बर्दिया: जिल्ला प्रहरी कार्यालय बर्दियाले हिरासतबाट २ जना थुनुवा भागेपछि ३ जना प्रहरीलाई कारबाही गरेको छ। इलाका प्रहरी कार्यालय ढोढरीको हिरासतबाट २ जना थुनुवा भागेपछि आइतबार ३ जनालाई कारबाही गरेको एसपी सुधीरराज शाहीले जानकारी दिए। शुक्रबार बिहान सवा ६ बजे ढोढरीको हिरासतबाट दुई जना थुनुवा फरार भएका थिए। त्यस घटनामा प्रहरीको कमजोरी देखिएपछि २ जवानलाई कारबाहीस्वरूप निलम्बन गरेको उनले बताए। यस्तै ड्युटी अफिसरको रूपमा रहेका प्रहरी सहायक निरीक्षकलाई पनि निलम्बन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सिफारिस गरेको उनले बताए। ‘दुई जवानलाई आजै निलम्बित गरेका छौं,’ एसपी शाहीले भने, ‘ड्युटी अफिसरलाई निलम्बन गर्न प्रदेश प्रहरी कार्यालय समक्ष सिफारिस गरेका छौं।’ प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयले नै निलम्बन गर्ने अधिकार छ। असईको हकमा प्रदेश प्रहरी कार्यालयले गर्नुपर्ने भएकाले सिफारिस गरेको हो। ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा असार ८ गते पक्राउ परेका मधुवन–८ का १९ वर्षीय अजय नेपाली र २० वर्षीय राजा नेपाली भागेका थिए। एसपी शाहीले बिहीबार राति कार्यालयमा बत्ती गएपछि ड्युटीमा खटिएका प्रहरीले उनीहरूलाई उज्यालो ठाउँमा खाना खुवाउन बाहिर निकालेका थिए। हिरासत कक्ष खोलेर ती प्रहरीले चाबीको झुप्पा भने त्यहीँ भुलेका थिए। ड्युटीमा खटिएको प्रहरीले भुलेको चाबी अजय र राजाले चोरेका थिए। शुक्रबार बिहान प्रहरीको ड्युटी परिवर्तन भएको मौका पारेर उनीहरूले चाबीले ताला खोलेर हिरासतबाट भागेका थिए। प्रहरीले शुक्रबार बेलझुण्डी सामुदायिक वनबाट शुक्रबार मध्यान्ह १२ः५०मा अजयलाई पक्राउ गरेको थियो। यस्तै डाँडे सामुदायिक वनबाट शनिबार बिहान ८ः४० बजे राजालाई पक्राउ गरेको हो। उनीहरू दुबै जनालाई प्रहरी कार्यालयबाट अन्दाजी ६ किलोमिटर टाढा जंगलमा फेला पारी पक्राउ गरेको थियो।
चितवन: नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तीन नम्बर पुलमा गए राति खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ । अहिले दुईतर्फी नै गाडी चलिरहेका छन् । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको भए पनि जोखिम कायमै रहेकोले सावधानी पूर्वक गाडी चलाउन कार्यालयले अनुरोध गरेको छ । दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने यो सडक खण्डमा गएको बिहीवारदेखि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।
काठमाडौं: प्रतिनिधि सभाको आजको बैठकले आउँदो आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक, २०८० बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले यो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो । विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सुमना श्रेष्ठ, शिशिर खनालले संशोधन प्रस्ताव पेस गर्नुभएको थियो । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक विधेयक, २०८० माथि संशोधनको प्रस्ताव गर्दै सांसद सुवालले एनसेललाई पुँजीगत लाभकरमा छुट दिएकोबारे प्रश्न उठाउनुभयो । सरकारले विभिन्न निजी कम्पनीबाट वर्षौँसम्म कर उठाउन नसकेको उहाँको आरोप छ । सांसद सुवालले हेलो नेपाल मुक्तिश्री’ र ‘सिनर्जी नेपाल’बाट वर्षौँसम्म कर उठाउन नसकेको भन्दैसरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सुमना श्रेष्ठले आर्थिक विधेयक, २०८० माथि संशोधन प्रस्तुत गर्दै भन्सारमा लाग्ने करमाथि प्रश्न उठाउनुभयो । उहाँले विद्युतीय धुम्रपानका वस्तुमा भन्सार शुल्क लगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘इलेक्ट्रोनिक चुरोट, व्यक्तिगत विद्युतीय धुम्रपानका वस्तुमा भन्सार कर लगाइएको छैन । जबकि बालबालिकाले प्रयोग गर्ने पेन्सिल, सार्पनरमा १० प्रतिशत भन्सार कर लगाइएको छ ।’ उहाँले दैनिक खाद्यान्नमा भ्याट लगाउन नहुने धारणा राख्नुभयो । यस्तै, स्वदेशी उद्योग र उत्पादनका लागि कच्चापदार्थ आयातमा सहज हुनेगरी भन्सार शुल्क निर्धारण हुनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । उहाँले किसानको उत्पादनलाई उचित मूल्य उपलब्ध गराउनेतर्फ समेत ध्यानाकर्षण गराउनुभयो । सांसद शिशिर खनालले संशोधनको प्रस्ताव राख्दै आन्तरिक उत्पादनमा वृद्धि र पर्यटक भित्र्याउने सरकारको नीति विपरीत हवाई टिकटमा भ्याट लगाइएको बताउनुभयो ।
चितवन: चितवनको नारायणगढ-मुग्लिन सडकको विभिन्न ठाउँमा गएको पहिरोका कारण राजमार्ग अहिले अवरुद्ध छ । सडकको नौ ठाउँमा पहिरो झरेको छ । सबै भन्दा ठूलो पहिरो तीननम्बर पुलमा रहेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउन ४/५ घण्टा लाग्ने बताइएको छ । अहिले राजमार्गमा सवारी साधन अलपत्र परेका छन् । बिहिबार दिउँसोबाट पहिरोका कारण यो सडक अवरुद्ध छ । पहिरो पन्छाउदै गाडी चलाउदै गरेपनि राती ठूलो पहिरो झरेपछि राजमार्ग बन्द भएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले जानकारी दिए। अहिले दुई स्क्याभेटर, दुई लोडर पहिरो पन्छाउन परिचालन गरिएको छ ।
रौतहट: रौतहटमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका–४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ । कविताको शव घरभित्रै फेला परेको हो । छोरीको शव भने पंखामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना पश्चात मृतकका श्रीमान धिरेन्द्र साह, उनका बुवा नागेन्द्र साहलगायत परिवारकासदस्यहरु फरार भएका छन् । ‘मृतकका जेठानी र सासूलाई सोधपुछका लागि ल्याएका छौं,’ जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक वीरबहादुर बुढामगरले भने, ‘मृतकका श्रीमान् अहिलेसम्म फेला परेका छैनन्, उनको खोजतलास गर्दैछौं ।’ घटनाका बारेमा तत्कालै केही भन्ने अवस्था नरहेको र अनुसन्धान पछि मात्रै विस्तृत कुराहरु खुल्ने उनले बताए । रौतहटमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका(४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ । कविताको शव घरभित्रै फेला परेको हो । छोरीको शव भने पंखामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना पश्चात मृतकका श्रीमान धिरेन्द्र साह, उनका बुवा नागेन्द्र साहलगायत परिवारकासदस्यहरु फरार भएका छन् । ‘मृतकका जेठानी र सासूलाई सोधपुछका लागि ल्याएका छौं,’ जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक वीरबहादुर बुढामगरले भने, ‘मृतकका श्रीमान् अहिलेसम्म फेला परेका छैनन्, उनको खोजतलास गर्दैछौं ।’ घटनाका बारेमा तत्कालै केही भन्ने अवस्था नरहेको र अनुसन्धान पछि मात्रै विस्तृत कुराहरु खुल्ने उनले बताए ।
चितवन: नारायणगढ मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकैको तीन नम्बर पुल क्षेत्रको सडक पुन अवरुद्ध बनेको छ । बिहीबार मध्यान्न १ः२० बजे देखि लगातार खसेको सुख्खा पहिरोका कारण अवरुद्ध बनेको सडक शुक्रवार अपराह्न ६ बजे एकतर्फी खुले पनि अवरुद्ध बनेका गाडीहरू पुरै पार हुँदहुँदै शनिबार उज्यालो हुनु पूर्व ३ः३० बजे देखि पुनः अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार लगातार ढुङ्गासहितको सुख्खा पहिरो खसिरहेको पहिरो जसोतसो पन्छाउने काम भएको थियो । तर, रोकिएका यातायातका साधन पुरै पास गर्दा नगर्दै परेको अविरल वर्षासहितको पहिरोले पुन सडक रोकियो । उहाँका अनुसार पहिरो गइरहेको क्षेत्रको मुग्लिन तर्फ र नारायणगढ तर्फ तयारी अवस्थामा एस्काभेटर र डोजर तयारी अवस्थामा राखिएका छन् । तर पनि पानी परिरहेको र लगातार ढुङ्गा खसिरहेको कारण पहिरो पन्छाउने काम सुरु गर्न सकिएको छैन । तराई क्षेत्रलाई सङ्घीय राजधानी र मध्य पहाडी क्षेत्र जोड्ने लाइफलाइनको रूपमा रहेको नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक १२ हजार भन्दा बढी सवारी साधन ओहोरदोहोर गर्ने अनुमान छ ।
साउदी अरबमा बुधबार भएको बन्दुक आक्रमणमा ज्यान गुमाएका नेपाली सुरक्षा गार्डको परिचय खुलेको छ । ज्यान गुमाउनेमा रुपन्देहीका ५९ वर्षीय नैनसिंह नेपाली रहेको बीबीसीले जनाएको छ । सरकारी विवरणमा भने उहाँको जन्मस्थान बागलुङ उल्लेख छ । नैनसिंह साउदीको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावासमा सुरक्षा गार्डकोरुपमा कार्यरत हुनुहुन्थ्यो । बुधबार कारमा आएका एक बन्दुकधारी अमेरिकी वाणिज्य दूतावास अगाडि ओर्लिएका थिए । उनलाई सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा गोली चलेको थियो । त्यही गोली लागेर नैनसिंह नेपालीको ज्यान गएको हो । साउदीमा रहेको नेपाली दूतावासका अनुसार नैनसिंहका छोरा पनि अहिले साउदीको रियादमा कार्यरत छन् । घटनाको बारेमा नैनसिंहको परिवारलाई घरमा जानकारी गराइसकिएको दूतावासले जनाएको छ ।
फ्रान्समा प्रहरीको गोली लागेर एक युवाको ज्यान गएपछि देशभर प्रदर्शन हुन थालेको छ । केही ठाउँमा प्रदर्शन उग्र हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । अहिलेसम्म प्रहरीले एक सय ५० जनालाई पक्राउ गरेको छ । गृहमन्त्री गेराल्ड डार्मानिनले रातभर प्रदर्शनकारीले देशभरका स्कुल, टाउन हल र प्रहरी स्टेशनहरूलाई निसाना बनाएर आक्रमण गरेका बताउनुभएको बीबीसीले जनाएको छ । फ्रान्सको राजधानी पेरिसमा अस्ति मङ्गलवार एक युवाले ट्राफिक जाँचका लागि कार नरोकेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेका युवाको केही पर पुगेपछि कार दुर्घटनामा ज्यान गएको थियो । युवाले प्रहरीलाई किच्ने नियतका साथ कार चलाएको पेरिस प्रहरीको दाबी छ तर सीसीटीभी फुटेजमा भने प्रहरीले कारको झ्याल नजिकै पुगेर र एकैछिन रोकिएरमात्रै गोली चलाएको देखिएको छ । राष्ट्रपति इमानुयल म्याँक्रोले गोली प्रहार अक्षम्य बताएको बताउनुभएको छ । फ्रान्समा गएको वर्ष ट्राफिक नियम नमान्दा प्रहरीले चलाएको गोली लागेर १३ जनाको ज्यान गएको थियो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद–उल–अजहा) २०८० को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदायलगायत समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो देश संविधानतः धर्म निरपेक्ष राज्य भएको उल्लेख गर्नुभएको छ । बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् भन्दै प्रधानमन्त्री दाहालले यस्ता विविधतायुक्त विशेषता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो । “सामाजिक सद्भाव र पारिवारिक मिलनको रूपमा मनाइने बकर इदले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने विश्वास लिएको छु । प्रेम र सद्भाव आदानप्रदान गर्ने यस पर्वले आम मुस्लिम समुदाय र नेपालीहरूमा स्वतन्त्रता र समृद्धिको मार्गमा अगाडि बढ्न अभिप्रेरित गर्ने विश्वाससहित फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

