काठमाडौं:  अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...

काठमाडौं:    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायत दलले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक केही समयका लागि स्थगन गरिएको छ ।  नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक स्थगन गरिएको हो ।  नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री दाहालको हालैको भारत भ्रमणबारे विपक्षी दलहरूले जवाफ मागेका छन् । एमालेका प्रमुख सचेतक पदम गिरीले संवैधानिक प्रक्रिया अनुरूप संसद्मा नयाँ नागरिकता विधेयक दर्ता गर्न माग गरे ।   संसद्मा नयाँ नागरिकता विधेयक दर्ता भएपछि दिनरात छलफल गरेर भए पनि एक हप्ताभित्र नयाँ विधेयक पारित गरेर  नागरिकता प्रदान गर्ने काम अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । सरकारले संविधानको मर्म विपरीत नागरिकता विधेयक ल्याएको प्रमुख सचेतक गिरीले आरोप लगाए ।

पोखरा:     पोखराको भीमकालीपाटनस्थित संस्कृत माध्यमिक विद्यालयमा निर्मित शिवपाञ्चायन मन्दिरमा स्थापित मूर्तिहरूमा आज प्राणप्रतिष्ठा गरिएको छ ।      डा.भोलानारायण रेग्मीको प्रमुख आचार्यत्वमा मन्दिरका गणेश, देवी, सूर्य, विष्णु र शिवलगायत देवीदेवताका मूर्तिमा वैदिक विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको हो ।      उक्त अवसरमा ठूलो संख्यामा श्रद्धालु भक्तजन उपस्थित भई आर्थिक सहयोग समेत गर्नुभएको े मूल आयोजक समितिका संयोजक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।      मूर्तिहरुको पर्दा हटाएर सार्वजनिक गर्दै डा. चिद्घन चैतन्य महाराजले निराकार तत्वका रुपमा ईश्वरको बोध गर्न जोसुकैले नसक्ने वास्तविकतामा भगवान्को सगुण साकार रुपमा मूर्तिहरुको स्थापना  गरिने गरिएको बताउनुभयो ।       २०७५ सालमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीले मन्त्रालयमार्फत् पन्ध्र लाख रुपैयाँ बजेट विनियोजन गरी सुरु भएको मन्दिरको बाँकी कार्यसमेत गरी ९० लाख लागत लाग्ने जनाइएको छ ।      पोखराको प्रसिद्ध धार्मिक स्थल गाईघाट, विन्ध्यवासिनी नजिक रहेको यस मन्दिरलाई स्थानीय समुदायको अपनत्व र संरक्षकत्वमा महत्वपूर्ण धार्मिक स्थलका रुपमा स्थापित गर्ने उद्देश्य रहेको विद्यालय व्यवस्थापन समिति सदस्य रोजी पराजुलीले बताउनुभयो ।      प्राणप्रतिष्ठा कार्यक्रम सम्पन्न गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल आयोजक समिति र अन्य विभिन्न उपसमिति गठन गरिएको प्रचारप्रसार उपसमितिका संयोजक श्रीकान्त सापकोटाले जानकारी दिनुभयो ।      अन्य विभिन्न उपसमिति संयोजकहरू रामविक्रम राणा, ईश्वरीप्रसाद बास्तोला, जुनकाजी गुरुङ, रामू पौडेल, रामबहादुर लामिछाने, विष्णुकमारी मल्ल, कल्पना अधिकारी, गोविन्दप्रसाद अधिकारी, रुद्रप्रसाद सुवेदी, गोविन्द नेपाली, साहरा प्रधान, श्रीकान्त सापकोटा लगायत हुनुहुन्थ्यो । कामना आमा समुहले ध्वजा पताका व्यवस्थापनको संयोजन गरेको थियो ।      आर्थिक व्यवस्थापन उपसमिति संयोजक ईश्वरीप्रसाद बास्तोलाका अनुसार गुरुकुल अक्षयकोष र मन्दिर सञ्चालनका लागि छ लाख एक हजार आठ सय रुपैयाँ सहयोग प्राप्त भएको छ ।       विद्यालयले मन्दिर निर्माण समिति, चन्दादाता, स्थानीय संघसंस्था, आमा समूह, युवा क्लब तथा सम्पूर्ण श्रद्धालु भक्तजन लगायतलाई धन्यवाद ज्ञापन गरेको छ । मन्दिरमा आजबाट नै दैनिक रुपमा रुद्रभिषेकलगायत धार्मिक अनुष्ठान सुरु गरिने कार्यक्रममा जानकारी गराइयो । गण्डकी प्रदेशकै जेठो विद्यालयमा निर्मित कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर यस क्षेत्रको महत्वपूर्ण धार्मिक तीर्थस्थल बन्ने विश्वास लिइएको छ ।

सिन्धुली:     सिन्धुलीको गोलन्जोर गाउँपालिकास्थित लौकुन नभघाटमा जिपसहित सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्यका लागि शनिबार बिहानदेखि गोताखोर टोली परिचालन गरिएको छ । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को बा १ झ ७४६७ नं स्कार्पियो जिप शुक्रबार मध्येपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत उक्त ठाउँमा दुर्घटना भई सुनकोसी नदीमा खस्दा गाडीमा सबार चारमध्ये तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भई सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका–७ का घर भई हाल योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका–५ घर भई हाल विद्युत प्रशिक्षकका रूपमा कार्यरत ३२ वर्षीय भानु पौडेल छन् । चालक दाङ राप्ती गाउँपालिका –६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए भने उनको शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । बाँकी तीन जना अझै बेपत्ता छन् । प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार सशस्त्र प्रहरीको गोताखोर टोलीले शुक्रबार साँझ खोजी गरेको थियो । सुनकोसीमा जिप झरेको स्थानको सय मिटर आसपासमा खोजी गर्दा पनि फेला नपरेको प्रहरी उपरीक्षक सिलकालले जानकारी दिए । उनले भने, ‘‘सुनकोसी नदीमा खसेको उक्त जिप अहिलेसम्म भेटिएको छैन । पानीको बहाव धेरै भएकाले दुई वटा एक्स्काभेटर लगाई पानी थोरै डाईभट गर्दै काम गर्न लागेको छ । आर्मीको टोलीसँग पनि समन्वय भइरहेको छ ।’’

काठमाडौंः   चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । दिल्लीको भ्रमण सकेपछि विशेष विमानमार्फत इन्दौर प्रस्थान गर्नुभएको प्रधानमन्त्री नयाँ दिल्ली भएरै आज (शनिबार) स्वदेश फर्कन लाग्नुभएको हो । भ्रमणका क्रममा द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप सबल बनाउने प्रतिबद्धता दुवै देशले व्यक्त गरेका छन् । सो अवसरमा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका व्यापक क्षेत्रबारे समीक्षा भएको छ । व्यापार र पारवहन, जलविद्युत, ऊर्जा व्यापार र प्रसारण लाइन, अन्तरदेशीय रेल्वे, पक्की पुल, पेट्रोलियम पाइपलाइन र एकीकृत जाँच चौकी, सिँचाइ, बाढी नियन्त्रण, कृषि, संस्कृति तथा नागरिक उड्डयनलगायत क्षेत्रबारे समीक्षा भएको हो । समानता, आपसी सम्मान र आपसी विश्वासका आधारमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा सवल बनाउने प्रतिबद्धता व्यक्त भएको छ । दुवै पक्षबीच निर्माणाधीन परियोजनाको समीक्षा गर्दै ती परियोजना निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ । प्रधानमन्त्री प्रचण्डले पनि चार दिने भारत भ्रमण पूर्ण रूपमा सफल भएको बताउनुभएको छ ।

पोखरा:    सृजना माध्यामिक विद्यालय पोखरा–८ मा युवा रेडक्रस सर्कस गठन भएको छ । विद्यार्थीलाई मतदान गर्ने अभ्यास गराउँदै निर्वाचन मार्फत नै युवा रेडक्रस सर्कलमा नयाँ नेतृत्व चयन गरिएको हो ।  शुक्रबार विद्यालयमा भएको निर्वाचनमा युवा रेडक्रस सर्कलको अध्यक्षमा १५३ मतसहित अप्सन बरुवाल निर्वाचित भए् । सचिवमा २३५ मतसहित स्वस्तिक सिंह, सह–सचिवमा १९२ मतसहित कृष ज्वार्चन, कोषाध्यक्षमा १९५ मतसहित अस्विना केसी र सह–कोषाध्यक्षमा ९२ मतसहित अंकित क्षेत्री निर्वाचित भएका निर्वाचन अधिकृत मीनप्रसाद प्रसाद तिवारीले जानकारी दिए ।   उनका अनुसार सदस्यमा विधान सुवेदी, सचिन थापा, राजश्री अधिकारी र अविसेक पौडेल निर्वाचित भएका छन् । सुवेदीले ३३६, थापाले १५१, अधिकारीले १३९ र पौडेलले १०६ मत ल्याएर निर्वाचित भएका हुन् ।  अध्यक्षमा ६, सचिवमा ७, सहसचिवमा ६, कोषाध्यक्षमा ८, सह–कोषाध्यक्षमा ११ र सदस्यमा ३८ जनाले मनोनय दर्ता गरेका थिए ।   पादाधिकारी र ४ सदस्य सहित ११ सदस्यीय समितिका लागि ७६ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । नेतृत्व चयनका लागि ६ सय ५० विद्यार्थी मतदाता रहेकोमा ६४१ मत खसेको थियो । त्यस मध्ये १६ मत बदर भएको र ६२५ मत सदर भएको निर्वाचन अधिकृत तिवारीले बताए ।  सर्कलको पदाधिकारी र सदस्यका लागि धेरै विद्यार्थी इच्छुक देखिए पछि निर्वाचनबाट नेतृत्व चयन गरिएको विद्यालयका निर्देशक सिता पाण्डेले बताइन् । कक्षा ४ देखी १० सम्मका विद्यार्थी मतदानमा सहभागी भएको पाण्डेले बताइन् ।  प्राविधिक कारणले निर्वाचनमा सहभागी हुन नसकेका कक्षा ११ र १२ का विद्यार्थीमध्यबाट समितिको उपाध्यक्ष र एक सदस्यमा मनोनय गरिने पाण्डेले जानकारी दिइन् ।  मतदानको अघिल्लो दिन बिहिबार उम्मेद्वार बनेका विद्यार्थीहरुले मतदातासंग आफ्नो एजेन्डा सहित मत मागेका थिए ।  निर्वाचनका लागि ३ वटा मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो । पदाधिकरीका लागि र सदस्यका लाग छुट्टाछुट्टै मतपत्र बनाइएको थियो ।  विद्यालयका संस्थापक प्राचार्य डोलराज पाण्डेले युवा रेडक्रस सर्कल गठनका माध्यमबाट विद्यालय तहमा बालबालिकालाई निर्वाचनको महत्व, भोट गर्ने तरिका र निर्वाचन प्रकृयाको बारेमा शिक्षा दिन सफल भएको बताए ।   

पोखरा:    नेपाल सुटिङसंघ गण्डकी प्रदेशको तदर्थ समिति गठन भएको छ ।   सो समिति, नेपाल सुटिंग संघको प्रतिनिधि एवं ओलम्पीयन भगवती खत्रीको संयोजन तथा गण्डकी प्रदेश प्रतिनिधि ऋषिराम गौतमको उपथितिमा गठन भएको हो ।  प्रदेश खेलकुद परिषदको सभाहलमा सम्पन्न सो कार्यक्रममा गण्डकी प्रदेश अन्तरगतका पाँच जिल्लाहरु (कास्की, म्याग्दी, पर्वत र स्याङजा, बाग्लुङ)को प्रतिनिधिहरु एवं खेलाडीहरु को उपस्थिति रहेको थियो ।  उक्त समितिमा सदस्यहरुमा भगवती खत्री (बाग्लुङ), राम नारायण श्रेष्ठ (कास्की), गोपाल के.सी. (म्याग्दी), सन्दिप गाहा (पर्वत), खम्वा गुरुङ  (स्याङजा), राजु श्रेष्ठ (कास्की), आशिक राजभण्डारी (बाग्लुङ), सुर्य बहादुर थापा (स्याङजा) र लक्ष्मी साही (पर्वत) रहेका छन् ।

काठमाडौं:    नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज (शुक्रबार) तीन जनाको बयान जिल्ला अदालत काठमाडौंमा सुरु भएको छ । बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान सुरु भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष शमशेर मियाँको बिहीबार बयान सकिएको छ । आरोपितमध्ये बिहीबारसम्म १५ प्रतिवादीले बयान दिइसकेको सूचना अधिकारी दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “सो प्रकरणमा मुछिएकाहरूको बयान यही जेठ १२ गतेदेखि सुरु गरिएकोमा आज तीन जनाको बयान भइरहेको ।” नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाडौं:     प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारीहरू सवार गाडी सुनकोशी नदीमा  खस्दा तीन जना बेपत्ता भएका छन् । शुक्रबार बिहान सिटिइभिटीका कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जिप भक्तपुरबाट खोटाङतर्फ जाँदै गर्दा सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ लौकुनको ओरालोमा दुर्घटना हुँदा नदीमा खसेको हो । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट टोली खटाइएको नेपाल प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।  जिपमा चार जना सवार रहेका र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उनले बताए ।  बेपत्ता हुने कर्मचारीमा कृष्णबहादुर केसी, यमप्रसाद भुतेल र भानु पौडेल छन् । उनीहरु सबै अधिकृत स्तरको कर्मचारी रहेको प्रहरीको भनाइ छ । बेपत्ता सबै जनाको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले बताए । 

 काठमाडौं:  भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको इन्दोर पुगेका छन् । उनी नयाँदिल्लीबाट विशेष विमानमार्फत् इन्दोर पुगेका हुन् ।   इन्दोरमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहान लगायतका उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।   प्रधानमन्त्री प्रचण्डको स्वागतमा सहभागीहरु नेपाल–भारतका झण्डासहित उपस्थित भएका थिए । साँस्कृतिक टोलीले परम्परागत पोशाकसहित नृत्य प्रस्तुत गरेका थिए ।   इन्दोरका सडक किनार, मुख्य चोक र विद्युतका पोलहरुमा प्रचण्डको स्वागतमा उनको तस्वीरसहित ब्यानर र बोर्डहरु राखिएका छन् । अहिले इन्दोरबाट प्रधानमन्त्री प्रचण्ड उज्जैनतर्फ प्रस्थान गरेका छन् ।   उनले इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्टको भ्रमण गर्ने कार्यक्रम छ । इन्दोरको फोहोर व्यवस्थापन नमूनायोग्य मानिन्छ । इन्दोर भारतको सबैभन्दा सफा र फोहोर व्यवस्थापनमा उत्कृष्ट सहरको रुपमा चिनिन्छ ।   बेलुका उनी मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डले इन्दोरमा भाजपाका नेताहरूसँग भेटघाट गर्ने सम्भावनासमेत छ ।   प्रधानमन्त्री प्रचण्डले शनिबार जेठ २० गते इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली फर्किने र अपराह्न ४ः२० बजेको नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फर्किने छन् ।   भारतको चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जेठ १७ गते नयाँदिल्ली गएको थियो । प्रधानमन्त्री प्रचण्डले जेठ १९ गते प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायतसँग भेटवार्ता गरेका थिए ।   प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा नेपाल र भारतबीच विभिन्न सात सहमतिमा हस्ताक्षर भएको थियो । ऊर्जा, पारवहन लगायतका क्षेत्रमा भएको सहमति ‘ऐतिहासिक’ भएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।