काठमाडौं:  अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...

सिन्धुली:     सुनकोशी नदीमा जीप खस्दा बेपत्ता भएका तीन जनाकै शव भेटिएको छ । हराइरहेका यमप्रसाद भुर्तेलको शव दुर्घटनास्थलबाट झण्डै ९५ किलोमिटर तल उदयपुर ताप्ली गाउँपालिका-५ मा सुनकोशी नदीको किनारमा आज फेला परेको जिल्ला प्रहरी कार्यालयले सिन्धुलीले जनाएको हो । जेठ १९ गते भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको जीप सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ को लौकुनबाट सुनकोशी नदीमा खस्दा सीटीईभीटीका प्रशासन शाखाका निर्देशक कृष्ण केसी, योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल र विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएका थिए । बेपत्तामध्ये केसी र पौडेलको शव जेठ २३ गते फेला परेको थियो ।  जीपका चालक कृष्ण चौधरी भने पौडिएर बाँच्न सफल हुनुभएको थियो ।

स्याङ्जा:    स्याङ्जाको गल्याङ नगरपालिका –५ का पूर्ब वडाअध्यक्ष बिष्णु क्षेत्रीको डोजरको ठक्करबाट मृत्यु भएको छ । विहीबार सोही वडाको जोगिमारामा काम गरिरहेको जेसीबी अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएपछि उनको मृत्यु भएको हो ।   दुर्घटनामा घाइते भएका क्षेत्रीको उपचारका क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा मृत्यु भएको थियो । मृतक क्षेत्रीको शवलाई पोस्टमार्टमका लागि वालिङ गह्रौ प्राथमिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।  क्षेत्री २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित जिल्लाका एक मात्र वडाअध्यक्ष रहनुभएको थियो ।

काठमाडौं:    सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि राष्ट्रपतिको कार्यालयबाट झिकाउन आदेस दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रतिलिपि झिकाउने र अन्तरिम आदेश दिनुपर्ने कि नपर्ने भन्ने सम्बन्धमा छलफल गर्न यही जेठ ३० गते पेशी तोक्ने आदेश गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको थियो । राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको उक्त नागरिकता विधेयक संविधानको भावना र मर्म विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र डा। सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

काठमाडौं:   सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले प्रधानमन्त्री प्रचण्डविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न आदेश दिएको हो । पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारवाही गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्चले उक्त रिट दरपीठ गरेपछि विष्ट दरपीठविरुद्ध सर्वोच्च पुगेको थिए ।  सर्वोच्चको आदेशमा भनिएको छ, ‘‘यस रिट निवेदनमा उठाइएको विषय इजलासबाट हेरी न्याय निरुपण गर्नुपर्ने विषय देखिएकाले यस अदालतका रजिष्ट्रारबाट २०८० जेठ १६ मा भएको आदेश बदर गरिदिएको छ । रिट निवेदन दर्ता गरी नियमानुसार गर्नुहोला ।’’

काठमाडौं:  सडक विभागले पटक-पटक अवधि थप हुँदा पनि सम्पन्न नभएका सडक र पुलको ठेक्का सम्झौता तोड्न थालेको छ । निर्माण सुरु भएर लामो समय बित्दासमेत अधुरै रहेका सडक र पुलका ठेक्का तोड्न थालिएको हो । सडक विभाग पुल महाशाखाका प्रमुख नरेशमान शाक्यका अनुसार कुनै ठेक्कामा ढिलाइ भए पनि सकेसम्म उसैबाट काम गराइने र काम हुने अवस्था नभएमा मात्रै तोडिने छ । गोरखामा बुट्टार मकैसिङमा पुलको ठेक्का तोडिएर नयाँ ठेक्कामार्फत काम गर्न लागिएको उनले बताए । त्रिशूली नदीमा पुल निर्माण नगरेपछि पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का तोडेर नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन लागिएको छ । उनले भने, “यो आर्थिक वर्षमा सूचना निस्के अर्को वर्षमा निर्माण सुरु हुनेछ ।”   बाढीका कारण भाँसिएको धनुषा र सिराहा जोड्ने कमला पुलको मर्मत निर्माण कम्पनी आफैँले गरिरहेको प्रमुख शाक्यले बताए । कमला नदीमा निर्माण व्यवसायी आफैँले मर्मत गरिरहेको उनले जानकारी दिए । उनले भने, “अर्को दुईवटा ठेक्का तोड्ने क्रममा रहेको छ ।”   ठेक्का तोड्नका लागि पहिले सूचना निकाल्नेलगायत प्रक्रिया पुर्याउनुपर्ने हुँदा तोड्ने निर्णय भएर प्रक्रियामा जान केही समय लाग्ने प्रमुख शाक्यले बताए । कारबाही अघि बढाइरहँदा पनि निर्माण व्यवसायीले काम गर्छु भनेर आउँदा त्यही कम्पनीलाई मौका दिने उनले बताए। काम गर्छु भनेर पनि सन्तुष्ट प्रगति नहुँदा वा काम नै नहुँदा ठेक्का तोडिने उनले जानकारी दिए । शाक्यले भने, “गर्छु भनेर बलियो प्रमाणसहित आउँदा मौका दिइन्छ ।” मध्यपहाडी राजमार्गमा निर्माणाधीन चार सय किमी सडकमा कतिपय क्रोनिक ठेक्का रहेको इञ्जीनियर सुरज अधिकारीले जानकारी दिए । केही समय पहिले लामो समयदेखि सम्पन्न नभएको भेरी पुलको ठेक्का तोडिएको उनले बताए । पाँचथरमा तीन ठेक्कासहित चालु आवमा पाँच ठेक्का तोडिएको छ । निर्माण व्यवसायीले पटक–पटक अवधि थप हुँदासमेत काम नगरेपछि ठेक्का तोडिएको उनले बताए । सरकारले केही समय पहिले बर्दियाको जब्दीघाट खोला पुलको ठेक्का तोडेर नयाँ ठेक्कामार्फत निर्माण अघि बढाएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको बालाजु–त्रिशूली सडकको पनि ठेक्का तोडिसकिएको छ । विगत वर्षमा कहिले कोभिड–१९ का कारणले त कहिले सार्वजनिक खरिद नियमावलीमा भएको संशोधनका कारण निर्माण ठप्प रहेका ठेक्काको समेत अवधि थप हुने गरेको थियो । अहिले भने क्रोनिक ठेक्का व्यवस्थापनमा सडक विभागले मात्रै होइन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समेत चासो देखाइरहेको छ ।

कास्कीः बाजे लालबहादुरको १९ वर्ष अघि मृत्यु भइसकेको छ । उनै बाजेले प्रयोग गर्ने भरुवा बन्दुक लिएर माछापुच्छ्रे गाउँपालिका खैमराङका आइत सिं तामाङले खेतबारीमा बाली खान आउने बाँदर धपाउँदै आएका थिए ।    ०७९ साल कात्तिक ५ गते बिहानै सोही बन्दुक बोकेर आइत गहुँबारीतिर लागे । गहुँ खान आएका ढुकुरको बथान देखेपछि उनले फायर खोले । तर उनले हानेको छर्रा लागेर बोडी टिप्न गएकी नातामा फुपु पर्ने छिमेकी मैरानी (बुद्धिमाया तामाङ)को दायाँ छातीमा लाग्यो ।    घटनापछि डराएका ३६ वर्षे आइतले बारीको कान्लामा बन्दुक लुकाएर घर लागे । छातीमा छर्रा लागेर चिच्याएपछि ६० वर्षीया मैरानीलाई गाउँलेले पोखराको फिस्टेल हस्पिटलमा उपचारार्थ ल्याए । प्रहरीकहाँ खबर आइपुगेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले लुकाइराखेको हतियार र लुकिबसेका आइतलाई पोखरा ल्याए ।    प्रहरीसँगको सोधपुछमा दुईबीच कुनै रिसइबी नभएको र भवितव्यले घटना घटेको बताइयो । यस कसुरमा जिल्ला सरकारी वकिलको कार्यालयमा भएको बयानअनुसार आइतलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्न कानूनी माग गर्दै कास्की अदालतमा मुद्दा दायर गरियो ।    उक्त मुद्धाको फैसला ०७९ को पुसमा भएको छ । फैसला अनुसार आइतलाई १ वर्ष कैद र १० हजार रुपैयाँमात्र जरिवाना भयो । उल्लिखित कैदमध्ये अदालतले फैसला गर्दासम्म आइतले २ महिना १३ दिन भुक्तान गरिसकेका थिए ।    अदालती फैसलामा बाँकी कैदको ८६ हजार १ सय रुपैयाँ तिराई थुनामुक्त गर्नु भन्ने आदेश दिएपछि उनी छुटिसकेका छन् । उक्त भरुवा बन्दुक राख्न इजाजत नलिएकाले जफत गरिएको छ ।    अदालतबाट घट्यो सजाय र जरिवाना आइतको अपराधमा सरकारी वकिलको कार्यालय कास्कीले मुलुकी अपराध संहिता २०७४ को दफा १३२ को उपदफा (१) अनुसार फैसला माग गरिएको थियो ।    उक्त उपदफाअनुसार आइतलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिबाना हुने उल्लेख छ । जसमा ‘हातहतियार इजाजतपत्र प्राप्त नगरी वा इजाजातपत्र प्राप्त गरेको भएपनि शर्त बन्देज विपरित हुने गरी प्राप्त गर्न, राख्न, भण्डारण गर्न, प्रयोग गर्न वा लिएर हिड्न हुँदैन’ भनिएको छ ।    यसो गरेमा उल्लेखित सजाय र जरिवाना हुनेसमेत उल्लेख भएपनि अदालतबाट भने आइतले कम सजाय र जरिवाना पाए । तर आइतले १ वर्ष कैदमध्ये बाँकी रहेको अवधि पनि जरिवाना तिरेर छुटेका हुन् ।    ‘यस्तो कसरी हुन्छ ?’ सरकारी वकिलको कार्यालयको एक सह न्यायधिवक्ता भन्छन् ‘हामीले घटनाको प्रकृतिअनुसार ऐनको आधारमा कारवाही माग गरी अदालतमा पेश गर्छाै तर बहस र सवालजवाफकाक्रममा सजाय र जरिवाना तल माथि हुने गरेको छ ।’   यस मुद्दामा आइतले बिना इजाजत हतियार राखेको मात्र हैन फायरिङ् गर्दा छर्रा लागेर व्यक्ति घाइतेसमेत भएका छन् । अदालतमै पुगेको मुद्दामा पनि वादी र प्रतिवादीको मेलमिलापमा फैसला निर्भर रहेको हुनसक्ने उनको आंकलन छ ।

काठमाडौं:    सरकारले आउँदो असार एक गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा सडक खन्न नदिने भएको हो । आज सार्वजनिक सूचना निकालेर सडक विभाग अन्तर्गतको कार्यालयले बर्खायाममा खनेको सडक झनै बिग्रने भएकाले असार एक गतेदेखि भदौ मसान्तसम्म कुनै पनि सडक नखन्न  निर्देशन दिएको हो ।बर्खायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक बिग्रिँदै जाने कार्यालयले जनाएको छ । कार्यालयले भदौ मसान्तसम्म सडक खन्ने स्वीकृति नै नदिइने पनि जनाएको छ । सूचनालाई अटेरी गरी जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन–२०३१ अनुसार कारबाही गर्ने कार्यालयले चेतावनी दिएको छ ।

कालीकोट:  कालीकोटमा रोकिराखेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छिन् ।  रास्कोट नगरपालिका वडा नम्बर-२ सेराबजारमा स्टार्ट गरी छोडेको बा १ च ४६४१ नम्बरको जीप सडकबाट भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा रास्कोट नगरपालिका–१ लहरेलाका  ४३ वर्षका मनबहादुर शाही र उनकी श्रीमती मैना शाहीको ज्यान गएको हो। दुर्घटनामा जीपमै रहेका त्यही ठाउँका रितु सिंह घाइते भएकी छिन। घाइतेलाई उपचारका लागि रास्कोट अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए।  स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा खस्दा दुर्घटना भएको थियो । 

स्याङ्जा:   स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएके छ ।  आज बुधवार सिरुवारीबाट स्याङ्जा सदरमुकामका लागि छुटेको जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा चालक वालिङ नगरपालिका–४ का अमृत खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । बा १ झ ५८७८ नम्बरको गाडी अर्जुनचौपारी गाउँपालिका–३ सहरे नजिक खोले भन्नेमा दुर्घटना भएको हो । दुर्घटनामा जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पौडेलसहित अन्य दुई जना अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएका अर्जुनचौपारीका प्रहरी प्रमुख ख्यामबहादुर क्षेत्रीले जानकारी दिए। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ । समन्वय अधिकारीसहितको टोली के का लागि गएको थियो भन्नेबारे खुलेको छैन ।