काठमाडौँ: झापा र पर्साबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्रामसहित ईलाम चुलाचुली गाउँपालिका–४ बस्ने २७ वर्षीय सुरेश लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । पर्साको कालिकामाई गाउँपालिका–१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेशप्रसाद कुर्मीलाई अवैध लागुऔषध चरेश जस्तो देखिने वस्तु करिब १० केजीसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
काठमाडौं : छापावाल सुनको मूल्य १ लाख ९ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार २ सयमा कारोबार भएको सुन आज प्रतितोला २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय कायम भएको छ। यसको मूल्य अघिल्लो दिन १ लाख ८ हजार ७ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३६० मा आएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
काठमाडौँ: काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरिएको छ । संविधान र कानुन विपरीत सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर शाहविरुद्ध सोमबार काठमाडौँको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रदर्शन गरिएको हो । आफूहरूलाई उठिबास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए । उनले संविधान, कानुन विपरीत भूमिहीनहरूलाई जग्गाधनी पुर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौँ महानगरपालिका र मेयर साहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए । विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःशर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो ।
काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको आज अन्तिम सुनुवाई हुँदैछ। मुद्दाको पेशी जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासको चौथो नम्बरमा मुद्दाको पेशी तोकिएको छ। यसअघि गत कार्त्तिक १८ गते घिमिरेको इजलासले सन्दीपलाई मुद्दामा पुर्पक्षाका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर, पछि पाटन अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो। जबरजस्ती करणी मुद्दामा सन्दीप दोषि हुन् वा निर्दोष ? भन्ने विषयमा काठमाडौं जिल्ला अदालतले आज टुंगो लगाउने छ। सोमबार सरकारी वकिल र पीडितको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने तयारी छ। पीडित पक्षका कानुन व्यवसायी पछि सन्दीपको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने जनाइएको छ। यसअघि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान अनुमति दिएको थियो। सर्वोच्चको आदेश लगत्तै उनी दुबईमा क्रिकेट खेलेर फर्किएका थिए।
काठमाडौं : नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भएका छन्। सोमबार बढुवा समितिको बैठकले चार जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरका अनुसार सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवा गर्न सिफारिस गरिएको हो। एआइजीमा पहिलो नम्बरमा भण्डारी रहेका छन्। आइजिपी कुँवरले आइतबार दर्ज्यानी चिन्ह लगाएका थिए।
पोखरा: वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका समीर कार्की विजय भएका छन् । कार्कीले निकटतम प्रतिस्पर्धी नेविसंघका मुबारक अलि गद्दीलाई पराजित गरे । कार्कीले २ सय ९५ मत ल्याउँदा नेविसंघका अलिगद्दीले १ सय ४७ मत ल्याए । कुल ४८० मतदातामा ४ सय ३४ मत खसेको निर्वाचन मण्डलले जनाएको छ । आइतबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानल नै विजयी भएको छ । अनेरास्ववियुलाई सभापति, कोषाध्यक्ष, ३ सदस्य र अखिल ९क्रान्तिकारी० लाई सचिव र दुई सदस्यको भागबन्डा गरी संयुक्त प्यानल सहित चुनाव लडेका थिए । सचिवमा क्रान्तिकारीका धिराजन परियार विजयी भएका छन् । उनले २ सय ७७ मत ल्याए । सदस्यमै अनेरास्ववियुका महादेव सिंह, अनिशा आचार्य, गरिमा गुरुङ निर्वाचित भएका छन्। सदस्यमा क्रान्तिकारीका लोकराज थापा र दीपा कार्की विजयी भए । चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकिए पनि स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दीका कारण निर्वाचन हुन सकेको थिएन ।
बलेवा: बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा आजदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु हुँदैछ । समितिका अध्यक्ष कुमार खड्काले परम्परागत रुपमा चल्दै आएको मेलालाई व्यवस्थित बनाउन मेला आयोजना गरिएको बताउनुभयो । मेलाका लागि खेल तथा सांस्कृतिक कार्यक्रम जोडिएको उहाँले जानकारी दिनुभयो । मेलाको सबै तयारी पूरा भएको छ । मेलालाई व्यवस्थित बनाउन खड्काको संयोजकत्वमा मूल समिति गठन भएको छ भने अन्य उपसमिति पनि गठन गरिएको छ । रामबहादुर खड्काको संयोजकत्वमा आर्थिक संयोजन समिति, अर्जुन खड्काको संयोजकत्वमा कालीका कप खुला पुरुष भबिलल प्रतियोगिता, भरत खड्काको संयोजकत्वमा लोक तथा दोहोरी गीत प्रतियोगिता सञ्चालन हुनेछ । त्यस्तै, पारस खड्काको संयोजकत्वमा छेलो प्रतियोगिता, धु्रव खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, विद्या खड्काको संयोजकत्वमा अथिति सत्कार, राजेशचन्द्र राजभण्डारीको संयोजकत्वमा प्रचारप्रसार, राम शर्माको संयोजकत्वमा अनुगमन र तारा शर्माको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । कालीका कप पुरुष भलिबल खेलमा प्रथम हुने टिमलाई रु तीन लाख, दोस्रो हुनेलाई रु एक लाख ५० हजार, तेस्रो हुनेलाई रु ७० हजार र सान्त्वना रु २० हजार नगद पुरस्कार दिइनेछ । राष्ट्रिय लोकभजन प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख, दोस्रो हुनेलाई रु एक लाख र तेस्रो हुनेलाई रु ५० हजार नगद पुरस्कार दिनेछ । यस्तै, छेलोतर्फ प्रथम हुनेलाई रु १५ हजार, दोस्रो हुनेलाई रु सात हजार पाँच सय नगद पुरस्कार दिइने बताइएको छ । मेलाको लागि गत सातादेखिनै रमाइलो मेला र स्टलमा व्यवसाय सञ्चालन भइरहेको छ । चैतेदसैँैमा बागलुङको गाउँगाउँमा बनाइएका घरेलु उद्यमका सामग्री पनि बिक्रीका लागि ल्याइन्छ । बाँस र निगालोबाट बनेका डोका, डाला, नाङ्ला, मान्द्रोलगायतका सामग्री ल्याइन्छन् । त्यस्तै दारको ठेका, फलामबाट बनेका विभिन्न घरेलु हतियारसमेत बिक्री गर्न ल्याउने गरिन्छ ।
स्याङ्जा: लोक सेवा आयोगमा देशमै पहिलो स्थानमा रहेको स्याङ्जामा पछिल्लो जनगणनामा २८.६४ प्रतिशत नागरिक बेरोजगार देखिएका छन् । २०७८ को जनगणनामा दुई लाख ५३ हजार २४ जनसङ्ख्या रहेको यहाँ जनगणनाको समयमा १० वर्ष पुगेकाले १२ महिनासम्म कुनै पनि काम नगरेको जनसङ्ख्या जिल्लामा ठुलो देखिएको हो । जनगणना समय अघिको १२ महिनासम्म जिल्लामा ७२ हजार ४७३ जना बेरोजगार रहेका हुन् । काम गर्न सक्ने दुई लाख १६ हजार ७८९ भए पनि २६ हजार ९०८ जनाले तीन महिना कम र तीन महिना भन्दा बढी अर्थात् छ महिना भन्दा कम २७ हजार ९९४ जनाले कुनै न कुनै काम गरेका छन् । छ महिना भन्दा बढी आर्थिक काम गर्नेको सङ्ख्या ८९ हजार ४ सय १४ जना रहेको छ । काम गर्न सक्ने मध्ये कै २९.५ प्रतिशत अर्थात् ६३ हजार ८ सय ६५ जना आर्थिक रूपमा बेरोजगार रहेको गणनाको तथ्याङ्कमा उल्लेख गरिएको छ । काममा संलग्न हुनसक्ने उमेर भए पनि एक हजार ९२५ जनाले कामको श्रोत नखुलाएकोतथ्याङकमा मा उल्लेख गरिएको छ । यहाँ एक लाख दुइ हजार ७८६ जनाले मात्रै प्रायः सक्रियता पूर्वक काम गर्दै आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । सक्रिय सङ्ख्या ४८ हजार २ सय १३ जनाले कहिले काँही काममा सक्रियता देखाउने गरेको तथ्याङ्कमा सार्वजनिक गरिएको छ । जनगणनाको समयमा आर्थिक क्रियाकलापको पेसागत रूपमा सबै भन्दा धेरै कृषिजन्य उत्पादनमा ६४.७ प्रतिशत जनसङ्ख्या आबद्ध रहेका छ । त्यस्तै प्राथमिक पेसा कामदारमा १४.६, सेवा तथा बस्तुमा बिक्रीमा ४.३, व्यवस्थापनमा ४.१ र पेसाविद्मा चार प्रतिशत सहित केही सङ्ख्या शिल्पकला तथा कारखाना यन्त्र पेसामा आबद्ध रहेका छन् ।
दमौली: तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ । चालु आव २०७९÷८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । मुत्यु हुनेमा दश पुरुष, चार महिला र एक बालक रहेको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक राजीव विष्टले जानकारी दिनुभयो । सोही अवधिमा भएका दुर्घटनामा २८ जना घाइते भएका छन् । त्यसमध्ये १९ पुरुष, पाँच महिला र चार बालबालिका छन् । यो अवधिमा जिल्लामा ३६ सवारी दुर्घटना भएको छ । गत आव २०७८÷७९ मा तनहुँमा ४९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । उक्त अवधिमा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिका गरी ४९ जनाको मृत्यु भएको थियो । कार्यालयले सात महिनाकै अवधिमा सवारी साधनलाई कारबाही गरेर रु दुई करोड नौ लाख ३७ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । प्रहरीले २६ हजार सात सय सवारी साधनलाई कारबाही गरेर उक्त राजस्व सङ्कलन गरेको हो । कारबाहीमा पर्नेमध्ये दुई पाङ्ग्रे सवारी साधनको सङ्ख्या बढेको छ । नौ हजार पाँच सय ४४ मोटरसाइकल तथा स्कुटर, पाँच हजार एक सय ४५ ट्रक, टिपर, पाँच हजार नौ सय २९ कार, जिप, एक हजार दुई सय १९ ट्याक्टर र चार हजार छ सय ५८ यात्रुवाहक बस र दुई सय पाँच अन्य सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७७÷७८ मा जिल्लामा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । उक्त अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका थिए । आर्थिक वर्ष ०७६÷७७ मा ४४ र आव ०७५÷७६ मा ६० जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटना हुने गरेको छ । दुई पाङ्ग्रे सवारी साधन अत्यधिक भएकाले मोटरसाइकल र स्कुटर बढी दुर्घटनामा पर्ने गरेको विष्ट बताउनुहुन्छ । उहाँले भन्नुभयो, “तीव्र गतिका कारण दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । युवाले जथाभावी सवारी हाँक्ने गरेकाले यो सङ्ख्या अत्यधिक छ ।” सडकको भौगोलिक वनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको प्रहरीको भनाइ छ । दुर्घटना कम गराउन प्रहरीले विद्यालय, क्याम्पसमा पुगेर पनि अभियान सञ्चालन गरिरहको छ । जिल्लामा बढीजसो दुर्घटना पृथ्वी राजमार्गमा हुने गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थान हुन् ।

