काठमाडौं: फिफा विश्वकप कतार २०२२ को उपाधि जितेपछि अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नलिने भएका छन् । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलपछि मेस्सीले टिवाईसी स्पोर्ट्ससँग बोल्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन् । उपाधि जितेपछि उनलाई भविष्यबारे गरिएको प्रश्नमा मेस्सीले यस्तो जवाफ दिए, ‘यो कप हेर्नुहोस् कति सुन्दर छ । यसका लागि हामीले निकै मिहिनेत गरेका छौं । म अर्जेन्टिना पुगेर त्यहाँको वातावरण हेर्न आतुर छु । म राष्ट्रिय टोलीबाट बिदा लिने छैन । म एक च्याम्पियन बनेर राष्ट्रिय टोलीबाट खेलिरहन चाहन्छु ।’ मेस्सीले फिफा विश्वकप कतार २०२२ मा सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि जिते । उनले पहिलो पटक विश्वकप जित्ने क्रममा प्रतियोगिता अवधिभर सानदार प्रदर्शन गरेका थिए । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट प्रदान गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन् ।
काठमाडौंः अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्वकप कतार २०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्वकप सहभागितामै जित्न सफल भए । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका निर्वाह गरेका उनले सबै खेलमा पूरा समय मैदानमा बिताएका थिए । मार्टिनेजले विश्वकपको ७ खेलमा ३ क्लिनसिट राखेका थिए । यसबाहेक उनले क्वाटरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्सविरुद्ध टाइब्रेकरमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरे । विशेषगरी अष्ट्रेलियाविरुद्ध इन्ज्युरी समयमा र फ्रान्सविरुद्ध अतिरिक्त समयको इन्ज्युरी समयमा उनले गरेको बचाउले खेलको नतिजा अर्जेन्टिनाको पक्षमा बसेको थियो । मार्टिनेजले यसअघि अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए । ३० वर्षीय उनी प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट खेल्दै आएका छन् । एजेन्सी
काठमाडौंः फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपविजेता फ्रान्सका फरवार्ड किलीयन एमबाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगितामा ८ गोलका साथ एमबाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भएका हुन् । फाइनलमा ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काएपनि एमबाप्पे लगातार दोस्रो पटक विश्वकप जित्न भने असफल रहे । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रहयो । यससँगै एमबाप्पेको गोलसंख्या १२ गोल पुगेको छ । सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा लिओनेल मेस्सी रहे । उनले ७ खेलमा ७ गोल गरे । मेस्सीले ३ असिस्ट पनि दिएका थिए । एजेन्सी
काठमाडौं: कतारमा सम्पन्न फिफा विश्वकप फुटबलमा डिफेण्डिङ च्याम्पियन फ्रान्सलाई हराउँदै र अर्जेन्टिना तेस्रो पटक च्याम्पियन बनेको छ । आज भएको फाइनल खेलको निर्धारित र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा डिफेण्डिङ च्याम्पियन फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको हो । यसपटक जितेसँगै अर्जेन्टिना तेस्रो पटक फिफा विश्वकप फुटबलमा च्याम्पियन बनेको छ । अर्जेन्टिनाको जीतमा खेलको २३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कप्तान लियोनल मेस्सीले पहिलो गोलको योगदान दिए । डि एरियाभित्र फ्रान्सका ओसुमाने डेम्बेलेले डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर प्राप्त गरेको थियो । यस्तै खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । त्यसैगरि अतिरिक्त समयमा कप्तान मेस्सीले नै व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरेका थिए । यता डिफेण्डिङ च्याम्पियन फ्रान्सले पहिलो हाफमा पाएको अवसरलाई सदुपयोग गर्न सकेन तर दोस्रो हाफमा भने खेलमा फर्किदै २ गोल र अतिरिक्त समयमा पेनाल्टीमार्फत १ गोल गर्दै किलियन एम्बाप्पेलेले ह्याट्रिक पुरा गरेका थिए ।
काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा फ्रान्सले २ गोल फर्काउदै कमब्याक गरेको छ । पहिलो हाफमा २ गोलले पछि रहेपनि फ्रान्सले दोस्रो हाफमा दुई गोल फर्काउन सफल रह्यो । फ्रान्सका लागि किलियन एम्बाप्पेले दुई गोल फर्काए । यसअघि पहिलो हाफमा खेलको २३ औ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले र ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गरेका थिए । अब थप ३० मिनेट खेल हुनेछ ।
काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबलमा डिफेण्डिङ च्याम्पियन फ्रान्स र अर्जेन्टिनाबीच जारी फाइनल खेलमा अर्जेन्टिना २ गोलले अग्रता बनाएको छ । उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच भइरहेको खेलमा अर्जेन्टिनाका लागि खेलको २३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कप्तान लियोनल मेस्सीले पहिलो गोल गरे । डि एरियाभित्र फ्रान्सका ओसुमाने डेम्बेलेले डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर प्राप्त गरेको थियो । त्यसैगरि खेलको खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । यता फ्रान्सले गोलको खोजीमा रहेपनि अर्जेन्टिनाका डिफेण्डरहरुले विफल बनाइरहेका छन् । जारी खेलमा अर्जेन्टिनाले पहिलो हाफमा दबदबा सिर्जना गरेको थियो । अर्जेन्टिनाले विश्वकप २ पटक जितिसकेको छ भने फ्रान्स उपाधि रक्षा गर्ने दाउमा रहेको छ ।
फुटबल विश्वकपको फाइनल आज कतारको लुसेलस्थित स्टेडियममा हुँदैछ । नेपाली समयानुसार खेल पौने ९ बजेदेखि सुरु हुनेछ । यस स्टेडियमको क्षमता करिब ९० हजार रहेको बताइएको छ । यही रंगशालामा २२ औं विश्वकपको उपाधि जित्न पूर्वविजेता फ्रान्स र अर्जेन्टिनाबीच खेल हुँदैछ । यसपटकको खेलमा दुबै देश इतिहास रच्न चाहन्छन् । फ्रान्स उपाधि दोहोर्याउन चाहन्छ भने अर्जेन्टिना र मेस्सी दुबै ‘नाम’ राख्न चाहन्छन् । त्यसो त फ्रान्सको तुलनामा अर्जेन्टिनाको विश्वव्यापी फ्यान धेरै छन् । विश्वमै लायोनेल मेस्सीका फ्यान छन् भने देशभित्र पुरै जनसंख्या छ । यही जनसंख्याबाट करिब ४० हजार अर्जेन्टिनी आजको फाइनल हेर्न र टीमलाई समर्थन गर्न लुसेलमा हुनेछन् । ३५ वर्षे मेस्सीसँगै ३६ वर्षपछि उपाधि जित्न अर्जेन्टिनीहरु कतारमा उर्लिदा त्यहाँको सडक उनीहरुको अधिनमा रहेको देखिएको छ । र, आज तिनै ४० हजार देशवासीसँगै मेस्सीले पनि गाउँनेछन् ‘मुचाचो, अहोरा नो भोल्भिमो आ इलुजिना ...’ जसको सार छ, हामी आशावादी छौं, तेस्रो पटक जित्छौं, हामी च्याम्पियन हुनेछौं । कतारको लुसेलमा जम्मा भएका अर्जेन्टिनीमध्ये ठूलो संख्या राजधानी ब्यूनस आयर्सबाट कतार पुगेका हुन् । टिम फाइनलमा पुगेपछि टिकटमा कालोबजारी भएको भन्दै उनीहरुले कतारस्थित दूतावासमा गुनासोसमेत गरेका छन् । अधिकाँश समर्थकहरु यस फाइनललाई अविस्मरणीय क्षण भन्दै सडकमा नाच्न, गाउँन व्यस्त छन् । जसमध्ये मट्टियाज भन्छन्, ‘मेरो देश अब कहिले फाइनलमा पुग्छ र म हेर्न पाउँछु वा पाउँदिन थाहा छैन, म खेलको अन्त्यसम्म खुशी मनाइरहनेछु ।’ ‘डोन्ट कल मी फेक फ्यान’ भन्ने उनको गीत पनि सामाजिक सञ्जालमा हेर्नेको संख्या ह्वात्तै बढेको छ । करिब १३ हजार किलोमिटर टाढाबाट उपाधि चुम्न आएका ४० हजार अर्जेन्टिनीको सपना आजको रात पुरा होला त ? – एजेन्सीको सहयोगमा ।
म्याग्दीः खेल क्षेत्रको प्रवद्र्धन गर्न यहाँका स्थानीय तहहरुले गाउँपिच्छे खेल मैदान बनाउने अभियान थालेका छन् । गाउँगाउँमा खेल मैदान निर्माण हुन थालेपछि खेलाडी उत्साहित छन् । जिल्लाको बेनी नगरपालिका सहित धौलागिरि, अन्नपूर्ण, मालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाले वडावडामा खेल मैदान निर्माण गरिरहेका छन् । कतिपय वडामा स्थानीय युवा क्लब र विदेशमा रहेका गाउँका युवाको सहयोगमा खेल मैदान निर्माण भएका छन् । प्रदेश सरकार र स्थानीय तहको लगानीमा पनि म्याग्दीमा खेल मैदान निर्माण भएका छन् । फराकिला मैदानमा गाउँमा महिनैपिच्छे खेल प्रतियोगिता आयोजना हुन थालेपछि खेलाडीको प्रतिभा प्रष्फुटित हुनुका साथै उनीहरुको खेलप्रतिको रुचि बढेको रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनप्रसाद शेरपुञ्जाले बताउनुभयो । त्यसैगरी बेनी बजारमा निर्माणाधीन म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ निर्माण दुई वर्षपछि सञ्चालन भएको छ । बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो बनेको थियो । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले अधुरो खेलमैदानको प्यारापिट विस्तार, पर्खाल निर्माण र फिलिङ गर्ने काम सञ्चालन भएको जानकारी दिनुभयो । “बेनी नगरपालिकाले विनियोजन गरेको रु ५० लाख बजेट ठेक्का र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट आएको रु आठ लाख बजेटको काम उपभोक्ता समितिमार्फत कार्यान्वयन थालिएको छ”, उहाँले भन्नुभयो, “अधुरो खेलमैदानलाई पूर्णता दिने प्रयासमा छौँ । ठेक्का प्रतिस्पर्धामा हुँदा घटेको रु १४ लाख बजेटबाट पनि थप काम गर्न पहल गरेका छौँ ।” त्यसैगरी बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँट, भकुण्डे, सानालेख, फापरखेत र गौश्वारामा पनि खेल मैदान निर्माण भएका बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । “हाम्रो वडामा खेल मैदानको कमी छैन, स्थानीय युवाको पहल, विद्यालयमा आउने बजेट, वडाको बजेट र वैदेशिक रोजगारीमा गएका युवाको आर्थिक सहयोगमा वडामा पाँच वटा खेल मैदान निर्माण भएका छन्”, वडाध्यक्ष कार्कीले भन्नुभयो । त्यसैगरी पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोटस्थित कैलाशफाँटमा म्याग्दी नदी किनारको बगर सम्माएर पालिकास्तरीय खेलमैदान बनाइएको छ । म्याग्दी नदी किनारको बगरमा तटबन्ध सम्माएर खेलमैदान निर्माण गरिएको हो । खेलमैदानको लम्बाइ एक सय २० मिटर र चौडाइ ७१ मिटर छ । यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिकास्तरको खेलमैदान बनाउने तयारी भइरहेको उपभोक्ता समितिका अध्यक्ष श्यामसुन्दर कँडेलले बताउनुभयो । प्यारापिट, घेराबार निर्माण र बीचमा रहेको विद्युत्को पोल विस्थापित गरेपछि खेलमैदान सञ्चालनमा ल्याउन सकिने कँडेलले बताउनुभयो । उहाँका अनुसार खेलमैदान निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु १५ लाख विनियोजन गरेको थियो । मन्त्रालयले उपलब्ध गराएको अनुदानबाट बगर सम्माउनुका साथै म्याग्दी नदीको किनारमा १२० मिटर लामो ग्याबियन पर्खाल निर्माण गरिएको कँडेलले बताउनुभयो । यसैगरी जिल्लाका छवटै स्थानीय तहका वडामा खेल मैदान निर्माणले गति लिन थालेपछि खेलाडीमा उत्साहा थपिएको छ । म्याग्दीका फुटबल खेलाडी टेकबहादुर हुमेनले खेल मैदान निर्माण हुन थालेपछि आफूहरुमा उत्साह थपिएको बताउनुभयो । गाउँ नै पिच्छे खेल मैदान निर्माण गर्ने नीतिले शारीरिक तन्दरुस्ती राख्न युवालाई फाइदा पुग्ने बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । “किशोर, किशोरी तथा युवालाई गाउँमै बिहान बेलुका फुटबल, भलिबल, क्रिकेटजस्ता खेल गाउँमै खेल्न सकून् भनेर यो मैदान बनाएका हौँ”, श्रेष्ठले भन्नुभयो, “यसले गाउँमै खेलाडीलाई खेल अभ्यास गराउन मद्दत पुग्ने अपेक्षा गरेका छौँ ।”
काठमाडौंः फिफा विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार आज राति पौने ९ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेका हुन्। यी दुई देश पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका छन् । फ्रान्स विश्व कपको साविक विजेता टोली पनि हो । त्यस्तै विश्व कपमा ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्व कपको उपाधि जित्ने सुरमा छ । सन् २०१४ मा अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो । अर्जेन्टिनाका कप्तान ३५ वर्षका लिओनल मेस्सीका लागि यो अन्तिम विश्व कप हो । उनकै नेतृत्वमा अर्जेन्टिनाले गएको वर्ष कोपा अमेरिकाको उपाधि समेत जितेको थियो । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा तथा फ्रान्सले सन् २०१८ र १९९८ मा विश्व कपको उपाधि जितेका थिए । यसपालि जितेमा फ्रान्सले लगातार दोस्रो पटक जितेर उपाधि रक्षा गर्नेछ । साथै लगातार उपाधि जित्ने दोस्रो देश पनि बन्नेछ । विश्व कप इतिहासमा ब्राजिलले सन् १९५८ र सन् १९६२ मा उपाधि जितेको रेकर्ड छ । ब्राजिल पाँच पटकको विश्व कप उपाधि विजेता टोली हो । तर यसपालि ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुन पुग्यो । यो विश्व कप फुटबलमा मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो भएको छ । गएराति कतारको खलिफा मैदानमा भएको खेलमा मोरक्कोलाई २–१ गोलले हराउँदै क्रोएसिया तेस्रो भएको हो ।

