पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा : त्रिभुवन आर्मी क्लबका प्याराग्लाइडिङ खेलाडीको खेलको क्रममा मृत्यु भएको छ ।    पोखरा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुदमा सहभागी त्रिभुवन आर्मी क्लबका २६वर्षीय प्याराग्लाइडिङ खेलाडी  निसिम थापाको खेलका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।    सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेको थिए । 

  नवलपुर । पुर्वी नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तगरत सेपाकताक्रो पुरुष र महिला डबलतर्फका दुवै स्वर्ण पदक आर्मीले हात पारेको छ । पुरुषतर्फको डबलमा विभागीय टिम आर्मीले प्रदेश १ लाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो । आर्मीका लागि पुरुष डबलतर्फ अनिल जर्घा मगर, रोशन तामाङ्ग र दिपेश जंग थापाले स्वर्ण दिलाए । पुरुषतर्फ रजत पदक प्रदेश नं १ र कास्य पदक पदक बागमतीले हात पारेका छन् । महिला डबलतर्फ पनि आर्मीले वाग्मती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ । महिलातर्फको डबलमा विभागीय टिम आर्मीले बागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो । आर्मीका लागि महिला डबलतर्फ चन्दा चौधरी, सुमिना डंगोल र सोममाया थापाले स्वर्ण  दिलाए । महिलातर्फ बागमतीलाई रजत र गण्डकीले कास्य पदक हात पारेका छन् ।  महिला र पुरुषका फरक–फरक ३ विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छ्न् । हाइजम्पमा आर्मीका सुर्यलाई स्वर्ण पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सुर्यबहादुर खत्रीले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा आइतबार भएको खेलमा सुर्यले हाइजम्पमा १.९० मिटर उचाई जम्प गर्दै स्वर्ण पदक जितेका हुन् । बागमती प्रदेशका निकेश महतोले १.७५ मिटर उचाई जम्प गर्दै रजत पदक र नेपाल पुलिसका रोशन दनुवारले १.७५ मिटर उचाई जम्प गर्दै कास्य पदक हात पारे ।  

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् ।   उनले पोखरा रंगशालामा आइतबार बिहान १० हजार मिटर दुरी ३० मिनेट १०.३० सेकेन्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।  यसअघि सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १०.९९ सेकेन्डमा १० हजार दुरी पार गर्दै एपीएफका धावक गोपीचन्द्र पार्कीले कीर्तिमान बनाएका थिए ।  

पोखरा :  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल कन्ट्याक्ट कराँतेमा गण्डकी र नेपाल आर्मीले तीन/तीन स्वर्ण जितेका छन् ।    शनिबार राति सकिएको खेलमा कराँतेमा पुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषतर्फको ३०-४०, ४५-५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०-५५ तौल समूहमा एक स्वर्ण जितेको हो ।    त्यसैगरी नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०-६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो ।    खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका रूपक नेपालीलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका हुन् ।   सातौं र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह्याट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बने । नेपालीले रजत पदकमा चित्त बुझाए ।    पुरुषतर्फकै ६०-६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जितेका छन् । उनले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जितेका हुन् ।    भुजेलले रजत पदक जिते । पुरुष तर्फकै ५५-६० केजी तौल समूहमा नेपाल प्रहरीका शुशन लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जितेका छन् ।    पुरुषतर्फकै ५०-५५ केजी तौल समूहमा मधेश प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाए ।    यसैगरी ४५-५० केजी तौल समूहमा गण्डकीका अनीष बुढामगरले वागमतीका विजय राइलाई पराजित गरी स्वर्ण जितेका छन् भने बागमतीका राइले रजतमा चित्त बुझाए ।    ४०-४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनील तामाङले स्वर्ण जितेका छन् भने आर्मीका राजकुमार यादवले रजत पदक जितेका छन् । पुरुषतर्फको ३५-४० तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले नेपाल आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका छन् । थिङले रजत पदक पाए ।    महिलातर्फको खुला तौल समूहमा नेपाल आर्मीका मञ्जु विकले स्वर्ण पदक जितेकी छन् । उनले बागमती प्रदेशकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जितिन् भने बोहोराले रजत पदक पाइन् । ५०-५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले नेपाल आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन् भने चन्दले रजत पदकमा चित्त बुझाइन् । ४५-५० केजी तौल समूहमा बागमती प्रदेशकी नविना धमालले सशस्त्र प्रहरीकी करिष्मा कार्कीलाई पराजित गरी स्वर्ण जित्दा कार्कीले रजत पदक जितिन् ।   ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीकी रिना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जितेकी छन् भने ढुंगेलले रजत पदक जितिन् ।    महिलातर्फको ३५-४० तौलक केजी समूहको खेल भने स्थगित भएको छ । सशस्त्र प्रहरीले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि खेल स्थगित भएको प्रतियोगिता सहसंयोजक दीपक गोदारले बताए । विवादका कारण दिउँसो साढे २ घण्टा सबै प्रतिष्पर्धा रोकिएका थिए ।    पोखराको प्रदर्शनी केन्द्रमा भएको प्रतिष्पर्धा खेलमा सात वटै प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र एनआएनए गरी ११ टिम सहभागी भएका थिए । अन्तर्राष्ट्रियस्तरको रिङ निर्माण गरी अन्तर्राष्ट्रिय नियम अनुसार प्रतिष्पर्धा गराइएको थियो । 

पोखरा : गण्डकी प्रदेशले पुरुष ह्याण्डबलतर्फ पहिलो स्वर्ण पदक जितेको छ ।    आठौं राष्ट्रिय खेलकुदको इतिहास दो¥हाउँदै गण्डकीले ह्याण्डबलमा स्वर्ण पदक जितेको हो । शनिबार भएको फाइनल खेलमा गण्डकीले विभागीय आर्मीमाथि ४३–३६ ले पराजित गर्दै गण्डकीले स्वर्ण पदक जितेको हो ।   फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका पुरुषतर्फ गण्डकीका गोलरक्षक विशाल नेपाली र आर्मीकी देवु सापकोटालाई गण्डकी प्रदेशका निवर्तमान सदस्य सचिव तेज गुरुङ र भारतिय ओलम्पिक कमिटिका कोषाध्यक्ष आनन्देश्वर पाण्डेले जनही नगद १०÷१० हजार नगद प्रदान गरेका थिए ।   विभागीय आर्मीले रजत पदक जितेको छ । विभागीय सशस्त्र एपीएफले कास्य पदक जितेको छ । एपीएफले शनिबार विहान तेस्रो स्थानका लागि भएको खेलमा लुम्बिनीलाई ३५–१३ ले हराउँदै कास्य पदक जितेको हो ।   २०४० सालमा पोखरामा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुदमा समेत गण्डकीले स्वर्ण पदक हात पारेको थियो ।   नवौं राष्ट्रिय खेलकुदः महिला ह्याण्डबलमा आर्मीलाई स्वर्ण   नवौं राष्ट्रिय महिला ह्याण्डबलमा विभागीय आर्मीले स्वर्ण पदक जितेको छ । आर्मीले अर्को विभागीय क्लब एपीएफलाई १७–१६ ले हराउँदै स्वर्ण पदक जितेको हो ।   उपविजेता एपीएफले रजत पदक जितेको छ । त्यसैगरि, गण्डकी प्रदेशले कास्य पदक जितेको छ । शनिबार विहान तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले प्रदेश–१ लाई २२–७ ले हराउँदै कास्य पदक जितेको हो ।

पोखरा : गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ । हालसम्म ३० स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ पदक जितेको छ ।   यसैगरी बागमती प्रदेशले छ स्वर्ण, पाँच रजत र दुई कास्यसहित १३ पदक जितेर सेनालाई पछ्याइरहेको छ । सशस्त्र प्रहरीको ९एपिएफ० चार स्वर्ण, छ रजत र नौ कास्यसहित १९ पदक लिएर पदक तालिकाको तृतीय स्थानमा छ । आयोजक गण्डकी प्रदेशले हालसम्म दुई स्वर्ण, दुई रजत र छ कास्यसहित १० पदक जितेको छ ।   यसैगरी नेपाल प्रहरीले दुई स्वर्ण, एक रजत र तीन कास्यसहित छ पदक तथा सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र तीन कास्यसहित चार पदक जितेको छ । लुम्बिनी प्रदेशले चार रजत, एनआरएनएले एक रजत र  प्रदेश नं १ ले पाँच कास्य पदक जितेका छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीको सहभागिता रहेकामा कर्णाली प्रदेश र मधेस प्रदेशले पदकको खाता खोल्न सकेका छैनन् ।   नवौँ राष्ट्रिय खेलकुदको यही असोज २८ गते भव्य उद्घाटन गरिएको हो । प्रतियोगिता आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । कतिपय खेल उद्घाटनअगावै सञ्चालन गरिएको थियो । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा प्रतियोगिताअन्तर्गतका खेल जारी छन् भने केही खेल सुरु हुँदैछन् ।   कबड्डी महिला तथा पुरुष र खोखो महिला तथा पुरुषको खेल आजदेखि पोखरामा सुरु हुने प्रतियोगिताको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले जानकारी दिनुभयो । 

पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबारदेखि कब्बडी प्रतियोगिता शुरु हुने भएको छ । पोखरा १२ माटेपानीस्थित एसआर केसी क्याटरीङमा प्रतिष्पर्धा शुरु हुने भएको हो ।   लिग कम नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिताको आइतबार बिहान ८ बजे युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्ने नेपाल कब्बडी संघका केन्द्रिय अध्यक्ष विनोद प्रजापतीले जानकारी दिए ।   उनका अनुसार प्रतियोगितामा गण्डकी प्रदेश सहित सात प्रदेश र तीन विभागिय गरि १० टिमले महिला÷पुरुष विधामा सहभागिता जनाउने छन् ।   प्रतियोगिता अन्र्तगत आइतबार बिहान ९ बजेबाट महिला र पुरुषतर्फ २–२ टोलीविच प्रतिस्पर्धा हुने छ । भने दिउँसो २ बजेपछि महिला तथा पुरुषको ३–३ समुहविच खेल खेलाइने गरि तालिका मिलाइएको छ ।   प्रतियोगितामा महिला तथा पुरुष गरि १० वटा समुहका २४० जना खेलाडी पोखरामा छन् । 

पोखरा : आर्चरी खेलतर्फ गण्डकीका खेलाडी अगाडि देखिएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा शनिबारदेखि सुरु आर्चरीमा पहिलो दिन स्टान्डर्ड (३० मिटर) विधामा पुरुषतर्फ गण्डकीका दुर्गा घर्ती मगर र महिलातर्फ अनुस्का शेरचन उच्च स्कोरका साथ पहिलो वरियतामा रहे ।   ¥याङकिङ राउण्डमा पुरुषतर्फ २९ जनाले सहभागिता जनाएकोमा दुर्गा ६६८ अंक प्राप्त गर्दै सबैभन्दा अगाडि रहेका हुन् । ७२० पूर्णांक रहेको खेलमा नेपाल पुलिसका नगेन्द्र आचार्य ६५३ अंकका साथ वरियताको दोस्रो स्थानमा र गण्डकीकै खड्ग घर्ती ६४९ अंक ल्याउँदै तेस्रो वरियतामा रहे । स्टान्डर्ड विधामा ३४ खेलाडीले नाम दर्ता गरेकोमा ५ जना अनुपस्थित रहे ।    महिलातर्फ अनुश्काले सर्वाधिक ६१६ अंक बटुल्दै अग्रस्थानमा रहेकी हुन् । ६१३ अंक प्राप्त गरेकी नेपाल आर्मीकी शारदा बिक दोस्रो वरियतामा रहँदा एपीएफकी सोनु जया राईले ६०१ अंक ल्याउँदै तेस्रो स्थानमा रहिन् । महिलातर्फ यो विधामा १४ खेलाडी सहभागी छन् ।    आइतबार बिहानदेखि स्टान्डर्डको महिला पुरुष दुवैको ईलिमिनेशन राउण्डका खेल हुने गण्डकी प्रदेश आर्चरी संघका अध्यक्ष एवं केन्द्रीय वरिष्ठ उपाध्यक्ष बसन्त थकालीले जानकारी दिए । पोखरा रंगशाला स्थित आर्चरी मैदानमा सञ्चालन भइरहेको खेलमा दिउँसो भने कम्पाउण्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधातर्फ पुरुष र महिलाको ¥याङकिङ राउण्ड हुनेछ ।    समग्र टीमतर्फ पुरुषमा गण्डकी र महिलातर्फ भने आर्मी अग्रस्थानमा रहे । तीन उत्कृष्ट खेलाडीको योगफल पुरुषतर्फ गण्डकी टीमको १९६० र महिलातर्फ आर्मीको १७५३ स्कोर रहेको छ । पुरुषतर्फ दोस्रो स्थानमा एपीएफको अंक १९१२ र तेस्रो स्थानमा पुलिसको १८६९ छ । महिलातर्फ दोस्रो स्थानमा गण्डकी (१६६९ अंक) र तेस्रो स्थानमा प्रदेश १ (१५५५ अंक) रहे ।    आवश्यक टार्गेट बोर्ड नभएका कारण दुई पटक गरी खेल खेलाइएको थियो । आर्चरी खेल संघका अधिकारीहरुले आवश्यक खेलसामाग्री तत्काल व्यवस्था गर्न माग गरेका छन् । खेलमा ५ प्रदेश, ३ विभागीय र एनआरएनए गरी नौ टीमको सहभागिता रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाएका छन् । मधेश र कर्णाली भने सहभागी भएन ।    पाँचौ संस्करणबाट सहभागिता जनाएको आर्चरीमा यो पटक सबैभन्दा धेरै टोलीको सहभागिता रहेको नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङले जानकारी दिए ।   

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्र्तगत शारीरिक सुगठन प्रतियोगिता शनिबार सहभागी खेलाडीहरुको तौल लिइएको  छ ।    आईतबारदेखि पोखरा सभागृहमा सुरु हुने खेलका लागि सहभागी खेलाडीहरुको तौल लिने काम सकिएको शारीरिक सुगठन संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए । शनिबार ९४ जनाको खेलाडीको तौल लिएको उनले बताए । जसमा १४ जना महिला छन् । १ सय २० जना खेलाडीको सहभागीता हुने भनिएपनि डेंगु लगायत विविध कारण सहभागी संख्या कम भएको उनले जानकारी दिए ।    राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिका अनुसार शारीरिक सुगठनका लागि शनिबारदेखि सोमबारसम्म समय तोकिएको थियो । तर, शनिबार सहभागी खेलाडीहरुको तौल नाप्ने काम सकेर प्रतियोगिता आईतबार गर्न लागिएको हो । उनका अनुसार प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाएका छन् ।   उनीहरुले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी माथिको इभेण्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गर्नेछन् । महिलाहरुले खुल्ला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताए । शारिरीक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।