पोखरा: राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सवअन्र्तगत बुधबारबाट छात्र तथा छात्रा एकलतर्फको ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । बुधबारबाट शुरु भएको प्रतियोगितामा छात्र छात्रा एकलतर्फको पहिलो र दोश्रो चरणका खेलहरु सम्पन्न भएको प्रतियोगिता संयोजक व्याडमिन्टन प्रतियोगिता संयोजक अर्जुन अधिकारीले जानकारी दिए । छात्रतर्फ एलपी देवकोटा मेमोरियल विद्यालयका आशिष थापालाई पराजित गर्दै साईनिङ स्टारका अर्पन राई, हेम्जा बोर्डिङ स्कुलका आशिष थापालाई पराजित गर्दै गोरखा इङ्लीसका लिलिन नेपाली, अक्सफोर्ड स्कुलका प्रिन्स लम्साललाई पराजित गर्दै यूनिभर्स बोर्डिङ स्कुलका सिरिस बास्तोला, पुष्पसदन बोर्डिङ स्कुलका मोनिक थापालाई पराजित गर्दै चिल्ड्रेन्स एकेडेमीका अमृत गुरुङ विजयी भए । यस्तै, बड्स एकेडेमीका आयूस पहारीले रिलायन्स स्कुलका समिर जिसीलाई, ज्ञानज्योतिका सोमबहादुर गुरुङले सिद्धार्थ लभडेल बोर्डिङ स्कुलका बिशाल गुरुङलाई, सिद्धि विनायक बोर्डिङ स्कुलका सन्दिप खड्काले कान्तिपुर एकेडेमीका दिपिन सुनार र कास्की मोड्नाइज एकेडेमीका दिप रानाले गण्डकी एकेडेमीका सागर थापालाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका छन् । यसैगरि छात्रा एकलतर्फ त्रिवेणीकी परिसा गुरुङले इम्यानुअल स्कुलकी प्राप्ती गुरुङलाई, पुष्पसदन एकेडेमीकी भेलेन्सिया गुरुङले हिलसाइड इङ्लिस स्कुलकी सहारा खड्कालाई , कास्की कास्की मोड्नाइज एकेडेमीकी सोनिका थापाले , बड्स एकेडेमीकी दिपलक्षा सुनारलाई पराजित गरिन् । यस्तै कान्तिपुर एकेडेमीकी दिया गुरुङले साइनिङ स्टार स्कुलकी बिना घिमिरेलाई , ज्ञानज्योति बोर्डिङ स्कुलकी अन्सु गुरुङले अल्फा एकेडेमीकी निकिता न्यौपानेलाई र अञ्जुली बोर्डिङ स्कुलकी मेनुका पुनले हेम्जा बोर्डिङ स्कुलकी एञ्जिला बुढाथोकीलाई पराजित गर्दै । क्वाटर फाइनल प्रवेश गरेका छन् भने सिद्धिविनायक बोर्डिङ स्कुलकी एनी गर्बुजा लिटिल फ्लावर स्कुलले वाक ओभर दिएपछि सोझै क्वाटरफाइनलको यात्रा तय गरेकी छन् । लिग कम नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा छात्रतर्फ ३२ विद्यालय र छात्रातर्फ ३० विद्यालयको सहभागिता रहेको व्याडमिन्टन प्रतियोगिता संयोजक अर्जुन अधिकारीले जानकारी दिए । यसअघि आज नै छात्र तथा छात्रा एकलतर्फको पहिलो खेलबाट दोश्रो चरणमा प्रवेश गरेका थिए । बिहीबार क्वाटरफाइनल , सेमीफाइनल चरणका खेलहरु सञ्चालन गरिने आयोजकले जनाएको छ ।
काठमाडौं: आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको चौथो तथा अन्तिमा खेलमा नेपालले बलियो स्कटल्यान्डसँग खेल्दैछ । नेपाल र नामिवियाबीचको खेल युनाईटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।स्कटल्यान्डविरुद्व मैदान उत्रदा नेपाल नामिविया भ्रमणमा पहिलो जितको खोजीमा हुनेछ । यस भ्रमणमा नेपालले तीन खेलिसक्दा दुईमा हार र एकमा बराबरीको नतिजा निकालेको छ । नामिवियासँगको पहिलो खेल वर्षाका कारण रद्व हुँदा अंक नेपालले अंक पाएको थियो । दोस्रो खेलमा स्कटल्यान्डसँग ३ विकेटले परािजत भएको नेपाल बुधबार नामिवियासँग ८६ रनले पराजित भएको थियो । नेपाललाई शीर्ष तीनमा रहँदै आगामी वर्ष हुने ग्लोबल छनोट खेल्न बाँकी सबै खेल जित्नुपर्ने दवाव छ । बुधबार नामिवियासँगको हारले नेपालको सम्भावना झनै झिनो बनेको छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता निरन्तरता दिन पनि जित्नै पर्ने दबाब छ ।
पोखराः १७ औं प्याब्सन स्पोर्टस मिट २०७९ अन्तर्गत पोखरामा सिनियर र जुनियरतर्फ फुटबल प्रतिस्पर्धा सुरु भएको छ । निजि तथा आवाशिय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गत बुधबारबाट फुटबलका प्रतिस्पर्धाहरु सुरु भएका हुन् । प्रतियोगिता अन्तर्गत सिनियर र जुनियरतर्फ गरी २० खेलहरु सम्पन्न भएको प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले जानकारी दिएका छन् । प्रतियोगितामा जुनियर फुटबलतर्फ ५६ टिम र सिनियर फुटबलतर्फ ६९ टिमको सहभागिता रहेको छ । सम्पन्न प्रतियोगितामा सिनियर तर्फ गौरी शंकर खेल मैदानमा सम्पन्न पोखरा लनर्सले नृपाल आदर्श विद्यालयलाई ५–४ ले, हिल पोइन्टले इडेनलाई ३–१ ले, हिमाञ्चलले न्यू मोडललाई २–० ले, ग्लोबलले बेसलाइन एकेडेमीलाई ३–२ ले र भ्यू पोइन्टले केल्सलाई ७–० गोल अन्तरले पराजित गरेको छ । त्यसै गरी सिनियरतर्फ नै आदर्श क्लव खेल मैदान लेखनाथमा सम्पन्न खेलमा पोखरा युनाइटेडले रिभरडेललाई ३–० ले, बाल विद्याले लेखनाथ विभुतीलाई ३–२ ले, सरस्वतीले फेवा पव्लिकलाई १–० ले, विद्या निकेतनले भाष्करलाई ५–१ ले, गोल्डेन नेचरले सूर्योदयलाई २–० ले पराजित गर्न सफल भएका छन् । प्रतियोगिता छात्र जुनियरतर्फ शान्तीदिप खेल मैदानमा सम्पन्न खेलमा टप्स, शिसु कल्याण, मेट्रो पोलिटान, बेसलाईन र पोखरा एकेडेमीले आ–आफ्नो खेलमा विजयी बन्न सफल भए । त्यस्तै नेपाल आदर्श खेल मैदानमा सञ्चालन भएको खेलमा एक्स आर्मी, मनकामना, सरस्वती, गोल्डेन नेचर र इडेन्स माविले पहिलो चरणमा जित हासिल गरेका छन् । १७ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उद्घाटन यहि मंसिर २५ गते पोखरा रंगशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिएका । प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ । प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९ छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् । कक्षा ११–१२ अन्तर्गत नै एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता हुनेछ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले बताए ।
पोखरा: नेपालमा आर्यन गिरी र अमेरिकाका आरब शमसेर हाडाको जोडी पोखरामा जारी आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्यन जोडीले बुधबार भएको क्वाटरफाइनल खेलमा स्पेनिस खेलाडी भिक्टोर मोहनराम र भारतका धिरज रेड्डीको जोडीमाथि ६–०, ६–२ को सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाएका हुन् । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मेन्स डबल्सतर्फ भारतका आर्यन अरोरा र मायंक सर्माको जोडीले भारतकै बंश नन्दल र रसियाका फेडोर सोसेड्कीनको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगे । त्यस्तै, भारतका सभ्रमन्यु सिंह र ओमर रेहानको जोडीले ताइपेइका चेन हुई हो र अमेरिकाका हानु पटेलमाथि विजय प्राप्त गरे भने अर्को क्वाटरफाइनलमा ताइपेइका के हाउ होङ र केइ इन याङको जोडीले कोरियाका जिवन पार्क र मलेशियाका केगन केथमाथि जित निकाले । महिला डबल्सतर्फ नेपालकी रायना शाह र भारतका स्निग्दा कान्त, भारतकै काइरा सिद्धार्थ र दुर्गान्सी कुमार, अमेरिकाका कासिस कान्त र भारतका गंगा मोहन तथा भारतकै दिशा बेहेरा र मन्दग्ला प्रिन्सीको जोडीले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
काठमाडौंः: आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नामिबियासँगको खेल जित्न नेपालले २७६ रनको लक्ष्य पाएको छ । टर हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो । उसका लागि तेस्रो क्रमका ब्याटर माइकल भान लिङ्गेनको ११५ रनको शतकीय पारी खेले । उनले १११ बल खेल्दै १५ चौका र १ छक्का प्रहार गरे । ओपनरद्वय लो–हान्ड्री लोरेन्स र डिभान ला कक क्रमशः १४ र १८ रनमा आउट भए । तेस्रो विकेटका लागि कप्तान गेरहार्ड र माइकलले ९९ रनको साझेदारी गरे । कप्तान गेरहार्ड इरामुसले ७६ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए । तेस्रो क्रममा आएका माइकल र पाँचौ ब्याटर जान निकोलले ९० रनको साझेदारी गरे । जान ३२ बल खेल्दै ४० रन बनाउँदै ललित राजवंशीको बलमा दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच भए । छैटौं ब्याटर जे जे स्मिथ ५ बल खेल्दै २ रनमा कुशल भुर्तेलको हातबाट क्याच भए । जेन ग्रिन १० बलमा ९ रन बनाई ललित राजवंशीको बलमा आशिफ शेखबाट क्याच भए । नेपालका लागि स्पिनर ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए । अनुभवी तीव्र गतिका बलर सोमपाल कामीले यस प्रतियोगितामा २ विकेट लिए । दोस्रो विकेटसँगै उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् । सागर ढकालले १ विकेट लिए ।
काठमाडौं: एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप – २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेलसँगै अन्तिम आठमा पुग्ने सबै ८ टोलीको टुंगो लागेको हो । साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् । नेदरल्यान्डले अमेरिकालाई ३–१, अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१, फ्रान्सले पोल्यान्डलाई ३–१, इंग्ल्यान्डले सेनेगललाई ३–०, ब्राजिलले दक्षिण कोरियालाई ४–१ ले र पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको छ । यस्तै क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३–१ र मोरक्कोले स्पेनलाई टाईब्रेकरमै ३–० ले पराजित गरी क्वाटरफाइनलमा स्थान बनाएको छ । पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स, तेस्रो क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड तथा अन्तिम क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं: पोर्चुगिज युवा स्टार गोन्कालो रामोस फिफा विश्वकप कतार २०२२ मा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । अन्तिम १६ को खेलमा स्वीट्जरल्यान्डविरुद्ध ६–१ को जित निकालेको खेलमा ह्याट्रिक पूरा गर्दै उनी यस विश्वकपमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका हुन् । पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले भेट्रान फरवार्ड तथम कप्तान क्रिष्टियानो रोनाल्डोलाई बेञ्चमा राख्दै युवा स्टार रामोसलाई खेलाएर जोखिम मोलेका थिए । तर, त्यो जोखिमलाई उनले आँफुलाई प्रमाणित गरिदिए । रोनाल्डोको स्थानमा पहिलो रोजाईमा खेलेका रामोसले १७औं, ५१औं र ६७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनले विश्वकपमा स्वीजरल्याण्डविरुद्ध मात्रै पहिलो रोजाईँमा खेलेका हुन् । पोर्चुगलको उमेर समूह हुँदै सिनियर टोलीमा स्थान बनाएका उनले १७ नोभेम्वर २०२२ मा नाइजेरियाविरुद्धको मैत्रीपूर्ण खेलबाट सिनियर टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनले चार खेलमा चार गोल गरिसकेका छन् । यसअघि इक्वेडरका एनर भ्यालेन्सिया, इंग्ल्यान्डका बुकायो साका, इरानका मेहेदी तारेमी, फ्रान्सका ओलिभर जिरुड, स्पेनका फेरान टोरेस, ब्राजिलका रिचार्लीसन, फ्रान्सका केलियन एमबाप्पे, क्रोएसियाका एन्डरेज क्रामारिच, दक्षिण कोरियाका गुई सुङ चो, घानाका मोहम्मेद कुडुस, पोर्चुगलका ब्रुनो फर्नान्डेस, इंग्ल्यान्डका मार्कस रासफोर्ड, जर्मनीका काई हाभर्टज र उरुग्वेका जिओरजियन डि एरासकाइटाले एकै खेलमा दुई गोल गरेपनि ह्याट्रिक गर्न सकेका थिएनन् ।
काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल आज दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु हुनेछ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा नेपालको यो तेस्रो खेल हो । नेपाल र नामिबियाबीच यसअघिको खेल वर्षाले प्रभावित हुँदा नतिजा विहीन बनेको थियो, जसले गर्दा दुवैले अंक बाँडेका थिए । यस्तै दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो । पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको नामिबियाले नेपालसँग अंक बाँडेको थियो भने त्यसपछि स्कटल्याण्डलाई हराएको थियो । घरेलु टोली नामिबियासँग खेल्दा नेपाल यस टुरको पहिलो जितको खोजीमा हुनेछ । नेपालले कम्तीमा तीन खेल जित्ने लक्ष्य राखे पनि त्यो अब पूरा नहुने भएको छ । तर उत्कृष्ट प्रदर्शन गर्दै बाँकी दुई खेल जित्न सकेमा नेपालको नामिबिया भ्रमण सुखद हुनेछ । नेपालले शृंखलाको अन्तिम खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ । सात राष्ट्र सहभागी लिग टु मा नेपाल २२ खेलबाट १८ अंकसहित छैटौं स्थानमा छ । नामिबिया २९ खेलबाट ३५ अंकसहित तेस्रो स्थानमा छ ।
पोखराः अभियान युवा क्लवको आयोजनामा हुने पाँचौ अभियान पुरुष भलिबल प्रतियोगिता पुषको ७, ८ र ९ गते हुने भएको छ । पोखरा ५ मालेपाटन खेलमैदानमा हुने क्लव स्तरिय उक्त भलिबल प्रतियोगितामा १२ टिम मात्र सहभागिता रहने क्लब अध्यक्ष तथा प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए । युवाहरुलाई खेलकुद प्रति आकर्षण गर्न र उदीयमान खेलाडीको प्रोत्साहन गर्न प्रतियोगितालाई नियमित गरिएको संयोजक गिरीले बताए । उनका अनुसार प्रथम हुने टिमले ८० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्धित्तिय हुने टिमले ४० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको प्रायोजन विगतका वर्षझै यसपटक पनि प्रा.डा. भरत खत्रीले गरेका छन् । प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत गठन गरिसकिएको संयोजक गिरीले जानकारी दिए । विगत १६ वर्षदेखि क्लवले विभिन्न सामाजिक कार्य, वृक्षरोपण, स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना, तालिम, खेलकुद लगाएतका कार्य गर्दै आएको छ ।

