काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

काठमाडौं:   गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो ।  सरुवा हुनेमा १४ राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) सहित रहेका छन् । गृह सचिव विनोदप्रकाश सिंहका अनुसार मन्त्रालयले अतिरिक्तमा रहेका ११ सहसचिवको पदस्थापन र तीनजनाको सरुवा गरेको छ भने ११ जना सहसचिवको विभिन्न निकायमा सरुवा गरेको छ । जसअनुसार सहसचिव रामबन्धु सुवेदीलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँको प्रमुख अध्यागमन अधिकृतमा पठाएको छ भने त्यहाँका वासुदेव घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत सारिएको छ ।  सहसचिव रुद्रसिंह तामाङलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महादेव पन्तको आन्तरिक व्यवस्थापन महाशाखा, गृहमा पदस्थापन गरिएको छ । यसैगरी, मेखबहादुर मगरातीलाई जिल्ला प्रशासन कार्यालय पाँचथर, रामकृष्ण अधिकारीलाई लमजुङ, जयकुमार घिमिरेलाई जुम्ला, प्रेमप्रसाद आचार्यलाई पर्वत, कोमलप्रसाद धमलालाई दोलखा, वेदप्रसाद खरेललाई सल्यान, मदन कोइरालालाई प्यूठान र रामकुमार महतोलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । थानेश्वर गौतमलाई धनकुटा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव अनिता निरौलालाई जिल्ला प्रशासन कार्यालय रामेछापको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।       जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलाई जिल्ला प्रशासन कार्यालय जुम्लाको सहायक प्रजिअ, धनकुटाकी लीलाकुमारी केसी (पाण्डे) लाई पाँचथरको सप्रजिअ, दोलखाका प्रजिअ शेखर पौड्याललाई जिल्ला प्रशासन कार्यालय इलामको सहायक प्रजिअ, रामेछापका प्रजिअ शोभाखर रेग्मीलाई जिल्ला प्रशासन कार्यालय बैतडीको सहायक प्रजिअमा सरुवा गरिएको छ ।  यसैगरी, जिल्ला प्रशासन कार्यालय लमजुङका प्रजिअ वसन्तराज पुरीलाई सहायक प्रजिअ दोलखा, पर्वतका प्रजिअ चित्राङ्गत बराललाई सप्रजिअ बागलुङ, र बागलुङका प्रजिअ गणेशप्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय पर्वतको सहायक प्रजिअ र प्यूठानका प्रजिअ वेदप्रसाद अर्याललाई जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रजिअमा सरुवा गरिएको छ ।  गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सल्यान, जुम्ला र जाजरकोटका प्रजिअहरु क्रमशः कृष्णचन्द्र पौडेल, मुकेशकुमार केशरी र अञ्जन न्यौपानेलाई क्रमशः प्यूठान, धनुषा र धनकुटाको सहायक प्रजिअ बनाई पठाएको जनाएको छ ।

ढोरपाटन:   डेढ दशक अगाडि बुर्तिबाङ बजार सडकले जोडियो । सडकले जोडिएपछि बुर्तिबाङसँगै पश्चिम बागलुङको मुहार फेरियो तर बसपार्क अभावमा अहिलेसम्म यो क्षेत्रले सास्ती भोग्दै आएको छ । मध्यपहाडी लोकमार्ग छेउमै पर्ने यो बजार देशकै दश नमूना सहरमा पर्छ । सरकारले नमूना सहर निर्माण गर्न थालेको वर्षौं बितिसक्दा पनि बुर्तिबाङ बजारमा एउटा गतिलो बसपार्क बन्न सकेको थिएन । यही वर्षदेखि बुर्तिबाङ बजार नजिकै खप्तरीबाङमा बसपार्क निर्माण सुरु भएको छ । बढ्दो सहरीकरण र साँघुरो बसपार्कका कारण यातायातका साधन सडकमै पार्किङ गर्नुपर्ने स्थिति छ । जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको बुर्तिबाङ बजार निसी, भुजी र तमानको सङ्गमस्थल हो । ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङमा अहिले पनि साँघुरो बसपार्क छ । जहाँ १०÷१५ वटाभन्दा बढी गाडी रोक्न मिल्दैन । चालकले जथाभावी रुपमा गाडी रोक्दा बजारनै अस्तव्यस्त बन्छ । अझ व्यवसायीले सडक पेटीमै सामान राख्दा पदैल यात्रुलाई झनै समस्या भएको छ ।    नयाँ सहर आयोजना कार्यालयले ढोरपाटन नगरपालिका–१ खप्तरीबाङमा जग्गा खरिद गरी बसपार्क निर्माण थालेपछि बजार क्षेत्रमा यातायात व्यवस्थापन सहज हुने अपेक्षा लिइएको छ । विसं २०६८ देखि सुरु भएको नयाँ सहर आयोजनाले जग्गा व्यवस्थापन गर्न ढिलाइ गर्दा बसपार्क निर्माण हुन सकेको थिएन । विसं २०८० असार १५ गतेसम्म बसपार्क निर्माण सम्पन्न गर्ने गत कात्तिक ७ गते आयोजनाको ठेक्का सम्झौता भएको नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिनुभयो । बसपार्क निर्माणको जिम्मा गोरखनाथ कन्स्ट्रक्सन एण्ड मरचेन्टाइजर प्रालिले पाएको छ । कम्पनीले निर्माण कार्यलाई तीव्रता दिएको अधिकारीको भनाई छ । मध्यपहाडी लोकमार्गको छेउमै रहेको भुजीखोला किनारमा तटबन्धन गरी बसपार्क निर्माण थालिएको उहाँले बताउनुभयो । विसं २०७५ सालमा छ रोपनी जग्गा खरिद गरेको र विभिन्न प्रक्रिया पूरा गरेर अहिले बसपार्क बनाउन थालिएको निमित्त प्रमुख अधिकारीले बताउनुभयो । निर्माण कम्पनीले अहिले टर्मिनल भवन निर्माण गरिरहेको भन्दै यहाँ बन्ने बसपार्कमा ३० जीप, २० बस र स–साना दर्जनौँ सवारी साधान अट्ने उहाँको भनाइ छ । टर्मिनल भवन तीन तलाको हुनेछ । बसपार्क  दुई करोड २६ लाख ४० हजार चार सय ३१ मा बन्नेछ । बसपार्क निर्माण भएपछि बुर्तिबाङ बजारको सौन्दर्यमा थप टेवा पुग्ने स्थानीय तुलबहादुर क्षेत्रीले बताउनुभयो । “बुर्तिबाङ बजार निकै साँघुरो छ, साँघुरो भए पनि सुन्दर छ, तर यहाँको सुन्दरतालाई अव्यवस्थित व्यवस्थापनले कुरुप बनेको छ, न सडक सफा छ, अहिले भएको बसपार्कको हालत निकै खराब छ”, क्षेत्रीले भन्नुभयो, “गाडी यति धेरै छन्, कहाँ पार्किङ गर्ने, यात्रु कताबाट हिँड्ने अब खप्तरीबाङ बसपार्क बन्यो भने बजार क्षेत्र अहिलेको जस्तो अस्तव्यस्त हुने छैन ।” सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार रहेको बुर्तिबाङ बजारमा दैनिक सयौँ आन्तरिक पर्यटक आउछन् । वडाअध्यक्ष बानबहादुर छन्त्यालले पछिल्लो समय बजार क्षेत्रमा अव्यवस्थित पार्किले गर्दा विभिन्न समस्या उत्पन्न हुने गरेको भन्दै अब बजार व्यवस्थापनमा सहज हुने बताउनुभयो । उहाँले एक दशक अगाडिसम्म बुर्तिबाङ बजारमा घर भवन निकै कम भएको भन्दै अहिले खाली ठाउँ नभएको बताउनुहुन्छ । “मानिस र सवारी साधानको चाप बढेपछि यहाँ बसपार्कको आवश्यकता परेको हो”, अध्यक्ष छन्त्यालले भन्नुभयो, “ अब धेरै समय समस्या खेप्नुपर्ने छैन, असारसम्म काम सक्ने भन्ने छ, बसपार्क सञ्चालनमा आयो भने बजारको सौन्दर्यकरणमा पनि परिवर्तन आउने छ ।” लोकमार्ग कालोपत्रे भएपछि बुर्तिबाङ बजारमा यातायातको चाप बढेको हो । अहिले मध्यपहाडी लोकमार्गले रोल्पा र रुकुम जोडिएपछि ती दुई जिल्लाबाट किनमेल गर्ने मुख्य बजार बुर्तिबाङ बनेको छ । यहाँबाट हरेक दिन दजनौँ गाडीहरु देशका ठूला सहर काठमाडौँ, पोखरा, बुटवललगायतका ठाउँ र पश्मिच बागलुङका ग्रामीण क्षेत्रमा पुग्ने गर्छन् । नयाँ बसपार्क सञ्चालनमा आएपछि बुर्तिबाङ बजारस्थित पुरानो बसपार्क विभिन्न कार्यक्रमका लागि प्रयोग हुनेछ । RSS

काठमाडौं:    देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीयसँगै पश्चिमी वायुको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बागमती र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना  छ ।   राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रही कोसी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । 

पोखरा:  पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको इलमलाई व्यवहारमा उतार्दै आर्थिक रूपमा आत्मनिर्भर महिलाको पहिचान बनाउन आग्रह गरेकी छन् ।  उपप्रमुखसँग महिला कार्यक्रम छ, महिलाले सञ्चालन गर्ने उद्योगका लागि १५ लाखसम्म विना धितो ऋण दिन्छौं । आसन्न आर्थिक मन्दीलाई सम्बोधन गर्न आयमुलक र सिपमुलक काम गरी आत्मनिर्भरताको बाटो समात्न आवश्यक भएको गुरुङले बताइन ।  ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्तिको संरक्षित संस्था पोखरा आध्यात्मिक सेवा केन्द्रको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित दुई महिने हाते होजियारी तालिम समापन समारोहका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै गुरुङले आर्थिक पाटो बलियो बनाई महिला सशक्तिकरणलाई सवल र सक्षम बनाउन जोड दिइन ।   पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य एवम् महिला उद्यमी उपसमितिकी संयोजक बन्दना कार्की के.सी.ले पोखरालाई कोसेली घर चाहिएको छ, सिकेको सिपलाई उत्पादनमा रूपान्तरण गरी व्यवसाय सञ्चालन र उद्यमशील बन्ने वातावरण तयार गर्न आफू प्रतिवद्ध रहेको जनाइन् ।  मुख्य प्रशिक्षक सविता श्रेष्ठ रञ्जितले जाँगर चलाए असम्भव भन्ने केही छैन्, कोसिसले नै सम्भावनाका ढोका खुल्छन्, आध्यात्मिक केन्द्रले आफ्ना साधकलाई आफ्नै खुट्टामा उभिन पहल गर्नु सह्रानीय भएको विचार राखिन् ।  पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाकी प्रमुख गीता न्यौपानेले ३ करोड ५० लाख सरकारी बजेट भएको महाशाखामा कार्यक्रम लिन झन्झट भए पनि निरन्तर पहल गर्दा पाउने धारणा राखिन । इलम सिकेर तयार गरिएका सामग्री महानगरपालिका आफैले मायाको चिनोको रूपमा प्रयोग गर्न सक्ने भएकाले निरन्तरता दिन जोड दिएकी थिइन ।   ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पार्दी शाखाकी प्रमुख ब्रह्माकुमारी अप्सरा सुवेदीले आज विश्वमा मानिसहरू रोगले भन्दा डिप्रेसनले मरिरहेका छन् यसको औषधि छैन् उपचार नै आध्यात्मिक दिव्य ज्ञान हो । पुरुषमा भन्दा महिलामा सात ओटा गुणहरू बढी छन् सिप सिकेर आफूलाई सशक्तिकरण गर्नु नै सुखी हुनु हा । सिकेको इलमलाई परिष्कार गदा आध्यात्मिक सुख पनि मिल्छ भन्ने ईश्वरीय प्रवचन दिएकी थिइन् ।  ब्रह्मकुमार शंकर देवकोटाले आजको व्यस्ततापूर्ण जीवन शैलीलाई सन्तुलित गर्न आध्यात्मिक शिक्षा, ज्ञान, साधना र सिपको आवश्यकता छ । यसले जीवन जगत र पदार्थको यथार्थ ज्ञान दिन्छ । पोखरा आध्यात्मिक सेवा केन्द्रले दुई महिना इलम सिकायो, आध्यात्मिक र भौतिक सिपले नै जीवन पूर्ण हुने विचार राखेका थिए ।   तालिममा सहभागी ब्रह्माकुमारी जेनिशा गुरुङले आफ्नो अनुभव राख्दै काँटी र धागो समाउन पनि नजानेका हातहरूलाई दक्ष प्रशिक्षकले निपूर्ण बनाइ आफ्ना लागि चाहिने सामग्री आफै बनाउन सक्ने बनाउनु नै सफलता भएको जनाइन । जेनिशाले केही गर्नका लागि हौसला मिलेको हुँदा यसलाई निरन्तरता दिएर आयआर्जनमा लाग्ने बताइन् । पोखरा आध्यात्मिक सेवा केन्द्रको समन्वयमा २० जना महिलाले दुई महिने हाते होजियारी तालिम लिएको एन्जेल हाउसकी सञ्चालक ब्रह्माकुमारी राधा गुरुङले जानकारी दिइन् ।  गत पुस १९ गतेदेखि फागुन ३० गतेसम्म सञ्चालित दुई महिने हाते होजियारी तालिममा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी अध्यक्ष तथा मुख्य प्रशिक्षक सविता श्रेष्ठ रञ्जित र प्रशिक्षक इन्द्रेणी श्रेष्ठले उनीका टोपी, गलबन्दी, स्वेटर, पञ्जा, मोजा, रुमाल, टेवुल पोस लगायतका हस्तकलाका सामग्री बनाउने तालिममा सिप हस्तान्तरणका लागि सहजीकरण थिए । कार्यक्रममा प्रशिक्षार्थीले तयार गरेका हस्तकला सामग्रीको प्रदर्शनी गरिएको थियो भने उक्त सामग्री आमन्त्रितले मायाको चिनो लिँदा प्रशंसा गरेका थिए ।  कार्यक्रममा आर्दश गुरुङ, इन्द्रेणी श्रेष्ठ, सविता श्रेष्ठ रञ्जित, दुर्गा पौडेल अमरसिंह महिला समूह, जुनामाया बोहोरा माछापुच्छ«े महिला समूह, कृष्णबहादुर थापा कामना टोलविकास संस्था, सिमा राई गुरुङ कामना टोल महिला उपसमितिलाई सम्मान गरिएको थियो ।   पोखरा आध्यात्मिक सेवा केन्द्रकी अध्यक्ष ब्रह्माकुमारी हरिमाया गुरुङकोे सभापतित्वमा सम्पन्न तालिम समापन समारोहमा ब्रह्मकुमार शङ्कर देवकोटाले स्वागत मन्तव्य राखेका थिए । रामबजार शाखाकी प्रमुख ब्रह्मकुमारी गोमा पौडेलले धन्यवाद ज्ञापन गरेकी थिइन भने केन्द्रका सचिव तथा कार्यक्रम संयोजक ब्रह्मकुमार मनिराज पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।       

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ ।   रास्वपाको शुक्रबार बसेको केन्द्रीय समिती बैठकले उपनिर्वाचनमा गठबन्धन नगर्ने र तीनवटै क्षेत्रमा चुनाव लड्ने निर्णय गरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।   आगामी बैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । बैठकले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । जसमा चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिएका छन् ।

काठमाडौं:  मन्त्रिपरिषद बैठकले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ ।   शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।कुँवरलाई आईजीपी बनाउन गृह मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकार्दै कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गरेको हो ।    कुँवरसँगै श्यामलाल ज्ञवाली पनि आईजीपी बन्ने चर्चामा थिए ।

काठमाडौं : प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकताको घोषणा गरिएको हो ।    एकतापछि पार्टीको नाम आम जनता पार्टी नै रहेको छ । एकता घोषणा कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष साहले मुलुक अप्ठेरो अवस्थामा पुगेका कारण विभिन्न शक्तिहरू एकीकृत हुनुपरेको बताए। अर्थतन्त्रको भ्रष्ट नीतिका कारण मुलुकको अर्थतन्त्र धरासयी बनेको भन्दै उनले यसमा नीति निर्माण तहमा पुगेका व्यक्तिहरू गम्भीर हुनुपर्ने धारणा राखे। अब सरकार गम्भीर भएर मुलुकमा देखिएका समस्या समाधान गर्न ध्यान केन्द्रीत गर्नुपर्ने उनको भनाइ छ।   अहिले नेताहरू कुर्सीको व्यापारी बनेकाले जनताहरू निराश हुनुपरेको उनको भनाइ छ । एकता कार्यक्रममा आम जनता पार्टीको दोस्रो संशोधित अन्तरिम विधान सार्वजनिक गरिएको थियो ।   

राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा अनुसार नेपालमा  जम्मा ७५,५२,०६६ वटा घर संरचना रहेको छ ।   जसमध्ये मुख्य रूपमा आवासका लागि प्रयोग भएका घर ७१.७ प्रतिशत, गोठ/धन्सार/मतान १०.१ प्रतिशत, खाली घर ६.३ प्रतिशत, अन्य (जस्तैः भान्सा घर) ५.९ प्रतिशत, व्यापार ३.१ प्रतिशत, शैक्षिक १.१ प्रतिशत, उद्योग/कलकारखाना र संस्थागत तथा सरकारी ०.४/०.४ प्रतिशत, होटल तथा लज ०.३ प्रतिशत, स्वास्थ्यजन्य ०.२ प्रतिशत र बैंक तथा वित्तीय संस्था ०.१ प्रतिशत रहेका छन् ।     प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी लुम्बिनी प्रदेशका ७५.० प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ६८.० प्रतिशत घरहरू मुख्य रुपमा आवासको लागि प्रयोग भएका छन् ।     त्यस्तै परिवारले आवासीय रुपमा प्रयोग गरिरहेको घरको स्वामित्वमा कुल ६६,६०,८४१ परिवारमध्ये ८६.० प्रतिशत परिवारहरु आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेका छन् भने १२.८ प्रतिशत परिवारहरु भाडामा लिइएको आवासीय एकाइमा बसिरहेका जनगणनामा उल्लेख छ । गत २०६८ सालको जनगणनामा यो मान क्रमशः ८५.३ प्रतिशत र १२.८ प्रतिशत रहेको थियो ।   त्यस्तै, कुल ६६,६०,८४१ परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन् भने ४.५ प्रतिशत परिवारहरुसँग अझै पनि शौचालयको पहुँच नभएको तथ्यांक जनगणनाको नतिजाले देखाएको छ ।   प्रदेश अनुसार हेर्दा मधेश प्रदेशमा शौचालय नभएको परिवार सबैभन्दा बढी १२ प्रतिशत देखिन्छ भने लुम्बिनी प्रदेशमा ५.६ प्रतिशत रहेको छ । शौचालय नभएका परिवारहरु वाग्मती र गण्डकी प्रदेशमा सबैभन्दा कम (१ प्रतिशत) रहेका छन् ।  

काठमाण्डाै :  नेपालको जनसङ्ख्या कुल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । प्रारम्भिक तथ्याङ्कभन्दा अन्तिम जनसङ्ख्या घटेको छ ।   राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको १२औँ जनगणना–२०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् ४८ दशमलव ९८ प्रतिशत पुरूष र १ करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१ दशमलव ०२ प्रतिशत महिला रहेका छन् ।   कुल जनसङ्ख्यामा अन्य लिङ्गी दुई हजार ९ सय २८ जना रहेका छन् । यसअघि २०७८ माघ १२ मा तत्कालीन केन्द्रीय तथ्याङ्क विभागले (अहिलेको राष्ट्रिय तथ्याङ्क कार्यालय) ले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको थियो ।   विस्तृत र अन्तिम प्रतिवेदनमा २७ हजार ९ सय २ कम जनसङ्ख्या देखिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार सन्दर्भ दिन २०७८ साल मंसिर ९ गतेलाई मानिएको छ । प्रतिवेदन अनुसार सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला काठमाण्डौ रहेको छ । काठमाण्डौमा २० लाख ४१ हजार ५ सय ८७ जनसङ्ख्या छ भने सबैभन्दा कम मनाङमा पाँच हजार ६ सय ८५ जना रहेका छन् ।   भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसङ्ख्याको ५३ दशमलव ६१ प्रतिशत अर्थात् १ करोड ५६ लाख ३४ हजार ६ जना, पहाडमा ४० दशमलव १ प्रतिशत अर्थात् १ करोड १७ लाख ५७ हजार ६ सय २४ जना र हिमाली क्षेत्रमा ६ दशमलव ०८ प्रतिशत अर्थात् १७ लाख ७२ हजार ९ सय ४८ जनसङ्ख्या रहेको छ ।   राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ साल कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिन लगाएर १२औँ राष्ट्रिय जनगणना गरेको थियो । कार्यालयले ८० भन्दा धेरै प्रश्नका जवाफ लिएर जनगणना सङ्कलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गएको वर्ष माघमै सार्वजनिक गरिएको थियो ।   नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । जनगणनाबाट मुख्यतः देशको जनसाङ्ख्यिक अवस्थासहित सामाजिक अवस्था, आर्थिक स्थिति, घरपरिवारको अवस्था, शिक्षा, स्वास्थ्य, खानेपानी, इन्धनलगायतका आधारभूत आवश्यकतामा नागरिकको पहुँचलगायतका विषय समेटिने गरेको छ ।   बसाइँसराइको स्थिति, देशबाहिर रहेको जनसङ्ख्यालगायतका विवरण पनि जनगणनामा समेटिन्छ । जनगणनाको अद्यावधिक नतिजाले तीनै तहका सरकारलाई आफ्ना नीति तथा प्राथमिकता तयार गर्न सघाउ पुग्छ । सरकारले उपयुक्त नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न सक्छ ।   त्यस्तै सङ्घ, प्रदेश र पालिकामा हुने राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान तथा राष्ट्रिय बजेट निर्माणमा जनसङ्ख्याको उल्लेखनीय भूमिका रहन्छ । १२औँ राष्ट्रिय जनगणना सम्पन्न गर्न सरकारले झण्डै ३ अर्ब रकम खर्चेको थियो भने गणकसहित ५० हजार कर्मचारी खटिएका थिए ।