहनु हाम्रा लागि गर्वको विषय हो।    खेलकुद मात्र एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र ​मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन्। खेल कूटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन्।   कुनै समय खेलकुदलाई शारीरिक र मानसिक स्फूर्तिको माध्यमका रूपमा मात्र लिइन्थ्यो। तर, अहिले समय फेरिएको छ।    आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ। जसले यसको महत्वलाई ठीक ढंगले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न सक्छ, जनआकांक्षा सम्बोधन गर्न सक्छ। यसर्थ, खेल क्षेत्र विविधतामा एकता, सुशासन, दीगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकोमा हामी सबै गौरव गर्नैपर्छ। ​ खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो। नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध छ। त्यसका लागि खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्म स्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्ति विकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ। साथै एथलेटिक्सको विकासका निम्तिसमेत राज्यले उचित ध्यान दिनेछ।   दुई दशकभन्दा लामो समयपछि नेपाललाई एसियन क्रस कन्ट्री च्याम्पियनसिपको आयोजनाको अवसर दिने एसियन एथलेटिक्स एसोसिएसन परिवारलाई नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै आगामी दिनमा समेत नेपाल यहाँहरूको उच्च प्राथमिकतामा पर्नेछ भन्ने मैले विश्वास लिएको छु।     अन्त्यमा, यस प्रतियोगितालाई शानदाररूपमा सफल पार्न भूमिका खेल्ने सरकारी र गैरसरकारी क्षेत्रका सबै संस्था र प्रतिनिधिज्यूहरूप्रति विशेष आभार प्रकट गर्दछु। च्याम्पियनसीपमा भाग लिने नेपालसहित ११ देशका खेलाडीहरूमा प्रतियोगितामा राम्रो प्रस्तुतिको अपेक्षासहित शुभकामना व्यक्त गर्दछु।    यस प्रतियोगिताका आयोजक, व्यवस्थापक, सम्पूर्ण प्रयोजकहरू एवं सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारको तर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउँदै बिदा हुन्छु, धन्यवाद।