हेटौँडा:  पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घटनामा सहचालक घाइते भएका छन् । भारतको ...

बाँके:    बाँकेका विभिन्न अस्पतालमा रगतको अभाव हटाउन यहाँ दिनहुँजसो रक्तदान हुन थालेको छ ।  रगतको मौज्दाद नहुँदा बाँकेमा रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घसंस्थाको अग्रसरतामा रक्तदान हुन थालेको नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ । केही दिनयता विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरेकाले रगतको अभाव नभएको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले तत्काल रगतको अभाव नभए पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम नगर्दा समस्या आउने देखिएको छ, त्यसैले रक्तदान भइरहेको छ ।” प्रमुख रेग्मीले नेपालगञ्ज मेडिकल सहरका रूपमा रुपान्तरण भएको उल्लेख गर्दैै रेडक्रसका खजुरा, कोहलपुर, नेपालगञ्ज कार्यालयबाट दैनिक ७० देखि ८० पिन्ट रगतको माग हुने गरेको बताउनुभयो ।  जिल्लामा सिकलसेल, थालसेमियालगायत बिरामीलाई रगत आवश्यक पर्ने भएका कारण बाँकेमा रगतको मागअनुसार आपूर्ति नभएको उहाँको भनाइ छ । विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम गर्ने जानकारी दिएकाले केही दिन माग धान्न सकिने जानकारी दिँदै प्रमुख रेग्मीले विभिन्न समूहको गरी करिब ५० पिन्ट बढी रगत मौज्दातमा नरहेको बताउनुभयो ।  जिल्लाका विभिन्न अस्पतालमा सोभन्दा बढी रगत आवश्यक पर्ने गरेकाले पूरा गर्न नसकिने हुँदा समस्या चर्किँदै गएको बताइएको छ । मानव धर्म सेवा समाज, जनमत अर्ध साप्ताहिक, खजुराको धवलागिरि विद्यालय, संविधान दिवसमा कर्मचारी, असोज ४ गते लायन्स क्लबले रक्तदान गर्न लागिएको छ । रक्तदान गर्नेले केन्द्रमा आवश्यक समूहको रगत नरहेमा रक्तदान गर्दा पनि माग गरेको समूहका रगत पाउने अवस्था नरहेको बताइएको छ । यसले सामाजिक सञ्जालमा पछिल्ला दिनमा रगत समूह उल्लेख गरेर रक्तदानको आह्वान गरिएको रक्तसञ्चार केन्द्रले जनाएको छ ।  त्रैमासिक रूपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आउनुभएका जनमत अर्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले रक्तसञ्चार केन्द्र पुग्दा रगतको अभाव रहेको औँल्याउँदै केही दिनअघि रक्तदान गरेर ४० पिन्ट रगत सङ्कलन गरेको बताउनुभयो ।  उहाँले रगतको अभाव हटाउन पुनः सङ्घसंस्थासँग समन्वय गरेर रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो । सो रक्तसञ्चार केन्द्रले नेपालगञ्ज, कोहलपुर र खजुराका अस्पतालमा रगत उपलब्ध गराउँदै आएको छ । 

घोराही:  दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।   जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो ।   राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरी विगत चार वर्षदेखि केराखेती गर्दै आउनुभएको छ ।   तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केराखेतीमा लाग्नुभएका उहाँले वार्षिक रु १३/१४ लाख बराबरको केरा बिक्री गर्दै आएको बताउनुहुन्छ ।   केराखेतीबाट राम्रो आम्दानी लिँदै आउनुभएका किसान चौधरी भन्नुहुन्छ, “अन्य कृषि व्यवसायको तुलनामा केराखेतीले राम्रै आम्दानी दिने गरेको छ । खासै मेहनत पनि गर्न पर्दैन ।” रोपेपछि समय–समयमा गोडमेलसँगै पानी र मलको व्यवस्था गर्नुपर्ने भए पनि अन्य बालीजस्तो मेहनत गर्न नपर्ने उहाँ बताउनुहुन्छ ।   उहाँ अन्य कृषिबालीजस्तो जोखिम नहुने र परिवारसँग घरमा बसेर राम्रो आम्दानी गर्न सकिने भएकाले केराखेतीबाट सन्तुष्ट रहेको र आगामी दिनमा खेतीलाई बढाउँदै लैजाने तयारीमा रहेको बताउनुहुन्छ । किसान चौधरीले भन्नुभयो, “उत्पादन भएको केरा बिक्रीमा समस्या छैन, अहिलेसम्म उत्पादन भएको केरा व्यवसायीले बारीबाटै लग्ने गरेका छन् ।”   भारतबाट आउने केराले स्थानीय व्यवसायीलाई असर गर्ने गरे पनि जिल्लामा थोरै उत्पादन हुने गरेकाले अझै त्यो खालको समस्या बेहोर्नु नपरेको उहाँ बताउनुहुन्छ । उहाँजस्तै सोही ठाउँका रणप्रसाद सुवेदीले पनि छ बिघा जमिनमा व्यावसायिक केराखेती गर्दै आउनुभएको छ ।   अन्य कृषि बालीको तुलनामा कम मेहनतमै राम्रो आम्दानी लिन सकिने भएकाले विगत तीन वर्षदेखि व्यावसायिक केराखेतीमा जोडिनुभएको हो । केराखेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नदेखिएकाले धानखेती हुने जमिन मासेर केराखेतीमा लागेको बताउनुभयो । थोरै लगानीमा एक्लै गर्न सकिने र रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले केराखेतीमा लागेको बताउनुहुन्छ ।   उत्पादन भएको केरा अहिले बिक्रीको समस्या नभएको भन्दै सुवेदीले भन्नुभयो, “केराको बिक्रीमा पनि समस्या छैन । उत्पादन भएको केरा राम्रै मूल्यमा बिक्री हुने गर्छ ।”   कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा छ सय ७० हेक्टर जमिनमा व्यावसायिक केराखेती हुने गरेको छ ।   त्यसमध्ये पाँच सय ३० हेक्टरमा रोपेको केराले वार्षिक चार हजार पाँच सय ३५ मेट्रिक टन उत्पादन दिने गरेको छ । यो उत्पादनले अन्य समयमा बजारको करिब ६० प्रतिशत माग धान्ने गरे पनि चाडपर्वमा बाहिरी जिल्लाकै भर पर्नुपर्ने अवस्था रहेको कृषि अर्थविज्ञ लामिछाने बताउनुहुन्छ ।   जिल्लामा देउखुरीको राप्ती, गढवा गाउँपालिकासँगै घोराही उपमहानगरपालिका, शान्ति नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक केराखेती हुने गरेको छ ।

चितवन:   नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ ।  आइतबार राती करिब ७:२० बजे ईच्छाकामना गाउँपालिका-६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भाँसिएको थियो ।  सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो ।  रातीदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०:४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।  

काठमाडौं:    पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपद्बाट हुने मानवीय क्षतिका घटनामा  बढोत्तरी भएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गतको जेठ २८ गतेदेखि यही भदौ तेस्रो हप्तासम्मको ९० दिनमा मनसुनजन्य घटनाबाट दुई सय २५ जनाको मृत्यु भएको पाइएको हो । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले सो अवधिमा ४९ जना बेपत्ता र दुई सय ८४ जना घाइते भएको जानकारी दिनुभयो । प्रभावित परिवारको सङ्ख्या भने अलि कम रहेको पाइएको छ ।  प्राधिकरणले ९० दिन ९जेठ २८– भदौ २२०सम्मको अवस्था प्रतिवेदन आइतबार सार्वजनिक गर्दै मनसुनजन्य विपद् प्रभावित परिवार सङ्ख्या चार हजार छ सय १५ पुगेको जानकारी गराएको छ ।   गत वर्ष यसै अवधिमा मनसुन सुरु भएको ९० दिनको अवधिमा ८५ जनाको मृत्यु, २९ जना बेपत्ता, एक सय २६ जना घाइते भएका थिए । विपद् प्रभावितको परिवारको सङ्ख्या भने छ हजार ३० रहेको थियो । यो मनसुनमा मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ जना र सबैभन्दा कम मधेस प्रदेशमा पाँच जनाको मृत्यु भएको छ ।  यस वर्ष मनसुनजन्य विपद्मध्ये सबैभन्दा धेरै पहिरोबाट एक सय ३५ जना र सबैभन्दा कम भारी वर्षाबाट एक जनाको मृत्यु भएको पनि प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै बाढीबाट ४९ र चट्याङबाट ४० जनाले ज्यान गुमाएका छन् । गत असार २८ गते चितवनको भरतपुर महानगरपालिकाको सिमलतालमा गेग्ग्रान बहाबमा परी दुई बसका ६२ जना यात्रु त्रिशूली नदीमा बेपत्ता भएकामा २४ जनाको शव फेलापरेको जानकारी गराइएको छ ।  कञ्चनपुरको दोधारा चाँदनीमा ऐतिहासिक वर्षा भएको उल्लेख छ । त्यहाँ जल मापनको ७७ वर्षको इतिहासमा सबैभन्दा धेरै छ सय २४ मिलीमिटर वर्षा भएको थियो । 

काठमाडौँ:   पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपद्बाट हुने मानवीय क्षतिका घटनामा  बढोत्तरी भएको छ ।    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गतको जेठ २८ गतेदेखि यही भदौ तेस्रो हप्तासम्मको ९० दिनमा मनसुनजन्य घटनाबाट दुई सय २५ जनाको मृत्यु भएको पाइएको हो ।   प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले सो अवधिमा ४९ जना बेपत्ता र दुई सय ८४ जना घाइते भएको जानकारी दिनुभयो ।   प्रभावित परिवारको सङ्ख्या भने अलि कम रहेको पाइएको छ । प्राधिकरणले ९० दिन (जेठ २८– भदौ २२) सम्मको अवस्था प्रतिवेदन आइतबार सार्वजनिक गर्दै मनसुनजन्य विपद् प्रभावित परिवार सङ्ख्या चार हजार छ सय १५ पुगेको जानकारी गराएको छ ।    गत वर्ष यसै अवधिमा मनसुन सुरु भएको ९० दिनको अवधिमा ८५ जनाको मृत्यु, २९ जना बेपत्ता, एक सय २६ जना घाइते भएका थिए ।   विपद् प्रभावितको परिवारको सङ्ख्या भने छ हजार ३० रहेको थियो । यो मनसुनमा मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ जना र सबैभन्दा कम मधेस प्रदेशमा पाँच जनाको मृत्यु भएको छ ।    यस वर्ष मनसुनजन्य विपद्मध्ये सबैभन्दा धेरै पहिरोबाट एक सय ३५ जना र सबैभन्दा कम भारी वर्षाबाट एक जनाको मृत्यु भएको पनि प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै बाढीबाट ४९ र चट्याङबाट ४० जनाले ज्यान गुमाएका छन् ।   गत असार २८ गते चितवनको भरतपुर महानगरपालिकाको सिमलतालमा गेग्ग्रान बहाबमा परी दुई बसका ६२ जना यात्रु त्रिशूली नदीमा बेपत्ता भएकामा २४ जनाको शव फेलापरेको जानकारी गराइएको छ ।   कञ्चनपुरको दोधारा चाँदनीमा ऐतिहासिक वर्षा भएको उल्लेख छ । त्यहाँ जल मापनको ७७ वर्षको इतिहासमा सबैभन्दा धेरै छ सय २४ मिलीमिटर वर्षा भएको थियो ।   

पोखरा:   नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार महिलाका निम्ति पुरस्कार स्थापना गरेको छ । पोखराका वरिष्ठ उद्योगपति, समाजसेवी एवं पूर्व मन्त्री हरि पाण्डेले उक्त पुरस्कारका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका हुन् ।  महासंघ कास्की शाखाले संचालन गर्ने गरी मातृसेवा प्रतिष्ठान नेपालले ‘डा. शान्ति स्मृति महिला पत्रकारिता पुरस्कार’ कास्कीमा क्रियाशील पत्रकार महिलालाई वितरण गरिनेछ ।   यसबारे पत्रकार महासंघ कास्कीको आइतबार बसेको कार्यसमिति बैठकले निर्णय गरेको हो । पुरस्कार स्थापनबारे छिट्टै एक कार्यक्रम गरी घोषणा गरिने जनाइएको छ ।    हरि पाण्डे र उनकी धर्मपत्नी तुलसा पाण्डेकी साहिली सुपुत्री डा. शान्तिको २०६१ सालमा पोखरामा स्कुटर दुर्घटनामा मृत्यु भएको थियो । पाण्डे दम्पतीको आफ्नी छोरीको स्मृतिमा प्राविधिक विषयमा उच्च शिक्षा पढ्न महिलाका लागि विभिन्न छात्रवृत्ति समेत वितरण गर्दै आएको छ ।    महासंघ कास्की अध्यक्ष विमला भण्डारी नेतृत्वको टिमले पुरस्कार स्थापनाका लागि पाण्डेसँग प्रस्ताव गरेको थियो । पत्रकार महासंघ कास्की शाखाले बर्सेनि वितरण गर्ने करिब एक दर्जन पुरस्कारमा महिलाका लागि मात्र भनेर यसअघि कुनै पनि पुरस्कार थिएनन् । मिडिया क्षेत्रमा पत्रकार महिलाको संख्या कम्ती रहेको र यस क्षेत्रमा उनीहरुलाई टिकाइराख्न पुरस्कारले प्रोत्साहन मिल्ने अध्यक्ष भण्डारीले बताइन् । आफ्नो कार्यकाल समाप्ति हुँदै गर्दा कम्तीमा पत्रकार महिलाका लागि पुरस्कार स्थापना हुनु गर्वको विषय भएको उनको भनाइ छ ।   हाल ५ लाख बराबरको अक्षयकोष स्थापना गरी हरेक वर्ष २५ हजार ५ सय ५५ रुपैयाँ राशिको पुरस्कार वितरण गरिने महासंघ कास्कीले जनाएको छ ।   कास्की जिल्लालाई कार्यक्षेत्र बनाई पत्रकार महासंघको सदस्य प्राप्त गरेको कम्तीमा १० वर्ष वा पत्रकारिता पेसामा १२ वर्षसम्म क्रियाशील पत्रकार महिलाले यो पुरस्कार प्राप्त गर्ने छन् ।   जसमा पत्रकारिता माध्यमबाट महिला सशक्तीकरण र स्वास्थ्य क्षेत्रमा योगदान गरेको व्यक्तिलाई योग्य ठानिने प्रारम्भिक कार्यविधि छ ।   उक्त पुरस्कार महासंघ स्थापना दिवस १६ चैत वा शान्ति पाण्डेको स्मृति दिवसमा एक समारोह आयोजना गरी वितरण गरिनेछ ।    महासंघ कास्कीले वितरण गर्ने जगन्नाथ सिग्देल युवा पत्रकारिका पुरस्कारको अक्षयकोष राशिमा ५ लाख रकम थप गर्ने निर्णय भएको छ । यसअघि ५ लाख रुपैयाँ रहेकोमा बढेर १० लाख पुगेको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालनमा ल्याएको छ ।   घरपझोङको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो सुविधाबाट सो अभियान सञ्चालन गर्नुभएको हो ।   अध्यक्षको तलब सुविधाबापतको रकमबाट ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो ।   “पाँच वडा रहेको घरपझोङको सबै बस्तीलाई रातको समयमा उज्यालो बनाउन अध्यक्षले पाउने सेवा सुविधाबापतको रकमबाट ‘स्टेप लाइट’ किनेर विद्युत्को पोलमा जडान गरिएको छ”, उहाँले भन्नुुभयो, “वडा नं १ को छैरो, चिमाङ र वडा नं ३ को पुथाङ एयरपोर्टबाहेकका धेरै ठाउँमा सडकबत्ती जडान भएको छ ।” ठिनी, जोमसोम, एक्केभट्टी, स्याङ र मार्फामा बत्ती जडान गरेर रातको समयमा झिलीमिली बनाइएको छ । सडकबत्तीको महसुल गाउँपालिकाले ब्यहोर्ने निर्णय भएको छ ।   घरपझोङका बस्ती रातको समयमा झलमल्ल र मनमोहक देखिन्छन् । बाँकी ठाउँमा पनि बत्ती जडानको तयारी गरेको अध्यक्ष लालचनले बताउनुभयो । पर्यटकीय बस्तीको सौन्दर्यकरण र सुरक्षाका लागि चुनावको समयमा गरेको प्रतिबद्धताअनुसार सडकबत्ती जडान गरेको लालचनले बताउनुभयो ।   “मैले जनप्रतिनिधिको हैसियतमा प्राप्त गर्ने सेवा सुुविधाबापतको रकमलाई कार्यपालिकाको बैठकले गर्ने निर्णयानुसार आवश्यक ठाउँ र योजनामा खर्च गरेको छु”, उहाँले भन्नुभयो, “निर्वाचित भएको करिब साढे दुई वर्षको अवधिमा करिब रु छ लाख सामाजिक क्षेत्रमा खर्च भएको छ ।”   व्यावसायिक पृष्ठभूमिका लालचन नेपाली कांग्रेसबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बन्नुभएको थियो । गण्डकी प्रदेशका गाउँपालिकाका अध्यक्षले मासिक रु ३६ हजार दुई सयका दरले पारिश्रमिक पाउने नीतिगत व्यवस्था छ । घरपझोङका सबै बस्तीको डाँडामा विद्युतीय होडिङ बोर्ड राख्न थालिएको छ ।   बेनी–जोमसोम–कोरला सडक र पोखरा–जोमसोम हवाई उडानका क्रममा देखिने गरेर मार्फा र स्याङमा मेटलको विद्युतीय होडिङ बोर्ड राखिएको छ । जोमसोम र ठिनीमा पनि सो बोर्ड राखिने गाउँपालिकाले जनाएको छ । गाउँको पहिचानका साथै पाहुनाहरूले चिन्न सजिलो हुने अपेक्षा गरिएको छ ।   अध्यक्ष लालचनले सेवा सुविधाबापत पाएको रकमबाटै जोमसोममा रहेको मातृचक्रलाई रङरोगन र व्यवस्थापन गरिएको छ ।   करिब २० वर्षअघि एक जना जर्मन नागरिकले ढुङ्गाको पर्खाल चिनेर गोलो आकारको बनाएका थिए । मातृचक्रलाई गाउँपालिकाले आमाको गर्भमा हुँदाको कल्पना गर्न मिल्ने गरी घुम्ने र आमाको सम्मान गर्ने ठाउँको रुपमा विकास गर्न खोजेको जनाएको छ ।

ढोरपाटन:   स्थानीय तह स्थापना हुनुपूर्व बागलुङका अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन । तर अहिले सडक नपुगेको बस्ती नै छैनन् ।   गाउँ–गाउँसम्म सडक पुगेपछि नागरिकलाई सुविधा त दिएको छ, तर अव्यवस्थित रूपमा निर्माण भएका मोटर बाटोले कयौँलाई उठिबाससमेत लगाएको छ । बर्सेनि जिल्लाका १० वटै स्थानीय तहले सडक निर्माणका लागि करोडौँ रकम विनियोजन गर्दै आएका छन् ।   अग्ला–अग्ला पहाडको शिरमा रहेका बस्तीसम्म सडक पुर्याउँदा त्यसले पर्यावरणमा पर्ने असरका बारेमा भने कसैको ध्यान पुग्न सकेको छैन । स्थानीय तहले हिउँदका समयमा धमाधम सडक निर्माण गर्छन् । बर्खाको समय ती सडक बाढी र पहिरोले बगाउँदा ठूलो क्षति पुर्याउँदै आएको छ ।   गत साउन २२ गते बडिगाड गाउँपालिका–९ र १० का विभिन्न स्थानमा आएको बाढीपहिरोले ११ जनाको निधन भयो । धेरै मानिस घाइते भए ।   करिब ८० घर विस्थापित हुनुपरेको छ । गाउँमा पहिरो आउनु अव्यवस्थित सडक निर्माण भएको धेरैले आकलन गरेका छन् । बडिगाडमात्र नभएर निसीखोला गाउँपालिका–१ को हुल्दी गाउँ नै सात वर्ष अगाडिदेखि पहिरोको उच्च जोखिममा परेको छ ।   गाउँको अवस्था नबुझी जथाभावी सडक निर्माण गर्दा पहिरोले सिङ्गो गाउँले जोखिम मोलेर बस्नुपर्ने अवस्था छ । जिल्लाको ढोरपाटन, जैमिनी, गलकोट, बागलुङ नगरपालिका, काठेखोला, तमानखोलासहित सबै पालिकामा यस वर्ष पहिरोले ठूलो क्षति गरेको छ ।   पहिरोले क्षति पुर्याएको अधिकांश स्थान मोटर बाटोको छेउछाउ रहेका छन् ।   बिनाइन्जिनियरिङ निर्माण भएका सडकले गाउँघरको सुन्दरतालाई कुरुप बनाउनुका साथै पर्यावरणमा पनि नकरात्मक असर पुर्याएको छ । अव्यवस्थित सडक निर्माण हुँदा पानीका मुहान सुक्ने र मौलिक सम्पदा मासिने गरेको गलकोटका प्रेमबहादुर खत्रीले बताउनुभयो ।   हिउँदा करोडौँ लगानी गरेर सडक निर्माण गर्ने तर बर्खामा सञ्चालन हुन नसक्ने उहाँको भनाइ छ ।   खत्रीले भन्नुभयो, “धेरैजसो स्थानीय तहले सबैभन्दा बढी बजेट सडक निर्माण खर्च गर्छन्, ती सडक गुणस्तरीय बन्न सकेका छैनन्, अझ गाउँमा निर्माण भएका सडक त बिनाइन्जिनियरिङ खनिएका छन्, बर्खामा गाउँबाट बजार झर्नुपर्यो भने हिँड्नुपर्छ, सबै सडक बन्द हुन्छन्, हिउँदमा मात्र चल्ने बर्खामा नचल्ने धेरै सडक अव्यवस्थित छन् ।”   तमानखोलाका मकरबहादुर सिर्पालीले दुई–चार घर भएको ठाउँमा स्थानीय सरकारले लाखौँ रकम खर्च गरेर सडक पुर्याउने गरेको भन्दै त्यसले फाइदाभन्दा बढी बेफाइदा गरेको बताउनुभयो ।   पालिकाभित्र करिब ५० बढी सडक भएको तर बर्खामा कुनैमा पनि गाडी नचल्दा नागरिकले सास्ती खेप्नुपरेको उहाँले गुनासो पोख्नुभयो । उपभोक्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिनानापजाँच खनिएको हुँदा गाडी गुड्ने मोडिने घुम्तीसमेत नमिलेको हुने उहाँको भनाइ छ ।   गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले ग्रामीण सडकलाई व्यवस्थित बनाउन थालेको बताउनुभयो । विसं २०७३ अगाडि नै नगरपालिकाभित्र तीन सय ३० किलोमिटर ग्रामीण सडक निर्माण भएको र नगरपालिकाको स्थापनादेखि हालसम्म सात वर्षमा एक सय ५७ किलोमिटर नयाँ सडक निर्माण भएको भन्दै ती सबै सडकलाई व्यवस्थित बनाउन थालेको उहाँको भनाइ छ ।   नगरपालिकाभर नयाँ तथा पुराना गरी चार सय ८७ किलोमिटर ग्रामीण सडक रहेको हुँदा नयाँ ट्रयाक खोल्न बन्द गरी पुरानालाई स्तरोन्नति गर्ने उहाँ बताउनुहुन्छ ।   “जिल्लामा धेरै ठाउँ अव्यवस्थित सडक निर्माण गरियो, धेरै सडक बनाइयो भनेर गुनासो बढेको छ, तर हामीहरूले नागरिकको आवश्यतालाई मध्यनजर गरी सडक निर्माण गरेका छौँ, गलकोट क्षेत्रमा धेरै वर्ष अगाडिदेखि नै सडक खुल्न थालेका थिए, नगरपालिका स्थापना भएर जनप्रतिनिधि आएपछि सुरुका वर्षदेखि सडकमा लगानी पनि गरिएको थियो”, प्रवक्ता भण्डारीले भन्नुभयो, “अब करिब–करिब धेरै बस्तीमा सडक पुगिसकेको हुँदा नयाँ ट्रयाक नखोल्ने योजना बनाएका छौँ, अतिआवश्यक परेका ठाउँमा ट्रयाक खोल्नै परे खोलिने छ नत्र स्तरोन्नतिमा ध्यान दिनेछौँ ।”

पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनबाट अध्यक्ष पदमा गोकर्ण कार्की निर्वाचित भएका छन् ।    प्यानल खडा गरेर नेतृत्व सम्हालेका अध्यक्ष पदका प्रत्यासी अर्जुन पोखरेललाई ४ सय ५८ मतान्तरले पराजित गर्दै कार्की चुनिए ।   आइतबार साँझ भएको मतपरिणाम अनुसार कार्कीले कुल १ हजार ३ सय ३९ मत पाए भने,  पोखरेलले ८ सय ८१ मत प्राप्त गरेका थिए ।   शनिबार भएको मतदानमा कुल २२५१ मत खसेको थियो । यस्तै उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका सुदीप प्रधानाङ्ग (११ सय ७७ मत) निर्वाचित भए । उनले पोखरेल प्यानलका बालकृष्ण कोइराला (१ हजार ४७ मत )लाई हराए ।   यसैगरी, खुला १० सदस्यमा पोखरेल प्यानलबाट ८ जना निर्वाचित भए भने २ जना स्वतन्त्र उम्मेदवारी दिएका चुनिए ।   पोखरेलको प्यानलबाट देवेन्द्र प्रजू १५१६, ललितबहादुर कुँवर १५३९, सौगात थापा १४९४, दूधमान गुरुङ (आशीष) १४६८, भीम गौतम १४३९, टीकाराम सुवेदी (माधव) १३९४, जीवनप्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे) १३७५ निर्वाचित भए ।   यस्तै स्वतन्त्र उम्मेदवारी दिएका प्रदीपराज भण्डारी १३७० र यादवप्रसाद पोखरेल १३०० मतसहित निर्वाचित भए ।   यसअघि, वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोज श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका थिए ।