७६ प्रतिशत खनियो नागढुंगा सुरूङ

काठमाडाैं | फागुन २८, २०७९

७६ प्रतिशत खनियो नागढुंगा सुरूङ

धादिङ:  सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरूङमार्गको समग्र भौतिक प्रगति ५०.१५ प्रतिशत पुगेको छ। आयोजनाले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार वित्तीय प्रगति ५४.३९ प्रतिशत छ। 

 

आयोजनाको मुख्य सुरूङ दुई हजार ६ सय ८८ मिटर लामो छ। हाल यस सुरूङको पूर्व (काठमाडौं) तर्फ ८९३.८० मिटर र पश्चिम (नागढुंगा) तर्फ बाट ९७६ मिटर गरेर जम्मा १८६९.८० मिटर खनिसकिएको छ। सुरूङको मात्र भौतिक प्रगति ७६.३० प्रतिशत भएको आयोजनाको भनाइ छ।

 

त्यस्तै ‘इभ्याकुएसन’ सुरूङको कुल लम्बाइ दुई हजार पाँच सय ५७ मिटर छ। यसको दुई हजार एक सय २७ मिटर सुरूङ खनिएको छ। त्यसमा एक हजार एक सय ४७.२० मिटर र पश्चिमबाट नौ सय ८०.६० मिटर सुरूङ खनिएको छ।

 

तीन वटा अन्डरपास निर्माण गर्नुपर्नेमा सबै पूरा भइसकेको आयोजनाले बताएको छ। त्यस्तै बक्स कलभर्ट चार वटै निर्माण सकिएको छ। एउटा ओभरपास पनि निर्माण भइसकेको छ। तीन वटै पुल निर्माण सकिएका छन्। फ्लाइओभर एउटा निर्माण गर्नुपर्नेमा यसको ९५ प्रतिशत काम सकिएको उल्लेख छ।

 

क्रस–प्यासेजको भने ७४.२० मिटर निर्माण भएको छ। त्यसको कुल लम्बाइ एक सय २८ मिटर छ।


यो आयोजना २५ अप्रिल २०२४ सम्म निर्माण सक्ने गरी म्याद थपिएको छ। 

 

आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ भित्र आयोजना निर्माण सक्ने गरी सम्झौता भएको थियो।

 

कोभिड महामारीका कारण पनि आयोजना निर्माण काम पछाडि धकेलिएको आयोजनाले बताएको छ। कोभिडपछि पनि हाज्मा आन्दो जेभीले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो। 

 

आयोजना कार्यालयले ८६ दिन म्याद थप गरेको थियो। म्याद थपपछि आयोजना थपिएको समयअनुसार जुलाई, २०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्ने थियो। यो अवधिमा पनि काम नसकिने भएपछि फेरि म्याद थपिएको हो। 

 

अहिले काम भइरहेको छ। यसरी नै काम निरन्तर भयो भने थपिएको अवधिमा काम सकिने उल्लेख छ। 

 

सुरूङ निर्माण मात्रै भने आगामी असारसम्म सक्ने तयारी आयोजनाको छ। यसअघि सुरूङ निर्माणमा पनि पटक पटक भौगर्भिक समस्या देखिएको थियो। यसकारण तोकिएको समयमा नसकिने हो कि भन्ने चिन्ता व्यक्त गरिएको थियो। 

 

अहिले सुरूङ निर्माणमा त्यस्तो भौगर्भिक समस्या नदेखिएको आयोजनाले उल्लेख गरेको छ। यसअघि निर्माणका क्रममा सुरूङभित्र डिफर्मेसन (पहिरो जाने) समस्या थियो। 

 

यो आयोजनालाई नेपालको पहिलो आधुनिक सुरूङमार्गको रूपमा लिइएको छ। नागढुंगा सुरूङमार्ग जापान सहयोग नियोग (जाइका) को सहयोगमा २०६९ देखि २०७२ सालसम्म सर्वेक्षण गरिएको थियो।

 

आयोजनाको ठेक्का र मुआब्जा गरेर कुल लागत करिब २२ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ। यसअघि २० अर्ब ६० करोड रूपैयाँमा अयोजना पूरा गर्ने उल्लेख थियो। जापानी येन बलियो हुँदै जाँदा लागत पनि बढेको हो।

 

कुल लागतमध्ये १६ अर्बभन्दा बढी जाइकाले सहुलियत ऋण उपलब्ध गराउनेछ। बाँकी ६ अर्बभन्दा बढी रकम नेपाल सरकारको हुनेछ। सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च हुने उल्लेख छ। जाइकाले उलब्ध गराएको रकम भने ठेक्कामार्फत आयोजना निर्माणमा खर्च भइरहेको छ।

 

१२ मिटर चौडाइको सुरूङमार्गको दायाँबायाँ पैदलयात्रीका लागि पेटी रहन्छ। पेटी दुवैतर्फ एकरएक मिटर उल्लेख गरिएको छ।

 

आकस्मिक अवस्थाका लागि छुट्टै एक लेनको सहायक सुरूङ रहन्छ। सुरूङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ।

 

यो सुरूङमार्ग नेपाल आयल निगम थानकोट डिपो नजिकै निस्किन्छ र पुनः त्रिभुवन राजपथमा जोडिन्छ। त्यहाँबाट त्रिभुवन राजपथमा जोड्न २।२५ किलोमिटर लामो तीन लेनको एक्सेस रोड रहन्छ।

 

सुरूङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको जाम हट्ने विश्वास लिइएको छ। यसले समयको बचत हुनुका साथै पेट्रोलियम पदार्थ खपतमा कमी आउने र वायु प्रदूषण कम हुने पनि विश्वास छ।

 

अहिले धादिङ हुँदै काठमाडौं प्रवेश गर्नेहरूले नौबिसेदेखि नै घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ। दैनिक तीनदेखि चार घन्टासम्मको जाम हुने यो स्थानमा सुरूङमार्ग सञ्चालन आएपछि नौबिसेबाट काठमाडौं २० देखि २५ मिनेटसम्ममा आइपुग्ने दाबी सरकारी अधिकारीहरूको छ।
 

चितवन:  मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना द...

थप पढ्नुहोस्

पोखरा:    यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ ।  क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमको छ...

थप पढ्नुहोस्

कैलाली:     सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारी नियुक्त भएका छन् ।  प्रदेश प्रमुख नजिर मियाँले आज सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  ...

थप पढ्नुहोस्