पोखरा: गण्डकी प्रदेशकै जेठो संस्कृत माध्यमिक विद्यालय, पोखराको १२५ औं अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान समारोह एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ ।      समारेहको पोखरा महानगरपालिका ...

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चारमाध्यममा राम्रो कामका लागि उत्प्रेरित गर्ने प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्ने बताउनुभएको छ ।    विकृति र विसङ्गतिमाथि प्रहार गरेर गलत काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु नेपाली सञ्चारमाध्यमको सकारात्मक पक्ष भएको उल्लेख गर्दै उहाँले त्यसरी नै राम्रा कामका लागि प्रेरित गर्ने पाटो भने कमजोर भएकाले यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।    ‘नारी अनलाइन पत्रिका’ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राम्रो पक्षको उजागर गर्दा अवसर नपाएका क्षमतावानहरुले अवसर पाउने र समाजले गति लिने बताउनुभयो ।   विभिन्न आन्दोलन र युद्धको परिणामस्वरूप हरेक क्षेत्रमा महिलाको भूमिका बढ्दै गएको उल्लेख गर्दै उहाँले महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र होइन, एउटा समुदायकै विकासको रूपमा लिनुपर्ने बताउनुभयो ।    उहाँले पुरुष असफल हुँदा व्यक्ति असफल हुने र महिला असफल हुँदा महिला समुदाय नै असफल हुने भएकाले महिलालाई असफल हुने छुट नभएको र जुनसुकै क्षेत्रमा रहेका महिलाहरूले आफूलाई सफल बनाउनुको विकल्प नरहेको बताउनुभयो ।   समान जिम्मेवारी पाएका पुरुष र महिलाको आन्तरिक जिम्मेवारी फरक फरक हुने उल्लेख गर्दै माओवादी केन्द्रका स्थायी समिति समेत रहनुभएको मन्त्री शर्माले भन्नुभयो, ‘‘हिजो हामी जनयुद्धमा हुँदा पुरुषले बन्दुक मात्र बोके पुग्थ्यो तर महिलाले बन्दुक र बच्चा एकैसाथ बोक्नुपर्थ्यो, अहिले निकै माथिल्लो तहमा पुगेका महिलामा पनि सार्वजनिक र पारिवारिक जिम्मेवारी सँगसँगै बोकेको देखिन्छ ।’’   विभिन्न आन्दोलन र युद्धदेखि सदनभित्र संविधान र कानुन बनाउने बेलासम्म महिलाले बढी जिम्मेवारी बहन गर्दै आएको उल्लेख गर्दै उहाँले थप्नुभयो, ‘‘यसमा सञ्चारमाध्यममा बढी ध्यान दिनुपर्छ, महिलाको योगदानको यथोचित कदरसहित क्षमताअनुसार अवसर प्रदान गर्ने वातावरण बनाउन प्रेरणादायी कथाहरूको जतिसक्यो धेरै सार्वजनिकीकरण आवश्यक छ ।’’   अर्को एक प्रसङ्गमा अहिलेसम्म अनलाइन मिडियालाई कानुनले चिन्ने अवस्था नभएकाले चाँडै नै आम सञ्चार ऐनमार्फत अनलाइनलाई पनि कानुनले सम्बोधन गर्ने तयारी गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो । त्यसका लागि आम सञ्चारकै क्षेत्रका विज्ञहरूको समिति बनाएर काम थालिएको पनि उहाँले जानकारी दिनुभयो ।   नीति कार्यक्रम र बजेट समय भएकाले सूचना र सञ्चारमा महिलालाई कसरी जोड्न सकिन्छ सुझाव दिन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो । 

काठमाडौं:  निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा हुनुभएको छ ।   सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गर्नुभएको हो ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान राष्ट्रपति भण्डारीलाई आँखीझ्याल उपहार दिएर बिदाइ गर्नुभएको छ ।   भण्डारी शीतल निवासबाट निजी निवासमा जाँदै गर्दा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको छ ।   २०७४ साल फागुन २९ गते भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा बन्नुभएकी उहाँ २०७४ सालमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो ।

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।   सोमबार दिउँसो राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो ।   यही फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति बन्नुभएको हो ।   शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शपथग्रहण गरेलगत्तै शपथ पत्रमा हस्ताक्षर गर्नुभयो ।    त्यसपछि उहाँलाई नेपाली सेनाले राष्ट्रपति सलामी अर्पण गरेको थियो । राष्ट्रपति सलामी सैनिक मञ्च टुँडिखेलबाट गरिएको थियो ।    त्यसको लगत्तै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पौडेललाई बधाइ तथा सफलताको शुभकामना दिनुभयो । 

काठमाडौं: आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि सहज जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई नौ विकेटले हरायो ।    जितका लागि ९६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा एक विकेटको क्षतिमा एक सय रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।   नेपालका लागि ओपनर आशिफ शेखले अविजित ५३ रन बनाउनुभयो । कुशल भुर्तेलले ३३ र कुशल मल्लले अविजित १२ रन बनाउनुभयो । बलिङमा पीएनजीका चाद सोपरले एक विकेट लिनुभयो ।    यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको पीएनजीले ३२ ओभरमा सबै विकेटको क्षतिमा ९५ रन मात्र बनाएको थियो । पीएनजीका लागि कप्तान असाद भालाले २० रन बनाउनुभयो । सेसे बाउले १८, चाल्स अमिनीले १६, हिरि हिरिले १४ र चाद सोपरले अविजित आठ रन बनाउनुभयो ।    पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिनुभयो । सन्दीपले १० ओभर बलिङ गर्दै  २५ रन खर्चिएर पाँच विकेट लिनुभएको हो । उहाँ प्लेयर अफ दि म्याच हुनुभयो । यस्तै ललित राजवंशी र कुशल मल्लले दुई दुई तथा सोमपाल कामीले एक विकेट झार्नुभयो ।    यस सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो । नेपालले पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रन र दोस्रो खेलमा युएईलाई एक सय ७७ रनले हराएको थियो । जितसँगै चौथो स्थानमा रहेको नेपालले ३५ खेलबाट ३८ अङ्क बनाएको छ ।    समान खेलबाट ११ अङ्क बनाएको पीएनजी तालिकाको अन्तिममा छ । लगातार जितसँगै नेपाल विश्वकप छनोट खेलबाट अब एक खेलमात्र टाढा रहेको छ ।   नेपालले अब लिगकै अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराएमा आगमी जुन–जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ ।    यसअघि आइतबार युएईलाई हराएर लिगको चौथो स्थानमा रहँदै एकदिवसीय मान्यता जोगाएको नेपाललाई लिगको तेस्रो स्थानमा रहन अब पुनः युएईलाई हराउनु पर्ने बाध्यता छ । नेपालले सिरिजको अन्तिम खेल चैत २ गते युएईसँग खेल्नेछ । ३४ खेलबाट ३१ अङ्क बनाएको युएई छैटौँ स्थानमा छ ।    सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ । नेपालको लगातार जितले नामिबियालाई थप झस्काएको छ ।    ३५ अङ्क बनाएको अमेरिका पाँचौँ स्थानमा झरेको छ ।आइतबार नेपालले युएईलाई हराएपछि अमेरिका पाँचौँ स्थानमा झरेको हो । लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले सिधै एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् ।  

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संघीय शिक्षा ऐन ल्याउने तयारीमा रहेको बताएका छन् । शिक्षा क्षेत्रमा देखिएका सबै समस्याहरूलाई समाधान  गर्ने गरी शिक्षा ऐन ल्याउने तयारी भइरहेको प्रधानमन्त्री प्रचण्डले बताएका हुन‍। त्यसका लागि आवश्यक गृहकार्य भइरहेको उनको दावी छ।    पद्मोदय विद्यालयको ७७ औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री प्रचण्डले भने,'संघीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रमा देखिएका समस्या प्याकेजमै समधान गर्न सरकार प्रतिवद्ध रहेको छ ।' त्यसका लागि गृहकार्य भइरहेको छ।'   प्रधानमन्त्री प्रचण्डले  शैक्षिक गुरुयोजना बनाइ सरकारी शैक्षिक संस्थाको गुणस्तर बढाउने बताए ।   शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी,आधुनिक विज्ञान, प्रविधि र व्यवसायी बनाउन पाठ्यक्रममा गुणात्मक सुधार ल्याउनु आवश्यक रहेको उनको भनाइ  छ।   उनले भने,'शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी,आधुनिक विज्ञान प्रविधि र व्यवसायी बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरुप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक छ।'   प्रधानमन्त्री प्रचण्डले  प्राविधिक शिक्षालाई जोड दिँदै विश्वबजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार पार्न विज्ञान गणित र इन्जिनिरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य बनाउनुपर्नेमा जोड दिए।    उनले उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन पनि उत्तिकै आवश्यक रहेको बताउँदै यसका लागि नीतिगत,कानुनी,संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग र सहकार्य पनि त्यत्तिकै आवश्यक हुने बताए।   सरकारी र नीजि क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारी शैक्षिक क्षेत्रको गुणस्तर बढाउन शैक्षिक गुरूयोजना निर्माण  गरी कार्यान्वयन ल्याउनुपर्ने दायित्व भएको बताए।

आगामी चैत ३ गते हुने उपराष्ट्रपति चुनावका लागि उम्मेदवार दिएकी जसपा सांसद प्रमिला कुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।   गठबन्धनका तर्फबाट साझा उम्मेदवार जसपा, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी हुन्।   यादव राजनीतिक, आर्थिक र सामाजिक-सांस्कृतिक रुपले समाजको अग्रगामी रुपान्तरण र परिवर्तनको संघर्ष सँगै शोषण, उत्पीडन, असमानता र विभेदका विरुद्ध जनआन्दोलन, ऐतिहासिक मधेश जनबिद्रोह लगायत लोकतन्त्र बहालिका लागि पटक-पटक भएका बिभिन्न आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनले आफू पछि हटेको बताइन्।   ‘मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक संधै समर्पित रहने सालीन स्वभावका, सादा जीवन, निष्कलंक एवम् स्वच्छ छवी र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता माननीय रामसहाय प्रसाद यादव, उप-राष्ट्रपति जस्तो गरिमामय पदका लागि सबै भन्दा उपयुक्त, योग्य र सक्षम उम्मेदवार हुनुहुन्छ’, उनले भनिन्, ‘प्राविधिक रुपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भएता पनि प्रतिवद्धताका साथ म वहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु।’   उनले विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘अब उपरान्त म उप-राष्ट्रपति पदको लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहनु भएका माननीय रामसहाय प्रसाद यादवलाई आफ्नो अमूल्य मत दिई विजयी गराउनु हुन सम्पूर्ण माननीय सांसद एवम् माननीय प्रदेश सभा सदस्यज्यूहरुसँग हार्दिक अपिल गर्दछु ।’

काठमाडौँ:  उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादव आफ्नो लागि मत माग्नका लागि प्रधानमन्त्री प्रचण्डकहाँ जान लागेका छन् ।   जसपाका कार्यकारिणी सदस्य समेत रहेका उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै बिहान नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेर मत मागिसकेका छन् ।   ‘प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आजै समय दिनुभएको छ उहाँसँग मत माग्नका लागि जान लागेको छु,’ उम्मेदवार यादवले भने ।   अन्य दलसँग पनि समय लिन लागेको बताउँदै उनले सम्भवतः आजै दलका नेता तथा सांसदसँग भेट्ने बताए । आफू गठबन्धनको साझा रहेको बताउँदै सम्पूर्ण दल आफूलाई सहयोग गर्ने उनले बताए । 

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन्। सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको बताए।  उनले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए। 'सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ,'अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन,'उनले भने।   रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उनले बताए । आफ्नो दलको  राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको सभापति  लामिछानेले उल्लेख गरे। सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उनको भनाइ छ।   आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी सुरु गरेको उनले जानकारी दिए।

काठमाडौं : सुनको मूल्य बढ्ने क्रम जारी छ। अघिल्लो कारोबार दिन आइतबार १ हजार ७०० रुपैयाँले बढेको सुन सोमबार तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो।   आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० पुगेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।   सोमबार चाँदीको मूल्य समेत बढेको छ। आज चाँदी तोलामा १० रूपैयाँले बढ्‍दा प्रतितोला १ हजार २५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।   आइतबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेर  १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो।