काठमाडौं:  अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...

पोखरा:     पोखरा महानगरपालिका वडा नम्बर १३ ले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । वडाध्यक्ष किरण बरालले विहिबारदेखि निशुल्क एम्बुलेन्स सेवा सुरु गरेका हुन् ।  वडाका सबै विरामी नागरिकले पोखराका जुनसुकै अस्पतालमा पुग्दा पनि एम्बुलेन्सको भाडा तिर्न नपर्ने बरालले बताए । ‘आजपनि सामान्य विरामी हुँदा उपचार गर्ने खर्च नागरिकसँग छैन । अस्पताल पुग्न एम्बुलेन्सलाई तिर्ने भाडा छैन,’ उनले भने, ‘महानगरभित्र बसेर पनि महानगरबासीको महशुस गर्न पाउनुभएको छैन । आज सानो खुसीको खवर तपाईंहरुलाई, पोखरा १३ ले आजैका दिनदेखि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको खवर सुनाउन पाउँदा खुसी लागेको छ ।’ यसअघि पनि उनले छात्रबृत्तिदेखि जेष्ठ नगारिक र अपांगता भएकाहरुका लागि विभिन्न कार्यक्रम ल्याएका थिए । एम्बुलेन्स सञ्चालनका लागि वडाले वार्षिक ४ देखि ५ लाख खर्च गर्ने बरालले सुनाए ।    ‘एम्बुलेन्स निशुल्क चलाउँदा वर्षमा ४ देखि ५ लाख हुने अनुमान छ । त्यो रकम वडाले व्यहोर्छ,’ उनले भने, ‘हामी अन्य सहयोगी पनि खोजिरहेका छौं ।’ एम्बुलेन्स सेवाका लागि विरामी वा आफन्तले खवर गर्नुपर्छ ।  वडामै भएका स्वास्थ्य संस्थालाई प्रभावकारी र उपकरणयुक्त बनाउने अभियानमा आफु लागेको बरालले सुनाए । ‘वडाकै स्वास्थ्य संस्थालाई पनि कामयावी बनाउने योजना छ । हाम्रा सरकारी स्वास्थ्य संस्थाहरुमा उपकरण, औषधी र डाक्टरको अभाव छ,’ उनी भन्छन्, ‘तैपनि सकेजति सुधार गर्दैछौं । सामान्य उपचार वडामै हुने र रिफर गर्नुपर्दा निशुल्क एम्बुलेन्समा पठाउछौं ।’ महानगरभित्र तुलनात्मक रुपमा विकट वडा भएकोले त्यहाँका नागरिकहरु विरामी हुँदा एम्बुलेन्स वा निजी गाडी रिजर्भ गरेर अस्पताल जानुपर्ने बाध्यतामा छन् ।  बरालले आफ्नो काममा टिप्पणी गरिदिन पनि आग्रह गरेका छन् । सामाजिक सञ्जाल मार्फत आफुले प्रतिबद्धता जनाए अनुसार काम भए नभएको टिप्पणी गरिदिन आग्रह गरेका हुन् । ‘मैले सँधै आँफुलाई तपाईंको सेवक ठानेको छु । बरु मैले गरेका काम र व्यवहारले तपाईंहरुलाई कस्तो लागिरहेको छ ?,’ उनले भने, ‘सल्लाह र सुझाव पनि दिँदै गर्नुहोला । गलत भएको ठाउँमा खवरदारी गरिदिनुहोला ।’ बरालले केही समयअघि आफु निर्वाचित भएको १ वर्षभित्र गरेका कामहरुबारे सार्वजनिक गरेका थिए । 

काठमाडौं:    हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।  महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तुलनात्मकरूपमा आगामी सोमबार र मङ्गलबार बढी मनसुनी वर्षा हुनेछ । पछिल्ला दिनमा निरन्तर वर्षा भइरहे पनि आजबाट केही मात्रामा कम वर्षा भएको छ । आज राति पनि भारी वर्षाको सम्भावना छैन । “मनसुन आज र भोलिलाई सामान्य छ । शनिबार र आइतबारको तुलनामासोमबार र मङ्गलबार बढी वर्षा हुने सम्भावना छ । भोलि दिउँसोका लागि विगतको तुलनामा कमै वर्षा हुने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो । उहाँको भनाइमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा तल रहँदा नेपालमा कम वर्षा हुने सम्भावना छ ।  सङ्घीय राजधानी काठमाडौँमा आज राति हल्का वर्षाको सम्भावना छ भने भोलि दिउँसो मध्यम वर्षाको अनुमान गरिएको छ । यसैबीच महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि दिउँसो मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी पोखरामा एक सय ५५ मिलीमिटर वर्षा मापन गरिएको छ । लुम्लेमा एक सय ३४ मिलीमिटर वर्षा भएको छ । त्यसैगरी ओखलढुङ्गामा ७२, जिरीमा ४२, भैरहवामा ३७, धनगढीमा ३२ र काठमाडौँमा ३४ मिलीमिटर वर्षा मापन गरिएको छ ।

काठमाडौं:      शैक्षिक परामर्श सङ्घ (इक्यान)को नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनबाट शेषराज भट्टराई अध्यक्षमा विजयी हुनुभएको छ । अध्यक्षका लागि चार जना उम्मेदवार रहेकामा भट्टराईले दुई सय ३८ र निकटतम् प्रतिद्वन्द्धी विष्णुहरि पाण्डेले एक सय ४६ मत प्राप्त गर्नुभएको छ । विद्युतीय मतदान प्रणालीबाट भएको निर्वाचनमा कुल चार सय १९ मतदाताले भाग लिएका थिए । कार्यसमितिको उपाध्यक्षहरूमा लन्ड्रयु पौडेल (लक्ष्मण), भुवनबहादुर क्षेत्री, गीता शिवाकोटी (गीताञ्जली) र महासचिवमा दीपक भुसाल निर्वाचित हुनुभएको छ । सचिवमा भावनाथ हुमागाईँ र रत्नबहादुर भट्टराई तथा कोषाध्यक्षमा आशिष कार्की विजयी हुनुभएको छ ।

काठमाडौँ:   सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ ।   भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भूले आज एक सूचना जारी गर्दै आवेदन माग गरेको हो ।    रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ ।    आगामी साउन २८ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन् । तोकिएको म्यादभित्र राजश्व नतिरेको र रित नपुर्‍याएको निवेदन पेस नहुने सूचनामा उल्लेख छ ।   

दमौली: मेरा इनार, न त सत्तल पाटी केही छन्  जे चिज र धनहरू छन् घरभित्र नै छन्  त्यस घाँसीले कसरी आज दियेछ अर्ति  धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य) तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्रै ठूला–ठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा यही वर्ष घर पुनःनिर्माणको काम सुरु गर्ने तयारी गरिएको छ । भानु नगरपािलका–४ चुँदीरम्घा शिखर कटेरीस्थित खण्डहर बनेको पुरानो घर भएको ठाउँमा नयाँ घर पुनःनिर्माणको तयारी गरिएको हो । भानुभक्त आचार्यको सम्मानमा स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आगामी आर्थिक वर्ष २०८०÷८१ भित्रै घर पुनःनिर्माणको काम सुरु हुने समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताउनुभयो । घर पुनःनिर्माणका लागि बजेटको स्रोत सुनिश्चित नभए पनि समितिकै आन्तरिक कोषबाट भए पनि काम सुरु गरिने रानाभाटको भनाइ छ । उहाँले भन्नुभयो, “कङ्क्रिटको घर बनाउन नसकिए पनि ढुङ्गा माटोको भए पनि घर निर्माणका लागि काम सुरु हुन्छ, नगरपालिका, प्रदेश र सङ्घ सरकारलाई पनि घर निर्माणका लागि सहयोगको अपिल गर्छौँ ।” पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि २०७३ चैत २२ गते शिलान्यास गरे पनि काम सुरु हुनसकेको छैन । अब समिति भने विकास मञ्चको भर नपर्ने रानाभाटको भनाइ छ । उहाँले भन्नुभयो, “विकास मञ्चको भर पर्दा अपजसमात्रै भयो, अब हामी आफ्नै सक्रियतामा काम सुरु गर्छौँ ।” भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । रानाभाटले भन्नुभयो, “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृहजिल्लामै भानुभक्तलाई उपेक्षित गरियो कि भन्ने भान हामीलाई हुन्छ । घर पुनःनिर्माण गर्न सकिए यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने विश्वास छ ।” पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि स्वामित्व ग्रहण र पूर्वाधार अभावको मुख्य समस्या देखिएपछि काम सुरु गर्न नसकिएको जनाएको छ । भानुगृह निर्माण गर्ने ठाउँ सामुदायिक वनभित्र रहेकाले सुरक्षाको पनि समस्या देखिएको छ । विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’  चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनःनिर्माण गर्नुभएको थियो । जङ्गलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी हुँदा रु एक लाख २७ हजारको क्षति भएको थियो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रिय विभूतिको अलपत्र रहेको घर पुनःनिर्माणका लागि नगरपालिका प्रयासरत रहेको बताउनुभयो । भानु जन्मस्थललाई भानुधामका रूपमा विकास गर्ने नगरपालिकाको योजना रहेको उहाँको भनाइ छ । भानुभक्त जन्मस्थल विकास समितिले गत वर्ष शिखर कटेरीमा पानी र बत्तीको व्यवस्था गरेको छ । शिखर कटेरीमा नै रामायण भवन निर्माण सम्पन्न भइसकेको छ । पर्यटन मन्त्रालयको रु तीन करोड लगानीमा रामायण भवन निर्माण गरिएको हो । रामायण भवनलाई आकर्षकरूपमा बनाइएको छ । भवनको बार्दली काठमा कुँदिएको कलात्मक छ ।  भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा सरोकारवालाको गुनासो छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चमा आबद्ध रोमाकान्त पोख्रेलले नेपाली भाषाको एकीकरण गर्ने भानुभक्तको सम्मान हुन नसक्नु दुःखद् भएको बताउनुभयो । भानु जन्मस्थललाई सप्तधाममा विकास गरिने भानुभक्त जन्म्स्थल विकास समितिले आदिकविको जन्मस्थललाई प्रचार–प्रसार गरी साहित्यिक पर्यटनका रूपमा देश–विदेशमा परिचित गराउन विभिन्न संरचना निर्माण थालेको छ । तर पर्याप्त बजेट नहुँदा त्यसले मूर्तरुप पाउन सकिरहेको छैन । आन्तरिक तथा बाह्य पर्यटनका लागि आफ्नै स्वामित्वमा रहेको १४ रोपनी जग्गामा भानु स्मृति पार्क निर्माण भइरहेको विकास समितिका कार्यकारी निर्देशक रानाभाटको भनाइ छ । चुँदीरम्घालाई सप्तधामका रूपमा विकसित गर्नका लागि गुरुयोजना बनाउने तयारी थालिएको रानाभाट बताउनुहुन्छ । “पर्यटकलाई आकर्षित गराउन चुँदीरम्घामा केही संरचना र विकासका काम गर्नुपर्नेछ, त्यसका लागि समितिसँग बजेट छैन”, रानाभाटले भन्नुभयो, “चुँदीरम्घाको विकासका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेका छौं ।” भानु जन्मस्थल क्षेत्रमा थप केही पूर्वाधार निर्माण गर्नका लागि गुरुयोजनाअनुसार रु तीन करोड बजेट लाग्ने देखिएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय, भानु संस्कृत मावि र भानु संस्कृत विद्यापीठमा कच्चीबाटो रहेकाले वर्षायाममा आवतजावत गर्न कठिनाइ भएकाले कालोपत्र, पक्की नालाका लागि बजेट आवश्यक रहेको रानाभाट बताउनुहुन्छ ।  दुई सय दशौँ भानु जयन्तीका अवसरमा आज चुँदीरम्घामा विविध कार्यक्रम हुँदैछ । समितिको आयोजनामा प्रभातफेरी, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डको उपस्थिति रहने आयोजकले जनाएको छ ।

चितवन:     चितवनको दासढुङ्गामा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेज र आठ जनाको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–२९ दासढुङ्गामा बिहान सवा ५ बजेतिर बस दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको बाग्मती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकबाट तल खसेर रुखमा अड्किएको अवस्थामा छ । बस रुखमा अड्किएकाले त्रिशूली नदीमा खस्नबाट जोगिएको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं:    सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई २५ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको छ ।  बिहीबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो रु निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्याद बाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरुका नाउँमा म्याद सूचना जारी गरी लिखित जवाफ परेपछि पेशीको सूचना महान्यायात्रिवक्ताको कार्यालयलाई दिई सुनुवाइका लागि नियमानुसार पेस गर्नुहोला ।’ ललिता निवास जग्गा प्रकरणको सरकारी कागजात कीर्ते मुद्दाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले असार २४ गते सचिव राउतलाई नियन्त्रणमा लिएको थियो । सचिव राउतको तर्फबाट उषा कार्कीले असार २७ गते गृह मन्त्रालय समेतलाई विपक्षी बनाई बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराउनुभएको थियो । विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।

काठमाडौं:     मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडानमा नयाँ नियम ल्याएको छ ।  यस अनुसार अब मनसुन अवधिभर हेलिकप्टरले हिमालमा उडान गर्न पाउने छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउण्टेन उडान, सिलिङ उडान र पुष्पवृष्टि गर्न रोक लगाएको छ । प्राधिकरणले हेलिकप्टरको उडान सञ्चालन अनुमति दिँदा प्रस्थान विन्दु वा अवतरण विन्दुमध्ये कम्तीमा एक स्थान विमानस्थल हुनुपर्ने समेत नियम ल्याएको छ । हेलिकप्टरको उडानसम्बन्धी हाल विमानस्थलमा भइरहेको अनुमति दिने काम मनसुन (सेप्टेम्बर २०२३) भर साप्ताहिक रुपमा समीक्षा गरी प्राधिकरणको प्रधान कार्यालयबाटै प्रदान गर्ने निर्णय समेत भएको छ । प्राधिकरणले हेलिकप्टर तथा स्टल विमानस्थल (सानो धावनमार्ग भएका हिमाल र पहाडका विमानस्थल)मा हुने दैनिक उडानलाई नियमित सुपरिवेक्षण समेत प्राधिकरणले गर्ने भएको छ । यसका लागि अब एक कमिटिले काम गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सेयर सदस्य (लगानीकर्ता)का रुपमा हेलिकप्टर कम्पनीमा संलग्न भएर पाइलटको काम समेत गरिरहेकाहरुलाई व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार सोलुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएको थियो । यो हेलिकप्टर माउन्टेन फ्लाइटका लागि सो क्षेत्रमा पुगेको थियो । त्यसअगाडी संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हाइड्रोपावरको सामान ओसार्ने क्रममा भएको थियो ।

हुम्ला:    हुम्लाको कालीका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालीका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको हो ।  यसअघि गएको असार २५ गते सिन्धुपाल्चोकको बाह्रबिसे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियो ।   पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली, पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प तथा परकम्प गइरहेको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।