काठमाडौं:  अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...

काठमाडौं:   अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताउनुभएको  छ ।  भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्नुहुँदै मन्त्री डा. महतले अल्पविकसित मुलुकका राजस्व स्रोतमा कमी र बढ्दो ऋणका बीचमा दीगो विकास लक्ष्य हासिल गर्न चुनौति थपेको बताउनुभयो । उहाँले स्रोत अभावले गर्दा स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको जिकिर गर्नुभयो । अन्तर्राष्ट्रिय समुदायले सहुलियत पूर्ण, सुविधाजनक, लचक खालका अनुदान र स्रोत उपलब्ध गराउन बैठकमा उहाँले आह्वान गर्नुभयो । सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक जस्ता संस्थाहरूको सहभागिता रहेको छ । बैठकमा मुख्य गरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका विषय सत्रमा छलफल भएको छ । सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवम् सुपरीवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइएको छ । सम्मेलन भोलि (मङ्गलबार) सम्म चल्ने छ ।

बुटवल:      प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिरलाई सम्पादन गरी भारतीय आधार कार्ड, आयकर कार्ड लगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको आरोपमा केन्द्रीय साइबर ब्युरोले आइतबार बुटवलका एक युवकलाई पक्राउ गरेको छ । बुटवल देवीनगरबाट टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई पक्राउ गरेको हो । उनले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका बेला समेत लिएर असंवेदनशील पोस्ट गरेका थिए ।   ब्युरोको टोलीले काठमाडौंबाट लोकेसन पत्ता लगाइ इलाका प्रहरी कार्यालय बुटवलबाट दुई जना प्रहरीसहितको सहयोगमा रानालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । आइतबार साँझ पक्राउ परेका रानालाई सोमबार टोलीले काठमाडौं लगेको छ । उनलाई काठमाडौंमै साइबर क्राइम सम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

सुनसरी:     सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदी किनारमा तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   सप्तकोसी किनारमा युवतीहरुको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।       जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवत्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईकाअनुसार उक्त घटनामा संलग्न अरु चार जनाको खोजी भइरहेको छ । उनीहरु फरार छन् । गत शुक्रबार सप्तकोसी नदीस्थित बराहक्षेत्रको राजाबासमा पाँच युवतीको समूहले तीन युवतीमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । कुटपिटमा संलग्नहरुले आफ्नो पोल अरु कसैलाई खोलिदिएको भन्दै मुक्का र लात्ती वर्षाएको देखिन्छ । 

काठमाडौं:    सरकारले सार्वजनिक गाडीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा घटाएको हो ।   स्वचालित प्रणालीअनुसार डिजलमा चार र पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ घटेको थियो । यसैलाई आधार बनाएर विभागले यात्रुवाहक गाडीमा २ दशमलव १३ प्रतिशत भाडा घटाएको छ । यसैगरी मालवाहक गाडीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव ०९ प्रतिशतले भाडा घटेको विभागले जनाएको छ । घटेको भाडा आज सोमवारदेखि नै लागू हुने छ । घटेको यो भाडा दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने गाडीमा लागू हुनेछ । छोटो दुरीको गाडी भाडा भने प्रदेश सरकारले समायोजन गर्नेछ ।   हेर्नुहोस कहाँ कति भाडा  

काठमाडौं:      मिटरब्याजसम्बन्धी विधेयक पारित भएको छ । विधेयक पारित भएसँगै मिटरब्याजबाट पीडित भएकालाई न्याय दिने कानुन कार्यान्वयनको बाटो खुलेको छ । प्रतिनिधि सभाको हिजो बसेको बैठकले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई सर्वसम्मतिले पारित गरेको हो । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । यो विधेयकमा मिटरब्याजसँग सम्बन्धित कानुनी व्यवस्था गरिएको छ । यो विधेयकले अनुचित लेनदेनसँग सम्बन्धित कार्यलाई कसुर मानेको छ । मिटरब्याजपीडितको पक्षमा ल्याइएको यो विधेयकमा कसैले लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत तयार गर्ने, लेनदेन गरेको वास्तविक रकमभन्दा बढीको लिखत तयार गर्ने, ब्याज रकमसमेत साँवामा जोडी लिखत तयार गर्ने, ऋणीले तिरेको रकमको भर्पाइ नदिने वा लिखत नबनाउने कार्यलाई कसुर ठहर गरेको छ । त्यस्तै, साँवाभन्दा बढी ब्याज लिने, ऋण असुलीका लागि कुनै प्रकारको धम्की दिने, शोषण गर्ने, ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने जस्ता काम गर्न, गराउन वा अनुचित लेनदेनको रकम असुलउपर गर्न ऋणीलाई हैरानी पुर्याएमा पनि कसुर गरेको ठहरिने व्यवस्था छ । सरकारले मिटरब्याज पीडतसँगको सहमतिअनुसार गएको वैशाख २० मा अध्यादेश ल्याएको थियो । यो अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि असार ५ मा विधेयक दर्ता गरिएको थियो । राष्ट्रिय सभाबाट असार १० मा विधेयक पारित भएको थियो । असार १७ मा विधेयक प्रतिनिधि सभामा पेस भएको थियो । असार २० मा संसद् अवरुद्ध हुँदा पारित हुन सकेको थिएन । हिजो विधेयक पारित भएसँगै मिटरब्याजबाट पीडित भएकाहरुले न्याय पाउने प्रक्रिया सहज हुने भएको छ ।

रोल्पा:    रोल्पामा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरू ११ वर्षीय सुशील र छ वर्षीय प्रेम रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जङ्गली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आज आइतवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिनुभयो ।

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ । ती विधेयकमा विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० छन् ।  सङ्घीय संसदबाट पारित भई नेपालको संविधान अनुसार प्रमाणीकरणका लागि पेश हुन आएका विधेयकलाई प्रमाणीकरण गर्नुभएको जानकारी प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो ।    यी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि साउन १ गतेबाट नयाँ आर्थिक वर्षको बजेटबाट खर्च गर्नका लागि बाटो खुलेको छ ।   

काठमाडौं:     भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ । अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ । आइओसीबाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्यबारे निर्णय गर्ने निगमको तयारी छ । त्यसपछि मात्रै देशभरको इन्धनको नयाँ मूल्य तय हुन्छ । निगम सञ्चालक समिति बैठक आइतबार बस्दैछ । पछिल्लो पटक गत १८ असारमा निगमले इन्धनको मूल्य समायोजन गरेको थियो । जसअनुसार पेट्रोलको मूल्य काठमाडौं उपत्यका क्षेत्रमा प्रतिलिटर १६७.५० पैसा, डिजेल र मटीतेलको १४७ रुपैयाँ ५० पैसा तोकिएको छ । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ १३६ रुपैयाँ प्रतिलिटर छ भने बाह्यतर्फ प्रतिकिलोलिटर १०५० अमेरिकी डलर तोकिएको छ ।

पोखरा:   कपडा व्यवसायी एसोसिएसन कास्कीद्वारा आयोजित खुला रक्तदान कार्यक्रममा ५२ युनिट रगत सङ्कलन भएको छ । रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सहयोगमा आयोजित कार्यक्रममा ५२ जना रक्तदाताहरूले रक्तदान गरेका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले व्यवसायीहरूले व्यापार व्यवसायका साथै उत्कृष्ट सामाजिक कार्यहरू समेत गर्दै आइरहेको बताउनुभयो । कपडा व्यवसायी एसोसिएसन पोखरा उद्योग वाणिज्य सङ्घको उत्कृष्ट वस्तुगत सङ्घका रूपमा स्थापित भैसकेको उल्लेख गर्दै उहाँले यसका गतिविधिहरू स्मरणयोग्य रहेको बताउनुभयो ।  व्यवसायीहरूको छाता संस्थाका हैसियतले सङ्घ व्यवसायीका तमाम समस्याहरूको समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने कुरामा प्रतिबद्ध रहेको बताउनुभयो । बजारमा उत्पन्न कठिनाइ लगायत राज्यका तर्फबाट हुनु पर्ने नीतिगत सुधार तथा सहजिकरणमा आफूहरू निरन्तर लागि रहेको उहाँले बताउनुभयो ।  कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका सह–समादेशक प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्की, फ्लोरिङ एन्ड फर्नेसिङ व्यवसायी सङ्घ कास्कीका अध्यक्ष जीवन प्रकाश श्रेष्ठ, थोक व्यवसायी सङ्घका अध्यक्ष टिकाराम सुवेदी, कस्मेटिक व्यवसायी सङ्घका अध्यक्ष दुर्गा बराल, बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका उपाध्यक्ष इन्द्र अर्याल लगायतले व्यवसायीक समस्याहरूको समाधानका लागि एकीकृत प्रयासमा जोड दिनुभयो । एसोसिएसनका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले संस्थाको वार्षिक कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । नियमित कार्यक्रमका रूपमा संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ उक्त कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।