काठमाडौं:  अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...

लमजुङ:      लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको राइनास नगरपालिकामा रहेको भलायखर्क आसपास केन्द्रविन्दु भएर आज शुक्रवार बिहान ५ बजेर ५५ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखामा महसुस गरिएको थियो । यसअघि गएको असार ५ गते बिहान दार्चुलाको खाण्डेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ ।

काठमाडौं:     नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ । बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता विधेयक कार्यान्वयनका लागि बाटो खुलेको हो । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि न्यायाधीश डा। मनोजकुमार शर्माको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो । योसँगै राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयक कार्यान्वयनमा अघि बढ्ने भएको हो । राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको उक्त नागरिकता विधेयक संविधानको भावना र मर्म विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो । उहाँहरूले दायर गरेको रिटमा जेठ २१ गते न्यायाधीश शर्माले विपक्षीको नाममा कारण देखाऊ र अल्पकालीन अन्तरिम आदेश जारी गर्ने आदेश दिनुभएको थियो ।

काठमाडौं:    सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई आक्रमण गर्नेहरुमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश जारी गरेको छ । बिहीबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । साथै न्यायाधीश शर्माले मुद्दा फिर्ताको कारण पेश गर्न विपक्षीको नाममा आदेश जारी गरेको छ । उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्ने नेकपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेपछि चलाउनेले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो । उपप्राध्यापक चलाउनेमाथि विसं. २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका थियो । त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले उपप्राध्याक चलाउनेमाथि आक्रमण गरेको अभियोग लागेको थियो ।

काठमाडौं:     उच्च अदालत पाटनले काठमाडौका हलमा भारतीय चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । नेपाल चलचित्र सङ्घले दायर गरेको रिटमा आज शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय चलचित्रलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले छलफलका लागि असार १२ गते दुवै पक्षलाई बोलाएको छ । भारतीय चलचित्र  ‘आदिपुरुष’ मा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद मूल फाइलबाट नहटाएको भन्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गएको सोमवारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । मेयर शाहको निर्णयविरुद्ध चलचित्र सङ्घले उच्च अदालत पाटनमा रिट दायर गरेको हो । यसैबीच मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेख्दै अदालतले आदेश दिए पनि काठमाडौं महानगरभित्र भारतीय चलचित्र प्रदर्शन गर्न नदिने अडान लिएका छन् । चलचित्र लेखकले नेपाल भारतको अधिनमा थियो भन्नुले चलचित्रको नियत स्पष्ट भएको भन्दै मेयर शाहले आफू जुनसुकै सजाय भोग्न तयार रहेको तर महानगरमा भारतीय चलचित्र चल्न नदिने बताए । उनले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफू कुनै कानुन र अदालतलाई नमान्ने जिकिर गरेका छन् ।

रुकुम:     रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा बिहीबार बिहान बोलेरो जीप दुर्घटना हुँदा दश जना घाइते भएका छन् ।  जिल्लाको मुसिकोट नगरपालिका १ त्रिवेणी चोकदेखि वडा नम्बर ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिरको दर्शन गर्न जान थालेको भे १ च २७९६ नम्बरको जीप दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार जीप दुर्घटनामा परेर दश जना घाइते भएका छन् । घाइते हुनेहरूमा मुसिकोट नगरपालिका ५ की १३ वर्षीया सरस्वती केसी, सोही ठाउँकी ५५ बर्षीया लीला केसी, मुसिकोट १३ की ५० बर्षीया सुबि रोका, मुसिकोट नगरपालिका ३ की १३ बर्षीया सुजता केसी, सोही वडाकी १२ वर्षीया करिना केसी रहेका छन् । त्यसै गरी सोही वडा निवासी १४ वर्षीया दक्षिणा खड्का, ८ वर्षीया वर्षा केसी, मुसिकोट नगरपालिका १ की ३५ बर्षीया बिनिता केसी, दाङको शान्तिनगर गाउँपालिका ४ निवासी २५ बर्षीया टिका ओली केसी र सोही स्थानकी ३३ बर्षीया टिका केसी घाइते हुनुभएको प्रहरीले जनाएको छ ।  घाइते मध्य वर्षा केसीको बायाँ खुट्टाको तिघ्राको हड्डी निस्किएकोले अवस्था सिरियस रहेको बताइएको छ । प्रहरीका अनुसार उक्त जीपपमा १२ जना सवार रहेकोमा अन्य दुई जना सकुशल रहेका छन् । जीप स्टाट गर्ने क्रममा ब्रेकले काम नगरी ब्याक हुन जाँदा सडकबाट करिब ६ मिटर तल खसेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।  घाइतेहरू सबैको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । 

काठमाडौं:    हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका भू–भागमा सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको र थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । आज कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । दिउँसोको समयमा भन्दा राति ठूलो पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।    आज पश्चिमी क्षेत्रमा पनि हल्का पानी पर्ने अनुमान गरिएको र अहिले नेपालको पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव परेको छ भने बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको असर रहेको महाशाखाद्वारा प्रकाशित मौसम बुलेटिनमा उल्लेख छ ।

काठमाडौं:      नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (बुधवार) हवाई यात्रुको इन्धनबापतको शुल्क घटाएसँगै हवाई भाडा पनि घटेको छ । सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले घटेको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको भाडा ९० रुपैयाँले घटेको छ । यस्तै काठमाण्डौ–भद्रपुरको तीन सय, काठमाण्डौ–विराटनगरको दुई सय ४०, काठमाण्डौ-धनगढीको चार सय ४५, काठमाण्डौ-नेपालगञ्जको तीन सय २५, काठमाण्डौ-भैरहवाको दुई सय १० र काठमाण्डौ-सुर्खेतको भाडा तीन सय ४५ रुपैयाँले घटेको छ । हिजो मङ्गलवार आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर १० रुपैयाँले कम गरेको थियो । हवाई भाडामा लाग्दै आएको इन्धन शुल्क यस्तो छ :     

काठमाडौं:    अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवस मध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । यस अघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायःबनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतनाजगाउने काम सुरु भएको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमायसलाई चटक्क बिर्सिएका नेपाली युरोप तथा अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् । माघ १गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । नेपाल सरकारले २०७२ साउन २८ गते तत्कालीन शान्ति मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाइन्छ ।

पाल्पा:    पाल्पामा डुबेर दुई जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको तिनाउ नदी र रैनादेवी छहराको जलुके झर्नामा पौडी खेल्ने क्रममा डुबेर एकै दिन दुई जना युवाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा भारत देश गोरखपुर फत्तेपुर बस्ने ३४ वर्षका विपिन धुँसिया र रुपन्देही जिल्ला शुद्धोदन गाउँपालिका–२, बस्ने २२ वर्षका सञ्जय चौधरी रहनुभएको छ । सोमबार बेलुकी साढे ५ बजेतिर तिनाउ–३, शिद्धबावा नजिकै तिनाउ नदीमा साथीहरूसँगै पौडी खेल्ने क्रममा धँसियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  यस्तै रैनादेवी छहरा–८, जलुकेस्थित जलुके झर्नामा साथीहरूसँगै पौडी खेल्न जाँदा बेलुकी ६ बजेतिर डुबेर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । पछिल्लो समय पाल्पाका विभिन्न स्थानमा डुबेर मृत्यु हुने क्रम बढेको प्रनाउ थापाले बताउनुभयो ।    पाल्पामा पछिल्लो समय डुबेर मृत्यु हुने क्रम बढेको छ । गर्मी छल्न पौडी खेल्ने क्रममा युवा, किशोर–किशोरीको मृत्यु हुने गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।