सहिद सरोजप्रसाद कोइराला नयाँ पुस्तामाझ सायदै चिनिनुभयो । तर नेपालको राजनीतिक इतिहासमा उहाँको नाम एक क्रान्तिकारी योद्धाका रुपमा जीवित छ । नयाँ राजनीतिक पुस्ता उहाँ र उहाँको योगदानबारे खासै परिचित नभए पनि उहाँको राजनीतिक अनि सामाजिक जीवनलाई इतिहास मूल्याङ्कन गरेको छ । पिता भैरवप्रसाद कोइराला र मनोरमादेवीको कोखमा १९८५ सालमा जन्मिनुभएका सरोजप्रसाद कोइराला नाताले बिपी कोइरालाका भतिजा हुनुहुन्थ्यो । उहाँका पिता भैरवप्रसाद कृष्णप्रसाद कोइरालाका जेठा दाजुका छोरा हुनुहुन्थ्यो । राजनीतिमा समकालीन कार्यकर्ताहरूले उहाँलाई ‘सरोजबाबु’ भनेर सम्बोधन गर्थे । नेपालको राजनीतिक इतिहासमा आफैँमा कोइराला परिवार एउटा क्रान्तिकारी राजनीतिक परिवार हो । यो परिवारका हरेक सदस्यहरूले नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा अतुलनीय योगदान गर्नु भएको छ । यही परिवारका केही पुस्ता अहिले पनि नेपाली राजनीतिको शीर्षस्थानमै हुनुहुन्छ । जहाँनिया राणा शासकहरूसँग विद्रोह गरेका कारण कोइराला परिवारको आधा पुस्ता निर्वासित जीवनमै रह्यो । त्यो हिसाबले सारोजप्रसाद कोइरालाको प्रारम्भिक शिक्षादीक्षा पनि भारतको बनारसमै भएको थियो । नेपालमा जहाँनिया राणा शासन अनि भारतमा अङ्ग्रेज शासनविरुद्ध आन्दोलन चलिरहेका बेला जन्मिनुभएका उहाँ कलिलै उमेरदेखि राणा शासकविरुद्ध लाग्नुभएको थियो । बनारसको हरिश्चन्द्र हाइस्कुलमा पढ्दै गरेका सरोजप्रसाद कोइरालाले नेपालमा प्रजातन्त्र स्थापनार्थ सङ्गठित लडाईं लड्नका लागि नेपाली छात्र सङ्घको सदस्यता लिनुभएको थियो । २००३ माघमा कोलकातामा भएको नेपालीको एउटा भेलाले राष्ट्रिय काँग्रेसको स्थापना गरेको थियो । उद्देश्य र लक्ष समान भएपछि नेपाली छात्र सङ्घ पनि राष्ट्रिय काँग्रेसमै समाहित भयो । अहिलेको नेपाली काँग्रेसको प्रारम्भिक जग पनि त्यही राष्ट्रिय काँग्रेस नै हो । खासगरी राणाविरुद्ध अन्तिम लडाईं लड्ने उद्देश्यका साथ काँग्रेसको जन्म भएको थियो । त्यसमा जननायक बिपी कोइराला र गिरिजाप्रसाद कोइराला पनि हुनुहुन्थ्यो । सरोजप्रसाद कोइराला पनि राणाविरुद्धको त्यो क्रान्तिमा उहाँहरूसँगै होमिनुभयो । राष्ट्रिय काँग्रेसले आफ्नो पहिलो आन्दोलनका रुपमा बिराटनगर जुटमिलमा मजदूर बिद्रोह गरेको थियो । मजदूरहरूको हक अधिकारलाई लिएर थालिएको त्यो आन्दोलनको खास उद्देश्य चाहिँ राणा शासकहरूलाई चेतावनी दिनुथियो । त्यो आन्दोलनको नेतृत्व तत्कालीन युवा नेता गिरिजाप्रसादले गर्नु भएको थियो । आन्दोलन चर्किएपछि राणा शासकले त्यसलाई दबाउनका लागि काठमाडौँबाट ठूलो सङ्ख्यामा सेनाको फौज पठाएको थियो । त्यो आन्दोलनका क्रममा बीपी, गिरिजाप्रसाद, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गहेन्द्रहरि शर्मा र युवराज अधिकारी पक्राउ पर्नुभयो । त्यसको विरोधमा मजदूरहरूले सहर र सडकमा निस्केर आन्दोलनलाई झन् चर्काए र आन्दोलन दबाउन गएको सेनाले गोली चलाउँदा केही आन्दोलनकारीको मृत्यु भयो, केही घाइते भए । अब आन्दोलन बिराटनगर मात्रै होइन, देशका विभिन्न जिल्लामा फैलिन थाल्यो । त्यसैक्रममा सरोजप्रसाद कोइरालाले जनकपुर क्षेत्रको आन्दोलनको नेतृत्व गर्नुभयो । त्यसक्रममा उहाँलगायत थुप्रै आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको थियो । केही समयपछि उहाँहरू छुट्नुभयो । तर क्रान्तिकारी जोश ओइलाएको थिएन । उहाँ फेरि राणा शासनविरुद्ध सक्रिय भएर लाग्नुभयो । फेरि राण शासकले उहाँहरूलाई २००४ साल कात्तिकमा पक्राउ गरेर जलेश्वर जेलमा थुनेर राख्यो । उहाँ जेलमै कैद हुनुहुन्थ्यो । यता काँग्रेसले राणाविद्ध अन्तिम सङ्घर्ष सुरु गरेको थियो । २००७ कात्तिक २६ गतेदेखि नेपाली काँग्रेसले राणाविरुद्ध निर्णायक आन्दोलन प्रारम्भ ग¥यो । त्यो आन्दोलनमा सहभागी हुन नपाएकामा जेलभित्रै सरोजप्रसाद कोइराला छट्पटाइरहनु भएको थियो । त्यो छटपटाहटमा उहाँले जेलमै रहेका साथीहरूसँग मिलेर जेलै फोडेर निस्कनुभयो । त्यसपछि फेरि आन्दोलनमा होमिनुभयो । आन्दोलनका क्रममा त्यो बेला नेपाली काँग्रेसले हतियार उठाइसकेको थियो । काँग्रेसका क्रान्तिकारी योद्धाहरू अर्थात मुक्ति सेनाहरूले विभिन्न ठाउँमा रहेका सैनिक र प्रहरीका अड्डाहरू कब्जा गरिरहेका थिए । त्यसैक्रममा मुक्ति सेनाले जनकपुर पनि कब्जा ग¥यो र महेन्द्रनारायण निधिको नेतृत्वमा समानान्तर ‘जनसरकार’ गठन भयो । त्यो जनसरकारमा यातायात मन्त्रीको जिम्मेवारी सरोजप्रसाद कोइरालालाई थियो । यसरी नेपालमा २००७ सालको क्रान्ति सफल भएको थियो । त्यसपछि राणा र काँग्रेस मिलेर अन्तरिम सरकार बनाएका थिए । त्यसको आठ वर्षपछि अर्थात् २०१५ सालमा पहिलोपटक आमचुनाव भयो । त्यो बेला नेपाली काँग्रेसले बहुमत ल्यायो र बिपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुभयो । तर नेपालमा प्रजातन्त्र लामो समय टिक्न सकेन । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जनताबाट प्रजातन्त्र खोसे । जननिर्वाचित प्रधानमन्त्री बिपीसमेत कैयौं नेताहरूलाई जेल हाल्ने क्रम सुरु भयो । कठीन सङ्घर्ष गरेर राणा फालेका नेपालका प्रजातन्त्रप्रेमी नागरिक फेरि राजाको निरङ्कुश पञ्चायतविरुद्ध लड्नुपर्ने अवस्था आयो । यो लडाईंको नेतृत्व पनि नेपाली काँग्रेसले नै गरेको थियो । अनि त्यसको एउटा योद्धा सरोजप्रसाद कोइराला पनि हुनुहुन्थ्यो । पञ्चायतविरुद्ध खासगरी युवा र अझ तराईं मधेसका नागरिकलाई सचेत बनाउँदै सङ्घर्षमा गोलबद्ध गर्नु भएका सरोजप्रसाद कोइराला त्यो बेला पञ्चायती शासक र प्रशासकको आँखाको तारो बन्नुभएको थियो । उहाँहरू कहिले भारत र कहिले नेपालका सिमानाका जिल्लाहरूमा लुकिछिपी पञ्चायती शासकविरुद्ध आन्दोलन गर्दै आउनुभएको थियो । त्यही क्रममा २०३० साल कात्तिक २ गते साँझपखको अँध्यारोमा गोली हानेर उहाँको हत्या गरियो । आन्दोलनकारीका अनुसार दरवारकै इशारामा उहाँलाई पेशेवर निशानावाजहरूले गोली हानेका थिए । यसरी प्रजातान्त्रिक लडाईं लड्दालड्दै उहाँ सहिद हुनुभयो । आन्दोलन मात्रै होइन, नेपाली काँग्रेसको जग निर्माणमा पनि उहाँको बिछट्टै योगदान छ । काँग्रेसको सङ्गठन निर्माणका लागि उहाँले जनताको घरघरमा पुगेर अभियान चलाउनु भएको थियो । तराईलाई नेपाली काँग्रेसको ‘गढ’ बनाउन उहाँको अद्वितीय भूमिका देखिन्छ । राजनीति सँगसँगै उहाँले धेरै सामाजिक कर्महरू पनि गर्नुभएको थियो । त्यो बेला समाजमा कैयांै असमानता र भेद्भावहरू थिए । खासगरी खेती गरिखाने किसानहरू धेरै नै पीडित थिए । खेती लगाउने धेरैजसो जमिन जमिन्दारसँगै हुन्थ्यो तर खेत खोत्ने किसानहरू यति शोषित हुन्थे कि उब्जिएको अन्नबालीको १० भागमा तीन भाग मात्रै किसानले पाउँथे । यस्तो शोषण र असमानता अन्त्य गर्न सरोजप्रसाद कोइरालाले ‘खडेबटैया आन्दोलन’ सुरुवात गर्नुभएको थियो । यो आन्दोलन देशभर नै फैलिएको थियो । यसबारेमा जमिन्दारहरूले शासकहरूलाई कुरा लगाउन थालेका थिए । त्यही बेला उहाँले ‘माथिल्लो जात’बाट भेद्भावको शिकार भएका दलित समुदायलाई माथि उठाउने कार्यको पनि थालनी गर्नुभएको पाइन्छ । दलितलाई समान अधिकारका लागि उहाँले जातीय विभेद्विरुद्ध सबै जातले छोएको पानी खुवाउने अभियान चलाउनु भएको थियो । यसले पनि तत्कालीन समाजमा ठूलै हलचल ल्याएको थियो । समाज सुधारका कतिपय आन्दोलन त्यो बेला बिपी कोइरालाका लागि पनि प्रेरणा भए । २०१६ सालमा बिर्ता, बेठबेगारी प्रथा उन्मूलन गरेको थियो । नेपाली जनताले प्रत्यक्ष दैनिक जीवनमा अनुभूति गर्न सक्ने गरी भएको समाज सुधारको पहिलो कदम थियो त्यो उन्मूलन । बिर्ता र बेठबेगारी प्रथा उन्मूलन गर्न उहाँले निकै योगदान गर्नुभयो । त्यो प्रस्ताव पारित गर्नका लागि बिपी कोइरालालाई अन्तिम समयसम्म सहयोग गर्ने एकजना पात्र सरोजप्रसाद कोइराला पनि हुनुहुन्थ्यो । राजनीति कुनै पद र प्रतिष्ठा प्राप्तिका लागि मात्रै होइन भन्ने मान्यता राख्ने सरोजबाबुले सधैंँ राजनीति जनताका लागि हो भन्ने ठान्नुहुन्थ्यो । राजनीतिमा यति क्रान्तिकारी, निष्ठावान र बलिदानी भावले भरिएको नेता कमै मात्र जन्मिएका छन् । स्मृति दिवसमा सहिद सरोजबाबुप्रति हार्दिक श्रद्धा सुमन ।
काठमाडौं: वैदेशिक रोजगारीमा जानेको संख्या ४.८५ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएको हो । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा कुल एक लाख ७० हजार ५९३ जनाले वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिमा एक लाख ६२ हजार ६९४ जनाले विभागबाट श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा थप सात हजार ८९९ जनाले श्रम स्वीकृति लिएका छन् । विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को साउनमा ५१ हजार ४३० पुरुष र आठ हजार १४५ महिला गरी कुल भदौ ५७ हजार ४९३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । गत भदौ महिनामा ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला गरी कुल ५७ हजार ४९३ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ । असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ महिला गरी कुल ५३ हजार ५२५ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै, गत आर्थिक वर्ष २०८०/०८१ को साउनमा ४७ हजार ८५० पुरुष र सात हजार ७२५ महिला गरी कुल ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए । सोही वर्षको भदौमा ४४ हजार १९७ पुरुष र ६ हजार ६८७ महिला गरी कुल ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएका थिए । गत आर्थिक वर्षको असोजमा ४९ हजार ३९८ जना पुरुष र ६ हजार ८३७ जना महिला गरी ५६ हजार २३५ जनाले श्रम स्वीकृति लिएका थिए ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटबाहेक अरु सबै वडामा भवन निर्माण भएका हुन् । मालिका गाउँपालिका भौतिक तथा पूर्वाधार शाखाका सबइन्जिनियर दीपक सापकोटाका अनुसार सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले रु १८ करोड लागतमा छवटा वडामा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो । अघिल्ला दुई आर्थिक वर्षमा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको हो । केही समयअघि मात्र वडा नं ३ को डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको थियो । स्वास्थ्यचौकी भवन निर्माण गर्न आर्थिक वर्ष २०८१/८२ मा रु एक करोड ४५ लाखको विशेष अनुदान प्राप्त भएको थियो । आव २०८०÷८१ मा रु ८६ लाख ४३ हजार दुई सय ३८ मा ठेक्का सम्झौता गरेको ओमेन ओस्कार निर्माण सेवाले रु ८५ लाख ७३ हजार तीन सय ३५ भुक्तानी पाएको थियो । सात वटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन् । गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको मालिका गाउँपालिकाका सूचना अधिकारी सोमबहादुर केसीले जानकारी दिनुभयो ।
तुलसीपुर: दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना हुने महोतसव संयोजक प्रभात भण्डारीले जानकारी दिनुभयो । महोत्सवमा दाङमा पाइने विभिन्न प्रकारका सर्प प्रदर्शनी र तीबारे जानकारी दिइने संस्थाका अध्यक्ष सन्दीप वलीले बताउनुभयो । सर्पले टोक्दा के गर्ने, के नगर्ने तथा जिल्लामा सर्पको टोकाइको उपचारको अवस्था, प्राथमिक उपचारलगायतका विषयमा पनि सचेतना प्रदान गरिने अध्यक्ष उहाँले बताउनुभयो । महोत्सवमा सर्प विज्ञको पनि सहभागिता रहनेछ । मानिसले सर्पलाई मार्ने क्रम बढेकाले सर्प लोप हुने अवस्थामा रहेको उल्लेख गर्दै उहाँले सर्प लोप हुँदा पर्यावरणमा असर पुग्ने बताउनुभयो । सर्प संरक्षण अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । त्यस अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण र शान्तिनगर गाउँपालिकाका–२० हजारभन्दा बढीलाई सचेतना प्रदान गर्ने लक्ष्य राखिएको छ । महोत्सवमा सर्पसँगै अन्य वन्यजन्तुबारे पनि जानकारी दिइनेछ । दाङमा करिब १५ प्रजातिका सर्प रहेको अनुमान गरिएको छ । तीमध्ये सात प्रजातिका सर्प विशालु भेटिएका छन् ।
प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) का प्रमुख तथा गत वर्ष अक्टोबर ७ मा भएको भयानक आक्रमणका मुख्य योजनाकार याह्या सिनवारको मृत्यु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार राति पुष्टि गर्नुभएको छ । प्रधानमन्त्री नेतन्याहूले आफ्ना सहयोगीलाई हमास प्रमुखको मृत्युबारे इजरायली बन्धकका परिवारलाई जानकारी दिन पनि निर्देशन दिनुभएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले गाजामा आफ्नो कारबाहीका क्रममा तीन जना हमास लडाकू मारिएको पुष्टि गरेको थियो । इजरायली आक्रमणमा मृत्यु भएका तीन लडाकूमध्ये एक हमासका प्रमुख याह्या सिनवार भएको बताइएको छ । आईडीएफले एक्समा एक पोस्ट शेयर गर्दै लेखेको छ, “गाजामा आईडीएफ अपरेसनको क्रममा तीन जना मारिएका थिए । आईडीएफ र आईएसएले आतंकवादीमध्ये एक याह्या सिनवार भएको सम्भावनाको वैज्ञानिक पुष्टि गर्न आवश्यक जाँच भइरहेको छ ।” मङ्गलबार आईडीएफ र शिन बेट सुरक्षा निकायले अक्टोबर ७ मा भएको आक्रमणमा सहभागी हमासका तीन ‘आतङ्ककारी’ हालैका दिनमा भएका हवाई आक्रमणमा मारिएको जनाएको छ । इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाहका अर्का उच्च पदस्थ नेता हसन नसरल्लाहको मृत्यु भएको केही हप्तापछि यो घटना भएको हो । यसअघि हमासका अर्का वरिष्ठ नेता इस्माइल हनियाको इरानमा मृत्यु भएको थियो । तेहरान र हमासले हनियाको मृत्यु भएको घटनामा आक्रमणको आरोप इजरायलमाथि लगाए पनि इजरायलले न त यो आरोप स्वीकारेको छ न त अस्वीकार नै गरेको छ । हालै आईडीएफले गाजामा हमास सरकारका प्रमुख राउही मुश्ताहा र हमासको राजनीतिक ब्युरोमा सुरक्षा जिम्मेवारीे सम्हालेका समेह अल सिराजसहित हमासका उच्च पदस्थ अधिकारीहरूको मृत्यु भएको जनाएको थियो । टाइम्स अफ इजरायलका अनुसार मङ्गलबार आइडीएफले जाबालियामा भएको हवाई आक्रमण र भिडन्तमा हमासका करिब २० जना लडाकू मारिएको जनाएको छ । इजरायली सेनाका अनुसार युद्धका क्रममा सेनाले एउटा हतियार डिपो र अन्य हतियार पनि फेला पारी नष्ट गरेको छ । सेनाले भनेको छ, “यो अभियान आवश्यक भएसम्म जारी रहनेछ र योजनाबद्ध रूपमा आक्रमण र त्यस क्षेत्रमा रहेका आतङ्कवादी संरचनालाई पूर्ण रूपमा नष्ट गरिनेछ।” सोमबार आइडीएफले उत्तरी गाजाका बेइट हनौन, जबालिया र बेइट लहियाका प्यालेस्टिनीहरूलाई गाजाको दक्षिणमा रहेको इजरायलद्वारा निर्दिष्ट मानवीय क्षेत्रमा स्थानान्तरण गर्न आदेश दिएको टाइम्स अफ इजरायलले जनाएको छ।
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो । महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला रु दुई हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६४ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु ३० ले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार भएको आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ ।
काठमाडौं: नेपालले पहिलो टि–२० मा अमेरिकालाई पराजित गरेको छ । डालसस्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा नेपाल १७ रनले विजयी भएको हो । एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रनमा समेटिएको थियो । अमेरिकाका लागि शायन जहानगिरले सर्वाधिक ६० रनको योगदान दिए । उनले ३४ बलमा छ चौका र दई छक्काको सहायाताले ६० रन बनाएका हुन् । आन्द्रेस गौसले ३० रन बनाए भने मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनाङ्क पटेल र आरोन जोन्स तीन–तीन र सैतेजा मुक्कामल्ला दुई रनमा आउट भएका थिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए भने करण केसी, रिजन ढकाल र गुल्सन झाले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै एक सय ६४ रनको योगफल बनाएको थियो । कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन् । अर्का खेलाडी दीपेन्द्रले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन बनाए । आसिफ शेख र अनिल साहले समान २७–२७ रन बनाए भने गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडेका थिए । अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिए भने अली खान र नोष्थुश केङ्जिगेले एक–एक विकेट लिए । अमेरिका र नेपालबीच तीन ट्वान्टी २० खेल आयोजना हुनेछन् । त्यसपछि दुवै टोली आईसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा सहभागी हुनेछन् ।
झापा: मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा भएको उद्धार यात्रामा कोशी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी ४४ जनाको उद्धार गरिएको हो । आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार उद्धार यात्राका क्रममा बिहीबार उदयपुरका विभिन्न स्थानबाट १६ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो । उद्धार गरिएका आठ पुरुष र आठ महिलालाई बिहीबार नै मानव सेवा आश्रमको विराटनगर शाखामा लगिएको छ । असोज २८ गतेदेखि सुरु भएको उद्धार यात्रामा पहिलो दिन झापाबाट १२ जना, दोस्रो दिन मोरङबाट चार जना र तेस्रो दिन सुनसरीबाट १२ जना उद्धार गरिएको थियो । उद्धार यात्रामा गायिका आनीछोइङ डोल्मा र मानवसेवा आश्रमका अध्यक्ष अधिकारीसहित ४७ जना सहभागी हुनुहुन्छ । उद्धार यात्रा ३२ दिनपछि कात्तिक २६ गते सम्पन्न हुनेछ ।
दाङमा टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका ७ निवासी प्रभु चौधरी रहेका छन् । घोराही तापा सडक खण्डअन्तर्गत बंगलाचुली गाउँपालिका ४ जुम्लेपानीमा गए राती रा १ ख १८५७ नम्बरको टिपर दुर्घटनामा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए । प्रहरी नायव उपरीक्षक थापाका अनुसार चुनढुँगा लिउन जान लगेको टिपर घोराही तापा सडक खण्डअन्तर्गत जुम्लेपानीमा टिपर सडकदेखि करिब १०० मिटर तल खसेको थियाे ।
 
                    
