पोखरा: गण्डकी प्रदेशकै जेठो संस्कृत माध्यमिक विद्यालय, पोखराको १२५ औं अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान समारोह एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ ।      समारेहको पोखरा महानगरपालिका ...

काठमाडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने बताउनुभएको छ ।    ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सुरक्षा दबाब समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिको प्रयोग अत्यधिक बढे पनि यससम्बन्धी आवश्यक ज्ञान, सीप र सचेतना नहुँदा प्रविधिको दुरुपयोग बढ्न थालेकाले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने आवश्यकता देखिएको बताउनुभएको हो ।    उहाँले संसारभरि बनेका प्रविधि नेपालमा प्रयोग गरिए पनि यसको प्रयोगसम्बन्धी नीति र कानुनको अभाव देखिएकाले आफ्नो मन्त्रालयले कानुन निर्माणलाई प्राथमिकता साथ अघि बढाएको पनि बताउनुभयो । ‘‘साइबर सुरक्षासम्बन्धी नीति २०७६ मा बनाएर २०७८ मा संसदमा पठाइएको रहेछ तर नयाँ चुनावसँगै पुरानो विधेयक निष्कृय भयो’’– उहाँले भन्नुभयो– ‘‘अहिले साइबर सुरक्षा नीति बनाउने कार्यलाई तीव्रताका साथ अघि बढाइएको छ, यो पारित भयो भने साइबर सुुरक्षा कानुन बनाउने बाटो खुल्नेछ ।’’    सामाजिक सञ्जालमा के राख्न हुन्छ के हुँदैन भन्ने सचेतनाको अभावमा हिंसाका घटनामा वृद्धि हुँदै जानु चुनौतीको रुपमा रहेको औल्याउँदै मन्त्री शर्माले संविधान र कानुनमा उल्लेख भएका व्यवस्थालाई जनजनमा पु¥याउन प्रविधिको प्रयोग बढाउनुपर्ने बताउनुभयो ।   उहाँले भन्नुभयो, ‘‘अहिले कानुनले पैत्रिक सम्पत्तिमा समान अधिकारलगायत धेरै व्यवस्था गरेको छ तर व्यवहारमा छोरीले अंश पाएका घटना विरलै देखिन्छन् । चारवटा छोरालाई सम्पत्ति दिन सकिन्छ भने एउटा छोरी थपिँदा पाँचजनालाई पनि अंश दिन सकिन्छ भन्ने  हरेक बाआमालाई बोध गराउनुपर्नेछ, यस्ता सचेतनाका लागि पनि प्रविधिको अत्यधिक प्रयोग बढाउनुपर्छ ।’’   उहाँले प्रविधिको प्रयोगमा महिलाको पहुुँच बढाउँदै यसको माध्यमबाट महिलाको जीवनस्तरमा परिवर्तन ल्याउनुुपर्ने पनि  बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, ‘प्रविधिको प्रयोगमा महिला पुरुषको अवस्था के छ यसबारे तथ्यांक निकालेर पहुँच बढाउनेतिर ध्यान दिनुपर्छ, ‘तल्लो तहमा भएका महिलालाई माथि ल्याउने र माथि पुगेका महिलालाई पुरुषसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन पनि प्रविधिको प्रयोग गर्न आवश्यक छ ।’   अहिले महिला मन्त्रीले प्रविधि मन्त्रालय सम्हालेको समयमा केही सुरुवात गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उहाँले यसमा आवश्यक सल्लाह सुझाव दिन आम महिलालाई आग्रह गर्नुभयो । उहाँले नीति कार्यक्रम र बजेट बनाउने बेला भएकाले सूचना प्रविधिमा महिलाको सहभागिता र पहुँच बढाउन के गर्नुपर्छ आवश्यक सुझावका लागि सबैसँग आग्रह गर्नुभयो ।

पोखरा:  जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०७८÷२०७९को  कास्कीका पालिकाहरूको वित्तिय सुशासन जोखिम मूल्यांकनको  नतिजा  सार्वजनिक गरेको छ।   सोमबार एक विशेष सार्वजनिकरण  कार्यक्रमको आयोजना गरि सो नतिजा सार्वजनिक गरिएको  हो ।   सो मूल्यांकनको आधारमा अन्नपूर्ण गाउँपालिकाले ७०,रुपागाउँपलिकाले ६४.५ ,माछापुच्छ्रे गाउँपालिकाले ५४,मादी गाउँपालिकाले  ५३ र पोखरा महानगरपालिकाले ४३ अंक प्राप्त गरेका छ्न।     मुल्यांकनको कार्यविधी अनुसार विभिन्न ११८ वटा सुचकलाइ आधार बनाएर कुल १०० पुर्णाकको मुल्यांकन गर्ने गरिन्छ ।    सार्वजनिकरण कार्यक्रम लगत्तै आयोजित समिक्षा कार्यक्रममा जिल्ला  समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेलले नेपालमा नै पहिलो पटक औपचारिक कार्यक्रम आयोजना  गरेर नतिजा सार्वजनिक गरिएको भन्दै  सबै क्षेत्रमा कास्कीका  पालिकाहरूको कार्य सम्पादनको स्तर वृद्धिमा ध्यान केन्द्रित गर्न आग्रह गरे।    पौडेलले  समृद्ध कास्कीका लागि सबै राजनितीक दल ,जनप्रतिनिधि र कर्मचारीहरूको बराबर भुमिका रहने हुँदा   युद्धस्तरमा  बित्तिय सुसासनका काममा खटिन आग्रह गरे ।    समिक्षा कार्यक्रममा  गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे ,  मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकीका उप सचिब रमेश घर्ती, प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय गण्डकीका प्रमुख किशोरकुमार श्रेष्ठ ,कोष  तथा लेखा नियन्त्रण कार्यालय कास्की प्रमुख केशवराज ढकाल सहित  कास्किका जिल्ला समन्वय अधिकारी नबराज बराल , माछापुच्छ्रे गाउँपालिकाका उप प्रमुख सीता अधिकारी  र कास्कि पालिकाका जनप्रतिनिधि ,प्रमुख प्रशासकिय अधिकृत सहित सो विषय सम्बन्धि फोकल पर्सन कर्मचारीहरूको उपस्थिति रहेको थियो।

काठमाडौं : नेपाल प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-४ सुकेधारा टोयटा पार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १६ ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।   पक्राउ पर्नेहरुमा धनुषा धनुषाधाम नगरपालिका-६ हरिपुर घर भई काठमाडौं आलोकनगर बस्ने २१ वर्षीय सन्तोष राज महतो र सोही ठाउँ बस्ने २१ वर्षीय नितेश महतो रहेका छन्। प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।    यसैगरी नागार्जुन नगरपालिका-५ छक्डोल बस्ने ३७ वर्षीय हरि पुतुवारलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १० किलोग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। उनको घरमा गाँजा विक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनले ड्रममा राखी टहरोमा गाडेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो।     कैलालीको धनगढी उपमहानगरपालिका-९ बङग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने २८ वर्षीय उमेश रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। अस्थाई प्रहरी पोष्ट जुगेडा र र बीओपी बङग्राकटानबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो।     झापाको बिर्तामोड नगरपालिका-२ बस्ने २० वर्षीय विश्वास संग्रौला, सोही नगरपालिका-४ बस्ने २० वर्षीय अभिषेक शर्मा र सोही नगरपालिका-८ बस्ने २० वर्षीया अनिशा मण्डललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम, नगद ११ हजार ६ सय रुपैयाँ र डिजिटल तराजु १ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।    सुनसरीको दुहबी नगरपालिका-५ फुटबल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ८ ग्राम ७ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका-३ बस्ने २७ वर्षीय अर्जुन सुब्बा र शिवसताक्षी नगरपालिका-८ बस्ने २१ वर्षीय मुकेश चौधरी रहेका छन्। सिआरभी दुहबीबाट खटिएको प्रहरीले बिराटनगरबाट ईटहरीतर्फ आउँदै गरेको मे.११ प ६१७८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त खैरो हेरोइनसहित स्कुटर चालक अर्जुन र स्कुटरमा सवार मुकेशलाई पक्राउ गरेको हो।    प्रहरीले उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको छ।

काठमाडौं: स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशैभरमा मतदाता सङ्ख्या एक लाख ६२ हजार २६८ छ।    त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले शुक्रबार स्ववियु निर्वाचनमा देशभरको दाबी विरोध पूर्वको कुल मतदाता सङ्ख्या विवरण सार्वजनिक गर्नुभएको हो।    अधिकारीका अनुसार उपत्यका अन्तर्गतको त्रिचन्द्र क्याम्पस, घण्टाघरको मतदाता सङ्ख्या विवरण भने प्राप्त हुन सकेको छैन। त्रिचन्द्र क्याम्पसमा सात हजारको हाराहारीमा विद्यार्थी मतदाता सङ्ख्या रहेको अनुमान छ।    फागुन २७ गते प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ। त्रिविले आज उम्मेदवारको मनोनयन पत्र वितरण गरेको छ।    काठमाडौं उपत्यकाबाहिर जम्मा ९५ हजार ६२२ र उपत्यकाभित्र ६६ हजार ६४६ गरी जम्मा एक लाख ६२ हजार २६८ कुल मतदाता सङ्ख्या सार्वजनिक गरेको हो।    स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ।              

काठमाडौँ:  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक राष्ट्राध्यक्षको रुपमा देख्न चाहेको बताएका छन् । राष्ट्रपति पौडेललाई बधाई र शुभकामना ज्ञापन गर्दै महामन्त्री थापाले राष्ट्रपति संस्थाबारे संविधानले प्रष्ट व्यवस्था गरेको भन्दै राष्ट्रपति विगतको राजसंस्थाको निरन्तरता नभएको बताए ।    ‘नेपालको संविधानले राष्ट्रपति पदलाई नेपालको राष्ट्राध्यक्ष भनेर परिभाषित गरेको छ, सँगै राष्ट्रपतिमा संविधानको पालना र संरक्षण गर्ने संवैधानिक अभिभारा पनि रहेको छ,’ थापाले भने, ‘नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता होइन । यो संविधानको रक्षार्थ दृढ रहने एउटा नागरिक–राष्ट्राध्यक्षको चाहना हो । तपाईंलाई हामी राष्ट्रपति राजाजस्तो होइन, नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्न चाहन्छौं ।’   संविधानले ‘गल्ती नगर्ने राष्ट्रपति’को रुपमा दिशा निर्देशन गरेको महामन्त्री थापाको भनाइ छ । ‘हाम्रो संविधानको परिकल्पना ‘गल्ती नगर्ने राष्ट्रपति’ हो । किनभने राष्ट्रपतिले आफ्नो मनोमानिले केही पनि गर्दैन र गल्ती पनि गर्दैन,’ उनी भन्छन्,  ‘संविधानको पालना, संरक्षण र प्रवर्द्धन गर्ने नाममा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस वा सम्मतिमा कार्य गर्ने कुरा संविधानको मर्म हो ।’   उनले हरेक निर्णयको सिफारिस गर्ने सरकारले नै त्यसको जिम्मेवारी लिनुपर्ने मान्यता राखिएको बताए । ‘तपाईं हिजो राष्ट्रपतिको उम्मेदवार हुँदासम्म नेपाली कांग्रेसको सदस्य हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो, एउटा राजनीतिक विचारसँग आवद्ध हुनुहुन्थ्यो, स्वभाविक रुपमा त्यसैप्रति तपाईंको लगाव र मिहिनेत थियो । तर, अब तपाईं मन, वचन र कर्मले योसँग अलग हुनुपर्छ, न नेपाली कांग्रेसप्रति न त हिजो तपाईंलाई मतदान गर्नेहरूप्रति कसैसँग पनि अतिरिक्त अनुराग रहनुहुँदैन,’  महामन्त्री थापाले  भने ।   राष्ट्रपति पौडेललाई  अब नेपाली कांग्रेसको मात्र होइन सबैको अभिभावक बन्न उनको आग्रह छ ।  उनले लेखेका छन् ,‘दलीय राजनीति, दलभित्रको राजनीति, दलहरूका बीचमा र दलभित्र हुने शक्ति संघर्ष वा अभ्यासबाट मुक्त हुने राजनीतिक चरित्र र क्षमता प्रदर्शन गर्नुहुनेछ । कुनैपनि क्षणमा जानेर नजानेर कुनै चाख वा रुची राख्नु हुनेछैन भन्ने अपेक्षा छ ।’   यसअघि राष्ट्रपतिको सम्मानका लागि सवारीको नाममा सडक खाली गराउँदा नागरिकलाई घण्टौंसम्म हिँड्‌डुल गर्न नदिने गरिएको भन्दै त्यस्तो अनावश्यक तडक भडक नगर्न थापाले सुझाए ।  ‘राष्ट्रपति संस्थालाई कति सम्मानित र मर्यादित बनाउने भन्ने कुरामा सरकारको पनि महत्त्वपूर्ण भूमिका छ । यो मौका हो नयाँ थालनी गर्न । अतः केही नयाँ शुरुवात गरौं,’ उनले भनेका छन् ।

काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनतामा देखिएको निराशालाई चिर्दै मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनुपर्ने बताएका छन्।   शुक्रबार बीपी संग्रहालय सुन्दरीजल पुगेका पौडेलले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न लागि अहिले जनतामा देखिएका निराशालाई चिर्दै मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनुपर्ने बताए।    पौडेलले अब देशले पटक पटकको प्रयोग धान्न नसक्ने र राष्ट्रलाई उन्नति गर्ने समय चाहिने भएकाले संविधानमा भएको अधिकारलाई सुरक्षित गर्दै राष्ट्र निर्माणमा लाग्नुपर्ने धारणा राखे।    अहिलेको व्यवस्थालाई चीर स्थायी बनाउदै केहि सुधार गर्नुपर्ने भए गर्ने र जनताको सपनालाई साकार पार्नुपर्ने उनको भनाइ छ । पौडेलले बीपीले देशलाई नयाँ बाटो देखाएको र त्यसलाई अघि बढाउने काम आफूहरुको भएको जिकिर गरे।   गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा रहेको बीपी संग्रहालय पुगेर नवनिर्वाचित राष्ट्रपति पौडेलले बीपी कोईरालाको शालिकमा माल्यार्पण गरेका थिए। सो क्रममा उनले संग्रहालयमा रहेको गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनको शालिकमा पनि माल्यार्पण गर्नुको साथै बीपी संग्रहालय परिसरमा रुद्राक्षको बिरुवा समेत रोपेका थिए।

काठमाडौं : नेपाल प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले ५ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।   बढुवा समितिका सदस्य-सचिव एवम् प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहका अनुसार  प्रहरी नायव महानिरीक्षकहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको हो।   सूचनामा भनिएको छ, 'नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या ५ (पाँच) मा बढुवा गर्न मिति २०७९।११।२६ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।'  

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरूद्धको रिटमाथि सुनवाइ सकिएको छ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भएको हो। रिटको आदेश आउन बाँकी छ।   रिटको पेशी बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको थियो। सो दिन रिटमाथि सुनुवाइ नभएपछि शुक्रबारका लागि सारिएको थियो।   अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मंगलबार सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध रिट दायर गरेका थिए।    अधिवक्ता आरण र बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका छन्।   १ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले युद्धमा १७ हजार मारिएका र त्यसमध्ये ५ हजार माओवादीले मारेको र त्यसको जिम्‍मा आफूले लिने अभिव्यक्ति दिएका थिए। त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डविरूद्ध छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै अधिवक्ता आरण र बुढाथोकी रिट लिएर सर्वोच्च गएका थिए।   उनीहरुले ‘प्रचण्ड’विरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएको थियो। त्यसपछि सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले सिधै सर्वोच्चको इजलासमा निवेदन दिएका थिए।    गत शुक्रबार न्यायायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो।   अधिवक्ता आरणका बुवा टीकाराजलाई तत्कालीन विद्रोहीले अपहरण गरी हत्या गरेका थिए। त्यस्तै अधिवक्ता बुढाथोकीका बुवा भुवानसिंह विस्थापित बनाएका थिए।  प्रचण्डविरूद्ध रिट दायर भएपछि माओवादी धारका पार्टीहरूले विरोध जनाएका छन्।

काठमाडौँ:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अधिराज्य बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन्ने मरी ट्रेभेलियनले शिष्टाचार भेटवार्ता गरेकी छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल भ्रमणका क्रममा यसअघि उनी बुधबार हुनमानढोका दरबार क्षेत्रमा नेपालस्थित बेलायती दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिइन् ।   उनले बिहीबार अरुण जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेकी थिइन् । उक्त परियोजनामा बेलायतले लगानी बोर्डमार्फत आर्थिक लगानी गरेको छ । बुधबार नेपाल भ्रमणमा आएकी राज्यमन्त्री ट्रेभेलियन आज स्वदेश फर्कंदै छिन् ।