लमजुङ: मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसपछि उनीहरूबीच विवाद भएको थियो । सन्ताउन्न वर्षीय सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा गम्भीर निजको मृत्यु भएको हो । अभियुक्तलाई हिरासतमा लिएर कानुनी कारबाही प्रारम्भ भएको छ । मृतककी एक छोरी र श्रीमती छन् । समयमा अस्पताल पुफ्याउन सकिएको भए निजको ज्यान जुगिनसक्ने तामाङका छिमेकीले बताएका छन् । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजादा आज बिहान मृत्यु भएको हो ।
तनहुँ: गत असोज ११ र १२ गतेको अविरल वर्षापछि त्रिशूली नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । त्रिशूली नदीमा आएको बाढीले तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेको झोलुङ्गे पुल जोखिममा परेको हो । बाढीले पुल जोखिममा परेपछि आवतजावतमा समस्या भएको आँबुखैरेनी–५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । घुमाउनेमा निर्माणाधीन पक्की पुल विगत १० वर्षदेखि अलपत्र हुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतका लागि यो पुलमात्रै विकल्प हो । पुल पनि बाढीले जोखिममा परेपछि हिँडडुलमा समस्या भएको वडाध्यक्ष गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, “घुमाउनेका सर्वसाधारण यही पुल प्रयोग गरी मुग्लिन–नारायणगढ खण्डमा निस्किएर यात्रा गर्छन्, पुल खतरामा परेको छ ।” दसैँ सुरु भएसँगै सर्वसाधारणको आवतजावत बढेको र पुलको जोखिमका कारण समय मिलाएर पुल वारपार गर्ने व्यवस्था मिलाइएको गुरुङले बताउनुभयो । बाढीले गर्दा पुल नै कोल्टिएको छ । यसैबीच गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री हरिबहादुर चुमान र आँबुखैरेनीका अध्यक्ष शुक्र चुमानले शुक्रबार उक्त पुलको अवलोकन गर्नुभएको छ । झोलुङ्गे पुल जोखिममा पर्दा यस भेगका जनतालाई आवतजावतमा असुविधा भएकाले उक्त पुलको गाउँपालिकाले मर्मत गर्ने अध्यक्ष चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राविधिकसहितको टोलीले पुलको अवलोकन गरेको छ, दसैँका बेला सर्वसाधारणलाई सहज रुपमा आवतजावत मिलाउन तत्कालै यो पुलको मर्मत गर्छौं ।” बुद्धसिंह मार्गअन्तर्गत पर्ने यो पुल हुँदै चितवन निस्कन मिल्छ । सदरमुकाम दमौलीबाट बुद्धसिंह मार्ग प्रयोग गर्दै मोटरसाइकलमा यहाँबाट यात्रा गर्न सकिन्छ । सोही पुल नजिकै पक्की पुल निर्माण सुरु भएको १० वर्ष भए पनि पुलको प्रगति जम्मा ४० प्रतिशत मात्रै छ ।
काठमाडौं: बडा दसैँ अर्थात् नवरात्रको तेस्रो दिन आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ । नवरात्रका अवसरमा शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । नवरात्र शक्ति प्राप्तिका लागि साधना गर्न उत्तम समयका रुपमा लिइन्छ । यसैले देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो । राजधानीका पशुपति क्षेत्रस्थित गुह्येश्वरी र जयवागेश्वरीलगायत देवी मन्दिर, मैतीदेवी, कालिकास्थान, भद्रकाली, शनि, सङ्कटा, शोभाभगवती, बिजेश्वरी, कङ्केश्वरी, रक्तकाली, श्वेतकाली, नक्साल भगवती, चामुण्डामाई, सुन्दरीमाई, इन्द्रायणी, वनदेवी, बज्रयोगिनीलगायत शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको हो । यसैगरी काठमाडौँ उपत्यका बाहिरका नाला भगवती, चण्डेश्वरी, पलाञ्चोक भगवती, पाल्चोक भगवती, कमलामाई, रौतामाई, कालिञ्चोक, पाथीभरा, गहवामाई, मनकामना, इच्छाकामना, दन्तकाली, राजदेवी, छिन्नमस्ता, गढीमाई, शैलेश्वरी, विन्ध्यवासिनी, भुवनेश्वरी, उग्रतारालगायत देवी मन्दिरमा पनि बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको जनाइएको छ । नवरात्रको तेस्रो दिन आज शनिबारको सार्वजनिक बिदा परेकाले पनि भक्तजनको घुइँचो लागेको हो । नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको आह्वान गरी विशेष पूजा आराधना गरिँदै छ । नौ दिनसम्म नौ वटी देवीको विशेष पूजा हुन्छ । नौ दिनसम्म पूजा गरी विजयादशमीका दिन देवीको प्रसादका रुपमा प्रसाद र समृद्धिको प्रतीकका रुपमा जमरा लगाइन्छ । यो क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
म्याग्दी: म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने गर्दथे । टोड्के तत्कालीन समयमा खर्कका रुपमा पनि परिचित थियो । रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगममा अवस्थित टोड्के पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाईवस्तुको घुम्तिगोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । जङगलमा भएको करिब ५० मिटर लामो सुरुङमा गाईवस्तु अडिकिने र तिनलाई बाघभालुले खाइदिने हुनाले गाउँलेले टोड्को भएको ठाउँ भन्दा भन्दै ठाउँकै नाम टोड्के रहन गएको किम्बदन्ती रहेको पूूर्णगाउँका दुर्गादत्त आचार्यले जानकारी दिनुभयो । “हामी तन्नेरी हुदाँसम्म टोड्केमा गाईभैसी, भेडाबाख्राको गोठ राख्ने गरिन्थ्यो,” ७० वर्षीय आचार्यले भन्नुभयो “प्रचारप्रसार, पूर्वाधार निर्माण, सडक, सञ्चार, विद्युत सुविधा विस्तार भएपछि पछिल्लो समय टोड्के खर्कबाट पर्यटकीय स्थलमा परिणत भएको छ ।” समुन्द्री सतहदेखि दई हजार ४३० मिटरको उचाइमा रहेको टोड्के प्राकृतिक सौन्दर्ययुक्त गन्तब्य हो । काठमाडौबाट आएका रोशन राउतले टोड्केको स्वच्छ हावापानी र शान्त वातावरणले तनरमन दुवै चंगा बनाएको अनुभव सुनाउनुभयो । “शान्त वातावरण, सुन्दर हिमाल र शीतल हावाले टोड्केलाई रमणीय बनाएको छ,” उहाँले भन्नुभयो “बिहान घाम लाग्दा र साँझ डुब्दो घामको लालीसँगैको हिमालको दृष्य जति हेरे पनि धितै मर्दैन् ।” ऋतु, मौसम र समय अनुसार टोड्केमा फरक फरक दृष्य अवलोकन गर्न सकिन्छ । फागुन–चैतमा टोड्केको दायाँ र बाँया रहेको जङगलमा ढकमक्क फुल्ने लालीगुराँसको दृष्य मनमोहक हुन्छ । पुस–माघमा सेताम्मे हिउँ पर्ने टोड्केमा हिउँ खेलेर रमाउन पाइन्छ । बिहान, दिउँसो र बेलुकीपख हिमालको सौन्दर्य फरकफरक हुने झिँका स्थानीय गमबहादुर पाइजाले बताउनुभयो । “पृष्ठभूूमिमा गुर्जा, चुरेन, मानापाथी, धवलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लर्कनसँगै सुर्योदय र सुर्यास्तका समयमा फरक फरक दृष्य देखिन्छ,” उहाँले भन्नुभयो “शान्त वातावरण । बर्खामा भुईफुलले रंगिएको फाँटबाट देखिने शरदयामको हिमाली मुस्कान । कुहिरो र हिमालको लुकामारी । चराको चिरबिर र जंगलको हरियालीले लठ्ठै बनाउँछ ।” स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ । डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्धारी, शिष्यहरू पूजारी महाराज र रखाल महाराज लगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिंग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा रहेको छ । आश्रम परिसरमा गौशाला पनि रहेको छ । मगरको पुरख्र्यौली नाच, सोरठी, यानीमायाँ, सालैजो, भजन कीर्तन र पञ्चेबाजामा रम्न पाउनु टोड्केको थप विशेषता हो । टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको रघुुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुुर शेरमञ्जाले बताउनुभयो । “वनभोज खान जानेहरुका लागि पनि पूर्वाधारको व्यवस्था मिलाइएको छ,” उहाँले भन्नुुभयो “खेल पर्यटनको सम्भावनालाई मध्यनजर गरेर टोड्केमा हाइ अल्टिच्युड खेलमैदान निर्माणाधीन छ ।” टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ । छ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको टोड्के हिल रिसोर्ट र होमस्टेमा एक दिनमा ६० जनासम्म बास बस्न मिल्ने शौचालय सहितका कोठा र टेन्टको सुविधा रहेको सञ्चालक भीम शेरचनले बताउनुभयो । दशैँ तिहार, नयाँ वर्ष, फागु पूर्णिमाको समयमा घुुम्न र बिदा मनाउनका लागि आन्तरिक पर्यटकहरु टोड्के आउने गरेका उहाँले बताउनुभयो । नव विवाहित जोडिहरुको लागि टोड्के हनिमुन गन्तब्य बनेको उहाँले बताउनुभयो । तालिम गोष्ठि सञ्चालन गर्न सेमिनार हल पनि छ । विद्युत, इन्टरनेट, तातोपानी सुविधा भएको रिसोर्ट तथा होमस्टेमा नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पाक्छ । स्वर्गद्धारी आश्रमको तिर्थयात्री निवासमा पनि बास बस्न सकिन्छ । टोड्के घुमेर फर्कदा सिजनमा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ । बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन् । बेनी–अर्थुङ्गे–झिँ हुदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुेङ्ग–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर) र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुदै टोड्के (१४ किलोमिटर) दुरीको सडक प्रयोग गर्न सकिन्छ । २९ किलोमिटर दुरीको बेनी–सिम–कुुहँ–पूर्णगाउँ हुदै टोड्के जोड्ने सडकबाट आवत जावत गर्ने क्रममा प्राकृतिक उपचार स्थल सिंगा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ । उन्नाइस किमी दूरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के सडकमा धार्मिक स्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ । पैदलयात्रा गर्न चाहनेहरुका लागि बेनी देखि अर्थुङ्गे–पछै–ढोलथान–केभहिल–जगन्नाथ–ढडेकोट दरवार–टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ । टोड्केको पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन् । धवलागिरी हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ । झिँ र पूर्णगाउँबाट एक घण्टा उकालो हिडेपछि टोड्के पुगिन्छ । यी गाउँमा होमस्टे सुविधा छ । टोड्केदेखि मालिका धुरी–ठाडाखानी–कुइनेखानी– झिङखानी– चौरखानी– घ्याँसीखर्क हुदै धौलागिरि हिमालको आधार शिविर र आइसफल हुदै मुस्ताङको थासाङ गाउँपालिका निस्कने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको परिकल्पना गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । टोड्के पुग्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो । टोड्केदेखि झिँ–पाखापानी–कोटगाउँ–रायखोर–मुलपानी हुँदै घ्यासीखर्क जोडिने धौलागिरि सेञ्चुरी पदमार्ग पनि रहेको छ । म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकले परम्परागत पदमार्ग पूर्ण रुपमा विस्थापित भएको अवस्थामा टोड्के धौलागिरि पानोरमा साँस्कृतिक र धौलागिरि सेञ्चुरी पदमार्ग महत्वपूर्ण बैकल्पिक रुटका रुपमा स्थापित गर्न सकिने सम्भावना रहेको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । सडक सञ्जालले पुराना र स्थापित पदमार्गहरु मासिदै गएको सन्दर्भमा संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर समेतलाई समेटिएको यो पदमार्ग गण्डकी प्रदेशमै नयाँ र सम्भावनायुक्त गन्तव्यको रुपमा स्थापित हुने प्रचुर सम्भावना रहेको टे«कीङ ब्यवसायी एशोसियसन (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो । नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र गण्डकीले टोड्केको प्रर्वद्धनमा सघाएका छन् । पर्यटन बोर्ड गण्डकीका बरिष्ठ अधिकृत कुन्दन मिश्रले टोड्केको प्रर्वद्धनका लागि गत आर्थिक वर्षमा बुकलेट बनाएर पोखराका होटलहरुमा वितरण तथा वृत्तचित्र बनाएर सामाजिक सञ्जालबाट ‘डिजिटल मार्केटिङ’ गरिएको बताउनुभयो । टोड्के र झिँका बासिन्दाहरुले टोड्के विकास कोष गठन गरि दुई पटक गुराँस महोत्सव आयोजना गर्नुका साथै पदमार्ग, सडक निर्माण र निजी क्षेत्रको लगानी भित्र्याउन अगुवाइ गरेका छन् ।
मकवानपुर: पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट प्रहरीले आज बिहान लुकाइछिपाइ ल्याइएको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ का अभिषेक अजिनाथ कुटी र महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने वर्ष २७ का राहुल भिट्टिहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी जाँच गर्ने क्रममा स्कुटर चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट आठ वटा बिस्कुटको आकारको (तौल गर्दा आठ किलो २४३ ग्राम ९७) मिलिग्राम सुन बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट बरामद भएको उक्त परिणामको सुनको मूल्य (आजको मूल्यअनुसार) रु ११ करोड ४३ लाख ५७ हजार ८७८ रहेको प्रहरीले पत्रकारसम्मेलन मार्फत जानकारी गराएको थियो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको जनाइएको छ ।
पोखरा: पोखरा नागढुङ्गामा सबै किसिमका सवारीसाधनका लागि हुने टायरको आउटलेट तालबाराही अटोमोबाइल्स संचालनमा आएको छ । पोखराको चाउथेमा रहेको भद्रकाली टायर रिसोलिङ ले आफ्नो शाखा विस्तार गरेको हो । बजारको मागलाई मध्यनजर गरि पोखरा नागढुङ्गामा शाखा विस्तार गरेको युवा व्यवसायी हुमबहादुर खत्री ‘अर्जुन’ ले जानकारी दिनुभयो । विगत १३ बर्ष देखि टायर रिसोलिङ तथा बस ट्रकको नयाँ टायरको सेवा दिंदै आएको कम्पनीले नागढुङ्गा शाखाबाट मोटरसाइकल, स्कुटर, कार, जिप, भ्यान लगायत सम्पुर्ण सवारी साधनको जुनसुकै साइटका नया टायर विक्री केन्द«बाट सेवा शुरु गरेको हो । उक्त शाखाबाट इण्डियन तथा चाइनिज ब्राण्डका टायर विक्री हुनेछ । पोखरा बजार तथा सिद्धार्थ हाइवे लक्षित गरि सेवा विस्तार गरिएको अर्का संचालक हितेष अधिकारीले जानकारी दिनुभयो । विस्तारित शाखामा भद्रकाली टायर रिसोलिङबाट दिदैं आएको सेवालाई यथावत राख्दै मोटरसाइकलदेखि बस, ट्रक तथा ट्रयाक्टरका सम्पुर्ण साइजका टायर सर्वसुलभ तथा सुपथ मुल्य उपलब्ध गराएको संचालक हुमबहादुर खत्री ‘अर्जुन’ बताउनुभयो । अत्याधुनिक हाइड्रोलिक प्रविधीबाट टायर खोल्ने फिटिङ गर्ने, निशुल्क खोल्ने तथा फिटिङ गर्ने, टायरको हावा चेक गर्ने, टायर सम्बन्धी सम्पुर्ण परामर्श सेवा प्रदान गरिएको छ । निकट भविष्यमा आधुनिक प्रविधीको भाइकिंग गाडी को टयुबलेस टायर रिसोलिंग को शुरुवात गर्ने पनि केसीको योजना छ ।
धादिङ: एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका तीन जनाको परिवारलाई घरमै पुगेर राहत उपलब्ध गराइएको छ । पानी परिरहेका बेला शरीर भिज्नबाट जोगिन ओडारमुनि ओत लागेका बेला ओडार नै खस्दा पुरिएका धादिङको बेनीघाट रोराङ गाउँपालिका– ६ का जनता भनिने श्यामकुमार चेपाङ र शन्तबहादुर चेपाङ र घरमा आएको पहिरो सोर्ने क्रममा पहिरोले पुरिएर ज्यान गुमाएका थाक्रे गाउँपालिका– ६ का कान्छा राईको परिवारलाई उनीहरुको घरमा नै पुगेर राहत उपलब्ध गराइएको हो । जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालसहितको टोलीले मृतक तीनै जनाको घरमा पुगेर परिवारलाई रु दुई लाखका दरले राहत रकम वितरण गरिएको हो । सरकारले तय गरेको स्वीकृत मापदण्डका आधारमा मृतकको परिवारलाई राहत रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । “राहत रकमको सदुपयोग होस् भनेर पालिकाको रोहवरमा वितरण गरेका छौँ । यो राहत रकमले थोरै भए पनि आफन्तको घाउमा मलमको काम गर्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो । त्यस्तै, निरन्तरको वर्षासँगै गाउँकै खोलामा आएको भलले बगाएर ज्यान गुमाएकी गजुरी गाउँपालिका–८ की छ वर्षीया युना तामाङको परिवारलाई वितरण गरिने राहत रकम प्रक्रियामा रहेको अर्यालले जानकारी दिनुभयो । कागजात जुटाउने तथा प्रक्रियामा रहेकाले केही दिनमै युनाको परिवारलाई पनि राहत रकम वितरण गरिने उहाँको भनाइ छ ।
बाँके: खजुरा गाउँपालिका–६ स्थित गिजरा सामुदायिक वनबाट शुक्रबार एउटा चितुवालाई नियन्त्रणमा लिइएको छ । चितुवा बस्तीमा पस्न थालेको स्थानीयको गुनासो आएपछि बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र एनटिएनसीको सहयोगमा उक्त चितुवालाई नियन्त्रणमा लिइएको हो । “शुक्रबार खजुराको गिजरा सामुदायिक वनको जङ्गलबाट चितुवालाई नियन्त्रणमा लिएका छौँ”, डिभिजन वन कार्यालय बाँकेका प्रमुख शङ्करप्रसाद गुप्ताले भन्नुभयो, “चितुवाले समस्या पारेको जनगुनासो आइरहेको थियो । वन्यजन्तुबाट हानिनोक्सानी हुन आएको पुष्टि भएपछि बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज तथा एनटिएनसीको सहयोगमा उक्त चितुवालाई नियन्त्रणमा लिएका हौँ ।” सोही गाउँपालिका–६ का वीरेन्द्र पुन मगरकी साढे दुई वर्षीया छोरी लक्ष्मी पुन मगर गत भदौ ३० गते बेलुका घरको आँगनबाट एक्कासि हराएकी थिइन् । खोजी गर्दा घटनाको दुई दिनपछि नजिक रहेको गिजरा सामुदायिक वन क्षेत्रमा आधा शरीर खाएको अवस्थामा बालिकाको शव फेला परेको थियो । उक्त घटना घटेको १८ दिनपछि सोही ठाउँबाट शुक्रबार भाले चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका प्रमुख गुप्ताले बताउनुभयो । खोजीका क्रममा नाबालिकालाई जङ्गलमा मृत अवस्थामा फेला परेकामा स्थानीयले सोही चितुवाले उनलाई मारेको हुनसक्ने अनुमान गरेका थिए । एउटा चितुवा नियन्त्रणमा दिए पनि बच्चा खाने चितुवा यही हो भन्ने यकिन हुन नसकेको डिभिजन वन प्रमुख गुप्ताले बताउनुभयो । “कुन चितुवाले लगेर मा¥यो भन्ने पुष्टि हुन सकेको छैन । बच्चाको ‘पोष्टमार्टम रिपोर्ट’ पनि अझै आइपुगेको छैन”, उहाँले भन्नुभयो, “अनुसन्धानका क्रममा भएको कुरा पुष्टि नहुँदै यकिनका साथ भन्न सक्दैनौँ ।” उक्त चितुवा नियन्त्रण गर्न कार्यालयले सामुदायिक वनको विभिन्न स्थानमा क्यामेरासमेत जडान गरेको थियो । चितुवा नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्जका दुईवटा हात्तीलाई नौ दिनसम्म गिजरा वन क्षेत्रमा परिचालन गरिएको थियो । ठाउँठाउँमा क्यामेरा जडान गरी जङ्गलमा आहारा राखेर खोरमा फसाउन सफल भएको डिभिजन वन कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएको चितुवालाई डिभिजन वन कार्यालय बाँकेमा राखिएको छ । चितुवाको स्वास्थ्य परीक्षण गरेपछि उक्त चितुवालाई कहाँ छाड्ने भन्ने विषमा सम्बन्धित पक्षबीच छलफल गरी निर्णय गरिने डिभिजन वन प्रमुख गुप्ताले जानकारी दिनुभयो । उजाड अवस्थामा रहेको खाली जमिनमा वृक्षरोपण गरेर करिब तीन दशकअघि यहाँका स्थानीयले वन संरक्षण गर्दै आएका हुन् । वन, जङ्गल बढ्दै गएपछि स्थानीयले गिजरा सामुदायिक वन उपभोक्ता समूह स्थापना गरेका थिए । अहिले उक्त वन क्षेत्र विभिन्न वन्यजन्तुको बासस्थान बनेको छ । राँझा सबडिभिजन वन कार्यालयका प्रमुख एवं सहायक वन अधिकृत राजबहादुर चौधरीले चितुवालाई नियन्त्रणमा लिन निकै सास्ती बेहोर्नु परेको बताउनुभयो । “धेरै दिनको प्रयासपछि चितुवालाई नियन्त्रणमा लिन सक्यौँ”, उहाँले भन्नुभयो, “यसलाई नियन्त्रणमा लिएसँगै स्थानीयमा केही सहजता महसुस भएको पाएका छौँ ।” खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर विकले चितुवा नियन्त्रणमा लिन खटिएका सबैलाई धन्यवाद दिँदै पीडित परिवारलाई राज्यले आवश्यक राहत तथा क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबैले सजगता अपनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
काठमाडौं: एरिका गुरुङ इटालीमा आयोजना हुने १३औँ विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । यही असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा आयोजना हुने प्रतियोगितामा नेपालको एकल प्रतिनिधित्व गर्दै गुरुङ सहभागी हुन लागेकी हुन् । एरिकाले यु–२१ उमेर समूहको महिलातर्फ ६८ केजीमाथि तौलसमूहमा यही असोज २३ गते प्रतिस्पर्धा गर्नेछिन् । प्रतिस्पर्धाको सेमिफाइनल र फाइनल यही असोज २७ गते हुनेछ । क्याडेट र जुनियरको पनि प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा एक सय १३ राष्ट्रका एक हजार नौ सय ९५ खेलाडीको सहभागिता रहने नेपाली टोलीका प्रशिक्षक समेत रहेका १०औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता कुशल श्रेष्ठले जानकारी दिनुभयो । एरिकाको यो छैटौँ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । विगतका पाँच वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा एरिकाले नेपाललाई कूल आठ पदक दिलाएकी छन् । त्यसमा चार स्वर्ण, तीन रजत र एक कांस्यपदक छ । एरिकाले यो सफलता एक वर्षमा हासिल गरेकी हुन् । एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १०औँ विश्व सितोरियो कराते च्याम्पिन्सिपमा स्वर्ण र कांस्य जितेकी थिइन् । त्यस्तै, एरिकाले १९औँ एसियाली खेलकुदमा रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन करातेमा स्वर्ण र रजत, भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा दुई स्वर्ण र चीनको हाङझावमा भएको २०औँ एसियाली सिनियर कराते च्याम्पिन्सिपमा रजत पद जितेकी थिइन । प्रतियोगितामा सहभागी हुने एरिकासहित चार सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले आज शुभकामना दिँदै विदाई गर्नुभयो । इटाली जाने टोलीमा एरिकासँगै तारा गुरुङ र सन्तोष श्रेष्ठ रहेका छन् । नेपाली टोली भोलि इटाली प्रस्थान गर्नेछ । सदस्य–सचिव घिसिङले रणनीतिक तयारीअन्तर्गत एरिकाले सहभागी हुने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता र तालिमका लागि राखेपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सफलताका लागि शुभकामना प्रदान गर्नुभयो । अध्यक्ष लामाले नेपाल करातेमा एसियालीस्तरमा पदक जितेर इतिहास रचिसकेको उल्लेख गर्दै नेपालले यसपटक करातेको विश्व च्याम्पियनसिपमा पदक जित्नेमा विश्वास व्यक्त गर्नुभयो ।