काठमाडौं: आर्थिक न्याय र सामाजिक सुरक्षाको माग गर्दै दलित नागरिक समाज तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले माइतीघरमण्डलामा प्रदर्शन गरेका छन् । ‘एशिया दलित राइटस् फोरम’को आयोजनामा भएको उक्त प्रदर्शनमा दलित समुदायलाई आर्थिकरुपमा सबल बनाउन राज्यले प्रभावकारी नीति र योजना ल्याउनुपर्ने माग राखिएको छ । प्रदर्शनमा एशिया दलित अधिकार मञ्चका महासचिव भक्त विश्वकर्माले सामाजिक न्यायबिना आर्थिक समानता सम्भव नहुने र सामाजिक सुरक्षा, स्वास्थ्यको अधिकार, वातावरणीय न्याय, जातीय विभेदको अन्त्य नभएको भन्दै दलित समुदायको अधिकारका लागि एकीकृत आन्दोलन आवश्यक रहेको बताउनुभयो । प्रदर्शन कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका कार्यक्रम व्यवस्थापक अभिषेक साह, जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्मा, दलित सेवा सङ्घका सञ्जुसिंह विश्वकर्मा, राष्ट्रिय नेपाल दलित कल्याण सङ्घ सिरहाका अध्यक्ष मोहन पासवान, र दलित महिला केन्द्र नेपालकी अध्यक्ष लक्ष्मी परियारलगायतका वक्ताहरुले आफ्ना धारणा राख्नुभएको थियो । प्रदर्शनकारीले जातीय विभेद, सामाजिक सुरक्षा, स्वास्थ्य अधिकार, खाद्य सङ्कट र वातावरणीय समस्याको समाधानका लागि राज्यले तत्काल कदम चाल्नुपर्ने मागसहितका ब्यानर र प्लेकार्ड बोकेका थिए । एशिया दलित अधिकार मञ्चकासँगै गैरसरकारी संस्था महासङ्घ, नेपाल, दलित गैरसरकारी संस्था महासङ्घ, नेपाल राष्ट्रिय दलित समाजकल्याण सङ्घ, दलित महिला सङ्घ, समन्यायिक समाज नेपाल, राष्ट्रिय दलित नेटवर्क, जागरण मिडिया, समता फाउण्डेशनलगायत सङ्घसंस्थाले पनि प्रदर्शनमा एक्यबद्धता जनाउँदै भाग लिएका थिए । प्रदर्शनकारीले आर्थिक न्यायबिना सामाजिक न्याय सम्भावना नरहेकाले दलित समुदायको आर्थिक उत्थानका लागि राज्यको ठोस नीति र कार्यान्वयनको माग गरेका छन् ।
काठमाडौं: नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने भएको छ । निगमले नजिकिएको बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको हो । निगमले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँ बाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट बिक्री गर्दै आइरहेको थियो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार चाडपर्वपश्चात् पनि विराटनगर, पोखरा र नेपालगञ्ज कार्यालयबाट टिकट वितरण गर्नेगरी व्यवस्था मिलाउनेछ । उक्त व्यवस्थापनका लागि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्बन्धित विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ । ‘आगामी बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा र सो पश्चात् समेत निरन्तर रहने गरी नेपाल वायुसेवा निगमका उडानहरुबाट यात्रा गर्न सहज रुपमा टिकट प्राप्त होस् भनी निगमका विराटनगर, पोखरा र नेपालगञ्ज स्थित कार्यालयहरुबाट बिक्री गर्ने व्यवस्था मिलाउन र यसलाई प्रभावकारी रुपमा लागू गर्न निर्देशन दिइएको छ’ विज्ञप्तिमा भनिएको छ । साथै, यात्रुहरुले आफ्नो मोबाइलबाट वा निगमको ‘वेब–साइट’बाट ‘अनलाइन टिकट’लिन सकिने व्यवस्था रहेकामा स्थानीय ठाउँबाट समेत सेवा दिँदा सेवाग्राहीले अझ प्रभावकारी ढङ्गले टिकेटिङको सेवा लिने निगमको विश्वास छ ।
पोखरा: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रसँगको सहकार्यले मात्र मुलुक समृद्ध बन्ने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज पोखरामा आयोजित बधाई ज्ञापन तथा स्वागत कार्यक्रममा मन्त्री पाण्डेले पूँजीको विकास गर्न सके मात्र देशमा रोजगारीका अवसर सिर्जना हुने बताउनुभयो । “सरकारले उद्योगी व्यवसायीलाई सुरक्षितरुपमा लगानी गर्ने वातावरण सिर्जना गर्ने हो, व्यवसायीले जति धेरै लगानी गर्छ त्यति नै नेपाल छिटो समृद्ध बन्छ”, उहाँले भन्नुभयो । व्यवसायीलाई उद्योगतर्फ आकर्षित गर्न सरकारले विभिन्न किसिमका अनुदानका कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले उद्योग व्यवसाय फस्टाएका देशहरुले आर्थिक प्रगति गरेको उदाहरण दिँदै नेपालमा पनि स्वदेशी तथा विदेशी लगानी भित्राउन सके समृद्धि हासिल गर्न धेरै वर्ष कुर्नु नपर्ने बताउनुभयो । देशको अर्थतन्त्रलाई चलायमान, भ्रष्टाचार मुक्त र सुशासन स्थापना गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ थियो । सम्भावना नै सम्भावना भएको देश नेपालमा स्वदेशी मात्र होइन विदेशी लगानीकर्ता भित्र्याएर नेपाली जनतालाई समृद्धिको बाटोतर्फ अगाडि बढाउने चाहना वर्तमान सरकारको रहेको मन्त्री पाण्डेले बताउनुभयो । पर्यटकीय राजधानी पोखरामा पर्यटनको सम्भावना अत्यधिक भएकाले पर्यटन नीति बनाएर यहाँ पर्यटनमैत्री वातावरण सिर्जना गर्ने उद्देश्य सरकारको रहेको उहाँको भनाइ थियो । पोखराबाट नै पर्यटकलाई गर्ने सत्कार देशभरि सिकाउने वातावरण सिर्जना गर्न पोखरेली पर्यटन व्यवसायीलाई उहाँले आग्रह गर्नुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन आफूले विदेशी एयरलाइन्स कम्पनीसँग कुरा गरिरहेको उल्लेख गर्दै मन्त्री पाण्डेले नेपाली आकास सुरक्षित छ भन्ने कुराको सन्देश दिन जरुरी रहेको बताउनुभयो । सो अवसरमा नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखराको समग्र आर्थिक विकासका बारेमा जानकारी गराउनुभएको थियो ।
काठमाडौं: नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्त इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस ९आइएपिबी०को ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित हुनुभएको छ । ‘अनलाइन’ मार्फत सम्पन्न मतदानको नतिजा मङ्गलबार सार्वजनिक गरिएको हो । आइएपिबीका विश्वभरका २५० भन्दा बढी सदस्य संस्थाहरु उक्त मतदान प्रक्रियामा सहभागी भएका थिए । विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाहरुको छाता सङ्गठनका रुपमा रहेको आइएपिबीले अन्तर्राष्ट्रिय रुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आइरहेको छ । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरू, आँखा अस्पतालहरू, शैक्षिक संस्थानहरू, व्यावसायिक सङ्घहरू र कर्पोरेट संस्थाहरू समेत आइएपिबीका सदस्य रहेका छन् । नेपाल नेत्रज्योति सङ्घ विगत एक दशकभन्दा लामो समयदेखि आइएपिबीको सदस्य रहँदै आएको छ । सङ्घ नेपालबाट अन्धोपन निवारण गर्ने उद्देश्यले गैरनाफामूलक संस्थाका रुपमा २०३५ साल चैत १३ गते स्थापना भई नेपाली जनताको आँखा स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको सामाजिक संस्था हो । सङ्घले नेपालका ७७ जिल्लामध्ये ६७ जिल्लामा आफ्नो स्थायी आँखा उपचार केन्द्रको स्थापना गरिसकेको छ । स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरु गरी कुल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई उपचार सेवा प्रवाह गरिसकेको छभने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । हाल सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १६० आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरू सञ्चालनमा छन् ।
बाजुरा: चट्याङ लागेर बाजुरामा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका–४ बागेगाउँका ६० वर्षीय खम्म कटुवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जनक बोहराका अनुसार चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर गौमुल गाउँपालिका–४ की ४० वर्षीया साउनी रोकाया घाइते भएकी छिन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चट्याङ लागेर रोकायाका चार बाख्रासमेत मरेका प्रहरीले जनाएको छ ।
काठमाडौँ: वित्तीय क्षेत्रमा लामो अनुभव सम्हाल्नुभएका पर्वतकुमार कार्की नेपाल राष्ट्र बैङ्कमा तीसवर्षे सेवा पूरा गरी कार्यकारी निर्देशकबाट सेवा निवृत्त हुनुभएको हो । राष्ट्र बैङ्कबाट सेवा निवृत्त भएपश्चात् कार्कीले साबिकको ग्रामीण विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृतका रुपमा चार वर्ष र कोषमा आउनुअघि किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गर्नुभएको थियो । प्रस्तुत छ, कोषका कार्यकारी निर्देशक कार्कीसँग गरिएकाे कुराकानीको सम्पादित अंश । -कोषले २९औँ वार्षिक साधारणसभा केही समयअघि सम्पन्न गरेको छ । साधारणसभाले के सन्देश दिएको छ ? कोषले हालका वर्षमा साधारणसभा नियमित रुपमा गर्दै आइरहेको छ । आर्थिक वर्ष २०७९÷८० को वार्षिक साधारणसभा असार मसान्तभित्रै सम्पन्न गरेको छ । यो कोषको २९औँ साधारणसभा हो । साधारणसभाले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश पारित गरेको छ । कोषको ३३ वर्षको इतिहास सन्तोषजनक रहेको छ । कोषले नियमित रुपमा आफ्ना शेयरधनीहरुलाई उचित प्रतिफल दिँदै आएको छ । एक करोड ४४ लाखको चुक्ता पुँजीबाट स्थापना भएको कोषको पुँजीमा धेरै ठूलो वृद्धि भएको छ । कोषले आव २०७९÷८० वितरण गरेको बोनश शेयरपश्चात कोषको चुक्ता पुँजी छ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । -अहिले कोषले के कस्ता योजनाहरु सञ्चालन गरिरहेको छ ? कोषले अवकाश कोष व्यवस्थापन तथा सामाजिक सुरक्षाका सम्बन्धमा विगतदेखि नै काम गर्दै आइरहेको छ । कोषले सञ्चालन गरेका कार्यक्रमरुमा कर्मचारी बचत वृद्धि अवकाश कोष, नागरिक पेन्सन योजना, उपदान कोष, लगानीकर्ता हिसाब योजना, बीमा कोषलगायतका योजना रहेका छन् । कोषले साना तथा मझौलास्तरका बचतकर्ताहरुको बचत परिचालन गरी अधिकतम प्रतिफलको अवसर प्रदान गर्ने उद्देश्यका साथ कर्मचारी बचत वृद्धि लगायतका योजना सञ्चालन गरेको छभने सार्वजनिक संस्थान र अन्य सङ्गठित सङ्घसंस्थालाई आफ्नो दीर्घकालीन दायित्व व्यवस्थापनका लागि क्रमिक रुपमा कोषमा रकम जम्मा गर्न प्रोत्साहित गर्ने, सरकारी क्षेत्रका साथै अन्य क्षेत्रमा समेत सामाजिक सुरक्षा प्रदान गर्ने लगायतका कार्य गर्दै आइरहेको छ । यसका अतिरिक्त आम नेपाली नागरिकलाई समेट्ने गरी नागरिक पेन्सन योजनासमेत सञ्चालनमा ल्याएको छ । साथै, पुँजी बजारको विकासमा सघाउ पुग्नेगरी पुँजी बजारसम्बन्धी विभिन्न गतिविधिहरुमा समेत कोष संलग्न रहेको छ । -सहभागीलाई दिने सेवालाई कसरी चुस्त राख्नु भएको छ ? कोषले आफ्नो सेवालाई प्रभावकारी बनाउन यान्त्रिकीकरणमा विशेष जोड दिएको छ । कोषको हिसाबकिताबलाई चुस्तदुरुस्त राख्न अटोमेसनलाई कोषले विशेष प्राथमिकतामा राखेको छ । कोषको काम कारबाहीलाई बढीभन्दा बढी यान्त्रिकीकरण गर्न कोषले डिजिटलाइजेसनलाई विशेष महत्वका साथ अघि बढाएको छ । यसबाट क्रमिक रूपमा कागजरहित सेवा बढाउँदै लान मद्दत मिल्नेछ । हालै सेवाग्राहीलाई अनलाइन पेमेन्ट तथा सूचना लिने सुविधाका लागि कोषले सिआइटी स्मार्ट मोबाइल एप विकास गरी कार्यान्वयनमा ल्याएको छ । यो एप डाउनलोड गरेर सेवाग्राहीले विभिन्न किसिमका सेवा र सुविधा लिन सक्नेछन् । सेवाग्राहीबाट सङ्कलन हुने रकमलाई सरकारको केन्द्रीय लेखा प्रणाली, स्थानीय निकायहरुलाई समेटेर बनाएको प्रणालीको माध्यमबाट रकम जम्मा गर्ने पूर्वाधार विकास गरिएको छ । -कोषले कुन क्षेत्रमा कति लगानी गरिरहेको छ ? गत आवको असार मसान्तसम्म कोषमा रु २४९ अर्ब कोष मौज्दात जम्मा भएको छ । सो समयमा कोषको लगानी रु २४३ अर्ब रहेको छ । त्यसमध्ये करिब ५३ प्रतिशत रकम वाणिज्य बैङ्कहरुको मुद्दती निक्षेपमा लगानीमा रहेको छ । करिब २२ प्रतिशत सहभागी कर्जाका रुपमा लगानी छभने संस्थागततर्फ कोषको कर्जाको अंश करिब ११ प्रतिशत रहेको छ । सरकारी ऋणपत्र, सङ्गठित संस्थाको शेयर धितोपत्र र बण्डलगायतमा कोषले करिब १३ प्रतिशत लगानी गरेको छ । यसका अतिरिक्त कोषले पुँजी बजारतर्फ दोस्रो बजारमा पनि नियमित रुपमा लगानी गरिरहेको छ । लगानीको तथ्याङ्क हेर्दा कोषको लगानी अझै पनि निक्षेपतर्फ बढी देखिन्छ । यसलाई विविधीकरण गर्न कोष विशेष रुपमा प्रयत्नशील रहेको छ । -कोषले आम नागरिकलाई कसरी समेटिरहेको छ ? कोषका योजनाहरुमध्ये धेरैजसो योजनहरु राष्ट्रसेवक कर्मचारी, विभिन्न सङ्घसंस्थामा कार्यरत कर्मचारी लक्षित रहेका हुँदा आम नागरिकलाई समेत समेट्ने गरी कोषले विगत केही वर्षदेखि नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा मुलुकभर बस्ने दूरदराज, गाउँठाउँका नागरिकलाई समेत समेट्ने लक्ष्यसहित योजना सञ्चालनमा ल्याइएको हो । यसका अतिरिक्त विदेशमा रहेका, वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइ, दिदीबहिनीलाई पनि उहाँहरुले कमाएको केही पैसा अवकाश कालमा सदुपयोग होस् भनी त्यस्ता वर्गलाई कोषमा समाहित गर्ने लक्ष्यसमेत नागरिक पेन्सन योजनामा रहेको छ । -कुन क्षेत्रमा लगानी गर्ने सोच्नुभएको छ ? कोषले लगानी विविधीकरणलाई मूल एजेन्डाका रुपमा अगाडि सारेको छ । यही अनुसार वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गरेर कोष अगाडि बढेको छ । विविधीकरणको क्षेत्र पहिचान गर्ने क्रममा सरकारको प्राथमिकतामा रहेको पूर्वाधार निर्माणको क्षेत्रमा लगानी बढाइने छ । नेपालको परिवेशमा हेर्दा हाल जलविद्युत्को क्षेत्र नै सबैभन्दा प्रमुख प्राथमिकता भएको र राम्रो भविष्य भएको क्षेत्र रहेकाले यसतर्फ लगानी विस्तार गर्ने सोचाइ छ । अहिले पनि विभिन्न जलविद्युत् आयोजनामा लगानी गर्ने सन्दर्भमा द्विपक्षीय छलफल र वार्ता अगाडि बढिरहेको छ । यसैगरी, कृषि क्षेत्रमा के कसरी लगानी अभिवृद्धि गर्न सकिन्छ भन्नेतर्फ समेत अध्ययन भइरहेको छ । विशिष्टीकृत फन्डमार्फत विभिन्न उत्पादनशील क्षेत्रमा लगानी विस्तारका लागि नीतिगत व्यवस्था गर्न आवश्यक देखिएको र उक्त दिशामा समेत कार्य भइरहेको छ । ‘प्राइभेट इक्विटी फन्ड’तर्फ जाने सम्बन्धमा पनि कोषले छलफल अगाडि बढाएको छ । लगानी विविधीकरणका सन्दर्भमा लगानी कोष ऐनले कोषलाई क्यापिटल मार्केटमा नेतृृत्वदायी भूमिका निर्वाह गर्ने संस्थाका रुपमा समेत राखेको हुँदा कोषको सहायक कम्पनीका रुपमा नागरिक ‘स्टक डिलर’ सञ्चालनमा रहेको छ । उक्त स्टक डिलर पुँजी बजारमा सक्रिय रहेको छ । यो पनि कोषको एउटा लगानीको पाटो जस्तै रहेको छ । यसको अलावा पुँजी बजारमा सक्रिय भूमिका बढाउने, पुँजी बजारतर्फ लगानीलाई उल्लेखनीय बढाउने सोचाइसमेत कोषको रहेको छ । -कोषलाई सेवाग्राहीले कसरी लिने ? सेवाग्राहीले कोषलाई जसरी विश्वास गर्नुभएको छ, कोषले पनि सुरक्षित लगानीमार्फत उच्च प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्दछ । सहभागीले मिहेनत गरेर कमाएको पैसालाई कोषले सुरक्षित लगानी गर्छ । सहभागीहरुलाई अन्य किसिमका सेवासुविधा दिने, ब्याजदरको अलावा बोनस÷प्रतिफल दिने कार्य पनि कोषले गरिरहेको छ । सहभागीहरुलाई बीमा, औषधोपचार लगायतको सुविधा दिनेतर्फ कोषले काम गर्नेछ । कोषप्रति विश्वास गर्न र कोषका विभिन्न योजना कार्यक्रमहरुमा सहभागी हुन सबैलाई आग्रह गर्न चाहन्छु । राष्ट्रसेवक कर्मचारीहरु तथा अन्य सङ्घसंस्थाका कर्मचारीहरुका लागि सञ्चालन गरिएका कार्यक्रमहरुका अतिरिक्त आम नेपाली नागरिक विशेषतः वैदेशिक रोजगारीमा जानु भएका दाजुभाइ दिदीबहिनीहरुलाई समेत लक्षित गरेर कोषले नागरिक पेन्सन योजना सञ्चालनमा ल्याएको छ ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । अध्यागमन कार्यालयका बारेमा नकरात्मक टिकाटिप्पणी हुने गरेको उल्लेख गर्दै उहाँले यसतर्फ सचेत हुन आग्रह गर्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले अध्यागमन कार्यालयका बारेमा नागरिकको राम्रो बुझाइ नभएको उल्लेख गर्दै यहाँ हुने कुनै पनि किसिमका अवाञ्छनीय गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । विमानस्थलमा कार्यरत अन्य सरकारी संयन्त्रसित समन्वय गरेर काम गर्र्न उहाँले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन दिनुभयो । “अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो, यहाँ आउने नागरिकले नेपाल हेर्ने यहीँ हो । बाहिर जाने नागरिकले पनि नेपालको व्यवहार देख्ने यहीँ नै हो”, गृहमन्त्री लेखकले भन्नुभयो । अध्यागमनका कर्मचारीको व्यवहार सौहार्दपूर्ण, सहिष्णु, नरम र सेवामुखी हुन जरुरी रहेको उहाँको भनाइ थियो । सो अवसरमा त्यहाँ कार्यरत अध्यागमनका कर्मचारीहरुले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँ अभाव र विभिन्न भौतिक संरचना सुधारको आवश्यकता रहेको उल्लेख गर्दै कर्मचारीलाई समयक्रमअनुसार तालिम तथा प्रशिक्षण आवश्यक रहेको गृहमन्त्री लेखकलाई अवगत गराएका थिए । गृहमन्त्री लेखकका साथमा गृहसचिव गोकर्णमणि दुवाडीसमेत रहनुभएको थियो ।
बाँके: बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले यस वर्षको दसैँलाई लक्षित गरेर २५० खसीबोका बिक्रीका लागि तयार गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत महिला खसीबोका बिक्री गरेर यो वर्षको दसैँतिहार मनाउने योजनामा रहेका छन् । यहाँका किसान महिलाले प्रत्येक वर्ष दसैँतिहारमा ठूलो मात्रामा खसीबोका बिक्री गर्ने गरेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिव्या गुरुङले बताउनुभयो । “महिला दिदीबहिनीले हुर्काएका खसीबोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण गर्ने गरेका छाँै”, व्यवस्थापक गुरुङले भन्नुभयो, “यो वर्षको दसैँतिहारमा २५० खसीबोका बिक्री गर्ने लक्ष्य रहेको छ ।” विगतमा बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायतका गाउँमा महिलाले उत्पादन गरेका खसीबोका सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौँलगायत बाहिरी जिल्लामा बिक्री वितरण हुँदै आए पनि अहिले फत्तेपुरस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाका खसीबोका बिक्री हुँदै आएका छन् । व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको व्यवस्थापक गुरुङको भनाइ छ । महिलाले वर्षमा अहिले १० देखि १२ सम्म खसी बिक्री गर्न थालेको उहाँले जानकारी दिनुभयो । पहिले फाटफुट खसीबोका बिक्री गर्ने महिला अहिले थोकमा बिक्री गर्न थालेका छन् । गाउँमा महिला समूहमा आबद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी सहकारीले गर्न थालेपछि बजार र ठगिने झन्झटबाट दिदीबहिनी मुक्त भएको गुरुङले बताउनुभयो । प्रबन्धक गुरुङका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा उक्त सहकारीमार्फत किसान महिलाका ३१ हजार सात सय १० किलोग्राम तौल बराबरका एक हजार १७ खसीबोका बिक्री भएका थिए । अन्य समयमा भन्दा दसैँतिहारको समयमा खसीबोकाको माग बढी हुने र यही समयमा नै बढी बिक्री हुने गरेको गुरुङले बताउनुभयो । हाल सहकारी आबद्ध किसानसँग रु पाँच सय २५ प्रतिकिलोका दरले खसीबोका खरिद गर्ने र रु १० देखि १५ प्रतिकिलो बढाएर व्यापारीलाई बिक्री गर्ने गरेको उहाँको भनाइ छ । सहकारीमार्फत गठन गरिएका ५९ समूहमा एक हजार किसान महिला सदस्य रहेका छन् । तीमध्ये हाल करिब ६०० किसान महिलाले व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । सहकारीबाट खसीबोका तथा बाख्रापालनका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको प्रबन्धक गुरुङले बताउनुभयो ।
काठमाडौं: नेपाल प्रहरीको टोलीले धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटालियन नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनी नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्राको सामान लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी घर भई हाल काभ्रेको बनेपा नगरपालिका–६ सान फर्निचरमा काम गर्ने वर्ष २० वर्षीय हरि चौधरी, रामेछापको सुनापाती गाउँपालिका घर भई हाल काभ्रेको बनेपा–९ जनागाल बस्ने १७ वर्षीय सन्देश जैरु तथा काभ्रेको पनौती नगरपालिका–९ सुनथान बस्ने १६ वर्षीय उज्ज्वल दाहाल रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “इटाली र जर्मनीका नागरिकलाई चक्कु देखाएर बनेपामा एटिएम, मोबाइलसहितका सरसामान लुटपाट गरेको आरोपमा उनीहरुलाई गएराति पक्राउ गरिएको हो ।” काभ्रेको बनेपा–६ भ्युटावरस्थित सिँढीको बाटोमा उक्त लुटपाट गरिएको प्रहरीले जनाएको छ । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।