काठमाडौं:  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन भएको भन्ने सम्बन्धमा उठेका विषय छानबिन गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह ग...

ढोरपाटन:     दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बुर्तिबाङ बजारबाट नजिक पर्ने बराहताल क्षेत्र तथा बराहताल हुँदै ढोरपाटनको बुकी क्षेत्र उत्कृष्ट ‘ट्रेकिङ’को गन्तव्यका रुपमा परिचित हुँदै गएको हो ।       तल्लो क्षेत्रदेखि उच्च पहाडसम्मका पर्यटकीय गन्तव्यमा नयाँ पुस्ताको ट्रेकिङ मोह पनि बढेको बढ्न थालेपछि बराहतालमा पूर्वाधार निर्माणमा जोड दिइएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।       पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढ्दै गएको छ । गाउँ तथा सहरका युवा पुस्ता घुमफिरमा रम्न थालेपछि बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुन थालेको उहाँले बताउनुभयो ।      एक दशक अगाडिसम्म सुनासन रहेका पर्यटकीय क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । वर्षौँ अगाडिदेखि चर्चामा रहेका पर्यटकीय क्षेत्रसहित नयाँ गन्तव्यमा आन्तरिक पर्यटक पुग्न थालेका मगरले उल्लेख गर्नुभयो ।  ढोरपाटन उपत्यका, गाईघाट झरना, बागलुङ कालिका, पञ्चकोट, गाजाको दहलगायत दर्जनौँ पर्यटकस्थल वर्षौँदेखि चर्चामा रहेका भन्दै पछिल्लो पाँच वर्षमा बुकीपाटन, रिगताल, बराहताल, पातीहाल्ने, टेवाको मूर्तिकला चर्चामा आउन थालेका उहाँको भनाइ छ ।      तमानखोला गाउँपालिकाका अध्यक्ष बुढा मगरले बराहताल क्षेत्रको विकासका लागि हालसम्म रु एक करोड बढी लगानी भइसकेको जानकारी दिनुभयो । यहाँ पूर्वधार निर्माण हुनुपूर्व कहिलेकाहीँ नजिकैको गाउँमा स्थानीय घुम्न गए पनि बाहिरी ठाउँबाट आउनेको कमी थियो । पालिकाले ताल संरक्षणसँग बराह मन्दिर, पदमार्ग निर्माणलगायत संरचना बनाएपछि यहाँ दैनिकजसो आन्तरिक पर्यटक आउने गरेका उहाँले बताउनुभयो ।       अध्यक्ष मगरले भन्नुभयो, “बराहताल आकर्षक छ, यहाँबाट उच्च पहाडी क्षेत्रसहित हिमशृङ्खला देख्न सकिने भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । हिउँदमा लालीगुराँसले राताम्य बन्ने बराहताल क्षेत्र रोमाञ्चक देखिन्छ, समुद्री सतहबाट दुई हजार छ सय मिटरको उचाइमा रहेको यो क्षेत्रको पूर्वाधार विकास गर्न प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।”      नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन पनि गत वर्षदेखि बढी चर्चामा आएको छ । बुकी क्षेत्र ट्रेकिङ गर्नेका लागि उत्कृष्ट गन्तव्य बनेको छ । ढोरपाटन उपत्यकाबाट करिब चार घण्टाको पैदलयात्रामा पुग्न सकिने बुकीबाटन तीन हजारदेखि चार हजार पाँच सय मिटरको उचाइसम्म पर्दछ ।      बुकीपाटन चढ्ने याम साउनदेखि असोजसम्म भएका यस सिजनमा करिब दुई हजार बढी पर्यटक यहाँ पुग्ने गरेका स्थानीय श्याम पुन मगरले बताउनुभयो । पहिले ढोरपाटन उपत्यका आएर फर्किने पर्यटक अहिले हिँडेरै बुकीपाटन आउने गरेका उहाँले जानकारी दिनुभयो । बुकीपाटनमा हजारौँको सङ्ख्यामा भेडाका बथान, गोठाला र मनमोहक उच्च पहाडसहित दर्जनौँ हिमशृङ्खला अवलोकन गर्न सकिने पुनले उल्लेख गर्नुभयो ।       बुटवलबाट यहाँ आउनु भएका विवेक शर्माले बुकीपाटन मनोरम रहेको बताउनुभयो । ढोरपाटनसम्म गाडीमा पुगेर चार घण्टा पैदल यात्रामार्फत यहाँ पुगेको उहाँले जानकारी दिनुभयो ।      ढोरपाटनबाट पदैलयात्रा गरेर बुकी पुग्दा वन्यजन्त, चराचुरुङ्गी, खोलानाला, गोठाला र प्रकृतिसँग रमाउन पाइने भन्दै ठाउँ–ठाउँमा बुकी क्षेत्रको नामसहित सूचनासहितको जानकारी राख्नु आवश्यक रहेको शर्माले बताउनुभयो । बुकीपाटन पुग्न बाटोमा शौचालय र विश्रामस्थल निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पोखरा:    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखराका अरुण गिरीलाई पार्टीको केन्द्रीय सदस्य पदमा छनोट गरेको छ ।   राप्रपा कार्ययोजनाअनुसार ४० वर्ष मुनिका २० युवालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो ।   यस अघि गिरी जिल्ला प्रवत्ताको जिम्मेवारीमा थिए ।   पार्टीका वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा छनोट समिति गठन गरेर २० युवालाई पार्टीको केन्द्रीय सदस्यमा छनोट गरिएको हो ।   जसमा १० जना पुरुष र १० जना महिला छन् ।    

बैतडी:     सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।  आज दिउँसो खसेको पहिराले राजमार्ग अवरुद्ध बनेपछि लामो तथा छोटो दूरीका सवारीसाधन र यात्री बीचबाटोमा अलपत्र परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।  सडकमाथिबाट ठूलो पहिरो खसेकाले परिो पन्छाएर राजमार्ग नियमित सञ्चालन गर्न केही समय लाग्ने उहाँले बताउनुभयो । सडक खुलाउन पहल भइरहेको भन्दै प्रवक्ता पाण्डेयले राजमार्ग अवरुद्ध हुँदा दार्चुला र बैतडीको सडक सम्बन्ध विच्छेद भएको उल्लेख गर्नुभयो ।

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको सेन्टर प्वाइन्टमा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले नयाँ शाखा बिस्तार गरेको छ ।   पोखरा महानगरपालिका ६ स्थित अंशुभरा विल्डिङको दोस्रो तलामा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले दोस्रो शाखाको रुपमा गत सातादेखि सञ्चालनमा ल्याएको हो ।   रोशन लिम्बु नेतृत्वको युवा व्यवसायीहरुको सँयुक्त लगानीमा अत्याधुनिक सेवादिने उद्देश्यसहित स्पा सञ्चालनमा ल्याएको सञ्चालक लिम्बुले बताए ।    उनका अनुसार उक्त स्पाबाट मेडिकेयर, पेडिकेयर साथै सौन्दर्य कला लगायत विभिन्न किसिमका (फुट मजाज, बडि मसाज) मसाजहरुको सेवा प्रदान हुदैं आएको छ ।   साथै उक्त स्पामा ज्याकुजी, आइस थेरापी, साउना, स्टिम लगायतको सेवाहरुपनि प्रदान गर्ने तयारी भइरहेको लिम्बुले जानकारी दिए ।   ‘हामीले केही समयमै ज्याकुजी, आइस थेरापी, साउना, स्टिम लगायतका सेवा दिने तयारीमा छौ, उनले भने, ‘त्यसका लागि चाइनाबाट सामान मगाएका छौं । करिब एक डेढ महिना जति लाग्न सक्छ ।’     दोस्रो शाखाको रुपमा सेन्टर प्वाइन्टमा आएको प्याराडाइजले विगत लामो समयदेखि हल्लनचोकबाट सेवा दिदैं आएको छ ।   उनले निकट भविष्यमा थप शाखाहरु बिस्तार गर्ने योजनासमेत रहेको बताए ।    मार्केटिङको क्षेत्रमा फरक पहिचान बनाएका लिम्बुले न्यूरोडमा र सृजनाचोकमा ड्रिमल्याण्ड फुडल्याण्ड तथा बगरमा ड्रिमल्याण्ड बारबरसप सञ्चालन गर्दै आएका छन् ।    

पोखरामा आठौं सस्करणको खुल्ला क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।    पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको पोखरामा आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।    पोखरा ३ नदीपुरस्थित छन्तयाल समाजको खेल मैदानमा यही असोज ९ देखि १३ गतेसम्म खुल्ला क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक मनोज खड्काले बताए ।    ‘भलिबल खेलको विकाससँगै नयाँ खेलाडीको प्रतिभालाई प्रस्फुटन गर्नका लागि पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो’, संयोजक खड्काले भने, ‘प्रतियोगिता पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजना र ए फोर ग्राफिक्स डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा यही असोज ९ देखि १३ गतेसम्म पोखरा–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा हुनेछ ।’   उनका अनुसार प्रतियोगितामा पुरुषतर्फका विजेताले नगद १ लाख ३० हजार, उपविजेताले ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   पुरुषतर्फ भलिबल प्रतियोगितामा सहभागिताको लागि एक टिमलाई ६ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।    यस्तै महिलातर्फको विजेताले नगद ५० हजार  र उपविजेताले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला भलिबल प्रतियोगितामा सहभागिताको लागि एक टिमलाई ४ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।      प्रतियोगितामा महिला तथा पुरुषतर्फ विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।    उक्त प्रतियोगितामा पुरुषतर्फ कुनै पनि १ टिममा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको सातौं,आठौं र नवौं प्रतियोगितामा सहभागितामा जनाएको ३ जना र महिलातर्फ २ जना मात्र खेलाडी समावेश गर्न पाउने प्रतियोगिता संयोजक खड्काले बताए ।     उनका अनुसार पुरुषतर्फको खेल लिगकम नकआउट र महिलातर्फको खेल नकआउट सिस्टममा सञ्चालन गरिने छ ।   २०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्रले नयाँ खेलाडी उत्पादनसँगै सामाजिक कार्यमा समेत काम गर्दै आएको छ ।   प्रशिक्षण केन्द्रले गतवर्ष मृगौला पीडित सुरज गुरुङलाई मृगौला प्रत्यारोपण तथा उपचारका लागि १लाख र मनकुमारी पुनलाई ब्लड क्यान्सर उपचारका लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।    प्रतियोगितामा १० लाख ३२ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अवलोकन लागि दर्शकलाई दोस्रो दिनबाट टिकट दर कायम गरिने आयोजकले जनाएको छ ।   

महोत्तरी:    जिल्लाको बर्दिबासमा हालसम्म करिब ३१ हजारले सर्पदंशको उपचार सेवा लिएका छन् । बर्दिबास–३ गौरीडाँडामा सर्पदंश उपचार केन्द्र सञ्चालन भएयता हालसम्म तीस हजार नौ सय ४८ जनाले सेवा लिएका हुन् ।      केन्द्रले विसं २०७१ साउन ३१ गतेदेखि उपचार सेवा दिँदै आएको हो । चालु आर्थिक वर्षको हालसम्म एक सय एक जनाले सेवा लिएका केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो ।  उहाँका अनुसार गत साउनमा ५० र भदौमा ५१ जनाले उपचार लिएका छन् । केन्द्रमा स्थापना भएदेखि उपचारमा नेपाली सेनाका छ जना दक्ष जनशक्ति खट्दै आएको छन् ।      सबैभन्दा बढी सर्पदंशका बिरामी आव २०७६/७७ र आव २०७८/७९ मा देखिएका छन् । ती वर्षमा क्रमशः तीन हजार नौ सय ४७ र तीन हजार नौ सय २२ जनाले उपचार लिएका केन्द्रको अभिलेखले जनाएको छ । गत आवमा आठ सय ८४ जनाले उपचार लिएका नेपाली सेनाका उपचारटोलीका प्रमुख मानसिंह कुँवरले जानकारी दिनुभयो ।      लामो खडेरीपछि एक्कासी ठूलो पानी परेका बेला सर्पदंशका घटना बढ्ने भन्दै आवश्यक सर्तकता अपनाई सचेत हुन कुँवरले सर्वसाधरणलाई आग्रह गर्नुभयो । सर्पदंशका घटना भदौमा बढी हुने गरेकाले यो समयमा बढी सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।       महोत्तरीको बर्दिबास नगरक्षेत्रमा सर्प बढी देखिने गरेका छन् । पछिला दिनमा बर्दिबास नगरक्षेत्रको बढ्दो सहरीकरणले मानव चहलपहल वृद्धि चएसँगैपछि सर्पको बिगबिगी घट्दै गएको यहाँका स्थानीय बताउँछन् ।  केन्द्रमा महोत्तरी, सिन्धुली, धनुषा र सर्लाहीलगायत मधेस प्रदेशका जिल्लाका सेवाग्राही उपचारका लागि आउने गर्दछन् । 

सङ्खुवासभा:     सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा आज टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।       खाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा टयाक्टर भीरबाट खस्दा त्यसमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो ।  मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।       टयाक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको हो । नदीले बगाएको उक्त टयाक्टरको नम्बर प्लेट खुल्न नसकेको प्रहरीले जनाएको छ ।

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नतिजालाई लगभग ७० प्रतिशतसम्म पु¥याउन नीतिगत पहल सुरु भइसकेको बताउनुभएको छ ।      राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै ‘अनलाइन’ कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरु पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको स्पष्ट गर्नुभयो । हाल एसइईमा ५० प्रतिशतको हाराहारीमा विद्यार्थी उत्तीर्ण हुँदै आएका छन् ।      “एसइईको नतिजामा उल्लेख्य सुधार गर्नुपर्छ भनेर उत्तीर्ण प्रतिशत बढाउन नीतिगत पहल सुरु भइसकेको छ । हामीसँग कुरा मात्रै गरेर बस्ने समय छैन । शिक्षा, ज्ञान, तप, योग, सभ्यता, संस्कृति रहेको यस भूमिको शिक्षा अब पछाडि परिरहन सक्दैन,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “सात सालको प्रजातन्त्रको स्थापनासँगै नेपालमा गाउँगाउँमा स्वतःस्फूर्त रुपमा शिक्षा विकासको लहर चलेको थियो तर हामी जति अगाडि बढ्नुपर्ने थियो, त्यति अघि बढ्न सकेका छैनौँ । राणा र राजाहरु आफ्ना ऐस आराम र शासनमा मात्रै बढी रमाएका थिए । अहिले गणतन्त्र आइसकेको छ । यस व्यवस्थाको शिक्षालाई पछाडि पर्न नदिनु हामी सबैको दायित्व हो ।”       उहाँले विश्वस्तरमा प्रातस्पर्धा गर्नसक्ने सक्षम नागरिक उत्पादन गर्न शिक्षाकर्मीलाई आग्रह गर्नुभयो ।      कार्यक्रममा प्रधानमन्त्री ओलीले उच्चशिक्षा, विद्यालय तह र सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने क्याम्पस, विद्यालय र संस्थालाई पुरस्कार वितरण गर्नुभयो ।  ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ आज देशभर शिक्षा दिवस मनाइएको छ ।  प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिनलाई आधार मानेर पछिल्ला वर्षमा असोज २ गतेलाई शिक्षा दिवस मनाउन थालिएको हो ।

बझाङ:    बझाङको सेती नदीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।  आज बिहान दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् ।      जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर जोशीका अनुसार जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढाले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।  ट्याक्टर ५० मिटर तल सेती नदीमा खसेको बताउँदै चालकसहित एक जना बेपत्ता भएका उहाँले जानकारी दिनुभयो ।       ट्याक्टर नम्बर र बेपत्ता भएका अर्का व्यक्तिको नाम नखुलेको सूचना अधिकारी जोशीले बताउनुभयो ।  अहिले घटनास्थलमा प्रहरी नायब निरीक्षकको नेतृत्वको टोलीले घाइतेको उद्धार गरेको बताउँदै बेपत्ताको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।