काठमाडौं:  अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...

पाँचथर:      पाँचथरमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण फसेका १२ जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको छ । पाँचथरको याङ्वरक गाउँपालिका–१ फेदी गाउँमा पहिरोमा फसेका तीन घरका १२ जनालाई आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । पाँचथर याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेकालाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरीका अनुसार पाँचथर याङवारक गाउँपालिका १ बस्ने वर्ष ६० का  नरमाया गुरूङ, उनको नाती वर्ष १६ का सन्दिप गुरूङ र नातिनी हिमा गुरूङको उद्धार गरिएको छ । त्यस्तै ८० वर्षीय कृष्णबहादुर गुरूङ, उनकी श्रीमती ६० वर्षीया डिकमाया गुरूङ, उनका छोरा  ३५ वर्षीय काजुहाङ गुरूङ र बुहारी ३० वर्षीय सुनिता गुरूङको पनि उद्धार भएको छ । त्यस्तै ४३ वर्षीय मनबहादुर गुरूङ, उनकी श्रीमती ४४ वर्षीया मन कुमारी गुरूङ, छोरी१६ वर्षकी सुस्मा गुरूङ, सोही स्थानका ७० वर्षीय पदम बहादुर खालिङ र उनकी श्रीमती  ६८ वर्षीया मनमाया खालिङको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताउनुभएको छ । आज बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताउनुभएको हो । भेटमा ताप्लेजुङ र पाँचथरका राजनीतिक दलका नेता र जनप्रतिनिधिले ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन, सडक र पुल भत्किएका ठाउँमा तत्काल बैकल्पिक कनेक्टिभिटी जोड्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । भेटमा प्रधानमन्त्रीले क्षतिको सम्पूर्ण विवरणबारे आफू जानकार रहेको र खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण राज्यसंयन्त्र परिचालन गर्न पहल लिइरहेको बताउँदै कनेक्टिभिटी टुटेको स्थानमा युद्धस्तरमा बेलिब्रिज निर्माण गर्न निर्देशन दिइसकेको बताउनुभयो । तत्काल पहलकदमी लिन गृह, रक्षा र भौतिक मन्त्रालयलाई निर्देशित गरेको बताउँदै प्रधानमन्त्रीले खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउने पनि बताउनुभयो । भेटमा पूर्वमन्त्री एवं नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराई, पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, सांसद लिला बखिन, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्रीलगायतका नेता एवं जनप्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।

काठमाडौं:    महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलि सोमवारदेखि महानगरभित्रका हलमा भारतीय चलचित्र प्रदर्शन हुन नदिने घोषणा गरेका छन् ।  भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश चलचित्रको मूल भागबाट हटाउन तीन दिनको समय दिएकोमा आज आइतवारसम्म पनि नहटाएकोले भोलिदेखि काठमाडौं महानगरका कुनै पनि हलमा सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने मेयर शाहले बताएका छन् ।  नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु हरेक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपालीको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देश नरहेको शाहको भनाइ छ ।      

स्याङ्जा:   पोखराबाट भैरहवा छुटेको बसमा स्याङ्जाको गल्याङमा एक्कासी आगलागी भएको छ ।  पोखराबाट भैरहवाका छुटेको ना ७ ख ५३२३ नम्बरको बसमा स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकाको सिमाना बायाँटारी नजिकै गोलाउदी खोलामा एक्कासी आगलागी भएको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ ।  आगलागीबाट कुनै मानविय क्षति नभएको ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ । बसमा आगलागी हुँदा बसको बनोटमा क्षति पुगेको छ । 

काठमाडौं:     हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । आज आइतवार शेयर बजार परिसूचक नेप्से ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार ९४ दशमलव ३३ विन्दुमा पुगेको छ । आज बैंकिङबाहेक सबै समूहको शेयर बढेर हरियाली हुँदा होटल तथा पर्यटन, बिमा, अन्य र जलविद्युत् समूहका शेयर उच्च अङ्कले बढेको छ । आज दुई सय ८० वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर चार अर्ब ८६ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३६ करोड ६४ लाख बराबरको शेयर किनबेच भयो । आज नेपाल इन्सुरेन्स, प्रभु लाइफ इन्सुरेन्स, ग्रीन भेन्चर लिमिटेड, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र मन्छ्याम हाइड्रो गरी छ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै आठ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढ्यो । समग्रमा बजार बढेको दिन आज शुभम् पावर कम्पनी र सिटिज म्युचल फन्डको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । आज एक सय ९० वटा कम्पनीको शेयर बढ्दा २८ वटाको घटेको छ भने चार वटाको शेयर घटबढ भएन ।

ताप्लेजुङ:      ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता हुनुभएको छ । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ । घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिनुभयो । मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ । यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पूर्णरूपमा पहिराले बगाएको छ ।  अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन् । बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत्समेत ठप्प छ । मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन् । थप क्षतिसहित यकिन विवरण आउन बाँकी छ । ताप्लेजुङमा बाढीले तीन घर बगायो, दोभान बजार जोखिममा अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । गए राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन् । वर्षासँगै आएको बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन । बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ भने केही पशुचौपायासमेत बगाएको जनाइएको छ । यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ । बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताउनुभयो । उहाँका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन् । बाढी सामान्यतया घटे पनि पानीको बहाव घटेको छैन । मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन् । बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ । मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल बगाएको स्थानीयले बताए । रातभर अत्यधिक वर्षासँगै ठाउँ–ठाउँमा बाढी र पहिरो झरेपछि जिल्लाका अधिकांश गाउँघरका मानिस रातभर नै जाग्राम बस्नुपरेको छ । जिल्लाका सबै ठाउँमा वर्षा भएको थियो । बिहीबार रातिमात्र सिरीजङ्घा गाउँपालिकाको याम्फुदिनमा बाढीले क्षति पुगेको थियो । यहाँका पाँचवटा सरकारी कार्यालय स्थानान्तरण गरिएको छ भने १५ घरपरिवार अन्तै सरेर बसेका छन् ।  यसैबीच मेची राजमार्गअन्तर्गत हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामा आएको बाढीले पुल बगाएपछि मेची राजमार्गसमेत पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ ।

दाङ:      सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ। दाङको घोराहीमा भएको सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषयक राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै मन्त्री शर्माले सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षा अहिलेको मुख्य चुनौतीका रुपमा देखा परेको बताउनुभएको हो।  मन्त्री शर्माले भन्नुभयो,‘‘सूचना प्रविधि नेपालमा सबैभन्दा तीव्र गतिमा विकास भइरहेको छ। तर यसलाई नियमन गर्ने गतिलो कानुन नहुँदा गलत प्रयोग हुने गरेको छ। यसलाई रोक्नुपर्ने चुनौती छ।’’ साइबर सुरक्षा सम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकारकै सूचनाको गोपनीयता भंग हुँदै गएको भन्दै मन्त्री शर्माले सरकार साइबर सुरक्षा सम्बन्धी कानुन निमार्ण लागेको बताउनुभएको थियो।  मन्त्री शर्माले भन्नुभयो,‘‘साइबर सुरक्षा सम्बन्धी कमजोर कानुनका कारण नागरिकदेखि सरकारकै सूचनाको गोपनीयता भंग हुने डर छ। त्यसलाई नियन्त्रणका लागि सरकार साइबर सुरक्षा सम्बन्धी कानुन निर्माणमा लागेको छ।’’ सूचना तथा प्रविधिको दुरुपयोग गर्दै विभिन्न खालका अपराध बढेको  भन्दै मन्त्री शर्माले यसलाई रोक्नका लागि सबैको पहल आवश्यक रहेको बताउनुभयो।  गलत प्रयोगका कारण बालबालिका, किशोर किशोरीदेखि आम नागरिक विभिन्न खालको फन्दामा पर्ने गरेको भन्दै मन्त्री शर्माले कानुन निमार्णसँगै सामाजिक सञ्जालको प्रयोग सम्बन्धी सर्वसाधारण नागरिकलाई चेतना प्रवाह गर्नु आवश्यक रहेको बताउनुभयो।  मन्त्री शर्माले भन्नुभयो,‘‘अहिले गाउँगाउँमा इन्टरनेट र हातहातमा मोबाइल पुगेको छ। तर यसको कसरी प्रयोग गर्ने भन्ने कमै मानिसलाई मात्रै थाहा छ। जसले गर्दा धेरै मानिसले अनाहकमा दुःख पाइरहनुभएको छ। त्यो दुःखबाट मानिसलाई रोक्नका लागि सामाजिक सञ्जालको प्रयोग सम्बन्धी सचेतना आवश्यक छ।’’ मन्त्री शर्माले सामाजिक सञ्जालको गलत प्रयोगको सिकार महिला हुनुपरेको भन्दै  सूचना प्रविधि तथा सामाजिक सञ्जालका बारेमा महिला सचेत हुनुपर्ने बताउनुभएको थियो।  मन्त्री शर्माले नेपालमा सूचना प्रविधिको प्रयोगलाई बढाउँदै आयआर्जनका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्न सकिने बताउनुभयो। त्यसका लागि सूचना र प्रविधिसँगै सामाजिक सञ्जालको सही प्रयोग सम्बन्धी आम नागरिकलाई ज्ञान हुनुपर्ने बताउनुभयो।  सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषय सम्बन्धी राष्ट्रिय सम्मेलनलमा सञ्चार, साबर सुरक्षा नीति, कानुनलगायतका विषयमा छलफल भइरहेको छ। 

सिन्धुपाल्चोक:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ ।  मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथान आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले याङ्ग्री र लार्के खोलाको पानी ल्याउन सरकारका तर्फबाट तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  ुआयोजना उद्घाटनका क्रममा आउने इच्छा थियो, त्यतिबेला म प्रधानमन्त्री थिइनँ, खानेपानी मन्त्रालय माओवादी पार्टीकै भागमा थियो, आयोजनालाई व्यवस्थित बनाउन म पहल गर्छुु, उहाँले भन्नुभयो ।   प्रधानमन्त्री प्रचण्डले मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने बताउनुभयो । ‘यसका बारेमा आवश्यक निर्णय सरकारका तर्फबाट लिइन्छ’, उहाँले भन्नुभयो, ‘थप बजेटको प्रबन्ध गर्छौँ, बजेटको व्यवस्था भयो भने भइपरी आउने काम गर्न सहज हुन्छ ।’ प्रधानमन्त्री प्रचण्डले स्थानीयवासीले उठाएका माग सम्बोधनका लागि आफू प्रतिबद्ध र चिन्तित रहेको बताउनुभयो । ‘मेलम्ची खानेपानी आयोजना सम्पन्न भयो भनेर विकास समिति खारेज गरिएको थियो, त्यसबाट आयोजनालाई व्यवस्थापन गर्न समस्या भएकातर्फ मेरो ध्यानाकर्षण भएको छ’, उहाँले भन्नुभयो । यो क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका बारेमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउनुभएको थियो । उहाँले आयोजनालाई नियमित र व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि पूर्ण सहयोग हुनुपर्ने बताउनुभयो ।  गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री प्रचण्डले स्थलगत अवलोकन गर्दै आउनुभएको छ ।  विसं २०७८ साल असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनःसञ्चालन गरिएको थियो । विसं २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायीरुपमा काठमाण्डौ उपत्यकामा वितरण थालिएको थियो । विसं २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मुहानमा मर्मत गरेर २०७८ साल चैतदेखि पुनःमेलम्चीको पानी वितरण थालिएको थियो ।  

काठमाडौं:     नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड जस्ता घटना बढेको उल्लेख गर्दै सङ्घले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षाको प्रत्याभूति गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।  “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ का सम्बन्धमा देशभरका सुरक्षा निकाय तथा न्यायिक एव अर्धन्यायिक निकाय अनविज्ञ हुनु अत्यन्तै चिन्ताको विषय बनेको छ । राज्यको तर्फबाट तर्जुमा गरिएका ऐन, कानुनबमोजिम चिकित्सक तथा स्वास्थ्यकर्मी सुरक्षित तवरले स्वास्थ्य सेवा प्रवाहमा समर्पित हुने उचित वातावरण सिर्जना गरिदिन अनुरोध गर्दछौं”, ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार भएको उल्लेख गर्दै सङ्घले आपत्ति जनाएको छ । गत मङ्गलबार उपचारका क्रममा भएको घटनालाई लिएर बिरामीका आफन्तले अस्पतालमा तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई गालीगलौज गरी अभद्र व्यवहार गरिएको घटनाका सम्बन्धमा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको छ । यस्तै अन्य अस्पतालमा भएका घटनाप्रतिसमेत सङ्घले ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीले भन्नुभयो, “नारायणी अस्पताल वीरगञ्ज, सिन्धुली अस्पताल, सिरहा अस्पताललगायत देशका विभिन्न ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लक्षित गरी गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड भएका घटनाक्रमले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीले असुरक्षित महसुस गरेको अवस्था छ ।” उपचार प्रक्रियामा चित्त नबुझेका अवस्थामा कानुनी बाटो अवलम्ब गर्नुभन्दा अस्पताल तोडफोड र अभद्र व्यवहार गर्नेक्रम बढेको उल्लेख गर्दै सङ्घले आपत्ति जनाएको छ ।