पोखरा । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा अर्को स्वर्ण थपेको छ । दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितेकी हुन् । यसअघि आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण जितेका थिए । टीकामायाले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार बहन गर्दै स्वर्ण जित्न सफल भएको नेपाल भारत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । यस्तै, नेपाल आर्मीकी प्रभा थारुले न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२९ केजी भार उठाउँदै रजत जितिन् भने लुम्बिनी प्रदेशकी कृष्णकला बिष्टले कास्य जितिन् । उनले स्न्याचतर्फ ५६ र क्लीन एण्ड जर्कमा ७२ गरी कुल १२८ केजी तौल उठाउन सकिन् । उनी प्रभाको तुलनामा १ केजीमात्र भार कम उठाउँदा कास्यमा सीमित भएकी हुन् । प्रतियोगितामा १२ जना खेलाडीले भाग लिएका थिए । पोखरा उद्योग वाणिज्य संघमा भएको प्रतियोगितामा दोस्रो दिन ४ स्वर्णको छिनोफानो हुनेछ । सोमबार नै महिला ५९, पुरुष ६७ र ७३ केजी तौल समूहमा खेल हुनेछ । कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हँुदैछ । उद्घाटनको दिन पुलिसका मुई लामाले भारत्तोलनमा राष्ट्रिय रेकर्ड कायम गरे । उनले ६१ केजी तौल समूहमा भएको स्पर्धामा स्न्याचमा ९६ केजी भार बहन गरी उनले आर्मीका तुलाराम महताको रेकर्ड तोडेका हुन् । लामाले क्लीन एण्ड जर्कमा ११६ सहित कुल २१२ तौल उठाउँदै स्वर्ण जितेका हुन् । रजत जितेका नेपाल आर्मीका राजु चौधरीले क्लीन एण्ड जर्कमा आफ्नै रेकर्ड तोडे । उनको नाममा १२० केजी रहेकोमा आइतबारको स्पर्धामा १२१ केजी तौल भार बहन गर्दै रेकर्ड ब्रेक भएको हो । उनले स्न्याचतर्फ ८७ केजीसहित कुल २०८ भार बहन गरेका थिए । यसअघि, महिला ४९ केजी तौल समूहमा नेपाल पुलिसकी संगीता राई, पुरुष ५५ केजी तौल समूहमा आर्मीका तुलाराम महतो र महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले स्वर्ण जितिसकेका छन् ।
दमौली । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा दुई वटा बास्केटबल कोर्ट निर्माण हुँदा यहाँ राष्ट्रियस्तरको खेल सञ्चालन हुनेमा कमैलाई मात्र विश्वास थियो । बास्केटबल कोर्ट निर्माण हुँदा यहाँका स्थानीय खेलाडीले खेल्न पाउनेमा भने धेरै खुसी थिए । राष्ट्रिय खेलकुद परिषद्को लगानीमा विसं २०७७ मा विद्यालय प्राङ्गणमा दुई वटा कोर्ट निर्माण भएका छन् । उक्त बास्केटबल कोर्टमा दमौलीकै खेलाडीले खेल खेल्ने अवसर पाएका छन् भने केहीले प्रशिक्षण लिने अवसर पाएका छन् । निर्मलमा बनेको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको कोर्टका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबल प्रतियोगिता तनहुँले गर्ने अवसर प्राप्त गरेको छ । यसअघि महिला बास्केटबल पनि पोखरामै गर्ने तयारी भइसकेको थियो । तर, अनेकौ प्रयासका बीच महिला बास्केटबल यहाँ सञ्चालन भएको छ । “विद्यालयमा बनेको कोर्टका कारण राष्ट्रकै गौरवका रुपमा रहेको नवौँ खेलकुदको एउटा खेल तनहुँले सञ्चालन गर्न पाउनु गौरवको कुरा हो”, निर्मल माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले भन्नुभयो, “यसले समग्र तनहुँको इज्जत बढाएको छ, साथै विद्यालयको पनि नाम बढेको छ ।” देशभरका बास्केटबल खेलाडी तनहुँमा आएर खेल खेल्दा तनहुँको नाम विश्वमाझ परिचित हुन सक्ने बस्नेतले विश्वास व्यक्त गर्नुभयो । “निर्मलमा बनेको बास्केटबल कोर्ट तनहुँकै गहनाका रुपमा लिनुपर्छ, यसैका कारण आज देशभरका महिला खेलाडी तनहुँ आउने अवसर जुरेको छ, यसले गर्दा यहाँको प्रचारप्रसारमा पनि सहयोग पुगेको छ ।” राष्ट्रिय खेलकुद परिषद्को रु ४० लाख लगानीमा दुई वटा मापदण्डअनुसारको कोर्ट निर्माण भएको जिल्ला खेलकुद विकास समिति तनहँुका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो । “पूर्वाधार नभएका कारण जिल्लामा अन्य खेल खेलाउनसक्ने स्थिति थिएन, यहाँको बास्केटबल कोर्ट मापदण्डअनुसारको थियो । तर, केही पूर्वाधार अभावका कारण खेल नहुने हो कि भन्ने चिन्ता थियो”, पाण्डेले भन्नुभयो, “स्थानीय सरकारको सहयोगमा केही पूर्वाधार बनाउन सहयोग पुगेपछि राष्ट्रियस्तरको खेल सञ्चालन गर्ने अवसर पायौँ ।” राष्ट्रिय खेलकुद परिषद्को टोलीले जिल्लामा विभिन्न पूर्वाधारको अनुगमन गरेको थियो । उक्त टोलीले निर्मलस्थित बास्केटबल कोर्टको निरीक्षण गरेको थियो । अन्य खेल जिल्लामा नहुने भएपछि महिला बास्केटबल खेलाउन सकिने निष्कर्ष निकालिएको थियो । परिषद्का सदस्य राजेश गुरुङले महिला बास्केटबल कोर्ट निरीक्षणका क्रममा भन्नुभएको थियो,“कोर्ट वरपरको मैदान सम्याउनका लागि व्यास नगरपालिकाले बजेट सहयोग गरोस्, खेल सञ्चालन हुन्छ ।” परिषद् र जिल्ला खेलकुद विकास समितिको आग्रहबमोजिम व्यास नगरपालिकाले कोर्टको वरपरको जमिन सम्याउन रु सात लाख बजेट सहयोग गरेको छ । सोहीबमोजिम कोर्टको नजिक रहेको जमिन ढलान गरी सम्याइएको छ । खेलमा सहभागी हुन आएका खेलाडी तथा प्रशिक्षकलाई जिल्लाका महत्वपूर्ण धार्मिकस्थल भ्रमणको व्यवस्था मिलाइएको छ । दमौली नजिक रहेका व्यासगुफा, छाब्दीवाराही मन्दिर, मानुङकोट भ्रमणको व्यवस्था मिलाइएको समितिका अध्यक्ष पाण्डेले बताउनुभयो । “नवौँ राष्ट्रिय खेलकुदले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि सहयोग पुर्याएको छ”, पाण्डेले भन्नुभयो । लुम्बिनी प्रदेशबाट अफिसियलको रुपमा आएका दाङका बिपिन केसीले गण्डकी प्रदेशको एउटा सानो जिल्लामा पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको कोर्ट बन्नु पनि निक्कै महत्वपूर्ण रहेको बताउनुभयो । खेलकुदको सामान्य पूर्वाधानर निर्माण हुदा पनि जिल्लालाइ राष्ट्रियस्तरमा खेलकुदमा चिनाउन र खेलक्षेत्रको गतिबिधी बढाउन सकिने उहाँले बताउनुभयो । बागमती प्रदेशबाट सहभागी खेलाडी अनुषा मल्लले आफ्नै जन्म ठाउँमा आएर खेल्न पाउँदा खुसी लागेको बताउनुभयो । “म जन्मेको तनहुँको भानुमा हो, अहिले काठमाडौँमा बस्दै आएको छु, अहिले पनि तनहुँमा मेरा आफन्तहरु हुनुहुन्छ”, उहाँले भन्नुभयो, “आफ्नै ठाउँमा आएर नवौँ खेलकुदमा सहभागी हुन पाउँदा खुसीको अनुभव भएको छ ।” अखिल नेपाल फुटबल सङ्घ (एन्फा) तनहुँका निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार श्रेष्ठ नर्वौँ खेलकुदको एउटा खेल तनहुँमा हुनु गौरवको कुरा रहेको बताउनुभयो । बास्केटबल खेलाडी एवं प्रशिक्षक कृष्णकुमार श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले तनहुँको नाम देशभर चिनिन सहयोग पुगेको बताउनुभयो । श्रेष्ठले यहाँ रहेको कोर्टमा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रशिक्षण सञ्चालन गर्दै आउनुभएको छ ।
पोखरा । एथलेटिक्सको ट्रयाक इभेन्टमा त्रिभुवन आर्मी क्लबले वर्चश्व जमाएको छ । पोखरा रंगशालामा सोमबार बिहान भएका ३ इभेन्टमध्ये २ वटामा आर्मीले स्वर्ण आफ्नो पोल्टामा पारेको छ । ११० मिटर हर्डल्स पुरुषमा आर्मीका जीवन चौधरीले स्वर्ण जिते । उनले निर्धारित दुरी १५.०३ सेकेन्डमा पार गरे । नेपाल पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जिते । आर्मीकै रामप्रसाद थारु १९ सेकेन्डमा दुरी पार गर्दै काँस्य पदक जिते । १०० मिटर हडल्स महिला आर्मीकी जयरानी थापाले स्वर्ण पदक जितिन् । उनले १ सय मिटर दुरी १५.६९ सेकेन्डमा पूरा गरिन् । रजत पदक आर्मीकी निर्मला थापाले १६.२५ सेकेन्डमा पार गर्दै हात पारिन् । एपीएफकी भगिरथी कुमारी थारुले १९.१३ सेकेन्डमा पूरा गर्दै काँस्य पदक जितिन् । ३ हजार मिटर स्टीबल चेष्टमा आर्मीका दुर्गबहादुर बुढाले कीर्तिमानसहित स्वर्ण जिते । उनले ८ मिनेट ५५.१९ सेकेन्डमा दुरी पार गरे । अजित यादवले ९ मिनेट २१.१० सेकेन्डमा पुरा गर्दै रजत पदक जिते । काँस्य पदक त्रिभुवन आर्मीका सुवास कार्कीले प्राप्त गरे । उनले ९ मिनेट २२.१५ सेकेन्डमा पार गरे ।
पोखरा । भारत्तोलन अन्तर्गत दोस्रो दिन आज सोमबार ४ इभेन्टमा खेल हुँदै छन् । पोखरा उद्योग वाणिज्य संघका् हलमा भएको प्रतियोगितामा सोमबारका लागि महिला ५५ र ५९ तथा पुरुष ६७ र ७३ केजी तौल समूहमा खेल हुनेछन् । कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०/१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हँुदैछ । उद्घाटनको दिन नेपाल पुलिसले ३ र नेपाल आर्मी १ स्वर्ण जित्न सफल भए । नेपाल पुलिसका मुई लामाले भारत्तोलनमा राष्ट्रिय रेकर्ड कायम गरे । आइतबार राति पुरुष ६१ केजी तौल समूहमा भएको स्पर्धाम स्न्याचमा ९६ केजी भार बहन गरी उनले आर्मीका तुलाराम महताको रेकर्ड तोडेका हुन् । लामाले क्लीन एण्ड जर्कमा ११६ सहित कुल २१२ तौल उठाउँदै स्वर्ण जितेका हुन् । रजत जितेका नेपाल आर्मीका राजु चौधरीले क्लीन एण्ड जर्कमा आफ्नै रेकर्ड तोडे । उनको नाममा १२० केजी रहेकोमा आइतबारको स्पर्धामा १२१ केजी तौल भार बहन गर्दै रेकर्ड ब्रेक भएको हो । उनले स्न्याचतर्फ ८७ केजीसहित कुल २०८ भार बहन गरे । प्रतियोगितामा कुल १६८ भार उठाएका मधेश प्रदेशका हेमनारायण यादव काँस्यमा सीमित भए । महिला ४९ केजी तौल समूहमा नेपाल पुलिसकी संगीता राई, पुरुष ५५ केजी तौल समूहमा आर्मीका तुलाराम महतो र महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले स्वर्ण जितेका थिए ।
म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो क्वाटरफाइनलमा एपिएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । भलिबलप्रेमी दर्शकको भिडमा रहेको उक्त खेलमा एपिएफले २५-१५, २५-१८, २५-१० को सेटमा लुम्बिनी प्रदेश माथि जित निकालेको थियो । प्रतियोगितामा वुमन अफ द म्याच एपिएफकी आरती सुवेदी भएकी छन् । क्वाटरफाइनलको दोस्रो खेल खुलामञ्चमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश बीच भइरहेको छ । दिउँसो १ बजे आर्मी र पुलिस, ३ बजे गण्डकी प्रदेश र प्रदेश १ सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् । सेमिफाइनल कात्तिक १ गते मंगलबार हुने छ । कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी सहभागिता रहेको छ ।
पोखरा: बक्सिङ प्रतियोगिताको दोस्रो दिनमा पनि विभागीय टोलीकै हावी देखिएको छ । पोखरा रंगशाला अन्तर्गत बक्सिङ हलमा सञ्चालन गरिएको प्रतियोगितामा महिला र पुरुषतर्फ विभागीय टोली नै अगाडि छ । पुरुषतर्फ पहिलो चरणमा भएको खेलमा आर्मीका सुशील थापाले ४.१ नम्बर ल्याएर कर्णालीका मोहन गुरुङलाई पराति गरे ।३.२ अंक प्राप्त गर्दै लुम्बिनीका सुरज ओलीले सुदूरपश्चिमका चिरन्जीवी खड्कालाई पराजित गरे । अंक सहित एपीएफका प्रदीप महर्जनले कर्णालीका जीवनकुमार पुनलाई पराजित गरेका छन् । सुदूरपश्चिमका रन्जन भट्टलाई हराउँदै बागमतीका लालप्रसाद उप्रेतीले ५ नम्बर ल्याए । पुलिसका शम्भुराज बंशीलाई हराउँदै आर्मी क्वलका प्रेम चौधरीले ५ नम्बर ल्याए । बागमतीका सुरज महर्जनलाई हराउँदै एनआरएनका शिवु थापा विजयी भए । आर्मीका सुदीप श्रेष्ठलाई हराउँदै गण्डकीका बुद्ध ग्याम्जो लामा, प्रदेश १ का बलबहादुर पुनलाई हराउँदै गण्डकीका निश्चल गुरुङ, पुलिसका निकेश देशाहीलाई हराउँदै आर्मीका पुरन सुनुवार विजयी भए ।
पोखरा । गण्डकीका अमृत थापामगरले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वासमा पुरुष व्यक्तिगत विधामा स्वर्ण पदक जितेका छन् । सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको फाइनल खेलमा थापामगरले बागमतीका अह्रान्त सिम्हालाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । सो जितसँगै थापामगरले स्वासमा तेस्रो पटक स्वर्ण पदक जिते । उनले सातौ, आठौंमासमेत स्वर्ण पदक जितेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा थापाले १२–१० मा लिदैं अगाडि बढे । दोस्रो सेटमा ८–११ ले गुमाए । तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे । तर चौथो सेटमा ९–११ मा पराजित भएपछि निर्णायक सेटमा थापाले ११–८ ले लिदैं स्वर्ण पदक जिते । दोस्रो पटक हार व्यहोरेका सिम्हाले रजत पदक प्राप्त गरे । भने बागमतीका अमीर ब्लोन र गण्डकीका दिपक थापाले कास्य पदक जिते । पुरुषतर्फ टिम इभेन्टका खेल सोमबार बेलुकीबाट हुने स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिं भण्डारीले बताए । उनका अनुसार २ विभागीय टोली र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको छ ।
बागलुङ । बागलुङमा जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी सात स्वर्ण पदकसहित अग्रस्थानमा छ । अहिलेसम्मका खेलमा बागमती प्रदेशले तीन र गण्डकीले एक स्वर्ण जितेको छ । एकल प्याटर्नमा ६ र टिम प्याटर्नमा एक स्वर्ण जित्दै आर्मीले जारी प्रतियोगितामा आफ्नो वर्चश्व कायम गरेको हो । आइतबार भएको पुरुष टिम प्याट्रनमा नेपाल आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो । पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेश र महिलातर्फ नेपाल आर्मीले रजत पदकमा चित्त बुझायो । महिलातर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीकी रिना धिमालले गण्डकी प्रदेशकी सुश्मिता थापालाई पराजित गर्दै स्वर्ण पदक हात पारिन् । गण्डकीकी थापा रजत पदकमा सीमित बनिन् । ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा बागमतीकी रुबिका खड्काले स्वर्ण र आर्मीकी निष्मा बस्यालले रजत पदक जितेकी छन् । ‘ब्ल्याक बेल्ट’ पहिलो डानमा बागमती प्रदेशका सचिना सुनुवारले स्वर्ण र नेपाल आर्मीका हिमा खड्काले रजत पदक हाँसिल गरेकी हुन् । पुरुषतर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीका पूर्णबहादुर मगरले स्वर्ण पदक हासिल गरे । गण्डकी प्रदेशका राजन रेग्मीले रजत पदकमा चित्त बुझाए । ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा नेपाल आर्मीका सुमन मस्राङ्गी मगरले स्वर्ण र लुम्बिनी प्रदेशका वीरेन्द्र बुढा मगरले रजत पदक जितेका छन् । प्रतियोगिताको पहिलो दिन शनिबार भएका खेलमा आर्मीले तीन र गण्डकी प्रदेशले एक स्वर्ण जितेको थियो । ‘ब्ल्यू बेल्ट’तर्फ पुरुष एकल प्याटर्नमा आर्मीका धनसिंह परियारले स्वर्ण र लुम्बिनीका सफल परियारले रजत पदक हात पारे । ‘रेड बेल्ट’मा गण्डकी प्रदेशका भीम गाहाले स्वर्ण पदक जित्दा र लुम्बिनीका सन्देश सुनार रजत पदकमा सीमित बने । ‘ब्ल्याक बेल्ट’ पहिलो डानमा आर्मीका भीमबहादुर तामाङले स्वर्ण र गण्डकीका प्रविण बुढाले रजत पदक हात पारे । ‘ब्ल्यू बेल्ट’ महिलातर्फ गण्डकीकी मोनिका कुँवरलाई पराजित गर्दै आर्मीकी सुस्मिता श्रेष्ठले स्वर्ण पदक हाँसिल गरिन् । कुँवरले रजत जितिन् । अहिलेसम्म गण्डकी प्रदेशले एकल प्याटर्नमा एउटा मात्र स्वर्ण जित्न सफल भएको छ । बागमतीले भने एकलमा दुई र टिम प्याटर्नमा दुर्ई स्वर्ण हात पारेको छ । स्पाइरिङतर्फको पहिलो खेल आइतबार नै सुरु भए पनि समय नपुगेका कारण फाइनल खेलाउन नसकिएको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् । आज हुने फाइनल खेलमा गण्डकी प्रदेशका खगेन्द्रबहादुर घर्ती र कर्णाली प्रदेशका मिलन धामीबीच प्रतिस्पर्धा हुने नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् । शनिबारदेखि सुरु भएको आइटिएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याटर्न र टिम प्याटर्नका खेल भइरहेका छन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीहरू प्रतिस्पर्धामा छन् । स्थानीय बाङ्गेचौर खेल मैदानमा प्रतियोगिता चलिरहेको छ ।
कुश्मा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत करातेमा विभागीय टोली नेपाल पुलिस क्लब अब्बल निस्केको छ । पुलिस क्लबले हालसम्म छिनोफानो भएका आठमध्ये चार स्वर्ण आफ्नो पोल्टामा पारेको छ । पुलिसले दुई रजत र दुई कास्य पदकसमेत प्राप्त गरेको छ । आइतबारसम्मको नतिजाअनुसार अन्य दुई विभागीय क्लब सशस्त्रप्रहरी बल ९एपिएफ० र त्रिभुवन आर्मी क्लब पनि करातेमाा बलिया देखिएका छन् । त्रिभुवन आर्मी क्लब दुई स्वर्ण र दुई रजत प्राप्त गर्दै दोस्रो स्थानमा तथा एफिएफ क्लब दुई स्वर्ण र तीन कास्यका साथ दोस्रो स्थानमा रहेको छ । योबाहेक सात प्रदेशको प्रदर्शन भने फितलो रहेको छ । प्रदेश नं १ ले दुई रजत र तीन कास्य, बागमतीले एक रजत र दुई कास्य, गण्डकीले एक रजत र एक कास्य, लुम्बिनीले तीन कास्य तथा कर्णाली र सुदूरपश्चिम प्रदेशले एक एक कास्य पदक प्राप्त गरेका छन् । महिला ५५ किलो तौल समूहमा नेपाल पुलिस क्लबकी सोनी राईले स्वर्ण जितिन् । सो स्पर्धामा प्रदेश नं १ की विद्याकला राईले रजत तथा गण्डकीकी अनु गुरुङ र एपिएफकी मनिषा चौधरीले कास्य प्राप्त गरेका छन् । यस्तै पुरुष ७५ किलो कुमुतेतर्फ पुलिस क्लबकै गङ्गाराम कुशवारले स्वर्ण हात पारे । गण्डकी प्रदेशका प्रतिक घर्तीमगरले रजत तथा बागमतीका रोशन बलामी र प्रदेश १ का रुरिहाङ राईले कास्य प्राप्त गरे । यसैगरी महिला ६१ किलो तौल समूहमा पुलिस क्लबकी अनु अधिकारीले स्वर्ण जितिन् । सो स्पर्धामा पुलिसकै अर्मिला डिसीले रजत प्राप्त गरिन् भने एपिएफकी अस्तर राई र लुम्बिनीकी रविना घर्तिमगरले कास्य प्राप्त गरे । यस्तै पुरुष ८४ किलोमाथिको तौल समूहमा पुलिस क्लबकै विप्लव श्रेष्ठले स्वर्ण जित्दा आर्मी क्लबका विपिनराजसिंह धामीले रजत तथा एपिएफका दिगम्बरप्रसाद पन्त र नारायणबहादुर गुरुङले कस्यमा चित्त बुझाए । यस्तै पुरुष टिम कातातर्फको स्वर्ण पदक विभागीय टोली एपिएफ क्लबले जित्यो । सो स्पर्धामा पुलिस क्लब दोस्रो तथा प्रदेश १ र बागमतीले कास्य पदक प्राप्त गरे । यसअघि पुलिस क्लबले महिला व्यक्तिगत कातातर्फ स्वर्ण जितेको थियो । पुलिसकी चञ्चला दनुवार पहिलो भइन् । सो स्पर्धामा आर्मीकी सङ्गीता मगरले रजत तथा कर्णालीकी एलिसा रस्कोटी र सुदूरपश्चिमकी वर्षा साउदले कास्य पदक प्राप्त गरिन् । यसैगरी महिला टिम कातातर्फ आर्मीका सुनिता मगर, रिना श्रेष्ठ र निशा घर्तीले स्वर्ण जिते । प्रदेश नं १ का रोश्मा राई, समिता राई र विद्याकला राईले रजत जिते । बागमतीका सञ्जु देशार, नानु शाक्य र सिर्जना महतरा तथा पुलिस क्लबकी चञ्चला दनुवार, सरु कार्की र तप्पी थापाले कास्य पदक प्राप्त गरे । पुरुष व्यक्तिगत कातातर्फ एपिएफका सोनिम मानन्धरले स्वर्ण, बागमतीका रेहान जावेदले रजत तथा प्रदेश १ का आशिष मगर र पुलिस क्लबका महसुस तामाङले कास्य जिते । करातेका मुख्य प्रशिक्षक तुलसी महर्जन अनुसार केहीबेरमा करातेका थप खेल सुरु हुँदैछन् । आज पुरुष ६० किलो, महिला ६८ किलो माथि, पुरुष ६७ किलो, महिला ६८ किलोमुनि र पुरुष ८४ किलोमुनि तौल समुहको फाइनल खेल हुँदैछन् ।