सञ्चारमाध्यमले प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्छ : सञ्चारमन्त्री शर्मा
काठमाडाैं | फागुन २९, २०७९

काठमाडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चारमाध्यममा राम्रो कामका लागि उत्प्रेरित गर्ने प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्ने बताउनुभएको छ ।
विकृति र विसङ्गतिमाथि प्रहार गरेर गलत काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु नेपाली सञ्चारमाध्यमको सकारात्मक पक्ष भएको उल्लेख गर्दै उहाँले त्यसरी नै राम्रा कामका लागि प्रेरित गर्ने पाटो भने कमजोर भएकाले यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।
‘नारी अनलाइन पत्रिका’ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राम्रो पक्षको उजागर गर्दा अवसर नपाएका क्षमतावानहरुले अवसर पाउने र समाजले गति लिने बताउनुभयो ।
विभिन्न आन्दोलन र युद्धको परिणामस्वरूप हरेक क्षेत्रमा महिलाको भूमिका बढ्दै गएको उल्लेख गर्दै उहाँले महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र होइन, एउटा समुदायकै विकासको रूपमा लिनुपर्ने बताउनुभयो ।
उहाँले पुरुष असफल हुँदा व्यक्ति असफल हुने र महिला असफल हुँदा महिला समुदाय नै असफल हुने भएकाले महिलालाई असफल हुने छुट नभएको र जुनसुकै क्षेत्रमा रहेका महिलाहरूले आफूलाई सफल बनाउनुको विकल्प नरहेको बताउनुभयो ।
समान जिम्मेवारी पाएका पुरुष र महिलाको आन्तरिक जिम्मेवारी फरक फरक हुने उल्लेख गर्दै माओवादी केन्द्रका स्थायी समिति समेत रहनुभएको मन्त्री शर्माले भन्नुभयो, ‘‘हिजो हामी जनयुद्धमा हुँदा पुरुषले बन्दुक मात्र बोके पुग्थ्यो तर महिलाले बन्दुक र बच्चा एकैसाथ बोक्नुपर्थ्यो, अहिले निकै माथिल्लो तहमा पुगेका महिलामा पनि सार्वजनिक र पारिवारिक जिम्मेवारी सँगसँगै बोकेको देखिन्छ ।’’
विभिन्न आन्दोलन र युद्धदेखि सदनभित्र संविधान र कानुन बनाउने बेलासम्म महिलाले बढी जिम्मेवारी बहन गर्दै आएको उल्लेख गर्दै उहाँले थप्नुभयो, ‘‘यसमा सञ्चारमाध्यममा बढी ध्यान दिनुपर्छ, महिलाको योगदानको यथोचित कदरसहित क्षमताअनुसार अवसर प्रदान गर्ने वातावरण बनाउन प्रेरणादायी कथाहरूको जतिसक्यो धेरै सार्वजनिकीकरण आवश्यक छ ।’’
अर्को एक प्रसङ्गमा अहिलेसम्म अनलाइन मिडियालाई कानुनले चिन्ने अवस्था नभएकाले चाँडै नै आम सञ्चार ऐनमार्फत अनलाइनलाई पनि कानुनले सम्बोधन गर्ने तयारी गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो । त्यसका लागि आम सञ्चारकै क्षेत्रका विज्ञहरूको समिति बनाएर काम थालिएको पनि उहाँले जानकारी दिनुभयो ।
नीति कार्यक्रम र बजेट समय भएकाले सूचना र सञ्चारमा महिलालाई कसरी जोड्न सकिन्छ सुझाव दिन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...