काठमाडौं:  अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...

काठमाडौं:   काठमाडौं बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा हिजो मङ्गलवार पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । आज बुधवार न्यायाधीश वासुदेव पौडेलको इजलासले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिजो पक्राउ गरेका सातमध्ये तीन जनाको नाममा पहिल्यै निषेधाज्ञाको आदेश जारी भइसकेको पाइएपछि हिजै बेलुका छाडेको थियो । यस प्रकरणमा सरकारी वकिलको कार्यालयले प्रतिवेदन फिर्ता गरेका कारण २०७८ सालको पुसदेखि रोकिएको अनुसन्धान पुनः शुरु गर्दै प्रहरीले हिजो सात जनालाई पक्राउ गरेको हो ।

काठमाडौं:    आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको आज बुधवारको बैठकमा उपस्थित भएका दुई सय ५५ जना सांसदमध्ये एक सय ४७ मतसहित बजेट पारित भएको हो । बजेटको विपक्षमा एक सय आठ मत परेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको हो । बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आउँदो आर्थिक वर्ष २०८०÷८१ बजेट अर्थात् विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव राख्नुभएकोमा त्यसलाई सभामुख देवराज घिमिरले ध्वनिमतबाट पारित भएको घोषणा गर्नुभएको थियो । सभामुख घिमिरले हुन्छ वा हुन्न भन्ने ध्वनि मतका आधार घोषणा गर्नुभएकोमा एमालेका सांसद महेशकुमार बर्तौलाले नियमापत्ति गर्नुभयो । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले मत विभाजन गर्नुपर्ने माग गरेपछि मत विभाजन गरिएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीसहित सत्ता गठबन्धनका दलले बजेट पारित गर्न संसदीय दलमा अनिवार्य उपस्थिति हुन र प्रस्तावको पक्षमा मतदान गर्न ुह्विपु लगाएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका विपक्षी दलले विपक्षमा मतदान गरे ।  पारित भएसँगै आउँदो साउन १ गतेदेखि नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा आउनेछ । गएको जेठ १५ गते सरकारले आउँदा आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

नवलपुर:  भारतबाट भन्सार छलेर ल्याएको अवैध मालसामान जिल्ला प्रहरी कार्यालय नवलपुरले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय राजमार्ग सडक किनारमा बेवारिसे अवस्थामा बिना बिल कागजातको भन्सार चोरी पैठारी गरी ल्याएको तीन लाखभन्दा बढीको मालसामान बरामद गरेको हो ।  बरामद भएको सामानमा कुर्ता सुरुवाल तीन सय २४ पिस, वान पिस ४ पिस, साडी ६ पिस, थानको कपडा ९ पिस ८२ मिटर, थानको कुर्ताको कपडा १२ पिस, दुई सय ३१ मिटर रहेको छ। त्यस्तै, हाफ पाइन्ट १० पिस, पाइन्ट ७ पिस, सर्ट ४३ पिस, टिसर्ट १२ पिस, पाउडर दूध २ बोरा, मोबाइलको विभिन्न ग्लासहरू ११ कार्टुन, बजाज फिल्टर ईलामेन्ट ४९, भेली २२ कार्टुन, मोसाको कलज वायर ४६, ड्रमब्रेक सोल ३३ सेट, एयर फिल्टर २८, मोबिल १५ लिटरको २ बाल्टी, विभिन्न वासरहरू १ झोला, इन्जिन पार्टस १ पिस, बेबी सुईमिङग गार्ड ६ बोरा र युरिया ४ बोरा रहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए। प्रहरीले भन्सार छली पैठारी गरी ल्याएका विभिन्न किसिमका लत्ताकपडाहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुर जनाएको छ । भन्सार छलिका सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय त्रिवेणी पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक साजन कुमार शर्माले बताए । 

काठमाडौं:     बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गालाई व्यक्तिको कायम गर्ने क्रममा भएको किर्तेमा हदम्याद नलाग्ने नेपाल प्रहरीले दाबी गरेको छ । बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले पत्रकार सम्मेलन गरी नयाँ मुलुकी ऐन जारी हुनु अघिकै अवस्थाको कानुनका आधारमा मुद्दा दायर हुने बताएको हो । पुरानो कानुनअनुसार मुद्दा चलाउँदा हदम्याद नलाग्ने प्रावधान रहेको प्रहरीको भनाइ छ । सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित किर्तेमा हदम्यादको व्यवस्था नभएकाले ललिता निवास प्रकरणमा हदम्याद लागू नहुने बताउनुभयो । उहाँले यो प्रकरण नयाँ मुलुकी ऐन आउनुभन्दा अघिको भएकाले अहिलेको कानुन आकर्षित नहुने बताउँदै मुद्दा दर्ता नहुने भन्ने प्रश्न नै नआउने बताउनुभयो । उहाँले यस प्रकरणमा केही चलखेल हुनसक्ने भएकाले प्रहरीसँग जवाफ दिनका लागि यथेष्ट प्रमाण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो मुद्दा दर्ता नगर्ने प्रश्न नै आउँदैन, हामीले धेरै नै मेहनत गरेर प्रमाण जुटाएका छौँ । मुद्दा दर्ता हुन्छ, अघि बढ्छ, हद म्यादमा पनि दुबिधा हुनेछैन, यस्तोमा सानो चलखेल रहन्छ नै उनीहरूलाई जवाफ दिने यथेष्ट प्रमाण छन् ।’’ पत्रकार सम्मेलनमा सिआईबीका एसएसपी दिनेश आचार्यले २०४७ पछिका चरणचरणमा ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको बताउनुभयो । उहाँले राणालाई फिर्ता गरेको नाममा, नक्कली मोही खडा गरेर, गुठी खडा गरेर जग्गा हिनामिना गरेको जानकारी दिनुभयो । एसएसपी आचार्यले ललिता निवास जग्गा प्रकरणमा मीनबहादुर गुरुङ, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, मालपोत कर्मचारी गोपाल कार्की र भक्तपुर मालपोतका तत्कालीन हाकिम सुधीर शाह पक्राउ परेको भन्दै अनुसन्धान जारी रहेको बताउनुभयो । ‘‘ललिता निवास जग्गा प्रकरणमा  मङ्गलबार हामीले ४ जनलाई पक्राउ गरेका छौँ । उनीहरूलाई थप अनुसन्धान र कारबाही अघि बढाएका छौँ । पक्राउ पर्नेमा मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम, गोपाल कार्की, सुधीर शाह गरी ४ जना व्यक्तिलाई नियन्त्रणमा राखेर कारबाही प्रक्रिया अघि बढाएका छौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘सरकारी जमिन जसरी किर्ते भएको छ यसमा असीमित हदम्याद हुने व्यवस्था छ । त्यसैअनुसार हामी अघि बढेका छौँ । सरकारी जमिन धेरै हिनामिना भएको अवस्था छ, हामीसँग २०२० को असीमित हदम्यादको व्यवस्था छ । मीनबहादुर गुरुङको नाममा २९ रोपनी भन्दा बढी जग्गा उहाँ लगायत उहाँको परिवारका नाममा देखिन्छ ।’’ ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर मुद्दा विचाराधीन छ ।

मोरङ:    मोरङको कानेपोखरी–७ बरगाछीमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना गम्भीर बिरामी परेका छन् । कमजोर आर्थिक अवस्थाका कारण उनीहरूको उपचार हुन सकेको छैन । उनीहरूले मङ्गलबार बेलुका खेतबाट खोजेर ल्याएको जङ्गली च्याउको तरकारीसँग खाएका थिए । खाना खाए लगत्तै ७६ वर्षीया देशमाया राई, ४६ वर्षीय मनकुमार राई, ४४ वर्षीया मङ्गला राई ,२४ वर्षीया सुस्मिता राई र १४ वर्षीया आइसिका राई बिरामीलाई नसा लागेको थियो । राति ९ बजेदेखि पाँचै जनाले बान्ता गर्दै बरबराउन थालेपछि राई परिवारका आफन्तलाई खबर गरिएको थियो । मङ्गला र सुस्मिताको स्वास्थ्य अवस्था सामान्य भइसकेको छ भने अन्य तीनजना अझैसम्म उठ्न सकेका छैनन् । देशमाया राईले भन्नुभयो, ‘‘खुट्टा टेकिँदैन, उठ्ने आँट आउँदैन ।’’ अर्का बिरामी मनकुमार राईले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभयो ।

काठमाडौं:     गायक प्रकाश सपुतमाथि रोमानियाको कन्सर्टमा भएको आक्रमणको घटनाप्रति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले भर्त्सना गरेको छ ।  अध्यक्ष रीता थापामगरले सोमबार विज्ञप्ति जारी गर्दै घटनालाई लिएर त्यहाँस्थित कूटनीतिक नियोग र प्रतिष्ठानको युरोप शाखाको समेत ध्यानाकर्षण गराएको जनाएकी छन् । संस्थाका सचिवसमेत रहेका गायक सपुतमाथि गीत गाउने क्रममा भएको बोतल प्रहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘यस्ता घटनाले कलाकारको मनोबल गिर्नुको साथै नेपाली दाजुभाइबाट हुने यस्ता अवाञ्छित क्रियाकलापले सबै नेपाली कलाकारको मन दुखेको छ,’ विज्ञप्तिमा भनिएको छ । संस्थाले दोषीमाथि कडाभन्दा कडा कारवाहीको माग गर्दै घटनालाई दोहोरिन नदिन आयोजकलाई समेत आग्रह गरेको छ । नेपाली समयानुसार सोमबार बिहान युरोपेली मुलुक रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रमको क्रममा सपुतमाथि दर्शक दीर्घाबाट बियरको बोतल प्रहार भएको थियो । यो घटनामा सपुतको अनुहारमा सामान्य चोट लागेको जनाएको छ । आधा घण्टा कार्यक्रम बिथोलिएको र त्यसपछि कार्यक्रम सुचारु भएको जनाइएको छ । याद नेपाली म्युजिक फेस्टिभल भाग २ नाम दिइएको उक्त कार्यक्रमको घटनाका दोषीलाई तत्कालै आयोजकले नियन्त्रणमा लिएका थिए । उक्त कार्यक्रममा गायिका प्रीति आले समेत सहभागी थिइन् । यो घटनालाई लिएर नेपाली संगीतकर्मीले आपत्ति व्यक्त गरिरहेका छन् ।

काठमाडौं:    यसवर्ष वैशाखयता चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ छ । ८४ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख १ गतेदेखि अहिलेसम्म चट्याङका एक सय वटाभन्दा धेरै घटना भएका छन् । हिजो एकैदिन दाङ र बाग्लुङमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । चट्याङ लागेर दङ्गीशरण गाउँपालिका–६ बागरका ३२ वर्षीय समिर केसी र दङ्गीशरण गाउँपालिका–३ चखौराका ३७  वर्षीय रामनारायण चौधरी (वीरेन्द्र) को मृत्यु भएको हो । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। यस्तै, बाग्लुङको ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा चट्याङ पर्दा ६ वर्षीय छोरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो । चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । मौसमविद्का अनुसार प्रि–मनसुनमा चट्याङ धेरै पर्ने भए पनि अहिले मनसुन सुरु भइसक्दा पनि छिटपुट घटना भइरहेका छन् । चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर घाइते हुने तथा ज्यान नै जाने खतरा हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । अझै दुई–तीन महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन उनको आग्रह छ । चट्याङ पर्ने समयमा खेतबारीको काममा नजान र गड्याङगुडुङको आवाज सुनेपछि घरभित्र वा सुरक्षित ठाउँमा बस्न विज्ञको सुझाव छ । चट्याङ पर्दा सबै विद्युतीय उपकरणलाई बन्द गर्नुपर्छ । यस्तो बेला मोबाइल नचलाउन, चार्ज नगर्न तथा पानीबाट पनि टाढा बस्न विज्ञको सुझाव छ । विज्ञका अनुसार पानीले पनि विद्युत् प्रवाह गर्ने भएकाले चनाखो हुनुपर्छ ।

बागलुङ:  बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।  जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ । विकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको सूचना अधिकारी केसीले जानकारी दिए । जीप करिब सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।

काठमाडौं:    नेपाल उद्योग परिसङ्घको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन हुनुभएको छ । काठमाण्डौमा सम्पन्न परिसङ्घको २०औं वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका अग्रवाल परिसङ्घको विधान अनुरुप स्वतः अध्यक्षमा चयन हुनुभएको हो । अग्रवाल डेढ दशकदेखि परिसङ्घको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजश्व समिति सभापति, रोजगारदाता परिषद् संयोजक हुँदै परिसङ्घको उपाध्यक्ष बन्नुभएको थियो ।  आरएमसी ग्रुपका कार्यकारी निर्देशक समेत रहनुभएका अग्रवाल सिमेन्ट, स्टिल, खाद्यलगायतका क्षेत्रमा आबद्ध हुनुहुन्छ । परिसङ्घका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई सपथ ग्रहण गराउनुहुँदै पदभार हस्तान्तरण गर्नुभयो । परिसङ्घको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राज बहादुर शाह, विदुषी राणा, अजित विक्रम शाह, हेम राज ढकाल, आशिष अग्रवाल जजोडिया, मनिष खेम्का, द्विराज शर्मा (शिवाकोटी), ध्रुवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, आशिष गर्ग, सपना सापकोटा, विरेन्द्रराज पाण्डे निर्वाचित भएका छन्। यसैगरी लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, सन्दिप शारदा, मोहित केडिया, अमित मोर, अमित कुमार बेगानी, चन्द्र टण्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुण कुमार तोदी, राहुल कुमार अग्रवाल, शरद कुमार टिवडेवाला, विक्रम सिंघानीया, मिलन बाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, सौरभ दुगड, विकास दुगड, दिलीप अग्रवाल, गोपाल कुमार अग्रवाल, आदित्य संघाई निर्वाचित भएका छन् । परिसङ्घको उपाध्यक्षमा निर्वाण चौधरी, विरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेम राज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चयन भए । यसैगरी परिसङ्घको स्थायी आमन्त्रित सदस्यमा सन्दिप शारडा, गोकुल भण्डारी र छायाँ शर्मा मनोनित भएका छन् ।