ढोरपाटन: स्थानीय तह स्थापना हुनुपूर्व बागलुङका अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन । तर अहिले सडक नपुगेको बस्ती नै छैनन् । गाउँ–गाउँसम्म सडक पुगेपछि नागरिकलाई सुविधा त दिएको छ, तर अव्यवस्थित रूपमा निर्माण भएका मोटर बाटोले कयौँलाई उठिबाससमेत लगाएको छ । बर्सेनि जिल्लाका १० वटै स्थानीय तहले सडक निर्माणका लागि करोडौँ रकम विनियोजन गर्दै आएका छन् । अग्ला–अग्ला पहाडको शिरमा रहेका बस्तीसम्म सडक पुर्याउँदा त्यसले पर्यावरणमा पर्ने असरका बारेमा भने कसैको ध्यान पुग्न सकेको छैन । स्थानीय तहले हिउँदका समयमा धमाधम सडक निर्माण गर्छन् । बर्खाको समय ती सडक बाढी र पहिरोले बगाउँदा ठूलो क्षति पुर्याउँदै आएको छ । गत साउन २२ गते बडिगाड गाउँपालिका–९ र १० का विभिन्न स्थानमा आएको बाढीपहिरोले ११ जनाको निधन भयो । धेरै मानिस घाइते भए । करिब ८० घर विस्थापित हुनुपरेको छ । गाउँमा पहिरो आउनु अव्यवस्थित सडक निर्माण भएको धेरैले आकलन गरेका छन् । बडिगाडमात्र नभएर निसीखोला गाउँपालिका–१ को हुल्दी गाउँ नै सात वर्ष अगाडिदेखि पहिरोको उच्च जोखिममा परेको छ । गाउँको अवस्था नबुझी जथाभावी सडक निर्माण गर्दा पहिरोले सिङ्गो गाउँले जोखिम मोलेर बस्नुपर्ने अवस्था छ । जिल्लाको ढोरपाटन, जैमिनी, गलकोट, बागलुङ नगरपालिका, काठेखोला, तमानखोलासहित सबै पालिकामा यस वर्ष पहिरोले ठूलो क्षति गरेको छ । पहिरोले क्षति पुर्याएको अधिकांश स्थान मोटर बाटोको छेउछाउ रहेका छन् । बिनाइन्जिनियरिङ निर्माण भएका सडकले गाउँघरको सुन्दरतालाई कुरुप बनाउनुका साथै पर्यावरणमा पनि नकरात्मक असर पुर्याएको छ । अव्यवस्थित सडक निर्माण हुँदा पानीका मुहान सुक्ने र मौलिक सम्पदा मासिने गरेको गलकोटका प्रेमबहादुर खत्रीले बताउनुभयो । हिउँदा करोडौँ लगानी गरेर सडक निर्माण गर्ने तर बर्खामा सञ्चालन हुन नसक्ने उहाँको भनाइ छ । खत्रीले भन्नुभयो, “धेरैजसो स्थानीय तहले सबैभन्दा बढी बजेट सडक निर्माण खर्च गर्छन्, ती सडक गुणस्तरीय बन्न सकेका छैनन्, अझ गाउँमा निर्माण भएका सडक त बिनाइन्जिनियरिङ खनिएका छन्, बर्खामा गाउँबाट बजार झर्नुपर्यो भने हिँड्नुपर्छ, सबै सडक बन्द हुन्छन्, हिउँदमा मात्र चल्ने बर्खामा नचल्ने धेरै सडक अव्यवस्थित छन् ।” तमानखोलाका मकरबहादुर सिर्पालीले दुई–चार घर भएको ठाउँमा स्थानीय सरकारले लाखौँ रकम खर्च गरेर सडक पुर्याउने गरेको भन्दै त्यसले फाइदाभन्दा बढी बेफाइदा गरेको बताउनुभयो । पालिकाभित्र करिब ५० बढी सडक भएको तर बर्खामा कुनैमा पनि गाडी नचल्दा नागरिकले सास्ती खेप्नुपरेको उहाँले गुनासो पोख्नुभयो । उपभोक्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिनानापजाँच खनिएको हुँदा गाडी गुड्ने मोडिने घुम्तीसमेत नमिलेको हुने उहाँको भनाइ छ । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले ग्रामीण सडकलाई व्यवस्थित बनाउन थालेको बताउनुभयो । विसं २०७३ अगाडि नै नगरपालिकाभित्र तीन सय ३० किलोमिटर ग्रामीण सडक निर्माण भएको र नगरपालिकाको स्थापनादेखि हालसम्म सात वर्षमा एक सय ५७ किलोमिटर नयाँ सडक निर्माण भएको भन्दै ती सबै सडकलाई व्यवस्थित बनाउन थालेको उहाँको भनाइ छ । नगरपालिकाभर नयाँ तथा पुराना गरी चार सय ८७ किलोमिटर ग्रामीण सडक रहेको हुँदा नयाँ ट्रयाक खोल्न बन्द गरी पुरानालाई स्तरोन्नति गर्ने उहाँ बताउनुहुन्छ । “जिल्लामा धेरै ठाउँ अव्यवस्थित सडक निर्माण गरियो, धेरै सडक बनाइयो भनेर गुनासो बढेको छ, तर हामीहरूले नागरिकको आवश्यतालाई मध्यनजर गरी सडक निर्माण गरेका छौँ, गलकोट क्षेत्रमा धेरै वर्ष अगाडिदेखि नै सडक खुल्न थालेका थिए, नगरपालिका स्थापना भएर जनप्रतिनिधि आएपछि सुरुका वर्षदेखि सडकमा लगानी पनि गरिएको थियो”, प्रवक्ता भण्डारीले भन्नुभयो, “अब करिब–करिब धेरै बस्तीमा सडक पुगिसकेको हुँदा नयाँ ट्रयाक नखोल्ने योजना बनाएका छौँ, अतिआवश्यक परेका ठाउँमा ट्रयाक खोल्नै परे खोलिने छ नत्र स्तरोन्नतिमा ध्यान दिनेछौँ ।”
पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनबाट अध्यक्ष पदमा गोकर्ण कार्की निर्वाचित भएका छन् । प्यानल खडा गरेर नेतृत्व सम्हालेका अध्यक्ष पदका प्रत्यासी अर्जुन पोखरेललाई ४ सय ५८ मतान्तरले पराजित गर्दै कार्की चुनिए । आइतबार साँझ भएको मतपरिणाम अनुसार कार्कीले कुल १ हजार ३ सय ३९ मत पाए भने, पोखरेलले ८ सय ८१ मत प्राप्त गरेका थिए । शनिबार भएको मतदानमा कुल २२५१ मत खसेको थियो । यस्तै उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका सुदीप प्रधानाङ्ग (११ सय ७७ मत) निर्वाचित भए । उनले पोखरेल प्यानलका बालकृष्ण कोइराला (१ हजार ४७ मत )लाई हराए । यसैगरी, खुला १० सदस्यमा पोखरेल प्यानलबाट ८ जना निर्वाचित भए भने २ जना स्वतन्त्र उम्मेदवारी दिएका चुनिए । पोखरेलको प्यानलबाट देवेन्द्र प्रजू १५१६, ललितबहादुर कुँवर १५३९, सौगात थापा १४९४, दूधमान गुरुङ (आशीष) १४६८, भीम गौतम १४३९, टीकाराम सुवेदी (माधव) १३९४, जीवनप्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे) १३७५ निर्वाचित भए । यस्तै स्वतन्त्र उम्मेदवारी दिएका प्रदीपराज भण्डारी १३७० र यादवप्रसाद पोखरेल १३०० मतसहित निर्वाचित भए । यसअघि, वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोज श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका थिए ।
लमजुङ: पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले पहिरो जाँदा आइतबार साँझदेखि सडक अवरुद्ध भएको थियो । पानी निरन्तर रूपमा परिरहे पनि दुईवटा जेसिबीले सो स्थानमा खसेको विभिन्न ठाउँको पहिरो हटाएसँगै आज बिहानबाट सवारीसाधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले सडक अवरुद्ध बनाएसँगै बेँसीसहरबाट काठमाडौं, तनहुँ, पोखरा जाँदै गरेका र सो स्थानबाट बेँसीसहर आउँदै गरेका सवारीसाधन सो स्थानमा अलपत्र परे पनि अहिले गन्तव्यतर्फ गइरहेको प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले बताउनुभयो । विगत तीन वर्षदेखि निरन्तर बर्सेनि वर्षायाममा सबैभन्दा बढी सो स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनाउँदै आउँदा यात्री समस्यामा पर्दै आएका छन् । मनाङवासी, बेँसीसहरलगायत स्थानीय, सङ्घीय राजधानी काठमाडौँ र प्रदेश राजधानी पोखरालगायत स्थानमा पुग्ने एकमात्र यस सडक बेँसीसहरबाट डुम्रे तनहुँसम्म ४२ किलोमिटरको दूरी रहेको छ ।
काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव जारीे छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव जारी रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको छ । विभागले आगामी २४ घण्टामा कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही भागमा हुरीबतासको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागले आग्रह गरेको छ । साथै यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।
बाँके: इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा बाँकेका इस्लाम धर्मावलम्बीले जन्मोत्सव मनाउन सुरु गरेका छन् । जन्मोत्सवको रौनकले नेपालगञ्ज सहर रङ्गीन बनेको छ । बाँकेको सदरमुकाम नेपालगञ्जको त्रिभुवनचोकदेखि बिपी चोक, त्रिवेणी मोडदेखि फुल्टेक्रा चोक लगायतका स्थानमा स्वागतद्वार निर्माण गरिएका छन् । इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद जयन्ती मनाउँदै आएको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताउनुभयो । उहाँका अनुसार नेपालगञ्जसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाइरहेका छन् । “हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको हो”, धर्मगुरु मञ्जरीले भन्नुभयो, “उहाँको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणी स्मरण गर्ने गरिन्छ ।” मोहम्मद जयन्तीको अवसरमा आज बिहानैदेखि ¥याली गरिने बाँकेका मुस्लिम अगुवा हलिम साहले जानकारी दिनुभयो । मुस्लिम समुदायको मोहम्मद जयन्ती उत्सव (यालीलाई व्यवस्थापन गर्न सहरमा सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो । बाँकेमा मुस्लिम समुदायको बाहुल्यता रहेको नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर र जानकी गाउँपालिकाले मोहम्मद जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएका छन् ।
भरतपुर: नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो । सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उहाँले बताउनुभयो । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने सुरुभएको बताइएको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो । आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ । आइतबार भने युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैँया ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैँया १६ पैसा कायम गरिएको थियो । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैँया ७६ पैसा र बिक्रीदर एक सय ७६ रुपैँया ५५ पैसा कायम भएको छ । आइतबार पाउण्ड स्टर्लिङको मूल्य एकको खरिददर एक सय ७५ रुपैँया ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैँया ४८ पैसा कायम गरिएको थियो । आज स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैँया ७३ पैसा र बिक्रीदर एक सय ५८ रुपैँया ४४ पैसा कायम गरिएको छ । आइतबार स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैँया ११ पैसा र बिक्रीदर एक सय ५८ रुपैँया ८२ पैसा कायम गरिएको थियो । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैँया ७८ पैसा र बिक्रीदर ९० रुपैँया १८ पैसा कायम भएको छ । आइतबार अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैँया ६५ पैसा र बिक्रीदर ९० रुपैँया पाँच पैसा कायम भएको थियो । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैँया ५८ पैसा र बिक्रीदर ९९ रुपैँया दुई पैसा कायम भएको छ । आइतबार क्यानेडियन डलर एकको खरिददर ९८ रुपैँया ५५ पैसा र बिक्रीदर ९८ रुपैँया ९९ पैसा थियो । सिङ्गापुर डलर एकको खरिददर आज एक सय तीन रुपैँया २० पैसा र बिक्रीदर एक सय तीन रुपैँया ६६ पैसा निर्धारण गरिएको छ । आइतबार सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैँया सात पैसा र बिक्रीदर एक सय तीन रुपैँया ५४ पैसा कायम भएको थियो । जापानी येन १० को खरिददर नौ रुपैँया ५१ पैसा र बिक्रीदर नौ रुपैँया ५५ पैसा कायम भएको छ । आइतबार जापानी येन १० को खरिददर नौ रुपैँया ५१ पैसा र बिक्रीदर नौ रुपैँया ५६ पैसा कायम गरिएको थियो । चिनियाँ युआन एकको खरिददर १८ रुपैँया ८८ पैसा र बिक्रीदर १८ रुपैँया ९६ पैसा कायम भएको छ । सोही मूल्य आइतबार पनि कायम थियो । साउदी अरेबियन रियाल पनि आइतबारको मूल्यमा घटबढ भएन । आइतबारझैँ साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैँया ६९ पैसा र बिक्रीदर ३५ रुपैँया ८५ पैसा कायम भएको छ । कतारी रियाल एकको खरिददर ३६ रुपैँया ७४ पैसा र बिक्रीदर ३६ रुपैँया ९० पैसा कायम भएको छ । यो मूल्य पनि आइतबारकै सरह हो । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैँया ०३ पैसा र बिक्रीदर चार रुपैँया ०४ पैसा कायम भएको छ । आइतबार थाइ भाट एकको खरिददर चार रुपैँया एक पैसा र बिक्रीदर चार रुपैँया तीन पैसा कायम भएको थियो । युएई दिराम एकको खरिददर ३६ रुपैँया ४६ पैसा र बिक्रीदर ३६ रुपैँया ६३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम थियो । मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैँया १४ पैसा र बिक्रीदर ३१ रुपैँया २८ पैसा कायम भएको छ । मलेसियन रिङ्गेटको मूल्यमा सोमबार घटबढ भएन । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैँया सात पैसा र बिक्रीदर १० रुपैँया १२ पैसा कायम भएको छ । आइतबार साउथ कोरियन वन एक सयको खरिददर १० रुपैँया आठ पैसा र बिक्रीदर १० रुपैँया १२ पैसा कायम भएको थियो । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैँया ०९ पैसा र बिक्रीदर १३ रुपैँया १५ पैसा कायम भएको छ । आइतबार स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैँया छ पैसा र बिक्रीदर १३ रुपैँया १२ पैसा कायम भएको थियो । डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ८८ पैसा र बिक्रीदर १९ रुपैँया ९७ पैसा कायम भएको छ । आइतबार डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ९० पैसा र बिक्रीदर १९ रुपैँइा ९९ पैसा कायम भएको थियो । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैँया १७ पैसा र बिक्रीदर १७ रुपैँया २५ पैसा तोकेको छ । यो मुल्यमा पनि आज घटबढ भएन । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैँया ९७ पैसा र बिक्रीदर चार सय ४० रुपैँया ९४ पैसा कायम भएको छ । आइतबार कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैँया ९३ पैसा र बिक्रीदर चार सय ४० रुपैँया ८९ कायम भएको थियो । बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैँया ३५ पैसा र बिक्रीदर तीन सय ५६ रुपैँया ९४ पैसा कायम भएको छ । आइतबार बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैँया ३४ पैसा र बिक्रीदर तीन सय ५६ रुपैँया ९३ पैसा कायम थियो । राष्ट्र बैंकले भारतीय रुपैँया एक सयको खरिददर एक सय ६० रुपैँया र बिक्रीदर एक सय ६० रुपैँया १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
भक्तपुर: भक्तपुरको टोलटोलमा यम्बद्य: अर्थात् इन्द्र देवता ठड्याएर आठ दिनसम्म मनाइने इन्द्रजात्रा आइतबारदेखि सुरु भएको छ । जात्राको पहिलो दिन नगरका टोलटोलमा यम्बद्यः (देवता)का रुपमा १५–१६ फिट अग्ला लिङ्गोहरू ठडाएर जात्रा सुरु गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष द्वादशीको दिन स्थानीयवासीले यसलाई यम्बद्य: अर्थात् इन्द्र देवता उठाइएको भन्ने मान्यता रहेको इतिहासविद् एवं संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो । भाद्रशुक्ल त्रयोदशी अर्थात् दोस्रो दिनलाई यम्बद्यःको नित्यपूजा र आरतीबाहेक अरू विशेष पूजा नहुने हुँदा ‘दिकु’ (विश्राम) भनी मान्ने प्रचलन रहेको छ । भाद्रशुक्ल चतुर्दशी अर्थात् तेस्रो दिन साँझ परेपछि खौमाटोलस्थित इन्द्रायणी देवगृहबाट इन्द्रायणीलाई रथमा विराजमान गराई, ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग जात्रा गरी सिद्धपोखरीमा लाने प्रचलन छ । यस दिन रातभरि सिद्धपोखरी अर्थात् इन्द्र दहमा देवतालाई राखेर भव्य मेला भर्ने गरिन्छ । भाद्रशुक्ल पूर्णिमा अर्थात् चौथो दिन भक्तपुरका बासिन्दा बिहानै सिद्ध पोखरी पुगेर ‘इन्द्र दह स्नान’ गर्ने गर्दछन् । यस दिन बिहानदेखि सिद्धपोखरीमा स्थानीयको भीड लाग्ने गर्दछ । त्यस दिन समय् (भोज) चढाएर, खाएर येँयापुन्ही मान्छन् । समय्बजीमा छ्वय्ला, सारां (कर्कलोको अचार), भिजाएको केराउ, काँक्रो विशेष रूपले खाने चलन छ । बेलुकी इन्द्रायणी देवीलाई पुनः रथमा विराजमान गराई बाजागाजासहित भक्तपुरको आधा देश परिक्रमा गराई देवगृह देवता भित्र्याउने गरिन्छ । आश्विनकृष्ण प्रतिपदा अर्थात् पाँचौँ दिन नित्य पुजा र आरती गर्ने गरिन्छ । आश्विनकृष्ण द्वितीया अर्थात् छैटौँ दिन इन्द्रजात्रा उत्सवका रुपमा विशेष महत्वका साथ सला गणेश, यामता, मुपात्र जात्रा मनाउने गरिन्छ । त्यस दिन तचपाल टोलबाट ‘यामता’ इन्द्रबत्ती बालेर जात्राको शुभारम्भ गरिन्छ । यहाँ दतात्रय मन्दिर सामुन्नेको विशाल चोकमा जात्रा हेर्न ठूलो भीड लाग्ने गर्दछ । साकुलान टोलका मानन्धरहरूले बाँसले बनेको त्रिशूल आकारको यामतालाई आँगनमा भैरवनाथका सामुन्नेमा राखी विधिवत् पूजा गर्ने प्रचलन छ । जात्राको सातौँ दिन अर्थात् आश्विन कृष्ण तृतीयाका दिन चोछे टोलका छुमा गणेश र गोलमढी टोलका मानन्धरहरूले यामतासहित देश परिक्रमा गरी जात्रा मनाउँछन् । मूपात्र पनि आङ्खना दुईजना धिचाहरू लिएर अघिल्लो दिनमा जस्तै नगर परिक्रमा गर्दै सामुन्नेमा परेका यम्बद्यःहरूलाई खड्गले प्रहार गर्दै जात्रा मनाउने गरिन्छ । जात्राको अन्तिम दिन आश्विनकृष्ण चतुर्थीमा भैरवनाथको जात्रा, पुलुभैलद्य जात्रा, यामता जात्रा, पुलुकिसी जात्रा, मूपात्र जात्रा भव्य रुपमा मनाउने गरिन्छ । इन्द्रजात्राको समापनका दिन धुमधामसँग जात्रा मनाउने प्रचलन छ । यस दिनमा टौमढी टोलका भैरवनाथलाई रथमा राखी देश परिक्रमा गरी जात्रा चलाइन्छ । जात्रामा तेखाचोका मानन्धरहरूले दुईवटा यामता ल्याउने र बुलुचाहिटी सामुन्ने चखुन्चाफल्चातिर अभिमुख गरी यामता बालेर भैरवनाथको जात्रामा सरिक हुने गरेको स्थानीय विजयप्रसाद धौभडेल बताउनुहुन्छ । त्यस दिन भैरवनाथको मन्दिरको भित्तामा झुन्ड्याइराखेको पुलु भैलद्यः (मान्द्रोमा चित्रित मसान भैरव)को जात्रा पनि चलाउने उहाँले जानकारी दिनुभयो । ठाउँठाउँमा छ्वाली बाल्दै नीलो पहिरनमा सेतो वर्णको पुलुकिसीको जात्रा पनि यहाँ मनाइन्छ । भैरवनाथ मन्दिरको मूलद्वारबाट खड्ग उठाएर बाहिरिँदै धिचासहित भएर मूपात्रको जात्रा चल्ने उहाँले जानकारी दिनुभयो । इतिहासविद् प्राडा श्रेष्ठका अनुसार गणेश चतुर्थीका दिनमा बसुन्धराले व्रत बस्दा पूजाका लागि चाहिने ‘खाइसी’ (काली ज्यामिरेका जातिको एक किसिमको तीतो अमिलो फल) र पारिजातको फूल लिन उनका छोरा इन्द्र स्वर्गलोकबाट सुटुक्क पृथ्वीलोकमा झरेका थिए । उनले फलफूल चोरेको यहाँका बासिन्दाले थाहा पाएपछि उनलाई पक्रेर चोरेका फलफूलसहित सबैले देख्ने ठाउँमा (दोबाटो चौबाटो) बाँधेर राखेका थिए । इन्द्रजात्राको पहिलो दिन दोबाटो चौबाटोमा खडा गरिने यम्बद्यः उनै इन्द्र हुन् भन्ने मान्यता रहँदै आएको छ । इन्द्रका छोरालाई बन्दी बनाएर राखेको थाहा पाएपछि बसुन्धरा डाकिनीको भेषधारण गरी पृथ्वी आइन् र शीत र हुस्सुले वातावरणलाई छोपी कसैले नदेख्ने गरी छोरा देवराजलाई स्वर्गमा लगेको किंवदन्ती छ । छोरालाई भगाउन स्वर्गबाट ऐरावत हात्तीसमेत ल्याएकाले जात्राको अन्तिम दिन ऐरावत हात्ती अर्थात् पुलुकिसी जात्रा मनाउने प्रचलन रहेको छ । अर्को किंवदन्तीअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको खाँचो प¥यो । इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फूल खोज्न पृथ्वीमा पठाइन् । जयन्त पारिजातको फूल खोज्दै दैत्यको बगैँचामा प्रवेश गरे । दैत्यहरुले उनलाई देखेर पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा इन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यसँग लडाइँ गरे । लडाइँमा इन्द्रको जित भयो । दैत्यहरुले इन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरुले जयन्तलाई बाँधेको डोरी काटेर माफी मागे । त्यस क्रममा दैत्यलाई जनतामाझ सहर परिक्रमा गराइएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख भएको आधारमा जात्रा प्रारम्भ गरिएको किंवदन्ती रहेको इतिहास तथा संस्कृतिविद् प्राडा श्रेष्ठ बताउनुहुन्छ । जात्रामा पुलुकिसीले केही गरी मुपात्रलाई भेट्यो भने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै कानुन नलाग्ने पूर्वमान्यता रहँदै आएको छ । पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा सुरु गरिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकालिन्छ । इन्द्रजात्रा द्वापरयुगदेखि सञ्चालन भए पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्यपुराणको सङ्कलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको हो ।
काठमाडौं: सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ । ‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।