काठमाडौं: मुटुमा समस्या देखिएपछि उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो । सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मणि गजुरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकोले आज बिहान अस्पताल भर्ना गरिएको हो । राष्ट्रपतिको मुटुमा समस्या देखिएपछि शनिबार बिहानै ५ बजे उपचारका लागि भर्ना गरिएको राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपतिको स्वास्थ्य सामान्य छ । गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनलाई पुनः समस्या देखिएको हो । राष्ट्रपति पौडेलले वैशाखमा भारतको नयाँ दिल्लीमा उपचार गराएका थिए ।
काठमाडौं: राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिले आज स्थापनाको अवसरमा नवौँ चुरे संरक्षण दिवस मनाउँदै छ । समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । सरकारले २०७१ साल असार २ गते सो समितिको गठन गरेको थियो । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य लिएको एकमात्र राष्ट्रिय गौरवको आयोजना हो । समितिका अध्यक्ष डा किरण पौडेलले स्थापनाको दिवसका अवसरमा ‘चुरेको माटो चुरेलाई, सफापानी सबैलाई’ भन्ने साझा लक्ष्यमा अघि बढ्न सबैलाई आह्वान गर्नुभएको छ । उहाँले चुरे संरक्षणको गहन अभिभारा पूरा गर्ने काममा सहयोग पुर्याउने वन तथा वातावरण मन्त्रालय, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालय, प्रदेश सरकार तथा स्थानीय तह, सुरक्षा निकाय, सामुदायिक वन उपभोक्तालगायत स्थानीय समुदाय, विकास साझेदार एवं सबैलाई धन्यवाद दिनुभएको छ । नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ वटा जिल्लामा कूल भू-भागको १२ दशमवलव ७८ प्रतिशत क्षेत्रमा फैलिएर रहेको अत्यन्त संवेदनशील र कमजोर अवस्थाको चुरे पहाड तराई मधेसको अस्तित्वसँग अन्योन्याश्रित सम्बन्ध राख्दछ । चुरे क्षेत्र भौगर्भिकरूपमा कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त, जैविक विविधतामा धनी रहेको, दुर्लभ वन्यजन्तुको वासस्थान र जैविक मार्ग हो । बलौटे ढुङ्गा एवं माटो ढुङ्गा सङ्गुरीकाले बनेका कारण चुरे भूभाग निकै कमजोर छ । अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरण र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण, भू–क्षयजस्ता कारणले यो क्षेत्र झनै संवेदनशील बन्दै गएको छ । यस्तै गतिविधिका कारण तराई मधेस मरुभूमिकरण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चुरे–तराई मधेस क्षेत्रका ३७ जिल्लाका तीन सय २५ स्थानीय तहका करिब ५८ प्रतिशत मानिसको जीवन पद्धतिसँग सम्बन्धित यो क्षेत्रका एक सय ६४ नदी प्रणाली र तिनका जलाधार क्षेत्रलाई संवेदनशील एवं जोखिमपूर्ण भौगोलिक क्षेत्र घोषणा गर्दै वातावरण संरक्षण क्षेत्र कायम गरी नेपाल सरकारले समितिको गठन गरेको थियो । चुरे क्षेत्र भौगोलिक हिसाबले कमलो र कान्छो भए तापनि जैविक र सांस्कृतिक सम्पदामा धेरै धनी छ । चुरे क्षेत्र बाघ, भालु, गैँडा, हात्ती, अर्ना र अन्य वन्यजन्तुको वासस्थान रहनुका साथै विविध किसिमका जडीबुटीजन्य वनस्पतिको खानी पनि हो । तराई र मधेस क्षेत्रमा सिँचाइको लागि आवश्यक पर्ने पानीको प्रमुख स्रोत भनेको चुरे र मध्य पहाडी शृङ्खलाबाट बग्ने नदी प्रणाली र यिनले पुनर्भरण गरेका भूमिगत जलस्रोत हो । तराई र मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउने हो भने चुरे क्षेत्रमा रहेका वन, वनस्पति, वन्यजन्तु र पारिस्थितिकीय प्रणालीलाई उनीहरूको प्राकृतिक प्रक्रियाअनुसार स्वच्छ र स्वतन्त्ररूपमा बाँच्न दिनुपर्ने हुन्छ । अध्यक्ष पौडेलले ‘प्रकृति स्वच्छ भए मात्र हाम्रो जीवन सुरक्षित हुन्छ र प्रकृतिलाई हामीले संरक्षण गर्यौं भने मात्र प्रकृतिले हामीलाई संरक्षण गर्दछ’ भन्ने तथ्यलाई कसैले पनि बिर्सनु नहुने बताउनुभएको छ । चुरे क्षेत्रमा जनसङ्ख्या वृद्धि, बसाइँसराइ र भौतिक पूर्वाधार विकासका कारण सहरीकरण दिन प्रतिदिन बढ्दो छ । “बढ्दो भौतिक विकासले चुरे क्षेत्रको पारिस्थितिकीय प्रणालीलाई पारेको असरलाई कसरी कम गर्न सकिन्छ र हिजो नष्ट भएका पारिस्थितिकीय प्रणालीलाई आज कसरी पुनःस्थापना गर्न सकिन्छ भनेर सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ”, अध्यक्ष पौडलले भन्नुभयो । चुरे क्षेत्रमा भावी पुस्ताको बाँच्न पाउने अधिकारसमेतलाई ख्याल गरेर यस क्षेत्रको व्यवस्थित भौतिक विकास गर्न र वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी र बालुवाजस्ता प्राकृतिक स्रोतको सङ्कलन तथा उत्खनन गर्न उहाँले आह्वान गर्नुभएको छ ।
स्याङ्जा: अर्जुनचौपारी गाउँपालिका ६ सिउडबारीमा धारिलो हतियार प्रहार गरी १० वर्षीय बालकको हत्या भएको छ । स्थानीय हर्षित देवकोटाको धारिलो हतियार (हँसिया) प्रहार गरी शुक्रवार साँझ हत्या भएको हो । गर्धन र कन्चटमा प्रहार गरी हत्या गरेका बालक (देवकोटा)को शव घरदेखि टाढा खर बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले बताए । हत्या भएका देबकोटाको बुवा रोजगारीको लागि वैदेशिक रोजगारमा रहेको बताइएको छ । हत्या भएका बालक परिवारको एक मात्र छोरा थिए । स्कुलबाट आएका हर्षित बेपत्ता भएपछि खोजी गर्ने क्रममा हत्या भएको खुलेको थियो । प्रहरीले बालकको हत्याको आरोपमा सोही ठाउँ बस्ने २२ वर्षीय सुजन चुवाई (सुवेदी) लाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।
स्याङजा: स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको गाडी दुर्घटना परी मृत्यु भएको छ । शुक्रबार राति बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले राति ११ः४० मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गाडी शुक्रबार राति ११ बजे पुतलीबजार(१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको थियो । प्रहरीले पुतलीबजार-९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली तथा स्कारपियो नियन्त्रणमा लिएको प्रवक्ता खनालले बताए ।
काठमाडौं: जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई आज विहान संसदीय सुनुवाई समितिले सो पदका लागि सफारिस गरेको थियो । प्रधानन्यायाधीश कार्कीलाई शपथ गराउनेक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पनि उपस्थिति थियो । प्रन्या कार्की आगामी साउन १९ गतेदेखि उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैहुनुहुन्छ ।
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको तारबार महानगरका मेयरको निर्देशनमा बिहीवार भत्काएपछि आज शुक्रवार प्राधिकरणले शाहलाई सात दिने लिखित स्पष्टीकरण सोधेको हो । स्पष्टीकरणमा भनिएको छ, ‘काठमाण्डौ महानगरपालिका वडा नं. ९ स्थित नक्सा सिट नं. १०२–११४७–१५, कि.नं. ३० को जग्गा यस प्राधिकरणले तारबार लगाई ऐनको दफा ७ बमोजिम नियमित गरी राखेको विमानस्थल क्षेत्र हो,उक्त क्षेत्रमा नगर प्रहरी राजु पाण्डे समेतले प्राधिकरणलाई सूचना नदिई अन्य नगर प्रहरीलाई आदेश दिई मिति २०८०/२/३२ मा फिनिसिङ तारबार काट्न लाग्दा नगर प्रमुखको आदेश बमोजिम यस्तो कार्य गरेको र उतै सोध्नु भनी जवाफ दिएकाले सो तारबार र फिनिसिङ काटी लैजाने कार्यमा तपाईँको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न हुन प्राधिकरको मिति २०८०/२/३२ को निर्णय अनुसार जानकारी गराइन्छ ।’ यसैगरी प्राधिकरणले सत दिनभित्र लिखित स्पष्टीकरण पेस नगरेमा कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ । प्राधिकरणले शाहलाई सोधेको स्पष्टीकरणको बोधार्थ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई दिएको छ ।
काठमाडौं: नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार नेपाल भित्रिएको मनसुन कोशी, पूर्वी मधेस, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागसम्म पुगेको मौषमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालका अन्य भू-भागमा भने केही दिनमा क्रमिकरुपमा मनसुन फैलिँदै जाने छ । यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले यसअघि नै गरिसकेको छ । यद्यपि, यो सम्भावना स्थानपिच्छे फरक–फरक हुने जनाइएको छ । यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको थियो । गत वर्ष भने औसतमै वर्षा भएको थियो । नेपालमा जुन, जुलाई, अगस्त र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मान्ने गरिएको मौषमविद् प्रधानाङगले बताउनुभयो । यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजारभन्दा धेरै नागरिक प्रभावित हुने अनुमान गरिएको छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दुई लाख ८६ हजारभन्दा बढी घरपरिवारलाई यस वर्षको मनसुनले असर गर्नसक्ने सम्भावना छ । पछिल्लो २४ घण्टामा लमजुङको खदीबजारमा सबैभन्दा बढी एक सय ३५ दशमलव दुई मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ । त्यसैगरी बुधबार काठमाडौँमा ३९ दशमलव पाँच मिलिमिटर पानी परेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
काठमाडौं: काठमाडौंको सुकेधारास्थित बुकलिन कलेजले आयोजना गरेको एसईई बास्केटबलको उपाधि छात्रतर्फ क्लस्टर र छात्रातर्फ इन्साइट भिजन स्कुलले जितेको छ । एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको बास्केटबल प्रतियोगिताको उपाधि छात्रतर्फ क्लस्टर र छात्रातर्फ इन्साइट भिजन स्कुलले जितेका हुन् । छात्रतर्फ क्लस्टर प्रथम, रिलाइन्स कोएड दोस्रो भएको छ भने, छात्रातर्फ इन्साइट भिजन स्कुल प्रथम, हिमशिला र दिक्षान्त मिम्स समूह दोस्रो भएका छन् । एसईई बास्केटबल प्रतियोगिता २०८० मा छात्रतर्फ १६ र छात्रतर्फ ६ समूहको सहभागिता रहेको थियो । उपाधि विजेता टिमलाई प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्रदान गरिएको बुकलिन कलेजको अनुशासन तथा अतिरिक्त क्रियाकलापका इन्चार्ज रन्जीत क्षेत्रीले जानकारी दिए ।

