विभिन्न आपराधिक क्रियाकलापमा संलग्न ८ जना पक्राउ

काठमाडाैं | मंसिर ६, २०८१

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न ८ जना पक्राउ फाइल तस्बिर

काठमाडौं:     विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना काठमाडौँबाट पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डरत्रास देखाएर रकम असुल गर्ने, अनलाइन र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तथा बैङ्किङ कसुरमा फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।


प्रहरीले ‘ह्वाट्स एप’मार्फत डरत्रास देखाइ रकम असुली गरेको अभियोगमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाललाई पक्राउ गरेको छ । 


काठमाडौँ उपत्यकाभित्र विभिन्न व्यक्तिलाई ‘अन्डर कभर एजेन्ट’ भनी ज्यान मार्ने धम्की दिई रु ५० हजारदेखि रु २ लाखसम्म रकम माग गरेको आरोपमा प्रहरीले निजलाई शङ्खमुलबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 


अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँ महानगरपालिका–३२ ठेगाना भएका ३७ वर्षीय राजेश श्रेष्ठ हाँडीगाउँबाट पक्राउ परेका छन् । 


निजले सामाजिक सञ्जालमा सम्पर्क गरी विभिन्न बहानामा रु ७ लाख ७५ हजार विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा पठाउन लगाई ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 


यसैगरी आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न मुलुकमा वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन कालिका नगरपालिका–७ ठेगाना भएकी २१ वर्षीया रचना परियार र डोटी बडीकेदार गाउँपालिका–२ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्ने २७ वर्षीय प्रकाशबहादुर रोक्का मगर पक्राउ परेका छन् । 


रचनाले हङ्गेरी पठाइदिन्छु भन्दै दुई जनाबाट रु १८ लाख र प्रकाशले माल्टा पठाइदिन्छु भन्दै एकजनाबाट रु १ लाख लिई सम्पर्कबिहीन भएका थिए । रचनालाई काठमाडौँ महानगरपालिका–१२ बाट र प्रकाशलाई टोखा नगरपालिका–९ बाट पक्राउ गरेको हो ।


उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी नायब महानिरीक्षक कार्कीले बताउनुभयो । 


नक्कली फेसबुक आइडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगीमा संलग्न रहेको अभियोगमा पर्साको वीरगन्ज महानगरपालिका–३१ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–७ बस्ने २१ वर्षीय सुरज पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ । 


निजले फेसबुकबाट दुबईमा वैदेशिक रोजगारका लागि सुवर्ण अवसर छ, भिजिट भिसामा दुबईमा आएर काम गर्न मिल्छ भनी विज्ञापन राखेर पीडितसँग रु २ लाख १५ हजार ठगेको प्रहरीले जनाएको छ । साथै बैंकिङ कसुर मुद्दाका फरार तीनजना प्रतिवादी पक्राउ परेका छन् ।


प्रहरीले बेनी नगरपालिका–९ की ३९ वर्षीया विष्णुमाया केसी, काठमाडौँ महानगरपालिका–१५ का ५६ वर्षीय बालकृष्ण महर्जन र भक्तपुर नगरपालिका–७ का ५२ वर्षीय राजेन्द्र तुईतुईलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी नायब महानिरीक्षक कार्कीले जानकारी दिनुभयो ।  


केसीले पीडितलाई खातामा पर्याप्त रकम मौज्दात नभएको रु १ करोड ५० लाखको चेक दिई फरार भएकी प्रहरीले जनाएको छ ।


महर्जन बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले अघिल्लो जेठ २९ गते ५ दिन कैद, बिगो रु १६ लाख र रु ६४ हजार क्षतिपूर्तिबापत पीडित राहतकोषमा जम्मा गराउने ठहर गरेकामा उनी फरार भएका थिए । 


जिल्ला अदालत काठमाडौँबाट बैंकिङ कसुर मुद्दामा पक्राउपुर्जी जारी भई फरार रहेका तुईतुईलाई प्रहरीले भक्तपुर नगरपालिका–७ बाट पक्राउ गरेको  हो ।

पोखरा:    हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो १६ औं स्थापना दिवस मनाउँदैछ ।    स्थापना दिवसको अवसरमा आयोजित सहकारी संचालकस्तरीय मैत्रीपूर्ण ...

थप पढ्नुहोस्

पोखरामा एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीप शुरु भएको छ ।   पोखरा महानगर क्रिकेट संघको आयोजना तथा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा प्रतियोगिता श...

थप पढ्नुहोस्

पोखरा:   रोटरी क्लब अफ पोखरा न्यूरोडको आयोजना र पोखरा महानगरपालिका वडा नं. २२ को कार्यालयको सहकार्यमा उल्लेरी गाउँका ५० घरपरिवारलाई विद्युतिय चुल्हो सहित आवश्यक भाडाहरु वितरण गरेको छ । &n...

थप पढ्नुहोस्