काठमाडौं: सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिएपछि आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाललाई जितका लागि पपुवा न्युगिनी (पीएनजी) ले ९६ रनको सहज लक्ष्य दिएको छ । त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पीएनजीले ३२ ओभरमा सबै विकेटको क्षतिमा ९५ रन मात्र बनायो । पीएनजीका लागि कप्तान असाद भालाले २० रन बनाउनुभयो । सेसे बाउले १८, चाल्स अमिनीले १६, हिरि हिरिले १४ र चाद सोपरले अविजित आठ रन बनाउनुभयो । पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिनुभयो । ललित राजवंशी र कुशल मल्लले दुई दुई तथा सोमपाल कामीले एक विकेट झर्नुभयो । नेपाल आजको खेलमा पनि लगातार जितको लय कायम राख्ने लक्ष्यमा छ । लिगको चौथो स्थानमा रहँदै एकदिवसीय मान्यता जोगाएको नेपाल बाँकी दुई खेल जित्दै शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ । तालिकाको अन्तिममा रहेको पीएनजी छनोटबाट बाहिरि सकेको छ । लिग-२ अन्तर्गत सिरिजकै अन्तिम खेल नेपालले चैत २ गते युएईसँग खेल्नेछ ।
नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । पर्वतबाट लगातार दोस्रोपटक चुनाव जितेका गिरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका करिब २ महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए । प्रचण्डले राष्ट्रपति चुनावमा गठबन्धन बदलेपछि एमाले सरकारबाट बाहिरिँदा गिरीले पनि राजीनामा दिएका थिए । ओलीले सांसद महेश बर्तौलालाई सचेतक चयन गरेका छन् । बर्तौला पहिलोपटक चुनाव जितेर संसदमा आएका हुन् । उनले मकवानपुरमा विरोध खतिवडालाई हराएका थिए । उनीहरू दुवै जना कुनै बेलासँगै अनेरास्ववियुको केन्द्रीय कमिटीमा थिए । प्रतिनिधिसभा निर्वाचन भएको ४ महिनापछि ओलीले दलको प्रमुख सचेतक र सचेतकमा युवा नेतालाई जिम्मा दिएका हुन् । गिरी विद्यार्थी राजनीतिमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका थिए । बर्तौला पनि विद्यार्थी राजनीतिमा हुँदा मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए । बर्तौला राष्ट्रपति र उपराष्ट्रपति चुनावमा एमाले उम्मेदवारका प्रतिनिधि हुन् । नेकपा विभाजनपश्चात प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा एमालेबाट प्रमुख सचेतकमा विशाल भट्टराई र सचेतक शान्ता चौधरी थिए । गत निर्वाचनमा भट्टराई र चौधरी दुवै पराजित भए ।
नयाँ दिल्ली : सन् २०२३ को ओस्कारमा भारतले दुईवटा अवार्ड पाएको छ । निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरको गीत ‘नाटु–नाटु’ ले ‘बेस्ट ओरिजिनल गीत’ विधामा ओस्कार अवार्ड जितेको हो । 'नाटु-नातु' ओस्कार जित्ने पहिलो भारतीय प्रोडक्सनले बनाएको गीत हो। गीत संगीतकार एमएम किरावाणीले अवार्ड जितेपछि एकेडेमी अवार्डलाई धन्यवाद दिँदै भने, ‘म सिकर्मीहरुको कुरा सुनेर हुर्केको मान्छेले आज ओस्कार जितेको छु ।' यसअघि भारतको ‘द एलिफन्ट व्हिस्पर्स’ ले उत्कृष्ट वृत्तचित्र सर्ट फिल्मको लागि ओस्कार अवार्ड जितेको थियो। ओस्कार अवार्डको स्टेजमा नाटु–नाटु गीत पनि प्रस्तुत गरिएको थियो, जसलाई दर्शकले निकै रुचाएका थिए ।
पोखरा: राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो छोरीको घरमा सर्ने भएकी छिन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै शीतलनिवास जाने तयारी छ । राष्ट्रपति भण्डारीका सचिवालयका अनुसार भण्डारीको घर बन्दै गरेकाले शीतलनिवासबाट केही समय छोरीको घरमा सर्ने तयारी गरेकी हुन् । भण्डारीका दुई छोरीहरु छन् । प्रथम राष्ट्रपति डा. रामवरण यादव झन्डै आठ वर्ष र राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो र तेस्रो कार्यकालका लागि सात वर्ष गरी १५ वर्ष राष्ट्र प्रमुखको दायित्वमा रहेकी थिइन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) पद तथा गोपनीयताको शपथग्रहण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपतिको कार्यभार समाल्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी हिजो (आइतबार) नै काठमाडौं पुगेका छन् । राष्ट्रपति भण्डारीलाई बिदाइ गर्ने भन्दै मुख्यमन्त्री अधिकारीलाई काठमाडौं निमन्त्रणा गरेको हो । नेकपा एमालेले भोलि उपराष्ट्रपतिको निर्वाचन केन्द्रित छलफल गर्ने भएकाले मुख्यमन्त्री अधिकारी काठमाडौं गएका हुन् ।
काठमाडौं: नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि दिउँसो १ बजे शीतल निवासमा विशेष समारोहको आयोजना गर्दैछ । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुहुने जनाइएको छ । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका आङ्गिकतर्फ आठ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । देशभरका क्याम्पसमा हिजो (फागुन २७ गते) उत्साहजनक रूपमा उम्मेदवारको मनोनयन भए पनि आठ आङ्गिक क्याम्पसमा भर्ना विवादले निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनबीच भर्नाका विषयमा विवाद भएको कारणले निर्वाचन प्रक्रिया रोकिएको जानकारी दिनुभयो। उहाँका अनुसार उपत्यकामा त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस र आयुर्वेद क्याम्पस तथा उपत्यकाबाहिर पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, सिद्धनाथ विज्ञान बहुमुखी क्याम्पस महेन्द्रनगर, धवलागिरि क्याम्पस बागलुङ र वीरेन्द्र क्याम्पस चितवनमा निर्वाचन प्रक्रिया अवरुद्ध भएका हुन् । उहाँले अवरुद्ध भएको क्याम्पसमा निर्वाचन प्रक्रिया थाल्न क्याम्पस प्रमुखलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । “हामी यसपटक सबै क्याम्पसमा निर्वाचन गराउने छौँ”, उहाँले भन्नुभयो, “रोकिएको क्याम्पसमा विद्यार्थी सङ्गठनसँग वार्ता गरेर प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छौँ ।” आरआर क्याम्पस, नेपाल कमर्श क्याम्पस, जनप्रशासन क्याम्पसमा रोकिएको निर्वाचन प्रक्रिया आजै सुरु गर्ने उहाँले जानकारी दिनुभयो । हिजो उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको हो । दुई क्याम्पसमा निर्विरोध खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले दुई क्याम्पसमा निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयो । उहाँका अनुसार गोरखा बहुमुखी क्याम्पस गोरखा र धनकुटा बहुमुखी क्याम्पस धनकुटामा स्ववियुको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । यसपटकको स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट हुँदैछ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता नियमित हुनसकेको छैन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो । आजै उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ ।
काठमाडौं: राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत महेश शर्मा पौडेलले आइतबार दिउँसो जारी गर्नुभएको विज्ञप्तिमा अष्टलक्ष्मी शाक्य (बोहोरा), प्रमिला कुमारी, ममता झा र रामसहाय प्रसाद यादव गरी चार जनाको अन्तिम नामावली प्रकाशन गरिएको छ। बुवा तीर्थबहादुर शाक्य र आमा कुल माया शाक्यकी सुपुत्री अष्टलक्ष्मी शाक्यको पति अमृत बोहोरा हुनुहुन्छ। काठमाडौं नागार्जुन नगरपालिका-३, पाँचधाराकी ६९ वर्षीय शाक्य महिला एवम् आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। उहाँ नेकपा (एमाले) को तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवार हुनुभएको हो। बुवा सत्यनारायण यादव र आमा मुनियाँ देवी यादवकी सुपुत्री प्रमिला कुमारीको पति विजेन्द्र कुमार राय हुनुहुन्छ। सुनसरीको कोशी गाउँपालिका - १, लौकही बजारकी ५५ वर्षीया यादव महिला एवम् मधेसी समुदायबाट उम्मेदवार हुनुभएको विज्ञप्तिमा जनाइएको छ। यसैगरी, बुवा प्रमादराय यादव र आमा सिहवा देवीको पुत्र रामसहाय यादवकी पत्नी चम्पा देवी यादव हुनुहुन्छ। बाराको सिम्रौनगढ नगरपालिका-९, बसवरियाका ५२ वर्षीया यादव पुरुष एवम् मधेसी समुदायबाट हुनुहुन्छ। जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहाय यादव उपराष्ट्रपति पदमा उम्मेदवार बन्नुभएको हो। बुवा जगदीश झा र आमा जयश्री झाकी सुपुत्री ममता झा महिला एवम् मधेसी समुदायबाट हुनुहुन्छ। सप्तरीको राजविराज नगरपालिका- ७ की ५४ वर्षीया झा जनमत पार्टीको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवार हुनुभएको हो। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ मा उपराष्ट्रपति पदमा फरक लिङ्ग वा समुदाय हुनुपर्ने व्यवस्था बमोजिम दलहरूले फागुन २७ गते शनिबार उम्मेदवारी मनोनयन गराएका थिए। उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुँदैछ।
पोखरा: उच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया तत्काल अगाडि नबढाउन आदेश दिएको छ । अदालतका न्यायाधीश ऋषि राजभण्डारी एकल इजालाशले चैत २ गतेसम्म निर्वाचन सम्बन्धी काम कारवाही अगाडि नबढाउनु भनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । ‘निवेदकले अन्तरिम आदेशसमेत जारी गरि पाउन निवेदनमा उठाइएको विषयवस्तुको संवेदनशीलता तर्फ दृष्टिगत गर्दा दुवै पक्षको कुरा सुनी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेशको छलफलका लागी मिति २०७९।१२।०२ को पेशी तारिख तोकी सो दिन अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीहरुलाई सकेसम्म छिटो माध्यमद्वारा जानकारी दिई उक्त छलफल हुने मिति २०७९।१२।०२ गते सम्मको लागि निर्वाचन सम्बन्धि काम कारवाही अगाडि नबढाउनु भनि अल्पकालिन अन्तरिम आदेश जारी गरिदिइएको छ,’ आदेशमा भनिएको छ । दर्ता गराएको नाम परिवर्तन भएको भन्दै ‘स्वतन्त्र विद्यार्थी समूह’ ले फागुन २६ गते क्याम्पसलाई विपक्षी बनाइ उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । विद्यार्थी समूहको तर्फबाट विप्लबी न्यौपानेले रिट दायर गरेकी थिइन् । फागुन १९ गते ‘स्वतन्त्र विद्यार्थी समूह’ नाम राखी निर्वाचन समितिमा नाम दर्ता गराएकोमा निर्वाचन समितिले उक्त समूहको नाम परिवर्तन गरेर ‘पृथ्वी विद्यार्थी मञ्च’ राखेर अन्तिम नामावली प्रशासन गरेको थियो । उक्त समूहले विरोध जनाउदै उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । यस्तै चुनाव गराउने जिम्मेवारी पाएको निर्वाचन समितिले शनिबार क्याम्पस प्रशासनसमक्ष निवेदन पेश गरी असहजता प्रकट गरेपछि अब निर्धारित समितिमा निर्वाचन नहुने भएको छ । त्रिविको तालिका अनुसार शनिबार उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको थियो । तर ३ दिन अघिदेखि नै केही विद्यार्थी संगठनले निर्वाचन समितिको कार्यालया तालाबन्दी गरेपछि स्थिति असहज बनेको थियो । विद्यार्थी संगठनहरुले गरेको तालाबन्दी खुलाउन गरेको अथक प्रयास सफल नभएपछि मनोनयन दर्ता हुन सकेन । यहीबीच समितिका पदाधिकारीले प्रत्यक्ष–अप्रत्यक्षरुपमा धाकधम्की र भौतिक आक्रमणको चेतावनी भएपछि क्याम्पस प्रमुखसमक्ष विषम परिस्थितिका कारण जिम्मेवारी पुरा गर्न असम्भव भएको भन्दै निवेदन दिएका थिए । समितिका सदस्य–सचिव रहेका बोधराज ढकालले केही विद्यार्थी संगठन तोडफोड र भौतिक आक्रमणमै उत्रन खोजेपछि प्रशासनसमक्ष निवेदन दिएर बाहिरिएको बताए । क्याम्पसको विद्यार्थी कल्याण प्रमुख रहेका ढकालले समितिले नियमसंगत गरेको कामप्रति आरोप लगाउने, तालाबन्दी गर्ने र आक्रमणकै धम्की दिएपछि स्थिति असहज बनेको प्रष्ट्याए । ‘समितिमा रहेका १३ सदस्य निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीमा खटेका थियौं’ ढकालले भने ‘अनवरत काम गरिरहँदा पनि समितिमाथि बाराम्बार थ्रेट आउने र तालाबन्दी गरी कामै गर्न नदिइएपछि सबै सदस्यको सहमतिमा निवेदन दिएका हौं ।’ समितिको शनिबारै बसेको पूर्ण बैठकबाट निर्णय गरी प्रशासनसमक्ष निवेदन दिइएको ढकालले जनाए । ‘दायित्व र जिम्मेवारी सबैको हो, समितिमात्रै खटेर सम्भव भएन’ उनले भने ।
पोखरा: नेपाल मगर विद्यार्थी संघको २८ औं स्थापना दिवसको अवसरमा पोखरा १७ छोरेपाटनस्थित मानवसेवा आश्रममा फलफुल वितरण गरिएको छ । २८ औं स्थापना दिवसको अवसरमा नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश, कास्की जिल्ला र पृथ्वीनारायण क्याम्पस समितिले सयुक्त रुपमा मानवसेवा आश्रममा फलफुल वितरण गर्दै स्थापना दिवस मनाएको हो । नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका अध्यक्ष डेक पुनमगरको संयोजकत्वमा आश्रममा फलफुल वितरण गर्दै दिवस मनाएको हो । मानवसेवा आश्रम छोरेपाटनमा ७० जना आश्रीत छन् ।

