बर्दिया: बर्दियाको मधुवन नगरपालिका-८ टिसियन फाँटामा ‘सेनिटाइजर’ जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताउनुभयो । साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् । उनीहरुलाई गए राति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रनाउ जानकारी दिनुभयो ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन्। अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन्। अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज विहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका जानकारी दिए। ‘बिहानै कृषकले ४५ भेडा मरेको जानकारी गराएपछि हामीहरु घटनास्थलतर्फ जाने तयारीमा छौँ’,उनले भने, ‘चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन्।’ गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ। घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताए। ११ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
काठमाडौं: देशभरको मौसम बदली भएको छ । मध्य र पूर्वी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । गएराति बारा, काभ्रेपलाञ्चोक, कास्कीको पोखरा र मकवानपुरमा धेरै पानी परेको छ । आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेकाले आगामी तीन दिनसम्म नै उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । मनसुनको समयमा बाढी, पहिरो, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । गएको जेठ ३१ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन हिजो देशभर फैलिएको छ । अहिले मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।
तनहुँ: चट्याङ्ग लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–५ खाल्टेपानी निबासी डिलबहादुर गुरुङको एकतले कच्ची घरमा चट्याङ्ग पर्दा उहाँको २० वर्षीय छोरा पृतम गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । घरको कोठा भित्र शुक्रबार विहान बसिरहेको चट्याङ पर्दा युवकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।
काठमाडौं: सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकलाई प्रथम दृष्टिमा अवैधानिक भन्न नमिल्ने बताएको छ । बिहीबार नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको मुद्दाको सुनुवाइ गर्नुहुँदै सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीले निवेदनमा उठाइएका अन्य जिकिरहरुलाई प्रस्तुत रिट निवेदनको अन्तिम किनारा गर्दा विचार गरिने हुँदा हाल जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्न नमिल्ने उल्लेख गर्नुभएको हो । न्यायाधीशद्वय भट्टराई र रेग्मीले नेपालको संविधानको धारा १० अनुसार कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था रहेको आदेशमा उल्लेख गर्नुभएको छ । आदेशमा भनिएको छ, ‘‘संविधानको धारा १० देखि धारा १५ सम्म नागरिकता सम्बन्धी व्यवस्थाहरु गरिएको र उक्त संवैधानिक व्यवस्थाहरुको कार्यान्वयनका लागि नेपाल नागरिकता ऐन, २६३ मा संशोधन आवश्यक भएबाट नै संसदबाट दुई–दुई पटक उक्त संशोधन विधेयक पारित भएको रहेछ भनी बुझ्न पर्ने हुन आयो ।’’ संशोधन विधेयक संसदबाट पारित भइसकेको अवस्थामा सो विधेयकलाई नेपालको संविधानको धारा १११ को उपधारा १० को प्रतिवन्धात्मक वाक्यांशमा गरिएको व्यवस्था अनुसार संसदको कुनै सदनमा विचाराधिन रहेको विधेयक मान्न नमिल्ने हुँदा प्रतिनिधि सभाको अधिवेशन अन्त्य भएका कारणले संसदबाट पारित भएको विधेयक निष्कृय हुन्छ वा शून्य जान्छ भन्न मिल्ने नदेखिएको सर्वोच्चको भनाइ छ । सर्वोच्चका अनुसार सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०६३ को दफा ३ तथा प्रतिनिधि सभा नियमावली २०७५ को नियम ६५ बमोजिम प्रतिनिधि सभाका सभामुखबाट प्रमाणित गरी राष्ट्रपति समक्ष पठाइएपछि राष्ट्रपतिको कार्यालयमा नै रहेको विधेयक संविधानको धारा ११४(४)को व्यवस्था बमोजिम नागरिकता विधेयक प्रमाणित भएको हो । आदेशमा भनिएको छ, ‘‘यस स्थितिमा संविधानको धारा ६१ को उपधारा ३ अनुसार राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने र उपधारा ४ अनुसार संविधानके पालना र संरक्षण गर्ने कर्तव्य रहेको राष्ट्रपतिद्वारा धारा ११३ को उपधारा ४ बमोजिम प्रमाणीकरण नगर्दा सिर्जित संवैधानिक शून्यता एवम् जटिलता समेतलाई दृष्टिगत गरी केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०६३ को दफा ३ तथा प्रतिनिधि सभा नियमावली २०७५ को नियम ६५ बमोजिम प्रतिनिधि सभाका सभामुखबाट प्रमाणित गरी राष्ट्रपति समक्ष पठाइएपछि राष्ट्रपतिको कार्यालयमा नै रहेको विधेयक संविधानको धारा ११४९४०को व्यवस्था बमोजिम नागरिकता विधेयक प्रमाणित भएको र सो गर्ने क्रममा नागरिकता विधेयक प्रमाणीकरण स्थिति समेत उल्लेख गरी मन्त्रिपरिषदले जेठ १२ मा गरेको सिफारिस र नेपालको संविधानको धारा ६१ र ६६ का व्यवस्थाहरु समेतलाई मध्येनजर गरेको पाइयो ।’’ यस स्थितिमा राष्ट्रपतिबाट भएको नेपाल नागरिकता एने २०६३ को संशोधन विधेयक २०७९ को प्रमाणीकरणलाई प्रथम दृष्टिमा अवैधानिक भन्न नमिल्ने न्यायाधीशद्वायको जिकिर छ ।
काठमाडौं: काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको छ । एआर ०६ ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तु जयसवालका अनुसार बसमा ३० जना यात्रुहरु थिए । तीमध्ये केही घाइते भएका र उनीहरुलाई अस्पताल पठाइएको उनले जानकारी दिए । घाइतेहरुमध्ये १०–१२ वर्षको एकजना बच्चाको अवस्था गम्भीर रहेको डिएसपी जयसवालले जानकारी दिए । बस दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो । अहिले भने बसलाई उठाइसकेकाले बाटो खुलिसकेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोरखा: गोरखामा गाडी दुर्घटनामा परेर मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । गए राति प्रदेश ३ ०१–०२३ च २४ २७ नम्बरको गाडी गोरखाको शहीद लखन गाउँपालिका–३ मा पल्टिँदा शहीद लखन–५ का १९ वर्षीय प्रविण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार शहीद लखन–५ ताक्लुङबाट चिलिङकोट–३ मा रहेको केटीको घरमा टिकाटालो गरेर फर्किएकाहरू दुर्घटनामा परेका हुन् । दुलहा र दुलही अर्कै गाडीमा चढेकाले उनीहरू सुरक्षित छन् । गाउँलेहरूका अनुसार उनीहरूले यसअघि आफूखुसी बिहे गरेका थिए र हिजो बिहीवार टिकाटालोका लागि केटा पक्ष जन्तीसहित केटीको घर गएको थियो । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद् व्यवस्थापन समितिको टोली उद्धारमा खटिएका छन् । घाइते भएका १२ मध्ये ११ जनाको तनहुँको आँबुखैरेनीमा उपचार भइरहेको छ । एक जनालाई भने थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।
ओखलढुङ्गा: ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ मा गएराति वर्षासँगै झरेको पहिरोले ३ घर बगाउँदा ३ को मृत्यु र १ बेपत्ता भएका छन् । पहिरोमा परी एकै घरका ३ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपबहादुर केसीका अनुसार स्थानीय ३६ वर्षीय रणबहादुर गुरुङ र उनकी १८ महिनाकी छोरी कृतिका गुरुङको शव पुरिएको अवस्थामा फेला पारेर बाहिर निकालिसकिएको छ । रणबहादुरकै श्रीमती २९ वर्षीय शिवमाया गुरुङको शव पहिरोले पुरिएको अवस्थामा फेला पारेपछि अहिले निकाल्ने कार्य भइरहेको प्रहरीको भनाई छ । रणबहादुरका १० वर्षीय छोरा दिनेश गुरुङ भने हालसम्म वेपत्ता रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पहिरोबाट स्थानीय रणबहादुर गुरुङ, बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाएको हो । अन्य दर्जनौँ घरमा क्षति पुगेको छ । पहिरोले रणबहादुरको परिवारमा मानवीय क्षति भए पनि अन्य घरका परिवार भागेर बच्न सफल भएको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी पुगेको छ ।
गोरखा: गोरखामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । गए राति प्रदेश ३ ०१–०२३ स २४ २७ नम्बरको गाडी गोरखाको शहीद लखन गाउँपालिका–३ मा पल्टिँदा पाँच जनाको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए । उनका अनुसार शहीद लखन–५ ताक्लुङबाट चिलिङकोट–३ मा रहेको केटीको घरमा बिहेका लागि टिकाटालो गरेर फर्किएकाहरू दुर्घटनामा परेका हुन् । दुर्घटनामा ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद् व्यवस्थापन समितिको टोली उद्धारमा खटिएका छन् । अहिले शव सङ्कलन गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए। यस्तै घाइते भएका १२ जनामध्ये ११ जनाको तनहुँको आँबुखैरेनीमा उपचार भइरहेको छ । एक जनालाई भने थप उपचारका लागि चितवन रिफर गरिएको उनले जानकारी दिए । उनका अनुसार गाडीमा १९ जना थिए । दुई जनाले भने दुर्घटना हुँदै गर्दा हाम फालेर ज्यान जोगाएका प्रहरीले जनाएको छ ।

