काठमाडौं:  अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...

 म्याग्दी:  बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।  सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो । पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।   बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । जेठ ६ गते रातिको बाढीले भुरुङ्ग–तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो । पुनः बाढी आएर ह्युमपाइप र वरपरको सडक कटान गरेर बगाएको हो । छयात्तरु किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालीगण्डकी करिडोर सडक आयोजनामार्फत स्तरोन्नतिको क्रममा छ । आयोजनाका सुुपरभाइजर इन्द्रसिंह शेरचनले आज बिहानैदेखि डोजर र मजदुर परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो ।  

तनहुँ:     तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ ।  मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले मृतक महिला व्यास नगरपालिका–१४ छाब्दी निवासी रहेको जानकारी दिनुभयो । उक्त घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उहाँले भन्नुभयो, “लगभग सनाखत भएको छ, एक जनालाई अनुसन्धान गरिरहेका छौँ । पूरा विवरण आज दिउँसोसम्ममा सार्वजनिक गर्छौँ ।” अनुसन्धान प्रक्रियाका कारण मृतक महिलाको नाम र पक्राउ परेका व्यक्तिको नाम अहिले सार्वजनिक नगरिएको प्रनाउ खाणले बताउनुभयो । बोराभित्र हात बाँधिएको अवस्थामा ती महिला मृतावस्थामा फेला परेकी थिइन् । उक्त बाटो हिडडुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।

म्याग्दी:    म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा भिरबाट लडेर मङ्गलबार एक महिलाको मुत्यु भएको छ ।  धारापानीका २३ वर्षीया सविना विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको वडाध्यक्ष अशोक खत्रीले बताए। बिहान १० बजे बेहोस अवस्थामा उद्धार गरिएकी विकलाई उपचारका लागि अपराह्न पोखराको मणिपाल शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।   विकको शव पोखराको मणिपाल शिक्षण अस्पतालमा राखिएको छ । विकलाई अस्पतालमा लैजानका लागि स्थानीयवासी र सङ्घसंस्थाबाट चन्दा उठाएर रु एक लाख ४० हजार भाडा तिर्ने गरी हेलि एभरेष्टको हेलिकोप्टर मगाएका थिए ।

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध परेको बाल सेनासम्बन्धी रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । आफूहरुलाई बालसेनाका रुपमा प्रयोग गर्नु र जबरजस्ती अयोग्य भनेर शिविरबाट निकाल्नु युद्ध अपराध भएको भन्दै लेनिन विष्टले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले मुद्दालाई अग्राधिकार दिनुका साथै उक्त विषयमा प्रचण्ड र भट्टराईसँग लिखित जवाफ मागेको हो ।

स्याङ्जा:  स्याङ्जाको पुतली बजार नगरपालिकाले कर भुक्तानीका लागि अनलाइन सेवा सुरु गरेको छ । सेवाग्राहीलाई सहज बनाउने उद्देश्यले अनलाइन कर भुक्तानी सेवा प्रारम्भ गरेको नगरप्रमुख तुलसीराम रेग्मीले बताए ।    अनलाइन सेवा प्रयोग गर्न जान्ने जो कोहीले पनि स्थानीय कर अब आफ्नै घरमा बसेर भुक्तान गर्न सक्नेछन् । पालिका आएर कर भुक्तान गर्दा लामो सय खर्चनुपर्ने र पालो पर्खनु पर्ने झन्झटबाट मुक्त भएको रेग्मीले बताए ।    पुतली बजारले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको सह-लगानीमा नवप्रर्वद्धन साझेदारी कोष कार्यक्रमअन्तर्गत सेवा सुरु गरेको हो । सेवा प्रवाहमा सुचना प्रविधिका नविनतम् उपाय, उपकरण, विधि र माध्यमहरुको प्रयोग गरी छिटो, पारदर्शी, जवाफदेही र जनमुखी सेवा प्रवाह गर्ने मुख्य उदेश्य भएको रेग्मीले बताए । यहाँ नगद रहित राजस्व सङ्कलन गर्न मिल्ने गरी क्यूआर भुक्तानी समेतको सुरुवात गरिएको छ ।  नगरपालिका मात्र नभई यहाँका १४ वटै वार्डमा कर अनलाइन तिर्ने व्यवस्था तत्काल बनाउने तयारी नगरपालिकाले गरेको छ । 

काठमाडौं:    पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दाबी गरेको छ । मङ्गलबार सङ्घीय संसद राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले सो स्पष्टिकरण दिनुभएको हो । उहाँले सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताउनुभयो । आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको सदस्य सचिव थापाको भनाइ छ । आफ्ना दुई सन्तान रहेका र उनीहरुको भविष्य समेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुःखेसो पोख्दै उहाँले राज्यको नीति यहीँ हो ? भनि प्रश्न समेत गर्नुभयो । कोषका सदस्य–सचिव डा। थापाले  भन्नुभयो, ‘‘९६ किलो ८२२ ग्राम सुन तयार भइसकेको छ । १० केजी भएको छैन भनेपछि हामीले त्यो माइन्यूटमा नलेखेको मात्रै हो । १० केजी सुन शिवले पहिरिएर राख्नु भएको छ । कि जोख्दा खेरी थाहा हुन्छ नि पित्तल होल्यो कि चाँदी होल्यो । यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ । म मृत्युदण्ड लिन तयार छु । आज मेरो गाउँभरी बेइज्जत भयो । मेरो दुई जना सन्तान छन । गहँभरी आँशु पार्दै अन्यथा नलिनु होला । म कमजोर होइन । तर राज्यले कमजोरी बनायो नि त । आयोगले छानविन गर्न नपर्ने ? पटकपटक हामीलाई मुद्दा चलाउँछु भनेको छ । जोखेर मुद्दा चलाउन । यो च्यालेन्ज हो । पुगेन पनि फाँसीदेऊ भनेको । तर हाम्रा पत्रकार साथीहरुले यथार्थ नबुझिकन सुनचोर भनेर निकालिदिनु हुन्छ । मेरा दुईटा बच्चा छन । मेरो बच्चाको भविष्य अन्धकार बनाई दिने ? राज्यको त्यही नीति हो ?’’ सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दूरुपयोग गरेर बाँच्नु नपर्ने पनि बताउनुभयो । उहाँले यो केशमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र ? भनि सांसदहरुसँग जिज्ञासा समेत राख्नु भयो । ‘‘मलाई पशुपतिको भेटी तलमाथि गरेर कुनै जग्गा, जमिन बेचेर खानु छैन । खादिन । मेरो दुई वटा सन्तान छन् । म चिसो पानी हाल्न चाहन्छु । र, धनी र गरिव मर्दाखेरी एउटै कात्रो ओढेर जाने ठाउँ हो पशुपति । मैले यति बुझेको छु । यो भन्दा धेरै बुझेको छैन । चाहे महलमा बसेपनि, छाप्रोमा बसेपनि काल त एउटै हो नि । कोही छिटो मर्छन, कोही अलि ढिलो मर्छन । त्यसले गर्दाखेरी यो सुनको जलहरी मैले न्याय माग्न मैले पनि के आत्माहत्या गर्नुपर्ने हो रु माननीयज्यूहरु ।,’’  सदस्य सचिव थापाले भन्नुभयो, ‘‘म यो सुनको जलहरी समितिको संयोजक हो । यसमा नेपाल राष्ट्र बैंकले दिएको सम्झौता अनुसार हामीले सुन लिएर आएका छौं–१०३ केजी । त्यतिखेर हामी एउटा राज्यको निकायबाट मनोनित भएपछि हामी कर्मचारी हो । राज्यका प्रमुखहरुले जे निर्देशन दिनुहुन्छ, त्यो गर्नु के गलत हो ?’’ सदस्य सचिव थापाले सो जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन नगरी जथाभावी आरोप लगाउन नमिल्ने बताउनुभयो । त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढङ्गले प्रतिवेदन आएको उहाँको दाबी थियो । बैठकमा सांसदहरुले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए ।

पाल्पा:    नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरियो) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेलापरेको थियो । सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षकसहितको टोलीले रामपुरमा ‘शिल’ गरेर राखेको मल अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । रामपुर–५ बेझाडस्थित विजय श्रेष्ठको घरमा (सटर भाडामा) ‘प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया’ नामक रासायनिक मल भण्डारण गरिएको अवस्थामा फेला परेको थियो  । बिल तथा कागजपत्र र सम्बन्धित व्यक्ति फेला नपरेपछि रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको सरोकारवालाको टोलीले मल ‘शिल’ गरेर राखेको हो । हालसम्म भण्डारण गरेका सम्बन्धित व्यक्ति पहिचान भएको छैन । प्रतिबोरा ४५ किलो बराबरको तौल छ । गत शनिबार बिहान रम्भा गाउँपालिका–१ हुँगीमा पनि अवैधरूपमा गाडीमा ल्याउँदै गरेको तीन सय ७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएर सोही दिन अनुसन्धानका लागि भन्सार कार्यालय पठाइसकिएको छ । 

प्युठान:   प्युठानमा जीप दुर्घटनामा परेका आठ जनाकै मृत्यु भएको छ । स्वर्गद्वारी दर्शन गरेर दाङको लमही फर्किँदै गरेका तीर्थयात्री चढेको लु १ च ६३४५ नम्बरको जीप भिङ्ग्रीको भ्यागुतेमा दुर्घटनामा परेको हो। दुर्घटनामा जीपमा रहेका दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जनाकै मृत्यु  भएको हो ।  मृत्यु हुनेमा बालक शिशिर खनालसहित तुलसीपुर-१५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षे विकास, गढवा गाउँपालिका ७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय छोरा आदित्य शाह र जीप चालक लमही नगरपालिका-५ का ४९ वर्षीय तारा कुमाल छन्। घोराहीका शिशिर सरिताका साथीको छोरा भएको प्रहरीले जानकारी दिएको छ।​ मृतक सबैको शव जिल्ला अस्पताल प्युठानमा राखिएको थापाले जानकारी दिए । 

 पोखरा:     गण्डकी अटो मेकानिकल वक्स एशोसिएसनले मेकानिक्सहरुलाई निशुल्क टि.टि खोप सहित स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । एशोसिएसनले पश्चिमाञ्चल सामूदायिक अस्पतालको सहकार्यमा मेकानिक्सहरु धेरै रहेको स्थान, पृथ्वीचोक बसपार्क, औधोगिक क्षेत्र,बाग्लुङ्ग बसपार्क र याम्दीमा  घुम्ती शिविर मार्फत ४८६ जनालाई खोप लगाइएको अध्यक्ष सन्तोष कुमार मिश्रले बताए ।           प्राणघातक रोगको रुपमा धनुष्टङ्गकारलाई लिने गरिएको धातुका कारण शरीरको कुनै पनि भागमा रगत आउने गरी काटेमा सो बाट शरीरभरि फैलन गई शरीर बाङ्गीने लामो समय उपचार गराउँदा धेरै खर्च हुने हुदाँ टिटानसको खोप प्रभावकारी रहेको डा. युक्त नारायण रेग्मीले बताए । ३ डोज लगाएपछि १० वर्ष खोप लगाउन नपर्ने हुदाँ खोप सेवा प्रभावकारी रहेको डाक्टर रेग्मीले बताए ।         कार्यक्रमको शुभारम्भ गर्दै पश्चिमाञ्चल सामुदायिक अस्पतालका अध्यक्ष हरि पाण्डेले खोप सेवा सङ्गै मेकानिक्सका लागी सहुलियत सेवा अस्पतालले प्रदान गर्ने बताए । एशोसिएसनका अध्यक्ष सन्तोष मिश्रको सभापतित्वमा भएको कार्यक्रममा प्रेस सल्लाहाकार कृष्ण थापा, रेडियो सराङ्गकोटका निर्देशक राममनि पौडेल, सामुदायिक अस्पतालका उपाध्यक्ष अर्जुन ज्ञवाली, संस्थाका पूर्व अध्यक्ष सानुमान जलारी, सल्लाहाकार छम बहादुर खत्री, उपाध्यक्ष कृष्ण खाँड, महासचिव विष्णु अधिकारी, कार्यक्रम संयोजक लिल बहादुर सुनारले खोप सेवाले  मेकानिक्सको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेलेको बताए ।