काठमाडौं: बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज छापावल सुनको मूल्य एक लाख ६ हजार ७ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख ६ हजार २ सय रुपैयाँ छ भने चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम भएको छ । बुधबार छापावल सुन एक लाख ५ हजार ७ सय र चाँदी १३ सय रुपैयाँमा खरिद विक्री भएको थियो ।
तनहुँ: तनहुँमा डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । यसवर्ष वनमा आगलागीका घटना नभइसकेपनि सचेतना अपनाउन आवश्यक रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताए । “आगलागीको मौसम सुरु भइसकेको छ, जिल्लामा अहिलेसम्म आगलागीका घटना नभइसके पनि जोखिम रहेकाले सचेत हुनुपर्छ,” उनले भने । वन डढेलो हामी सबैको साझा चुनौती भएकाले सबै मिलेर यसको सामना गर्नुपर्नेमा उनको भनाइ छ । वन डढेलो लागेको देखेमा निभाउने कार्य गरी जिम्मेवारी नागरिकको भूमिका खेल्न वन कार्यालयले आग्रह गरेको छ । वन डढेलोले कम्तीमा दश प्रतिशत तापक्रम बढाउने बताइएको छ । वनमा डढेलो लगाउने कार्य गम्भीर अपराध मानी फौजदारी कसुरमा राखिएको छ । कार्यालयले जिल्लाका आठवटै सव डिभिजनलाई वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गर्न परिपत्र गरेको छ । सप्ताहव्यापी रुपमा वन कार्यालयको कार्यक्षेत्रमा रहेका सामुदायिक वन समूहसँग समन्वय गरी चेतनामूलक कार्यक्रम र सडक किनारमा रहेका सामुदायिक वनको पात पतिङ्गर सरसफाइ गरी नियन्त्रित आगो लगायतका अन्य वन डढेलो नियन्त्रणका कार्यक्रम सञ्चालन गरिनेछ । डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ । डढेलोको जोखिम कम गर्न कार्यालयले सचेतनामूलक कार्यक्रमलाई पनि सँगसँगै अगाडि बढाएको छ । वन डढेलो नियन्त्रण वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले सरोकारवालाको पनि यसमा उत्तिकै भूमिका आवश्यक रहेको काफ्लेले बताए । ‘डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घ लगायतलाई आग्रह गरेका छौँ’ उनले भने, ‘सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ । वनजङ्गलमा डढेलो लगाउनेलाई कानुनी कारबाही हुने भएकाले त्यसबारेमा सर्वसाधारणलाई सचेत गराउन जरुरी रहेका कार्यालय काफ्लेले बताउनुभयो । वन ऐन २०७३ बमोजिम डढेलो लगाउनेलई तीन वर्षसम्म कैद र रु ६० हजारसम्म जरिवाना हुने व्यवस्था छ । जिल्लाको ८२ हजार पाँच सय ४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका दश स्थानीय तहमा ६ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन, ६ धार्मिक वन रहेका छन् ।
काठमाडौं : नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले चौथो विकेट गुमाएको छ। आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले चौथो विकेट लिएका हुन्। २७ औं ओभरको पहिलो बलमा आर्यन आफजाल खानलाई ३ रनमै दीपेन्द्रसिंह ऐरीले आउट गराएका हुन्। खानलाई ऐरीको बलमा गुल्सन झाले क्याचआउट गरे। २३ औं ओभरमा ऐरीकै बलमा भीम सार्की र आसिफ शेखले यूएईका अनुभवी ब्याटर तथा पूर्व कप्तान सीपी रिजवानलाई सात रनमा रन आउट गरे। यसअघि अर्धशतक बनाएका यूएईका कप्तान मुहम्मद वासिम अर्धशतक बनाएर पभिलियन फर्केका थिए। यूएईका त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालका यूएईका लागि ओपनिङमा आएका वासिमले ४३ बलमा दुई चौका र पाँच छक्कासहित ५० रन पूरा गरेका थिए। दोस्रो विकेटका वृत्या अरविन्दसँग लागि ९२ रनको साझेदारी गर्दै वासिम ४९ बलमा ६३ रन जोडेर पेभेलियन फर्के। नेपालका लागि १७औं ओभर बलिङ गरेका सन्दीप लामिछानेले वासिमलाई एलबीडब्लूको शिकार बनाएका हुन्। यो विकेटसँगै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान नजिक पुगेका छन्। अब एक विकेट लिए सन्दीपले अफगानिस्ताका रसिद खानको ४४ खेलको कीर्तिमान तोड्ने छन्। सन्दीपको यो ४१औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो। नेपालका लागि ललित राजवंशीले एक विकेट लिएका छन्। यूएईका लागि यूएईका वृत्या अरविन्द ३७ रन बनाएर खेलिरहेका छन्। आयान खानले पनि क्रिजमा उत्रिएर एक रन जोडेका छन्। नेपालका लागि ओपनिङ बलिङ गरेका ललित पहिलो ओभरमा विकेट लिन सफल भएका थिएनन्। तर, तेस्रो ओभरमा फेरि फर्किएका ललितले यूएईका ओपनर आर्याना लाक्रालाई ६ रनमा पेभेलियन फर्काएका थिए। यूएईले २४.५ ओभर सकिँदा तीन विकेट गुमाएर एक सय २५ रन बनाएको छ। आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।
पोखरा: पोखराको लेकसाइडमा रहेको टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले सञ्चालनको १२ औं वर्ष पुरा गरेको छ । टिपिकल पश्चिमी नेपालको ढाँचा झल्किने डिजाइनमा बनेको रिसोर्ट स्विमीङ पुल, हेल्थ क्लव, स्पा, सेमिनार हल, रेष्टुरेण्ट, बार तथा सुन्दर बगैंचाले सजिएको छ । विभिन्न अन्र्तराष्ट्रिय सोसल मिडिया तथा साइटहरुले यो रिसोर्टलाई उत्कृष्ट रिसोर्टको सूचीमा राखेको छ । त्यस्तै, बुकिङ डट कमले पनि यो रिसोर्टलाई वर्षेनी उत्कृष्ट स्टार प्रदान गर्दै आएको छ । १३ आंै वर्ष प्रवेशका अवसरमा रिसोर्ट सञ्चालकहरुविच शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । रिसोर्ट सञ्चालन समितिमा बसन्त गौतम अध्यक्ष, चन्दन कायस्थ प्रवन्ध निर्देशक तथा निर्देशकहरुमा मोनिका ज्यान्तीले, रञ्जन कायस्थ, प्रेम श्रेष्ठ र विमल नहर्की रहनुभएको छ । रिसोर्टमा हाल सय बढी कर्मचारीहरु कार्यरत छन् । यसै अवसरमा रिसोर्टले कर्मचारीहरुमा उत्प्रेरणा जगाउन भेटघाट तथा छलफल एवं समिक्षात्मक कार्यक्रम पनि गरेको छ ।
पोखरा: कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता शुरु भएको छ । रेवान पोखराका पूर्वाध्यक्ष गोपीबहादुर भट्टराईले टुर्नामेण्ट डाइरेक्टर शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६–७, ६–० र सुपरटाईमा १०–२ ले पराजित गरे । प्रतिस्प्रधात्मक खेलमा पहिलो सेट हारेका भण्डारीले खेलमा कमब्याक गर्र्दै दोश्रो र तेस्रो सेट आफ्नों पक्षमा परेका हुन् । अर्को खेलमा आयोजक संघका उपाध्यक्ष समेत रहेका नविन चालिसेले अक्क्ष थापालाई ६–२, ६–० को सेटमा पराजित गरे । त्यस्तै अन्य खेलहरुमा कर्ण तामाङले पदम गुरुङ्ग (लेकसाइड) लाई ६–२, ६–१ ले, पदम गुरुङ्ग (नदीपुर) ले बीरेन्द्र लामालाई ६–४, ५–७ र सुपरटाईमा १०–३ ले, विकाश गुरुङ्ग (हङकङ) ले इन्द्र गुरुङ्ग (चाउथे) लाई ६–०, ६–१ ले तथा लक्ष्मण तामाङ्गले अमृत कार्कीलाई ७–६, ६–३ ले पराजित गरे । बुधबारनै भएको खेलमा विनोद कायस्थले के.वि.तामाङलाई ६–२, ६–० ले, अनुज कुमार बाँस्तोलाले दुर्गा सुनारलाई ६–१, ६–० ले विकास गुरुङ्गले शरण गुरुङ्गलाई ६–१, ६–४ ले उज्वल तज्याले सिरोज कोइरालालाई ६–३, ६–१ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए । यसअघि नवप्रवेशीतर्फको फाइनलमा दुर्गा सुनारले सिरोज कोइरालाई ६–२, ६–२को सेटमा पराजित गर्दै विजेता बनेका थिए । प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्गले कास्कीमा टेनिस गतिविधीलाई चलायमान बनाउन तथा नयाँ खेलाडीहरुलाई टेनिस तर्फ आकर्षित गर्न प्रतियोगिता महत्वपूर्ण रहेको बताए । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखरामा खेल पर्यटन विकासका लागि रेवानले वर्षेनी यो प्रतियोगिता गर्दै आएको जनाए । आगामी ५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा सिंगलतर्फ ३२ र डबल्सतर्फ १६ टिमले भाग लिएका छन् । प्रतियोगितामा विजयी हुने खेलाडीले नगद १० हजार सहित ट्रफि तथा द्वितिय हुने खेलाडीले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको छ। राप्रपाका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता मोहन श्रेष्ठले बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने र तटस्थ बस्ने निर्णय गरेको जानकारी दिनुभयो। यसैगरी, राप्रपा बैठकले किसानले रासायनिक मलमा पाउदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदुरदर्शी एवम् अनुचित भएको औंल्याएको छ। यो निर्णय तत्काल फिर्ता लिइ सुलभ ढंगले समयमै मलको आपूर्ति व्यवस्थापन एवम् दीर्घकालीन समस्याको समाधान गर्न रासायनिक मल कारखाना स्थापना गर्नुपर्नेमा जोड दिएको छ। राप्रपाले बैंकमा ब्याज बढ्न थालेकाले यसको साना उद्योगी, व्यवसायी र किसान लगायत सम्पूर्ण आर्थिक क्षेत्रमा ठूलो र नकरात्मक असर परेको जनाएको छ। यस विषयमा आन्दोलनरत व्यवसायीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग पनि गरेको छ। राप्रपाले पार्टीको सिद्धान्त राजसंस्था भएकोले फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा पनि मतदानमा सहभागी भएको थिएन।
नुवाकोट: गोसाईकुण्ड गाउँपालिका १ थुमनबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ । थुमन गाउँकी ३१ वर्षीया पासाङ घलेको हेलिकप्टरबाट उद्धार गरी काठमाडौंस्थित थापाथली प्रसुतीगृह अस्पताल पठाइएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरले उद्धार गरी थापाथली प्रसुतीगृह अस्पताल लगिएको गोसाईकुण्ड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताउनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७५–७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएकोअस्पतालमा लगी गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका जनप्रतिनिधिहरु, जिल्ला स्वास्थ्य कार्यालय रसुवाको पहलमा सुत्केरी महिलाको उद्धार भएको गोसाईकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङले बताउनुभयो । दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारका लागि कार्यविधि २०७५ कात्तिक ३० को मन्त्रीस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको हो ।
काठमाडौं : सरकारले रसायनिक मलमा दिइदै आएको अनुदान कटौती गरेपछि चौतर्फी विरोध सुरू भएको छ। आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । अनुदान कटौती गर्ने सरकारको निर्णय किसानको हितमा नभएको भन्दै उनीहरूले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले हाम्रो खुसी अन्न र उपज,हाम्रो उत्पादनमा मलको सहज,खेत त जोगियो,मल बिउ कहा छ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले तत्काल सरकारले अनुदान कटौतीको निर्णय फिर्ता दिनुपर्ने माग गरेका छन् । चेकजाच नगरि भारतीय तरकारी भित्राएर किसानको उत्पादनलाई महत्व नदिने,रसायनिक मलको अनुदान कटौती गरेर स्वदेशी उत्पादनको मूल्यबृद्धि गर्ने काम तत्काल रोकिनुपर्ने राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीले बताए। उनीहरुले अहिले सांकेतिक बिरोधमात्रै भएकाले सरकारको निर्णय फिर्ता नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । यसअघि सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसँगै रासायनिक मल बढ्ने देखिएको छ ।
पाल्पा: जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एक महिला घाइते भएका छन् । बुधबार बिहान बराङ्दीका ज्योतिनाथ घिमिरेको घरमा खाना पकाउने एलपी ग्यास पड्किँदा पम्फा घिमिरे घाइते हुनुभएको हो । खाना पकाउने क्रममा सिलिण्डर एक्कसी पड्किएर नजिकै रहनुभएका पम्फा घाइते हुनुभएको स्थानीय बासिन्दा दयाराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ । सिण्डिर पड्किँदा घरमा समेत क्षति पुगेको छ । स्थानीय बासिन्दाको सहयोगमा घरमा आगलागी हुनबाट भने जोगिएको छ ।

