गलकोट : गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो खेल बागलुङमा हुँदै छ । यही असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने प्रतियोगिताअन्तर्गत बागलुङमा हुन गइरहेको आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्लामा आयोजना गरिएको सो प्रतियोगिताअन्तर्गत आइटिएफ खेलको प्रतिस्पर्धा बागलुङमा गर्न थालिएको छ । यही असोज २८ र २९ गते बागलुङ बजारको बाङ्गेचौर खेलमैदानस्थित कर्भडहलमा आयोजना गर्न थालिएको नवौँ राष्ट्रिय आइटिएफ खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता बनाइएको आइटिएफका केन्द्रीय सचिव तथा बागलुङ नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । “राष्ट्रिय खेलकुद प्रतियोगिता बागलुङमा पहिलोपटक हुँदैछ, त्यसमध्ये बागलुङे खेलाडीको रोजाइ रहेको आइटिएफ खेल जिल्लामा हुँदैछ, हामीले प्रतियोगिताको तयारी तीव्र बनाएका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय पालिका बागलुङ नगरपालिकाले स्थानीय व्यवस्थापनमा आइटिएफ तेक्वान्दो प्रतियोगिता गर्दैछौँ, प्रतियोगिताका लागि ५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।” उहाँका अनुसार बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो मूल व्यवस्थापन समिति गठन गरिएको छ । समितिले प्रतियोगितामा आएको खेलाडीको व्यवस्थापन गर्ने र उद्घाटनसत्रलाई भव्य बनाउने तयारी गरेको छ । आइटिएफ तेक्वान्दो विधामा सात प्रदेश र तीन विभागीय समूहका दुई सय ५० खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता २१ स्वर्ण, २१ रजत र ५६ कास्य पदकका लागि प्रतिस्पर्धा हुने भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगितामा ४५ रेफ्री सहभागी हुनेछन् । खेलको खर्च नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले व्यहोर्ने छ भने स्थानीय व्यवस्थापनको खर्च बागलुङ नगरपालिकाले गर्ने बागलुङ नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । बागलुङका लागि राष्ट्रिय प्रतियोगिता गर्ने सौभाग्य प्राप्त भएको जनाउँदै तयारीमा जुटेको उहाँले बताउनुभयो । खेलको मुख्य समारोह यही असोज २९ गते बागलुङको कला, संस्कृति झल्काउने झाँकी, बाजागाजा र कला संस्कृतिसहितको हुनेछ । प्रतियोगिताका लागि बागलुङस्थित बाङ्गेचौर खेलमैदानसहित रहेको कर्भडहल मर्मत गरिएको र बाहिरको प्राङ्गणलाई सुधार गरिएकोे जिल्ला खेलकुद विकास समितिका अध्यक्षकुमार खड्काले बताउनुभयो । जिल्लामा आइटिएफमा सर्वाधिक बढी खेलाडी हुनु र राष्ट्रिय प्रतियोगितासमेत बागलुङमा आयोजना हुने भएकाले खेलाडी वर्गमा उत्साह छाएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भएको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा बागलुङले ८५ पदक प्राप्त गरेको थियो । यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालनमा आउने सो प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा बागलुङले ४४ स्वर्ण, २२ रजत र १९ कास्य पदक प्राप्त गर्न सफल भएको हो । जिल्लाले गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा आइटिएफ तेक्वान्दोमा सबैभन्दा बढी पदक प्राप्त गरेको छ । सो प्रतियोगितामा १७ स्वर्ण, दुई रजत र दुई कास्य पदक प्राप्त गरेको अध्यक्ष खड्काले बताउनुभयो ।
पोखरा : प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदको पूर्व सन्ध्यमा अवकाश पाएका छन् । ६० वर्षे उमेर हदबन्दीका कारण सदस्य सचिव गुरुङले अनिवार्य अवकाश पाएका हुन् । खुला प्रतिष्पर्धा मार्फत १९ महिना अघि प्रदेश खेलकुद परिषद गण्डकीको स्थापना संगै चार वर्षका लागि गण्डकी प्रदेश सरकारबाट नियुक्ती पाएका थिए । गण्डकी प्रदेशमा ३९ वर्ष पछि आयोजना हुन गइरहेको नवौं राष्ट्रिय खेलकुदको तयारी र प्रतियोगिता चलिरहँदा गुरुङको अवकाश संगै प्रदेश खेलकुद परिषद भने नेतृत्व विहिन हुन पुगेको छ । गण्डकी प्रदेश खेलकुद परिषदको कार्यकारी तहबाट अवकाश पाउनु अघि एक पत्रकार सम्मेलनको आयोजना गरी सदस्य सचिव गुरुङले भने यसलाई नियमित प्रक्रिया रहेको बताए । उनले भने–“१९ महिनाको अवधिमा प्रदेशको खेलकुदलाई चुनौतीपूर्ण घडिमा स्थापित गर्न हामीले जुन भूमिका खेल्यौं त्यो महत्वपूर्ण र उपलव्धिमुलक रहेको छ ।” आफूले अवकाश पाउनु भन्दा तिन महिना अघिनै प्रदेश सरकारलाई यस विषयमा जानकारी गराएको बताउँदै आफ्नो कार्यकालको अन्तिम समय सम्म सक्रिय रुपमा कार्य गरेको उनले बताए । अवकाश हुनु अघि सदस्य सचिव गुरुङले जारी गरेको प्रेस विज्ञप्तीमा भनेका छन्–“हाम्रो समाज र नेतृत्वले खेलकुद प्रतिको बुझाई धेरै सकारात्मक नभई सकेको अवस्थामा हाम्रा श्रोतमा धेरै सिमितता रहन्छ भन्ने कुरामा पूर्व अनुमान रहेकै विषय थियो ।” उनले भनेका छन्–“जुन हाम्रो निम्ति प्रमुख चुनौती थियो । तर त्यो चुनौतीलाई चिर्दै हामीले उपलव्धीमुलक रुपमा प्रदेशको खेलकुदलाई चलायमान बनाउन भूमिका मात्रै खेलेनौं निश्चित गन्तव्य र त्यहाँ पुग्नका लागि ठोस रणनितिक योजना तय ग¥यौं ।” खेलकुदका लागि पोखरा राम्रो आयोजक र व्यवस्थापक रहेको तर समग्र खेलकुदको नतिजाको दृष्टिकोणले नतिजामुखी बन्न नसकेको तितो यथार्थ रहेको बताउँदै सदस्य सचिव गुरुङले यसका लागि भिजन र मिसन समेत तयार गरी चार खम्वे रणनितिक योजनाहरुका साथ अघि बढेको बताए । प्रदेशको भिजन स्टेटमेन्ट–‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’लाई सर्वव्यापी बनाउन प्रयास गरिएको उनले उल्लेख गरे । सोही परिणाम अनुसार उत्कृष्ट खेलाडी उत्पादन र शुनिश्चित जिवन शैली, अनुशन्धनात्मक कार्य, सबैका लागि खेलकुद, क्षमता अभिवृद्धि र सुशासन, पूर्वाधार एवं श्रोत परिचालन जस्ता महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न गरी उपलव्धिमुलक रुपमा नतिजा प्राप्त गरिएको उनले दावी गरे । अवकाश पाउनु अघि सदस्य सचिव गुरुङले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, निवर्तमान मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ, यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ प्रति आभार प्रकट गरेका छन् । आफ्नो १९ महिने कार्यकालमा सहयोग गर्नेहरु प्रति समेत सदस्य सचिव गुरुङले धन्यबाद दिंदै नेपाली समाजलाई खेल क्षेत्रको माध्यमद्वारा रुपान्तरण गर्न सकिन्छ भन्ने दृढ विश्वास सहित खेल क्षेत्रमा अघि वढि रहने प्रतिवद्धता समेत व्यक्त गरे । सो अवसरमा प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ र सदस्य सचिव गुरुङले प्रदेश खेलकुद परिषद गण्डकीले प्रकाशित गरेको ‘खेल्छ गण्डकी’ बुलेटिन संयूक्त रुपमा विमोचन गरेका थिए ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आयोजित फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेका छन् । उनले व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत बनेकी छन् । नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा तेस्रो स्थान रहँदै कास्य पदकमा चित्त बुझाए । प्रतियोगिता ईपी, फोयल र सेबर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धामा गर्ने छन् । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागिता जनाएका छन् । नेपाली आर्मी, शसस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । आठौंमा गण्डकी प्रदेशले फोयल टिम इभेण्टमा महिला तथा पुरुषमा कास्य पदक जितेको थियो । ह्याण्डबल तथा फेन्सिङ प्रतियोगिताको अर्थमन्त्री जनार्दन शर्माले उदघाटन गरेका थिए । उनले विश्वमा खेलकुद मात्रै स्वस्थ्य प्रतिस्पर्धा हुने जिकिर गरे । प्रतियोगितामा सहभागित खेलाडीहरुलाई विजयीको शुभकामना समेत व्यक्त गरे ।
पोखरा ः नवौँ राष्ट्रिय खेलकुुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । पुलिस क्लबले दिएको १ सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षातले खेल रोकिन पुग्यो । १०.२ ओभरमा खेल जारी रहँदा पानी परेको थियो । वर्षातका कारण बाँकि खेल सम्भव नभएपछि डिएलए मेथड अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो । खेल रोकिनु अघि कर्णाली प्रदेशले ७ विकेटको क्षतिमा १७ रन जोडेको थियो । कर्णालीका लागि दिक्षा पुरीले सर्वाधिक ७ रन बनाएकी थिइन् । दिव्या रानाले ३, करिश्मा राइले १ रन जोड्दा कर्णालीका ५ जना शुन्य रनमै आउट भए । पुलिस क्लबकी सवनम राई, संगीता राई, कविता जोशी, इश्वरी विष्ट र हिरनमाय रोयले समान १ विकेट लिए। । टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरमा ६ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको थियो । मैदान भिजेका कारण ढिला शुरु भएको खेलमा ४ ओभर घटाइएको थियो । पुलिसका लागि सम्झना खड्काले २१ बलमा २ चौकाको मद्धतमा २५ रन बनाइन् । यसअघि काजल श्रेष्ठ र कविता कुँवरले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । कविता र काजल दुवैले समाज १६ रन बनाएका थिए । रेवती धामिले १४ रन बनाइन् । कर्णाली प्रदेशका लागि अन्जु गुरुङले ३ तथा बिना थापा र एञ्जिला क्षत्रीले समान १ विकेट लिए । खेलमा पुलिसका सम्झना खड्का प्लेयर अफ द म्याच भइन् ।
पोखरा : पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङ खेल शुरु भएको छ । प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरे । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता जनाएका छन् । विभागीय टोली नेपाली आर्मी, शसस्त्र प्रहरी बल, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशले भाग लिएका छन् । प्रतियोगितामा प्रत्येक टोलीमा १२ महिला र १२ पुरुष गरी २४ जना खेलाडीले सहभागीता जनाएका छन् । तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ । ईपी, फोयल र सेबर गरी तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ । राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा भईरहेको छ । राउण्ड रोविनमा सवार्धिक अंक ल्याउने खेलाडी अर्को चरणमा प्रबेश गर्ने कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले जानकारी दिए ।
कास्की : गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेलहरू आजदेखि सुरु भएको छ । प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सुरु भएको क्रिकेटको उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेशलाई पराजित गर्दै मधेस प्रदेशले विजयी सुरुआत गरेको छ । मधेसले आयोजक गण्डकी प्रदेशमाथि ४० रनको फराकिलो अन्तरको जित दर्ता गर्न सफल भयो । मधेसले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमात्र जोड्न सफल भयो । खेलमा टस जितेर गण्डकीले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेस प्रदेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ७७ रनको योगफल तयार पारेको थियो । गण्डकीका शिला क्षेत्रीले सर्वाधिक दश रन जोड्नुभयो । ओपनर सिर्जना पौडेलले ३६ बलको सामना गर्दै सात रन बनाउनुभयो । मधेसका अनुराधा चौधरीले चार विकेट लिनुभयो । कविता गौतम र शान्ति चौधरीले समान दुई–दुई विकेट लिँदा सन्तोषी चौधरीले एक विकेट लिन सफल हुनुभयो । मधेस प्रदेशकी सरस्वती कुमारीले सर्वाधिक १५ रनको योगदान दिनुभयो । मधेस प्रदेशलाई कम स्कोरमा रोक्न गण्डकी प्रदेशकी आकृति तिवारी एक्लैले तीन विकेट लिनुभयो । कुसुम गोदारले दुई तथा सृष्टि जैसी र शिला क्षेत्रीले समान एक–एक विकेट लिनुभयो । खेलमा मधेसका अनुराधा चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो । महिला क्रिकेटमा नौ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’ मा आयोजक गण्डकी प्रदेशसहित सशस्त्र प्रहरीको एपिएफ, मधेस प्रदेश, सुदूरपश्चिम र बागमती प्रदेश छन् । यसैगरी समूह ‘ख’ मा नेपाल प्रहरी, कर्णाली प्रदेश, प्रदेश नं १ र लुम्बिनी प्रदेश रहेका छन् । यसअघि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र राष्टिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बलिङ व्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सदस्यसचिव घिसिङले राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुद सफल पार्न सबै प्रदशेवासीमा आग्रह गर्नुभयो । नवौँ राष्ट्रिय खेलकुद यही असोज २८ देखि कात्तिक ३ गतेसम्म औपचारिकरूपमा गण्डकीका आठ जिल्लामा हुँदैछ । समय अभावका कारण केही खेल प्रतियोगिता औपचारिक सुरु हुनुअगावै सञ्चालन गरिएको हो । राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाएका छन् ।
कपिलवस्तु: कपिलवस्तुमा भएको ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको उपाधि सुशान्त थापाले जितेका छन् । शनिबार भएको प्रतियोगितामा उहाँले १२.३७ सेकेन्डमा ४४ मिटर दूरी पार गर्दै प्रतियोगिताको उपाधि जितेका हुन् । पानीमाथि ट्रयाक बनाएर खेलिने खेल लायन्स क्लब अफ कपिलवस्तुको आयोजनामा भएको थियो । एक सय ५० प्रतियोगीबीच भएको खेलमा प्रथम भएका थापाले रु ५० हजार नगद पुरस्कार प्राप्त गरेको क्लबका अध्यक्ष राम सुभागे थारूले बताउनुभयो । प्रतियोगिताको पहिलो चरणमा आठ जनाले दूरी पार गरेका थिए । खेलमा रुपन्देही सैनामैनाका रिजन बन्जाडे द्वितीय भए । उनले रु २५ हजार प्राप्त गरे भने १५.०७ सेकेन्डको दूरीमा लक्ष्य चुमेका थिए । कपिलवस्तुका शौरव शर्मा तृतीय हुँदा सुदीप घिमिरेले सान्त्वना स्थान प्राप्त गरेका छन् । शर्माले रु १५ हजार पाएका छन् भने १६.२८ सकेण्डमा दूरी पार गरेका थिए । घिमिरेले स्मार्ट वाच पाएर चित्त बुझाए भने १६.५६ सकेण्डमा लक्ष्य चुमेका थिए । दोस्रो चरणमा आठ जनाबीच भएको प्रतिस्पर्धामा छ जनाले दूरी पार गरे पनि दुई जना बीचमै असफल भएका थिए । छ जनाबीच दूरी पार गरेको समयलाई आधार बनाई विजेता बनाइएको अध्यक्ष थारूले बताउनुभयो । जिल्लाको वाणगङ्गा नगरपालिका राजापानीको एक पोखरीमा भएको प्रतियोगिता हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको थियो । कहिल्यै नहेरेको खेल हेर्न पाएको जनाउँदै दर्शक खुसी देखिन्थे । प्रतियोगितामा आयोजकले सहभागीको रजिष्ट्रेजन शुल्कवापत रु एक हजार पाँच सय तोकेको थियो भने टिसर्ट, खाजानास्ता, पानी र साइकल नहुनेका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको व्यवस्थापन गरेको थियो । प्रतियोगितामा कपिलवस्तुसँगै रुपन्देहीबाट समेत सहभागी भएको खेल संयोजक विष्णु घिमिरेले जानकारी दिनुभयो ।प्रतियोगिता सहभागीको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एम्बुलेन्सको व्यवस्था मिलाइएको थियो ।
धनगढी: धनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले जितेको छ । शनिबार साँझ धनगढी रङ्गशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा पराजित गर्दै उपाधि जितेको हो । लुम्बिनीले कर्णालीलाई सडनडेथमा १०–९ गोलले हराएको हो । यसअघि निर्धारित समयमा दुवै टोलीले एक–एकको बराबरी खेलेका थिए । दुवै टोलीले आत्मघाती गोल गर्दा बराबरी भएको थियो । उपाधिसँगै लुम्बिनी प्रदेशले रु पाँच लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ । उपविजेता कर्णाली प्रदेशले रु तीन लाखसहित ट्रफी, मेडल प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित लुम्बिनी प्रदेशका फागुराम चौधरीले रु २० हजार प्राप्त गरे । यस्तै उत्कृष्ट रक्षक लुम्बिनी प्रदेशका चेतन थारू, उत्कृष्ट गोलरक्षक कर्णाली प्रदेशका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णाली प्रदेशका चन्द्रप्रकाश शाही उत्कृष्ट मिडफिल्डर कर्णाली प्रदेशका भुपेन्द्र शाही भए । उनीहरूले जनही रु १०–१० हजार पाए । पिएफए क्लब अत्तरियाको आयोजनामा भएको प्रतियोगितामा देशका पाँच टिमले प्रतिस्पर्धा गरेका थिए ।
पोखरा : पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको लक्ष्मी आदर्श यूवा क्लवले दोस्रो म्याराथन दौड प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा पुरुष तर्फ रोहन गुरुङ्ग १५.४० मिनेट निर्धारीत दुरि पार गरि प्रथम, अनिल गुरुङ्गले १६.२७ मिनेट र कविर पौडेल १६.५६ मिनेटमा निर्धारीत दुरि पार गरि क्रमश दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । महिला तर्फ सृष्टि रेग्मीले ३६.२८ निर्धारीत दुरि पार गरि प्रथम रुविना बास्तोलाले ३६.२९ मिनेट र सर्मिला कार्कीले ४३.५२ मिनेटमा निर्धारीत दुरि पार गरि क्रमश दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन । रचित पौडेलको संयोजकत्वमा आयोजित दोस्रो म्याराथन दौड प्रतियोगितामा पुरुष र महिला गरि ४० प्रतियोगी सहभागि रहेका थिए । दोस्रो म्याराथन दौड प्रतियोगिता ४.३ कि.मि. कच्ची सडकमा गरिएको क्लवका अध्यक्ष निर्मान देवानले जानकारी दिएका छन् ।