पर्सा: मधेस आन्दोलनको क्रममा भएको वीरगञ्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगञ्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठूलो सङ्कुचन देखाप¥यो । यहाँका दुई भन्सार नाकाबाट हुने आयात आव २०७२/७३ मा ३५ प्रतिशतको हाराहारीमा खुम्चिएको थियो । भन्सार विभागको आव २०७२/७३ को तथ्याङ्कअनुसार कुल सात खर्ब ७४ अर्ब ७१ करोड मूल्य बराबरको वस्तु तथा सामान आयात भएर नेपाल भित्रिएको थियो । सो वर्ष असोजदेखि माघसम्म चलेको मधेस आन्दोलन र अघोषित नाकाबन्दीको कारणले कुल आयातमा वीरगञ्ज भन्सार कार्यालयको हिस्सा २३ दशमलव ५० र यहाँकै अर्को सुक्खा बन्दरगाह भन्सार कार्यालयको हिस्सा भने १२ दशमलव २३ प्रतिशत रह्यो । आन्दोलनका कारणले नाका बन्द भएसँगै यहाँबाट हुने आयात मात्रै खुम्चिएन, यहाँबाट हुने आयात पनि भैरहवा भन्सार कार्यालयतर्फ सरेको थियो । सोही वर्ष भैरहवा भन्सार कार्यालयबाट कुल आयातको २४ दशमलव ०७ अर्थात रु एक खर्ब ८६ अर्ब ४८ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । संविधान जारी भएको नौ वर्षपछि भने वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने कुल आयातको सामानमा भने फेरि पहिलाकै जस्तै गुल्जार देखिएको छ । अहिले वीरगञ्जका दुई ठूला भन्सार नाकाबाट कुल आयातको झन्डै ५० प्रतिशतको हाराहारीमा वस्तु तथा सामान आयात हुँदै आइरहेको छ । मधेस आन्दोलन र नाकाबन्दीले आयातमा खुम्चिएको वीरगञ्ज भन्सार र सुक्खा बन्दरगाह भन्सारबाट आव २०८०÷८१ मा आइपुग्दा कुल रु १५ खर्ब ९२ अर्ब आठ करोडको आयातमध्ये वीरगञ्ज भन्सारको योगदान ३४ दशमलव ३० प्रतिशत र सुक्खा बन्दरगाहको योगदान १२ दशमलव ७८ रहेको छ । कुल आयातमा भैरहवा भन्सार कार्यालयको योगदान भने १५ दशमलव २३ प्रतिशत रहेको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले संविधान जारी भएसँगै भएको मधेस आन्दोलन र अघोषित नाकाबन्दीपछि आयात पुरानै लयमा फर्किए पनि उद्योग र व्यापार व्यवसायमा सुधार नआएको बताउनुभयो । “वीरगञ्जमा सुविधासम्पन्न सुक्खा बन्दरगाहा र एकीकृत जाँचचौकीलगायत पूर्वाधारका कारणले यहाँबाट हुने आयात पुरानै अवस्थामा फर्किसकेको छ,” उहाँले भन्नुभयो, “संविधान जारी भएसँगै भएको आन्दोलनको कारणले विस्थापित भएका उद्योगी, व्यवसायी र बजार भने अझै फर्किन सकेको छैन ।” वरिष्ठ उपाध्यक्ष गौतम मधेस आन्दोलनपछि वीरगञ्ज केन्द्रित रहेका उद्योगधन्दा विस्तारै बारा र हेटौँडातर्फ विस्तारै सर्ने क्रम बढेको पनि गुनासो व्यक्त गर्नुहुन्छ । “वीरगञ्ज भन्सार कार्यालयबाट हुने सवारीसाधनको आयात पनि भैरहवा भन्सार कार्यालयतर्फ सरेको देखिन्छ,” उहाँले भन्नुभयो, “राजनीतिक स्थायित्व र उद्योगमैत्री वातावरणले पनि ठूलो अर्थ राख्ने रहेछ ।” वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले कुल आयातमध्ये एक तिहाइभन्दा धेरै आयात वीरगञ्ज भन्सार कार्यालय हुने बताउनुहुन्छ । “कुल आयातमध्ये वीरगञ्जबाट हुने आयातको योगदान सन्तोषजनक नै देखिन्छ,” उहाँले भन्नुभयो, “कुन वस्तु तथा सामान कहाँबाट आयात गर्ने भन्ने कुरा नितान्त व्यापारी तथा व्यवसायीमा निर्भर हुने गर्छ ।” उहाँका अनुसार वीरगञ्ज भन्सार कार्यालय हुँदै मुख्यगरी पेट्रोलियम पदार्थ, औद्योगिक कच्चापदार्थ र सवारीसाधन आयात धेरै हुने गर्छ । भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७३/७४ सालदेखि नै वीरगञ्जका दुवै भन्सार कार्यालयबाट हुने आयातमा उल्लेखनीय सुधार भएको देखिन्छ । सो आवमा रु नौ खर्ब ८४ अर्ब ३० करोड आयातमध्ये वीरगञ्ज भन्सार कार्यालयको योगदान ३४ दशमलव १२ प्रतिशत रह्यो भने सुक्खा बन्दरगाह कार्यालयको भने ११ दशमलव ७६ प्रतिशत रह्यो । सोही आवमा भैरहवा भन्सारको भने १८ दशमलव ५५ प्रतिशत रह्यो । यस्तै, आव २०७४/७५ मा पनि नेपालमा १२ खर्ब ४५ अर्ब १० करोड मूल्य पर्ने सामान आयात भएको देखिन्छ । यसमा वीरगञ्ज भन्सार र सुक्खा बन्दगाहको हिस्सा क्रमशः ३३ दशमलव ८९ र १० दशमलव ४९ प्रतिशत रह्यो । जसमा भैरहवा भन्सारको योगदान भने १७ दशमलव ९९ प्रतिशत थियो । विभागका अनुसार आव २०७५/७६ मा रु १४ खर्ब १८ अर्ब ५३ मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकबाट भित्रियो । जसमा वीरगञ्ज भन्सारको योगदान ३४ दशमलव ७३ प्रतिशत, भैरहवा भन्सारको योगदान १६ दशमलव ९२ र सुक्खा बन्दरगाहको योगदान भने १० दशमलव ९२ प्रतिशत रह्यो । विसं २०७६ चैतको पहिलो सातादेखि कोभिड– १९ को महामारी नियन्त्रण गर्न भन्दै गरिएको बन्दाबन्दीको कारणले पनि अघिल्लो वर्षको तुलनामा मुलुकभरिको समग्र आयातमा नै सङ्कुचन आयो । सो आवमा रु ११ खर्ब ९६ अर्ब ७९ करोड मूल्य बराबरका वस्तु तथा सामान नेपाल भित्रिएको थियो । कुल आयातमध्ये वीरगञ्ज भन्सार नाका हुँदै ३४ दशमलव ३७ प्रतिशत भयो । त्यस्तै, सुक्खा बन्दरगाह हुँदै भने १३ दशमलव ८४ प्रतिशत र भैरहवा हुँदै भने १६ दशमलव ६१ प्रतिशत आयात भएको देखिन्छ । कोभिड–१९ को महामारीको कारणले सङ्कुचित आयात आव २०७७÷७८ मा भने उल्लेखनीय सुधार हुँदै रु १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार बराबरको वस्तु तथा सामान आयात भयो । कुल आयातमध्ये वीरगञ्ज भन्सार नाका हँुदै एक तिहाइ अर्थात् ३३ दशमलव २३ प्रतिशत रह्यो । सुक्खा बन्दरगाह हुँदै भने कुल आयातको १२ दशमलव ३० प्रतिशत र भैरहवा भन्सार नाकाबाट कुल आयातको १८ दशमलव २९ प्रतिशत आयात भएको देखिन्छ । कोभिड–१९ को असर र प्रभाव कम भएसँगै आव २०७८/७९ मा रु १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार बराबरको आयात भयो । जसमा वीरगञ्ज भन्सार कार्यालय हुँदै ३६ दशमलव ७८ प्रतिशत अर्थात् रु सात खर्ब छ अर्ब ३८ करोड ७९ लाख ६७ हजार बराबरको आयात भयो । त्यस्तै, सुक्खा बन्दगाह हुँदै कुल आयातको ११ दशमलव ३५ प्रतिशत अर्थात् रु दुई खर्ब १७ अर्ब ९८ करोड ३४ लाख ३० हजारको आयात भयो । त्यस्तै, भैरहवा भन्सार कार्यालयबाट भने कुल आयातको १५ दशमलव ४० प्रतिशत अर्थात् रु दुई खर्ब ९५ अर्ब ६७ करोड १० लाख ५१ हजार बराबरको आयात भएको थियो । विभागको तथ्याङ्कअनुसार आव २०७९/८० मा रु १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार कुल आयात भएको थियो । कुल आयातमध्ये वीरगञ्ज भन्सार हुँदै ३६ दशमलव ८२ प्रतिशत भयो । त्यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालय हुँदै कुल आयातको १२ दशमलव ५५ प्रतिशत र भैरहवा भन्सारबाट भने कुल आयातको १५ दशमलव १९ प्रतिशत आयात भएको देखिन्छ । नेपाल उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष कुमार टेमानीले कोभिड–१९ महामारीपछि सरकारले अँगालेको नीतिको कारणले अर्थतन्त्रमा ठूलो खालको समस्या निम्तिएकाले पनि उद्योग र व्यापार क्षेत्रको गुल्जार अझै नफर्किएको बताउनुभयो । “कोभिड–१९ पछि राष्ट्र बैङ्कले अघि सारेका नीतिकै कारणले अर्थतन्त्रमा निकै ठूला खालका समस्या ल्याउने काम ग¥यो”, उहाँले भन्नुभयो, “जुन नीतिको कारणले उद्योगधन्दा अझैसम्म लयमा फर्किन सकेको छैन ।” वीरगञ्ज वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गौतम पनि कोभिड–१९ महामारी सकिएपछि पनि उद्योगधन्दा मुस्किलले ३० देखि ४० प्रतिशतको हाराहारीमा मात्रै चल्दै आएको गुनासो गर्नुहुन्छ । “कोभिड–१९ को महामारीपछि ठूला उद्योग ३० देखि ४० प्रतिशत मात्रै उत्पादन गर्दै आइरहेका छन्,” उहाँले भन्नुभयो, “उद्योग÷कलकारखानालाई खर्च धान्न पनि समस्या हुँदैँ आइरहेको छ । कोभिड–१९ पछि बारा–पर्सामा नगण्य मात्रामा मात्रै उद्योगधन्दा थपिएका छन् ।”
बझाङ: गत हप्तादेखि बझाङको खप्तडछान्ना गाउँपालिका सञ्चार सम्पर्कविहीन बनेको छ । गत असोज २३ गते खप्तडछान्ना गाउँपालिकामा रहेको नेपाल टेलिकमको टावरमा अज्ञात समूहले तोडफोड गरेपछि गाउँपालिका सम्पर्कविहीन बनेको हो । सञ्चार सम्पर्कविहीन भएपछि गाउँबाहिरका आफन्तसँग दसैँको रमाइलो साट्न नपाएको खप्तडछान्ना गाउँपालिका–७ का प्रदीप खड्काले बताउनुभयो । खप्तडछान्ना गाउँपालिकास्थित गोर्खाली गाउँमा दसैँको दिन मेलासमेत आयोजना गरिएको थियो । उहाँले भन्नुभयो, “अष्टमीको दिनदेखि टेलिफोनको नेटवर्कले काम गर्न छाडेपछि मेलामा समेत प्रभाव परेको छ । अहिले सिङ्गो गाउँपालिकामा नै नेटवर्क विहीन बनेको छ ।” स्थानीयवासी वसन्त चौहानले गत असोज २३ गते बेलुकी अज्ञात समूहले खप्तडछान्ना –४ माझीगाउँस्थित नेपाल टेलिकमको टावरमा तोडफोड गरेरको बताउनुभयो । माझी गाउँमा रहेको रिमोट टावरसँगै खप्तडछान्ना –७ माडुकाट्नेको टावर पनि तोडफोड भएको नेपाल टेलिकम बझाङका प्रमुख बमबहादुर सिंहले जानकारी दिनुभयो । दुई टावरबीचको रेडियो लिङ्कले काम गर्न छोडेपछि यहाँका २० हजार बढी नागरिक सम्पर्कविहीन भएको उहाँले बताउनुभयो । अहिले यी दुईवटै टावर मर्मतको काम भइरहेको बताउनुभयो । जिल्लामा दक्ष जनशक्ति अभाव र सबै उपकरण नयाँ राख्नुपर्ने भएकाले समय लाग्ने प्रमुख सिंहले बताउनुभयो । यसअघि पनि जिल्लाका विभिन्न क्षेत्रमा रहेका टावरमा तोडफोड र चोरीका हुने गरेको बताइएको छ । टावरमा तोडफोड गर्नेको अहिले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख युवराज भण्डारीले बताउनुभयो । टावर जङ्गलमा रहेको हुँदा घटनाको वास्तविकता पत्ता लगाउन कठिनाइ भइरहेको जनाइएको छ ।
काठमाडौं: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्यायाधिवक्ता रमेश वडाल सहभागी हुनुुहुन्छ । बैठकमा शान्ति प्रक्रियालाई टुुङ्गोमा पु(याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायत विषयमा छलफल हुने जनाइएको छ । गत भदौ १३ गते राष्ट्रपतिबाट ती आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो ।
काभ्रेपलाञ्चोक: गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी यहाँ ७८ जनाको ज्यान गएको छभने छजना अझै बेपत्ता छन् । धेरै दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि खोजी स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । बाढीपहिरोमा बेपत्ता हुनेमा तेमाल गाउँपालिका–२ का ३ र ६ वर्षीया दुई बालिका प्रिया तामाङ र अप्रिया तामाङ छन् । उनीहरु पहिरोले घर पुरिँदा बेपत्ता भएका हुन् । त्यस्तै, चौँरीदेउराली गाउँपालिका–६ का ४० वर्षीया शान्ता रिमाल बेपत्ता छिन् । एक हप्तासम्म खोजी गर्दा उनी फेला नपरेको प्रहरीले जनाएको छ । धुलिखेल नगरपालिका–८ निवासी ४२ वर्षीया गीता श्रेष्ठ पनि अझै बेपत्ता रहेको जनाइएको छ । बेथान्चोक गाउँपालिका–४ की ३८ वर्षीया ज्ञानु परियार र खानीखोला गाउँपालिका–६ की ३७ वर्षीया देवीमाया सिंतान अझै बेपत्ता छन् । बेपत्ताको खोजतलास गरिए पनि फेला पर्न नसकेको जिल्ला प्रहरी प्रमुख वसुन्धरा खड्काले बताउनुभयो । उहाँका अनुसार बाढीपहिरोमा परी ७५ जना घाइते भएका थिए । बाढीपहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकाका १८ जना छन् । रोशी गाउँपालिकाका १३, तेमालका १२, बेथान्चोकका १२, मण्डनदेउपुर र नमोबुद्ध नगरका सात÷सात तथा बनेपा र भुम्लुका तीन÷तीनजनाले ज्यान गुमाए । धुलिखेल नपाका दुई र चौँरीदेउरालीका एकजनाले बाढीपहिरोमा ज्यान गुमाए । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन । काभ्रेपलाञ्चोकमा बाढीपहिरोमा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । यसमध्ये २१ विद्यार्थी हुन् । सरकारद्वारा बाढीपहिरो र डुबानबाट अतिप्रभावित स्थानीय तह घोषित गरेकामध्ये ‘विपद् सङ्कटग्रस्त क्षेत्र’अन्तर्गत यहाँको रोशी, तेमाल, बेथानचोक, चौँरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन् । सरकारले बाढीपहिरोमा मृतक परिवारलाई तत्काल उपलब्ध गराउने रु दुई लाख जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालकाअनुसार मृतक परिवारलाई सरकारद्वारा उपलब्ध रकम दसैँअघि बुझाइएको हो । बेपत्ताको हकमा कुनै निर्णय भएको छैन ।
काठमाडौं: नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्येको उक्त ऋण भुक्तानी गरेको विज्ञप्ति जारी गरी जनाएको हो । निगमले दुई न्यारोबडी जहाजको असोज महिनाको किस्ता पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी गत असोज ३० गते मात्र रु ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । कोभिड–१९ का कारण निगमको व्यापारमा प्रतिकूल असर परेकाले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको सङ्ख्या वृद्धि गरी दायित्व भुक्तानीलाई सहजीकरण गरिदिनसमेत कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चितवन: जिल्लामा लगाइएको धानमा ‘डर्टी पानिकल’ नामक रोगको समस्या देखिएको छ । पूर्वी चितवन र पश्चिम चितवनका विभिन्न स्थानमा लगाइएको सावित्री र सावा मनसुली धानमा यो समस्या देखिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ भरतपुरका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा लगाइएको धानमा यो समस्या देखिएको हो । उहाँले भन्नुभयो, “यो रोग ढुसी र ब्याक्टेरियाका कारण हुने गर्दछ । पुराना जातमा यो रोगको समस्या देखिएको हो ।” यो रोग लागेको धानमा बाला लागेपछि दाना नलाग्ने, पपटा हुने, दाना कालो हुने समस्या देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार धानमा देखिएको यो रोगका कारण यस वर्ष जिल्लामा चार हजार पाँच सय टन उत्पादन घट्ने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “धानको बीउसँगै यो रोगको सङ्क्रमण देखिने गरेको छ । सावित्री र सावा मनसुली धान लगाएका क्षेत्रमा ८० प्रतिशत घाटा हुने देखिन्छ ।” भारतबाट आयातीत मुकावुला धानको बीउमा समेत यो समस्या देखिएको उहाँले बताउनुभयो । यो रोगबाट बच्न बीउ राख्ने क्रममा बीउ छनोट, ढुसी नासक विषादीको प्रयोग र नुन पानीले उपचार गरेर राख्नुपर्ने सूचना अधिकारी ढुङ्गानाले जानकारी दिनुभयो । धानमा यो रोग देखिएमा फुल खेल्ने समयमा कप्पर अक्सिक्लोराइड र कार्बनाडेजिङ नामक विषादी दुई ग्राम प्रतिलिटर पानीमा हालेर एक हेक्टर क्षेत्रफलमा तीन सय लिटर छर्नुपर्ने उहाँले बताउनुभयो । यो औषधि छरेको एक सातापछि पोपेकोनाजोल नामक विषादी प्रतिलिटर पानीमा एक मिलिलिटर मिसाएर प्रतिहेक्टर तीन सय लिटर पानीको प्रयोग गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । जिल्लामा २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएको छ । जहाँ, चैते ५, हर्दीनाथ ६, बहुगुणी १ र २, मनकामना, गङ्गोत्री, गङ्गाकावेरी, जेरी, ओआर, कतर्नी, मुकागोला, महाराजा, काशिनाथलगायत धानहरु लगाइएको उहाँले जानकारी दिनुभयो ।
काठमाडौं: बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट)मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गरिएको छ । अहिले उक्त विमानको प्राविधिक टोलीले जाँच गरिरहेको छ । “माउन्टेन फ्लाइटमा गएको विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई सुरक्षित अवतरण गरेर अहिले प्राविधिक मर्मत भइरहेको छ”, उहाँले भन्नुभयो, “आज मौसम बिग्रिएर हिमाल नदेखिएकाले कुनै पनि माउन्टेन फ्लाइट भएनन् ।” ‘आज विहान माउन्टेन फ्लाईट, उडान नम्बर १०० विमानको ‘कल साईन नाइन एन एजेएस’ विमानको दायाँ इन्जिनमा इण्डिकेटर समस्या देखिएको हुँदा विमानलाई काठमाडौँ सुरक्षित अवतरण गराइएको छ, उक्त विमानलाई बुद्ध एयरका प्राविधिक टीमले चेकजाँच गरिरहेका छन्’ बुद्ध एयरद्वारा जारी सूचनामा भनिएकोछ । बुद्ध एयरको आजको माउन्टेन फ्लाइटका लागि पाँच उडान निर्धारण गरिएकामा सबै उडान रद्द भएका छन् । टिकट लिएका यात्रुलाई अर्को उडानमा हिमालसम्म लगिने कम्पनीले जनाएको छ । काठमाडौँबाट माउन्टेन फ्लाईटमा गएका विमान हिमाल नदेखिएपछि फर्किएका सूचनाअधिकारी कर्णले बताउनुभयो । हिमाली भेगमा लागेको बाक्लो तुवालोका कारण आज कुनैपनि माउन्टेन फ्लाइट नभएको कम्पनीले जनाएकोछ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकोले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणताय बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ । गण्डकी प्रदेशको थोरै स्थान तथा कोशी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
म्याग्दी: यहाँको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न यहाँ आइरहेका छन् । दसैँसँगै कुण्डमा स्नान गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले बताउनुभयो । “असोज २९ देखि यहाँ दैनिक दुई सयजना बिरामी तथा पर्यटक स्नान गर्न आइरहनुभएको छ,” अध्यक्ष खड्काले भन्नुभयो । उहाँकाअनुसार बिरामीको चाप बढेपछि आजदेखि दैनिक तीन घण्टाका दरले पुरुष र महिलालाई समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको छ । तातोपानी सङ्कलन गरिएको तलाउमा एकपटकमा अधिकतम् चार सय जनाले स्नान गर्न मिल्छ । छोटो समयका लागि स्नान गर्नेलाई मुख्य कुण्ड बाहिर छुट्टै पोखरी बनाइएको छ । तातोपानीको मूलबाट बिरेनुनको गन्धसहित ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको पानी निस्कने प्राकृतिक तातोपानीका कुण्डमा स्नान गरेपछि बाथ, ग्यास्ट्रिक, गानोगोला, ढाड दुख्ने, घुँडा दुख्ने, स्किन एलर्जी, यात्रामा हुने घाउ खटिरा, मर्केको, चर्मरोगदेखि प्यारालाइसिसजस्ता रोग निको हुने विश्वास गरिन्छ । देशका विभिन्न अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय यहाँ आउन थालेका छन् । कुण्डमा हरेक सोमबार हुने सन्ध्याकालीन आरतीले बिरामीलाई आर्कषित गरेको छ । तातोपानीको मुख्य पोखरीमा स्नान गर्न प्रतिव्यक्ति रु तीनसय ५० को टिकट व्यवस्था गरिएको छ । उक्त टिकट खरिद गरेका बिरामीले पालोअनुसार एक हप्तासम्म स्नान गर्न पाउँछन् । मुख्य पोखरी बाहिरको पोखरीमा रु एक सयको टिकटले दुई घण्टा स्नान गर्न पाइन्छ । तातोपानी कुण्डको आम्दानी कुण्ड परिसरका संरचना निर्माण, कर्मचारी व्यवस्थापन, स्थानीय सरस्वती माविका पाँच शिक्षकको तलब÷भत्तामा खर्च गरी नगरपालिकालाई २५ प्रतिशत दिने गरिएको छ । कुण्डमा वार्षिक २० हजार बढी बिरामी स्नान गर्न आउने गरेका छन् । २०४२ सालमा फेला पारिएको तातोपानीको मुहानलाई स्थानीयवासिन्दाले संरक्षणसहित व्यवस्थापन गरी प्रचार गरेपछि अहिले प्राकृतिक उपचार केन्द्रका रुपमा स्थापित भएको हो ।
वीरगञ्ज: वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलकोे आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०/८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् । चालु आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधनको आयातमा कमी आएको भए पनि दुई पाङग्रे सवारीसाधनको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताउनुभयो । चालु आवको भदौ मसान्तसम्ममा रु दुई अर्ब सात करोड ८४ लाख २२ हजार मूल्य पर्ने १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएका छन् । गत आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमा भने एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएका थिए । आव २०८०/८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख चार हजार मूल्य पर्ने १२ लाख ६५ हजार छ सय २७ वटा मोटरसाइकल९मोपेडसहित०को पार्टपूर्जा आयात भएका थिए । चालु आर्थिक वर्षको सोही अवधिमा रु ३४ करोड १७ लाख २२ हजार मूल्य पर्ने १६ लाख ६१ हजार पाँच सय ३१ वटा मोटरसाइकल ९मोपेडसहित०को पार्टपूर्जाहरु आयात भएको छ ।
 
                    
