पोखरा: सामुदायिक वन उपभोक्ता महासंघ माछापुच्छ्रे गाउँपालिकाको दोश्रो अधिवेशनले धर्मराज ढुङ्गानाको अध्यक्षतामा दश सदस्य नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । सो समितिको उपाध्यक्ष बाबुराम तिमिल्सिना, सचिव मालती अधिकारी, कोषाध्यक्षमा पार्वती अधिकारी सदस्यहरुमा यमुना भुजेल,गौरी पौडेल, उमानाथ अधिकारी निर्वाचित हुनु भएको छ । बाँकी सदस्य पछि मनोनित गरिने बताइएको छ । अधिवेशनले प्रदेश प्रतिनिधिमा सोमबहादुर भुजेल, मार्कण्य अधिकारी,बलराम ढुङ्गाना, गुरुदत्त अधिकारी, गिता अधिकारी, गिता बराल, गायत्री अधिकारी, बुद्धिमाया अधिकारी एवम् जिल्ला प्रतिनिधिमा चुडामणी अधिकारी, खिमलाल अधिकारी,दाताराम अधिकारी, रमा गौतम, अनिता नेपाली र लक्ष्मी ढुङ्गाना निर्वाचित हुनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हरि बास्तोलाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) खारेज गरि स्थानीय वासिन्दालाई संरक्षणको जिम्मा दिनु पर्नेमा जोड दिनुभयो । स्थानीय समुदाय प्राकृति श्रोतको उपयोगबाट बञ्चित हुन नहुने बताउँदै उहाँले वन क्षेत्रमा उपभोक्ताको अधिकार स्थापित गर्न तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो । महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले महासंघले उपभोक्ताको हक अधिकार स्थापित गर्न जिम्मेवार भएर अघि बढेको बताउँदै वन एने, विनियम र कार्ययोजना अनुरुप प्रकृया मिलायर वन पैदावार उपयोग गर्नुपर्ने बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ कास्की अध्यक्ष विश्वनाथ अधिकारीले जिल्लामा पाँच सय भन्दा बढी सामुदायिक वन समूह रहेको जानकारी दिंदै सम्भाव्यता अध्ययनका आधारमा वन क्षेत्रलाई आयआर्जनसंग जोडिन खालका उद्यम सञ्चालनतर्पm लाग्नु पर्ने विचार व्यक्त गर्नुभयो । गाउँपालिका महासंँघ माछापुच्छ्रेका अध्यक्ष चुडामणी अधिकारको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ६ का वडासदस्य गुरुदत्त अधिकारी, उमानाथ अधिकारी, मालती अधिकारी लगायतले सर्वसुलभ तरिकाले वन पैदावार उपयोग गर्ने खालको निती आवश्यक रहेको बताउनुभयो ।
काठमाडौं: सरकारले मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार सरकारले मिटरब्याज पीडितका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसदमा विधेयक दर्ता गर्ने तयारी गरेको छ । उहाँले उक्त विधेयकको विषय आज (मङ्गलबार) बस्ने मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पीडितसँग छलफल गर्न गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीका अन्य सदस्यमा उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जङ्गा बहादुर दंगाल हुनुहुन्छ ।” प्रेस संयोजक शर्माले उक्त वार्ता टोलीले मिटरब्याज पीडितसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सो बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यादेश दिइएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले गृहसचिव र सचिवालयका पदाधिकारलाई पीडितसँग छलफल गर्न र समस्या हल गर्ने वातावरण बनाउन निर्देशन दिनुभएको उहाँको भनाइ छ । वार्ता टोलीले छलफल गरेपछि प्रधानमन्त्रीले आज नै पीडितसँग भेट एवम् छलफल गर्ने कार्यक्रम तय भएको शर्माले बताउनुभयो ।
पोखरा: महिला चेम्बर अफ कमर्स कास्कीको अध्यक्षमा सीमा कोइराला निर्वाचित भएकी छन् । संस्थाको दोस्रो अधिवेशनले कोइरालालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा जमुना पौडेल आचार्य, सङ्गीता पाण्डे निर्वाचित भएका छन् । यस्तै, सचिवमा सरिता सुवेदी, कोषाध्यक्षमा ज्योती अधिकारी र सहसचिव सपना गिरी निर्वाचित भएका छन् ।
तनहुँ: ट्याङ्कीमा शव भेटिएपछि काकाकुल बनेका म्याग्दे गाउँपालिका –४ पिपलटारका बासिन्दाको खानेपानी समस्या समाधानको लागि काम अघि बढेको छ । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएपछि काम अघि बढेको हो । सांसद भण्डारीको पहलमा सो स्थानमा सञ्चालित पिपलटार खानेपानी आयोजनाका लागि तीन लाख ७० हजार बराबरको खानेपानीको पाइप उपलब्ध गराइएको छ । आइतबार खानेपानी आयोजनाको ट्याङ्कीमा महिलाको शव भेटिएपछि त्यो पानी उपभोक्ताले प्रयोग गरेका छैनन् । वैकल्पिक ढङ्गले खानेपानीको व्यवस्था गर्न उक्त खानेपानीको पाइप उपलब्ध गराइएको हो । सांसद भण्डारीले गण्डकी प्रदेशका खानेपानी मन्त्रालयका सचिव डा. सन्तोष कैनीलाई टेलिफोन गरी पाइपको व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । खानेपानीको पाइप उपलब्ध भएसँगै १३८ घर परिवार लाभान्वित हुने भएका छन् । दूषित पानी पिउँदा सो गाउँका ३५० जना बिरामी भएको म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । ‘‘ट्याङ्कीमा शव भेटिएपछि किलकिलाएर धेरै जसोले बान्ता गरेका छन्’’ उपाध्यक्ष घिमिरेले भन्नुभयो । ट्याङ्कीभित्रबाट दुर्गन्ध फैलिएपछि स्थानीयले पानी ट्याङ्की चेक गर्ने क्रममा लास देखेर प्रहरीमा खबर गरेका थिए । खानेपानी ट्याङ्की मृत भेटिएकी महिलाको पहिचान खुल्यो तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरस्थित खानेपानीको ट्याङ्कीमा आइतबार मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । सो शव पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षीया शान्ति श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो । मृतक शान्तिको छोरा गणेश श्रेष्ठले शव बुझेको उहाँले जानकारी दिनुभयो । गत फागुन २३ गतेदेखि हराउनु भएकी श्रेष्ठ फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी गर्नको लागि चैत ६ गते निवेदन दिएको शर्माले बताउनुभयो । ‘‘शव फेला परेपछि हराएको सूचना दिने परिवारलाई बोलायौँ, मृतकको पहिचान खुल्यो छोराले शव बुझ्नु भयो’’ प्रहरी निरीक्षक शर्माले भन्नुभयो ।
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरू भएको हो। बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ। एकीकृत समाजवादी पार्टीले तीन मन्त्रालयसहित उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री पठाउने तयारी गरेको छ। आज बस्ने बैठकले सोही विषयलाई औपचारिकता दिने संभावना छ । यद्यपि भुसालको नेतृत्वमा सरकारमा जाने कि राजेन्द्र पाण्डेको नेतृत्वमा जानेबारे पार्टीभित्र बहस चलिरहेको एसका एक पदाधिकारीले जानकारी दिए। आजै बिहान पार्टी अध्यक्ष माधव कुमार नेपालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग भेट गरेको थियो। नेपालसहित सम्मानित नेता झलनाथ खनाल,महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालाले मन्त्रालयको विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए। एसले गृहसहित तीन मन्त्रालयमा दावी गरिरहेको छ। मन्त्रिपरिषद् वितारका विषयमा छलफल गर्न आज बेलुका ४ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ।
काठमाडौं : सुनचाँदी बजारमा आज मंगलबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजारले घटेको छ । सोमबार प्रतितोला एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज एक लाख आठ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख आठ हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार तीन सय ५५मा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
तनहुँ : जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ। यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो। गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठनपाठन गराउने निर्णय गरेको थियो। गाउँपालिकाको वडा नं ४, ५ र ६ का सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। 'पहिलो चरणमा दुर्गम क्षेत्रका बासिन्दालाई प्राथमिकता दिन लागेका हौं', उनले भने, 'स्वास्थ्य बीमा गरेपछि नागरिकले रु एक लाख बराबरको निःशुल्क उपचार सेवा लिन सक्नेछन्।' स्वास्थ्य बीमा गर्दा प्रतिपरिवार तीन हजार पाँच सय शुल्क लाग्ने छ। स्वास्थ्य बीमा गरेपछि साथमा पैसा नहुँदा दुर्गम र गरिब परिवारले सहजरूपमा उपचार पाउने विश्वास गरिएको छ। सामुदायिक विद्यालय सुधार अभियानअन्तर्गत आबुखैरेनीले बाल विकासदेखि कक्षा ५ सम्मका छात्रछात्रालाई निःशुल्क ट्रयाकसुट, झोला, जुत्ता–मोजा तथा टिसर्टलगायका सामग्री वितरण थालेको अध्यक्ष चुमानले जानकारी दिए। यसैगरी विद्यालय भवनमा गर्नुपर्ने सम्पूर्ण मर्मत, छाना, फ्लोरिङ, रङरोगन, डेस्क–बेन्च फेर्नेलगायतका कार्य यसै चैत मसान्तसम्म सम्पन्न गर्ने गरी काम थालिएको छ। कक्षा नर्सरीदेखि कक्षा २ सम्म स्मार्ट टिभी राखी सिकाइ सहजको व्यवस्था मिलाइने, घन्टौँ हिँड्नुपर्ने केही विद्यालयलाई स्कुलबस हस्तान्तरण गरी समस्या समाधान गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए। त्यसैगरी विषयगत पर्याप्त दरबन्दी पठाउन गाउँपालिकाबाट नै आफ्नै स्रोतमा शिक्षक परिचालनका लागि आबुखैरेनी क्याम्पसका युवा परिचालन गर्ने तयारी थालिएको छ। सामुदायिक विद्यालयको निरन्तर अनुगमन गरी गुणस्तरीय शिक्षामा योगदान गर्ने विद्यालयलाई प्रोत्साहन गर्नेलगायतका कार्यक्रम रहेको उनले बताए।
काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयामहरु बिस्तार हुने क्रममा रहेको बताएका छन् । सोमबार ललितपुरमा आयोजित नेपाल–भारत उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल–भारत बीच स्थल र हवाइमार्गको मात्रै सम्बन्ध नभई रेलमार्ग र जलमार्गको नयाँ आयामहरु विस्तार हुने बताए । मन्त्री किरातीले भने, ‘नेपाल र भारतको सम्बन्ध हवाई र स्थलमार्ग मात्रै नभई अब नयाँ आयामहरु पनि बिस्तारै थपिँदै छ । रेल सञ्चालनले यो आयामलाई थप टेवा दिने नै छ । अहिले यसमा थप बिस्तारका सम्बन्धमा विचार हुँदैछ भने जल मार्ग पनि अर्को आयाम हुनसक्छ । जसले नेपाल र भारतको प्राचिनकालीन सम्बन्धलाई थप उचाईमा पुर्याउने मलाई विश्वास छ ।’ ‘नेपाल भारत उद्योग वाणिज्य संघको अगुवाईमा प्रकाशनमा आएको यो कफी टेबल पुस्तकमा समावेश गरिएका दुई देशका विभिन्न धार्मिक, सांस्कृतिक, स्थलहरुले नेपाल र भारतका धार्मिक पर्यटकहरुका लागि थप उत्कसुकता जनाउनेछ भने धार्मिक स्थल, सांस्कृति स्थलको प्रवद्र्धन र विकास गर्न यसले योगदान दिनेछ,’ उनले भने । मन्त्री किरातीले नेपाल–भारत उद्योग वाणिज्य संघले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलई चलायमान गर्ने प्रयास गरेको बताए ।
तनहुँ: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा तनहुँबाट करिब छ हजार विद्यार्थी सहभागी हुने भएका छन्। यही चैत १७ देखि २९ गतेसम्म हुने उक्त परीक्षामा पाँच हजार ७६६ विद्यार्थी सहभागी हुने जनाइएको छ। नियमिततर्फ पाँच हजार ५३६, ग्रेड वृद्धिमा ७७ र प्राविधिक धारका १५३ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ तनहुँले जनाएको छ। जिल्लामा २६ वटा एसईई परीक्षा केन्द्र तोकिएको समन्वय एकाइका प्रमुख वसन्तराज पौडेलले बताउनुभयो। उहाँका अनुसार प्रत्येक परीक्षा केन्द्रमा पाँचदेखि १० जनासम्म सुरक्षाकर्मी खटाइनेछ। चारवटा माध्यमिक विद्यालयमा मात्र कक्षा ९ र १० मा प्राविधिक सञ्चालन हुने भएकाले प्राविधिकतर्फ विद्यार्थी सङ्ख्या न्यून रहेको जानकारी उहाँले दिनुभयो। सत्यवती माविमा कम्प्युटर इन्जिनियर, पञ्चमुनिदेव माविमा भेटेरिनरी, राम शाह माविमा सिभिल इन्जिनियरिङ र गाउँफर्क माविमा कृषि विषयको परीक्षा सञ्चालन हुनेछ। गुरुकुल संस्कृततर्फ साधारण संस्कृतमा १९ र संस्कृतमा ५३ जना विद्यार्थी परीक्षामा सहभागी हुने एकाइका शाखा अधिकृत विश्वप्रकाश रेग्मीले जानकारी दिनुभयो। कक्षा १२ सम्मलाई विद्यालय शिक्षा मानिने भए पनि थप अध्ययनका लागि नयाँ बाटो खुला हुने भएकाले एसईईको परीक्षालाई महत्व दिने गरिएको छ। परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको छ।

