पोखरा: गण्डकी प्रदेशकै जेठो संस्कृत माध्यमिक विद्यालय, पोखराको १२५ औं अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान समारोह एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ ।      समारेहको पोखरा महानगरपालिका ...

काठमाडौं : उपराष्ट्रपति निर्वाचनमा शुक्रबार दिउँसो २ बजेसम्म ८०१ मत खसेको छ। संघतर्फ २९१ र प्रदेशतर्फ ५१० गरी कूल ८०१  मत खसेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।   उपराष्ट्रपतिको निर्वाचन दिउँसो ३ बजेसम्म हुनेछ। मतदानलगत्तै मतगणना सुरू हुने र साँझ ६ बजेभित्र निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।   उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य,जसपाका यादव र जनमत पार्टीको ममता झा चुनावी मैदानमा छन्।   निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् ।

काठमाडौं: नेपाल सरकारले विसं २०८० को वैशाख १ देखि चैत मसान्तसम्म (एक वर्षभरिमा) सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवम् सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ ।   मन्त्रिपरिषद्को निर्णयानुसार गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरी बिदा तथा कार्यालय समय निर्धारण गरेको हो । मन्त्रालयले नववर्ष, उभौली, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, दशैं (कात्तिक ४ देखि ९ सम्म), तिहार (कात्तिक २६ देखि ३० सम्म), छठ, क्रिसमस, उधौली, तमु ल्होसार, माघी, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, दुवै इद (इद उल फित्र र इद उल अजहा), महाशिवरात्रि र फागुपर्वमा मुलुकभरि सार्वजनिक बिदा हुने उल्लेख गरेको छ ।   यस्,तै सम्बन्धित धर्म, संस्कृति भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र हुने गरी भदौ ७ गते गौरा पर्व, भदौ १४ गते गाईजात्रा र सिरुवा पावनी पर्वका लागि बिदा निर्धारण गरिएको छ । असोज १ गते तीज (सबै महिला) र असोज २० गते (जितिया पर्व मनाउने महिला) कर्मचारीका लागि मात्रै बिदा तोकिएको छ । शिक्षण संस्थाका लागि फागुन २ गते वसन्तपञ्चमीका दिन र काठमाडौं उपत्यकामा भदौ १४ गते गाईजात्रा, असोज ११ गते इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन र चैत २६ गते घोडेजात्राका लागि बिदा दिइएको राजपत्रमा उल्लेख गरिएको छ ।   दिवस बिदाअन्तर्गत विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवसका दिन सबै कर्मचारीका लागि सार्वजनिक बिदा दिइएको छ । साथै अपाङ्गता भएका कर्मचारीका लागि मङ्सिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा बिदा तोकिएको छ । यस्तै, बुद्ध जयन्ती, पृथ्वी जयन्ती, फाल्गुनानन्द, मोमम्द, गुरु नानक जयन्तीका दिन सम्बन्धित धर्मावलम्बीहरूका लागि बिदा दिने निर्णय भएको छ ।   राष्ट्रियरूपमा मनाइने तर कार्यालय खोल्ने बिदा   मन्त्रालयले राष्ट्रियरूपमा मनाइने तर कार्यालय खुला रहने बिदासमेत तोकेको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस जेठ ११ गते मनाइने छ । भदौ २२ गते निजामती सेवा दिवस र माघ १६ गते सहिद दिवस मनाइने राजपत्रमा उल्लेख छ । जारी सूचनामा विदेशस्थित नेपाली नियोगहरूले सम्बन्धित मुलुकका लागि सार्वजनिक बिदालाई दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन र समायोजन गर्न सक्ने जनाइएको छ ।   सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था   मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थासमेत गरेको छ । जसअनुसार उभौली पर्व–चण्डी पूर्णिमा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, उधौली पर्व, योमरी पुन्हि– ज्यापू दिवस (धान्य पूर्णिमा), तमू ल्होसार, माघी पर्व/माघे सङ्क्रान्ति, सोनम ल्होसार, महाशिवरात्रि,  ग्याल्पो ल्होसार, इद (इद उल फित्र), बकर इद (इद उल अजहा), गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा, गणतन्त्र दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा सार्वजनिक बिदा भए पनि तोकिएका सेवा प्रवाह गर्न सम्बन्धित मन्त्रालय वा निकायले आवश्यक प्रबन्ध मिलाउनुपर्ने छ । जन्मयजन्ती बिदाअन्तर्गत बुद्ध जयन्ती र पृथ्वी जयन्तीमा समेत सेवा प्रवाह गर्नुपर्ने छ ।   उल्लेखित बिदाका दिनमा नागरिकता, राहदानी, कन्सुलर, भन्सार तथा राजस्वसम्बन्धी सेवा (राजस्व अनुसन्धानसमेत), क्वारेन्टिनसम्बन्धी, सवारी अनुमतिपत्र, सवारीसाधन दर्ता तथा नवीकरणलगायत यातायात व्यवस्थापनसम्बन्धी सेवा, उद्योग, वाणिज्य र कम्पनी प्रशासनसम्बन्धी, वैदेशिक रोजगार सेवा, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी सेवा, मालपोत तथा नापी, स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवाहरू दिने व्यवस्था मिलाउनुपर्ने छ ।   यस्तै भेटेरेनरी, खानेपानी, विद्युत्, सडक तथा ढल मर्मतसम्भारसम्बन्धी सेवा, खाद्य, गुणस्तर परीक्षण, विभिन्न निकाय तथा शिक्षण संस्थाबाट सञ्चालन हुने परीक्षा, वैदेशिक अध्ययन अनुमतिसम्बन्धी सेवा, नेपाल प्रहरीबाट प्रदान गरिने चारित्रिक प्रमाणपत्रसम्बन्धी सेवा पनि नियमित गर्नुपर्ने छ । साथै सम्बन्धित मन्त्रालय वा निकायले तोकेका सार्वजनिक सेवासँग सम्बन्धित अन्य सेवा, प्रदेश सरकार र स्थानीय तहले तोकेका सार्वजनिक सेवा प्रवाहसम्बन्धी अन्य सेवा र  बैंकिङ तथा बीमासम्बन्धी कारोबार पनि जारी राख्नुपर्ने राजपत्रमा उल्लेख छ ।   सधैँ खुला राख्नुपर्ने सेवाहरू   राजपत्रमा उल्लेख भएअनुसार अस्पताल दूरसञ्चार, अध्यागमन, फोहरमैला व्यवस्थापन, फायरव्रिगेट, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक, शान्ति सुरक्षा, विपद् व्यवस्थापन आदि जस्ता रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले सार्वजनिक बिदाका दिन दैनिक काम नरोकिने गरी सेवा प्रवाह गर्नुपर्ने छ । त्यसरी खटिने कर्मचारीले खटिएवापत सट्टा बिदा पाउने छन् ।   कार्यालय हाजिर हुने र छुट्ने समय   देशभरका सबै सरकारी कार्यालयमा आगामी वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि तोकिएको छ । यस्तै, कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म कार्यालय समय रहने उल्लेख छ । शुक्रबार १० देखि ३ बजेसम्म सेवा प्रवाह गर्नुपर्ने छ । यसका साथै तोकिएका सार्वजनिक बिदाका अतिरिक्त प्रदेश सरकारले प्रदेशको धर्म, संस्कृति रीतिरिवाजसमेतलाई दृष्टिगत गरी घोषणा गरेका बढीमा छ दिनसम्मका लागि सार्वजनिक बिदा गर्न सक्नेछ । यसरी गरिएको बिदाबारे जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा जानकारी गराउनुपर्ने छ । 

 काठमाडौं:  नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालय घेराउ गर्दै ज्ञापन पत्र बुझाउन गएका सेयर लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   नेपाल धितोपत्र बोर्डसँग यस अघि भएका सहमतिअनुसार नेप्सेले गर्नु पर्ने कार्य गर्न माग गर्दै नेप्से कार्यालय घेर्न पुगेका लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।   सेयर लगानीकर्ता तीलक कोइराला, अर्जुनकुमार कोइराला र नयन बास्तोलालाई प्रहरीले पक्रउ गरेको हो । पक्राउ परेका तीनै जनालाई अहिले सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।   तिलक कोइरालाले सामाजिक सञ्चालमार्फत नेप्से कार्यालय घेर्न उपस्थित हुन आह्वान गर्दै आएका थिए । शुक्रबार नेप्से परिसरमा होलाल्ला गर्दै पुगेपछि ३ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजवालले बताए ।   उनिहरुलाई नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखिएको उनले बताए ।

काठमाडौं:  चैत ५ गते हुने स्ववियु निर्वाचनमा त्रिवि केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ ।   त्रिवि स्ववियु निर्वाचन अधिकृत डा.अमृत कुमार श्रेष्ठले आइतबार हुने स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग हुने जानकारी दिए ।   निर्वाचनमा प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फको उम्मेद्‌वार रहेका छन् । त्रिवि स्ववियु निर्वाचनका अनुसार केन्द्रीय क्याम्पमा ३ हजार ४०२ जना मतदाता विद्यार्थी रहेका छन् ।   २१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्यहरु निर्वाचित हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट प्रधानमन्त्री प्रचण्डले मतदान गर्नुभएको हो ।   यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ ।   उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत मध्याह्न १२ बजेसम्म ६१० मत खसेको छ । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले संघतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको जानकारी दिनुभयो ।   उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार हुनुहुन्छ ।   अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता हुनुहुन्छ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ  ।

ढल्केबर: धनुषाको मिथिला नगरपालिका–९, बडहरीका २५ वर्षीय युवा शङ्कर महतोमाथि शुक्रवार बिहान छुरा प्रहार भएको छ । छुरा प्रहारबाट महतो गम्भीर घाइते भएका छन् ।    उनको उपचार धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा भइरहेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक कविन राईले छुरा प्रहार घटनाको पुष्टि गर्नुहुँदै अनुसन्धानको क्रममा तीन जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो ।    उहाँले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

पोखरा:    जिल्ला समन्वय समिति कास्कीले प्रमुख लिलाधर पौडेलको नेतृत्वमा बिहीबार  गण्डकी प्रदेश  सरकारको एक निर्बाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत काहुखोला (सिक्लेस) दूध पोखरी  सडकको १० कि मि निर्माणाधिन पहिलो सडक खण्डको अनुगमनको गरेको छ। अनुगमनका क्रममा प्रमुख पौडेलले  कास्कीका कुनै पनि बिकास निर्माणका योजनामा गुणस्तर लगायतका बिषयमा जन गुनासो नआउने गरि काम समयमै सम्पन्न गर्ने सरोकारवाला निकाय लाई आग्रह गर्नु भयो । केन्द्र  सरकार , प्रदेश सरकार र स्थानिय सरकारबिच समन्वय र सहकार्य अति आबश्यक भएको भन्दै पौडेलले निर्माण कम्पनीले कुनै लापरबाही गरेको भेटिएमा तुरुन्तै खबर गर्न स्थानीय उपभोक्तालाई आग्रह गरे। बिकासका आयोजनामा जुनसुकै बेला पनि अनुगमन हुन सक्ने र कमि कमजोरी भेटिएमा तत्काल कारबाही हुने तर्फ निर्माण कम्पनी लगायत सरोकारवालाहरूलाइ ध्यानाकर्षण गराएका थिए। अनुगमनमा जि स स कास्कीका उपप्रमुख सरिता माल ,सदस्य राजु अधिकारी ,स्थानिय जनप्रतिनिधि , प्रदेस तथा स्थानिय तह सहित प्राबिधिक र संचारकर्मीहरूको सहभागिता रहेको कास्कीका निमित्त जिल्ला समन्वय अधिकारी एबम सूचना अधिकारी  झबिश्वर  रेग्मीले जानकारी दिए।

काठमाडौं: आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ ।   नेपालले युएईलाई डिएल मेथोडमा ९  रनले हराउँदै विश्वकपमा छनोट भएको हो । 

काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ३२ अङ्कले ओरालो लागेर एक हजार नौ सय ३३ दशमलब ३१ मा सीमित  भएको छ ।   ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य  दशमलब ५१ अङ्कले ओरालो लागेर  तीन सय ६४ दशमलब ७८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्यमा भने ओरालो लागेको छ ।   विभिन्न कम्पनीका कूल ३४ लाख दुई हजार दुई सय ६७ कित्ता शेयर रू एक अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारपछि बजार  पुँजीकरण रू २७ खर्ब ९३ अर्ब ४१ करोड ८७ लाख ६२ हजार दुई सय ७८ पुगेको छ ।   कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रू चार करोड ९४ लाख ९२ हजार छ सय १९ बराबरको कारोबार भयो । नविल बैंक रू तीन करोड ९६ लाख ८३ हजार सात सय ३१, हिमालयन डिस्टिलरी रू तीन करोड ८३ लाख दुई हजार पाँच सय ८५, नेपाल लाइफ इन्स्योरेन्स रू तीन करोड ३० लाख तीन हजार आठ सय ६१ र सिद्धार्थ बैंकको संस्थापक शेयर रू दुई करोड ५६ लाख बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।   नेप्सेका अनुसार युनिक नेपाल लघुवित्त, शुभम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिवर्टी इनर्जी चार दशमलव ९८,किसान लघुवित्त चार दशमलब ९३ र विन नेपाल लघुवित्तका लगानीकर्ताले चार दशमलब २५ प्रतिशतले शेयर मूल्य बढेको छ ।   त्यस्तै, लक्ष्मी लघुवित्त पाँच दशमलव ७६, नयाँ सारथी लघुवित्त चार दशमलब ८०,प्रभु लाइफ इन्स्योरेन्स चार दशमलब ७४, ग्रीन डेभलपमेन्ट बैंक चार दशमलब ६८ र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले चार दशमलव २० प्रतिशतले शेयर मूल्य बढेको छ ।