धरान: यहाँको बराहक्षेत्र नगरपालिका– ६ चक्रघट्टीस्थित महेन्द्र माध्यमिक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ । अभिभावकको मागसँगै विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि विद्यार्थी सङ्ख्या वृद्धि भएको विद्यालयका प्रधानाध्यापक चण्डीराज पोख्रेलले बताउनुभयो । उहाँले गत वर्षदेखि नगरपालिकामै पहिलो पटक आधारभूत तह शिशु कक्षादेखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अभिभावकको सहयोग र सल्लाहमा विद्यालयमा अङ्गे्रजी माध्यमको पढाइ सुरु गरिएको हो । अङ्ग्रेजी पढाइ सुरु भएसँगै विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ ।” विद्यार्थीको सङ्ख्या धेरै भएपछि कक्षाकोठा व्यवस्थापनका लागि पुरानो भवन मर्मत थालिएको उहाँले बताउनुभया । पानी परेको बेला चुहिएर पढाईमा समस्या हुने भएकाले आवश्यक सहयोगका लागि उहाँले सरोकारवालासँग आग्रह गर्नुभएको छ । प्रधानाध्यापक पोख्रेलका अनुसार विद्यालयमा हाल आठ सय ५० विद्यार्थी अध्ययनरत छन् । एक वर्षमै दुई सय भन्दा बढी विद्यार्थी सङ्ख्या थपिएको विद्यालयले जनाएको छ । विद्यार्थीको चाप बढेपछि आठ शिक्षक थप गरी ३० शिक्षकबाट पठनपाठन सञ्चालन गरिरहेको प्रधानाध्यापक पोख्रेलले बताउनुभयो । विद्यालयमा बिहान १० देखि ४ बजेसम्म अङ्ग्रेजी माध्यम र १०:३० देखि ४:३० बजेसम्म नेपाली माध्यमको पढाइलाई दुई भागमा विभाजन गरिएको छ । अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै महेन्द्र माविमा कार्यरत शिक्षकहरुलेसमेत आफ्ना छोराछोरीलाई सोही विद्यालयमा भर्ना गरेको शिक्षक प्रवीण खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “अभिभावकहरुले अङ्ग्रेजी माध्यममा पढाइ सुरु गर्न आग्रह गरेपछि छुट्टै आठ शिक्षक थप गरी अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरिएको हो ।” विद्यालयको आयस्रोत कमी भएकाले अङ्ग्रेजी माध्यममा पढाउने शिक्षकका लागि विद्यालयले अभिभावककै राजीखुसीमा प्रति विद्यार्थी मासिक न्यूनतम शुल्क लिने गरेको विद्यालयले जनाएको छ । विसं २०१३ मा स्थापना भएको महेन्द्र माविले २०५७ सालदेखि कक्षा १२ सम्म सञ्चालन गर्दै आएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउदै आउनुभएका पोखराका नारायण पौडेल विदामा घर जाँदा म्याग्दीको सिमाना घाँसाबाट कोशेली स्याउ किनेर लैजाने गर्नुहुन्थ्यो । उहाँका अनुसार कागबेनीमा छिटपुट रुपमा मात्रै स्याउ उत्पादन हुन्थ्यो । “ तत्कालीन समयमा बोकेर लैजानुपर्ने भएकाले सबैभन्दा तल पर्ने लेते–घाँसामा बोटबाट आफैले टिपेर घर जाँदा स्याउ लैजाने गरिन्थ्यो,” उहाँले तीन दशकअघिको स्मरण गर्नुभयो “अहिले घाँसा, लेतेमा स्याउको बगैचानै छैन् । उपल्लो क्षेत्रमा पर्ने लोमान्थाङमा स्याउ फल्न थालेको छ ।” दशकअघिसम्म जोमसोम र मार्फाबाट स्याउ किनेर लैजाने लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ घाराकी छेमा गुरुङले तीन हजार नौ सय मिटर उचाइमा अवस्थित घारा गाउँको बगैचामा स्याउ फलाउन थाल्नुभएको छ । “पहिले धेरै स्याहार सुसार र मेहनत गरेपनि स्याउ फल्ने गरेको थिएन,” उहाँले भन्नुभयो “तापक्रम बढ्न र मौसममा आएको परिवर्तनका कारण अहिले घारामा पनि सजिलै स्याउ फल्न थालेको छ ।” मुस्ताङको मौसम र तापक्रममा आएको परिवर्तनको असर प्रमुख कृषिबाली स्याउ खेतीमा पनि देखिएको कृषक र प्राविधिकहरुले बताएका छन् । तल्लो क्षेत्रमा नासिदै गएको स्याउ खेती माथिल्लो भेगमा फैलिदै र फस्टाउन थालेको छ । थासाङ गाउँपालिका–२ कोवाङका कृषक जीवन थकालीले तापक्रम वृद्धि र नयाँ रोग देखिन थालेपछि स्याउखेतीमा चुनौति सिर्जना भएको बताउनुभयो । “पहिलेको तुलनामा धेरै पानी पर्ने, सिजनमा हिउँ नपर्ने, बेसिजनमा हिउँ पर्ने र कम फल लाग्ने समस्या देखिएको छ,” उहाँले भन्नुभयो “बगैचा व्यवस्थापन, सिचाई र किराबाट बचाएर स्याउ खेतीलाई निरन्तरता दिएका छौ ।” कोवाङ क्षेत्रको बगैचाको स्याउमा दादे रोग चुनौतिका रुपमा देखिएको थकालीले बताउनुभयो । स्याउ खेती हुन छाडेपछि लेते, कुञ्जो, कोवाङ, घासाँका कृषकहरुले विकल्पमा ओखर खेती गर्न थालेका छन् । जोमसोम देखि तल्लो भेगमा अत्याधिक स्याउ खेती हुने भएकाले वि.स. २०२३ मा सरकारले मार्फामा शीतोष्ण बागवानी विकास केन्द्र स्थापना गरेको थियो । स्याउ लगायत हिमाली फलफुल, तरकारी र खाद्यबालीको अध्ययन, जैविकीय गुणको संरक्षण र विउको विकास गर्दै आएको केन्द्रका प्रमुख पद्यमनाथ आत्रेयले मुस्ताङमा स्याउ खेती उकालो चढ्दै गएको बताउनुभयो । “सैद्धान्तिक हिसाबले समुन्द्रि सतहदेखि दुई हजार देखि तीन हजार मिटरको उचाईको भूगोलमा स्याउ खेती हुनुपर्ने हो,” उहाँले भन्नुभयो “दुई हजार मिटर उचाईको भूगोलमा स्याउ खेती नासिएको छ । चार हजार मिटरको उचाईमा स्याउ उत्पादन हुन थालेको छ ।” स्याउको परागशेचनका लागि चिसो हावापानी र मौसम आवश्यक पर्छ । उच्च गुणस्तरको जातका स्याउ परागशेचन हुन एक हजार देखि एक हजार छ सय घण्टा सात डिग्री भन्दा कम तापक्रम आवश्यक पर्छ । मध्यम गुणस्तरको स्याउलाई छ सय देखि एक हजार घण्टा र कम गुणस्तरको स्याउको परागशेचनका लागि चार सय देखि छ सय घण्टा सम्म सात डिग्री भन्दा कम तापक्रम आवश्यक पर्छ । स्याउको परागशेचन हुने समयमा तल्लो मुस्ताङको तापक्रम न्युनतम १६ देखि अधिकतम २१ डिग्री हुँदा गत वर्ष उत्पादन ४० प्रतिशतले घटेको थियो । चालीस प्रजातिका स्याउको संरक्षण गरिरहेको केन्द्रले तापक्रम प्रतिकुल हुन थालेपछि उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका–२ घमीमा बागबानी फार्मको शाखा स्थापनाको तयारी गरेको केन्द्रका प्रमुख आत्रेयले बताउनुभयो । “जलवायु परिवर्तनको सामना गर्दै स्याउको जिन संरक्षणका लागि माथिल्लो क्षेत्रमा शाखा कार्यालय खोल्नुपर्ने अवस्था आएको हो,” आत्रेयले भन्नुभयो “स्थानीयले पनि स्याउ खेती गरिरहेको घमीको भूगोल र हावापानी उपयुक्त देखिएकाले जग्गा प्राप्तिको प्रक्रीया अघि बढाएका हौ ।” तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण खेती हुने भूगोल फेरिनुका साथै स्याउ छिटो पाक्न थालेको छ । पहिले असोज लागेपछि गुलीयो पस्ने गरेकोमा यसपाली गर्मी धेरै भएकाले भदौको दोस्रो हप्तामै खान योग्य भएको घरपझोङ गाउँपालिका–२ मार्फाका ७९ वर्षीय लालप्रसाद हिराचनले बताउनुभयो । “पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउदैनथ्यो,” उहाँले भन्नुभयो “यसपाली विगतका वर्ष भन्दा धेरै गर्मी महशुस भएको छ । स्याउ पनि १५–२० दिन अघिनै पाक्न थालेको छ ।”
शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ । पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गसहित यहाँका पर्यटकीय गन्तव्यमा पर्यटक आउन सुरु गरेका छन् । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले मध्यअसोजदेखि पर्यटकको चहलपहल बढ्दै जाने जानकारी दिनुभयो । “विदेशी पर्यटकको बुकिङ आइरहेको छ, नेपालीहरु दसैँ आसपासमा बढी घुम्न निस्कन्छन्”, उहाँले भन्नुभयो, “पदयात्रा पर्यटन कोभिड–१९ अघिको स्थितिमा अझै नफर्केपनि सुधारतिर उन्मुख हुँदै गएको छ, यस याममा पर्यटक बढ्ने आशा छ ।” पोखरा–मुग्लिन सडक निर्माणमा भइरहेको ढिलाइले पनि यस क्षेत्रमा भित्रने पर्यटकको सहज आउजाउमा बाधा पु¥याइरहेको अध्यक्ष अचार्यको भनाइ छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग र हवाईयात्रालाई सुरक्षित एवं व्यवस्थित बनाउनुपर्ने उहाँले बताउनुभयो । कतिपय पुराना र स्थापित पदमार्ग सडकका कारण सङ्कटमा परेकाले तिनको विकल्प खोज्नुपर्ने अध्यक्ष आचार्यको भनाइ छ । उहाँले ‘टान’ले आउँदो साता पर्ने अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर पारेर नयाँ पर्यटकीय पदमार्गको प्रवद्र्धन गर्ने योजना बनाएको बताउनुभयो । उक्त संस्थाले पदयात्रा पर्यटनलाई थप व्यवस्थित बनाउन पथप्रदर्शकहरुलाई जैविक विविधता र पर्यावरणबारे अभिमुखीकरण गरेको थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार असोज लागेयता पछिल्ला तीन दिनमा २५ सय ७७ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका १५ सय ७२ र अन्य मुलुकका एक हजार पाँच जना रहेका छन् । गत भदौमा दक्षिण एसियाली मुलुकका सात हजार तीन सय ६९ र अन्य मुलुकका पाँच हजार नौ सय एक गरी जम्मा १३ हजार दुई सय ७० पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । ‘एक्याप’ले पदयात्रा र सडकमार्ग भएर सो क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको तथ्याङ्क राख्दै आएको छ । आयोजना प्रमुख डा रविन कडरियाले अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहोरमुक्त बनाउने अभियान सञ्चालन गरिएकाले त्यहाँ जाने पर्यटकलाई सकेसम्म बोतल र प्लाष्टिकजन्य सामग्री नलैजान आग्रह गर्नुभयो । “उच्च पहाडी र हिमाली भेगमा जाँदा लेक लाग्ने घटना वृद्धि भइरहेकाले पर्यटकलाई विशेष सावधानी अपनाएर यात्रा गर्न अनुरोध गर्दछौँ”, उहाँले भन्नुभयो । गत आवमा अन्नपूर्ण क्षेत्रको भ्रमणमा निस्केका २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको डा कडरियाले जानकारी दिनुभयो । तीमध्ये छ जना नेपाली, ११ जना भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिक थिए । “अधिकांश लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन्”, डा कडरियाले भन्नुभयो, “हिमाली भेगको पदयात्रामा जाँदा विशेष ख्याल गर्नुपर्छ, एकैपटकमा उचाइमा पुग्नुहुँदैन, विश्राम लिँदै जानुपर्छ ।” लामो दुरीको पदयात्रामा निक्कँदा समूहमा या पथप्रदर्शक लिएर मात्र जानुपर्ने उहाँको भनाइ छ । पदयात्राका लागि प्रख्यात म्याग्दीको घोडेपानीका पर्यटन व्यवसायी जुली पुनले केही दिनयता मौसम खुलेसँगै पदयात्री पर्यटक आउने क्रम सुरु भएको बताउनुभयो । “विदेशीहरुले पदयात्रा रुचाउने भएपनि बढीजसो आन्तरिक पर्यटक सडकमार्ग भएर यहाँ आउने गरेका छन्”, उहाँले भन्नुभयो, “वर्षात्का बेला बिग्रेको सडक मर्मतसुधार हुन नसकेका कारण पर्यटकको आउजाउ सहज हुन सकेको छैन ।” जीर्ण सडकका कारण व्यवसायीहरुले आफूलाई चाहिने सरसामान ल्याउन पनि मुस्किल भइहेको उहाँले सुनाउनुभयो । व्यवसायी पुनले कोभिड–१९ अघिको अवस्थामा जस्तो विदेशी पर्यटक अझैपनि घाडेपानीमा भित्रन नसकेको बताउनुभयो । “पोखराको हवाईमार्गमा विभिन्न समयमा भएका जहाज दुर्घटनाले पनि पर्यटन क्षेत्रमा असर गरेको छ, काठमाडौँदेखि पोखरा जोड्ने राजमार्ग पनि समयमा नबन्दा समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “सरकारले पर्यटन क्षेत्रलाई उकास्न पूर्वाधार निर्माण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।” रोज्नुहोस् उत्कृष्ट गन्तव्य अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने पर्यटकीय गन्तव्य हुन् । कास्कीको खुमै डाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङलगायत गाउँ पनि पदयात्राका लागि चिनिएका गन्तव्यस्थल हुन् । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिने ‘एक्याप’का प्रमुख डा कडरियाले बताउनुभयो । चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । गत वर्षको शरद याममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अन्नपूर्ण आधार शिविरको भ्रमण गर्नुभएको थियो । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंह, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गर्नुभयो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीको सम्मानमा गारत अर्पण गरेको थियो । प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ । उहाँ यही असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्युरो (एलडिसी)को अध्यक्षका रूपमा सम्मेलनलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उहाँले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत ‘उच्चस्तरीय र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध’ विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुने तालिका छ । उहाँले भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनुहुन्छ । उहाँ असोज १४ गते स्वदेश फर्कनु हुनेछ ।
हेटौँडा: विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले पहिलोपटक संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी गर्यो । जारी भएको ती संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको कार्यान्वयन भएसँगै अहिले तीन तहका सरकार क्रियाशील छ । नेपाली जनताको ठूलो सङ्घर्षबाट प्राप्त संविधान जारी भएको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष असोज ३ गतेलाई संविधान दिवसका रूपमा मनाउँदै आएको छ । यस सन्दर्भमा संविधानको कार्यान्वयनको अवस्था र चुनौती, प्रदेश सरकारले खेल्दै आएको भूमिकालगायतका विषयमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसँग गरेको कुराकानीको सम्पादित अंश: - नेपालको संविधान, २०७२ जारी भएपछि प्रदेशमा भएका महत्त्वपूर्ण उपलब्धिहरू के–के हुन् ? अहिलेसम्म सम्पादित कामलाई कसरी हेर्नुभएको छ ? थुप्रै समस्याहरूका बाबजुद प्रदेश सरकारका निकायहरूले जनताको नजिक भएर काम गरिरहेका छन् । नागरिकले सहज रूपमा मुख्यमन्त्री र मन्त्रीसम्म पुगेर आफ्ना गुनासो, माग राखिरहेका छन् । नागरिकले लिएर आएका गुनासा र मागहरूलाई भ्याएसम्म प्रदेश सरकारले सम्बोधनसमेत गरिरहेको छ । विगतमा सङ्घीय सरकारसम्म पहुँच नभएका नागरिकहरू अहिले प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीसमक्ष आएर निर्धक्कपूर्वक आफ्ना कुरा राख्न पाएका छन् । नागरिकले सङ्घीयताको अनुभूति गर्न पाएका छन् । प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय सरकार समन्वय र सहकार्य गरी आफ्ना कामलाई छिटोछरितो ढङ्गबाट सम्पादन गरिरहेको छ । हो कतिपय कठिनाइका कारण नागरिकको काम छिटोछरितो गर्न पाएका छैनौंँ । तर विस्तारै नागरिकको भरोसा बढ्दै गएको छ । नागरिकको नजिक भएर काम गर्न पाउँदा म सन्तुष्ट छु । - संविधानअनुसार बीचमा रहेको प्रदेश सरकारलाई आफ्ना नीति तथा कार्यक्रम र कार्ययोजना कार्यान्वयन गर्ने सन्दर्भमा हालको संरचनागत र कानुनी व्यवस्था कस्तो छ ? प्रदेश सरकारलाई अझ सशक्त, प्रभावकारी र विश्वसनीय बनाउन के–कस्तो संरचना र कानुनी व्यवस्था आवश्यक छ ? प्रदेश सरकारलाई आफ्ना नीति तथा कार्यक्रम र योजना कार्यान्वयनमा पक्कै पनि समस्या छ । प्रदेश सरकारलाई चाहिने ऐन कानुनमध्ये धेरै बनाइसकेको छ । तर प्रदेश सरकारलाई समन्वयकारी भूमिका दिएकाले सङ्घीय सरकार र स्थानीय निकायसँग समन्वय गरेर नीति तथा कार्यक्रम र कार्ययोजनाहरू बनाउनुपर्ने हुन्छ । यस्तो गर्दा केही समस्या भइरहेको छ । प्रदेश सरकारले लगानी गरेको ठाउँमा केन्द्र वा स्थानीय सरकारले लगानी गर्नुहुँदैन । तर यस्तो भइरहेको छैन । प्रदेश सरकारले सडक बनाएकै ठाउँमा सङ्घीय सरकारले पनि आफ्नो योजना लैजाने गरेको छ । प्रदेश सरकारले विकास गर्ने, उद्यमशीलता सिर्जना गरेर रोजगारी प्रवर्द्धन हो । त्यसमा सङ्घीयले हस्तक्षेप गर्नु हुँदैन । हामीले नीति कार्यक्रम बनाउँछौँ तर सङ्घीय सरकारले त्यसलाई छेक्ने काम गर्दछ । प्रदेशभित्रको शान्ति, सुरक्षाको दायित्व प्रदेश सरकारको पनि हो । यहाँको शान्ति सुरक्षा कायम गर्ने, नागरिकलाई शान्ति अमनचयनको अनुभूति गराउने काम प्रदेश सरकार पनि हो । तर त्यसका लागि सङ्घीय सरकारको मुख ताक्नुपर्ने अवस्था छ । किनकि प्रहरी अझै पनि सङ्घीय सरकारकै मातहतमा छ । त्यसैले प्रदेश सरकारलाई अझ सशक्त, प्रभावकारी र विश्वसनीय बनाउन संविधानमा उल्लेख भएको राजनीतिक, प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकारले ध्यान दिनुपर्छ । - नेपालको संविधान २०७२ कार्यान्वयनका क्रममा केन्द्र, प्रदेश र स्थानीय तहबीचको अन्तरद्वन्द्व पनि कायमै छ । केन्द्रले प्रदेश एवं प्रदेशले स्थानीय तहलाई अधिकार नदिएको भन्ने कुरा पनि बेलाबेलामा आउने गरेको छ, विशेषगरी प्रदेशबाट यस सम्बन्धमा कस्तो भूमिका निर्वाह भएको छ ? हामीले संविधान बनायौैँ । संविधानले तीनै तहको सरकारलाई अधिकार प्रदान गरेको छ । संविधानप्रदत्त अधिकारमाथि कसैले पनि हस्तक्षेप गर्नु हुँदैन । संविधानले दिएको अधिकार सङ्घले रोक्नु हुँदैन । अधिकार सङ्घीय सरकारले दिने होइन, संविधानले दिइसकेको छ । त्यसैले यसलाई कार्यान्वयन मात्र गर्नुछ । प्रहरी, कर्मचारी प्रदेश सरकारमा हस्तान्तरण गर्नुपर्छ । सङ्घीय सरकारले ठूलाठूला आयोजना, राष्ट्रिय नीतिहरू बनाउने हो । प्रदेशले विकास गर्ने हो । स्रोतहरूको समुचित सदुपयोग गरी रोजगारी सिर्जना गर्ने हो । प्रदेशले स्थानीयलाई ‘डेलिभरी’ दिने हो र विकास गर्ने हो । पर्यटन प्रवर्द्धन गरेर आर्थिक विकासमा टेवा पुर्याउने काम प्रदेशको हो । तर त्यो भइरहेको छैन । सङ्घीय सरकारले पनि प्रदेशले गर्ने काममै अल्झिएको छ । त्यसैले हामीले सङ्घीय सरकारलाई संविधानप्रदत्त प्रदेश सरकारको अधिकारलाई हस्तान्तरण गर्न भनिरहेका छौँ । - प्रदेश सरकार खर्चिलो भयो, आर्थिक रूपमा आत्मनिर्भर र राजनीतिक रूपमा स्वतन्त्र नभएको भनी संरचना खारेज गर्नुपर्दछ भन्ने आवाज आउन थालेको छ, यसै सन्दर्भमा प्रदेश सरकारलाई स्थिर, सक्षम, थप कामकाजी, जनपक्षीय, परिणाममुखी र सुदृढ बनाउन के गर्नुपर्ला ? पहिलो त प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन । यसअघि पनि प्रदेश संरचना सरहकै संरचनाहरू थिए । त्यतिबेलाको संरचनामा पनि खर्च हुन्थ्यो । अहिले नै भने हो भने सातवटै प्रदेश सरकारको बजेट सङ्घीय सरकारको एउटा मन्त्रालयको भन्दा कम छ । अनि कसरी भन्नुहुन्छ कि प्रदेश सरकार खर्चिलो भयो भनेर । बरु प्रदेश सरकार आइसकेपछि गाउँगाउँमा सडकहरू बनेको छ । जनताले विकास भएको अनुभूति गरेका छन् । नागरिकले प्रदेश सरकारसँग राखेको अपेक्षा एकै पटक पूरा नहुँदा केही गुनासो बढेको छ । प्रदेश सरकारका सवारीसाधन देखेर लागेको होला कि प्रदेश सरकार खर्चिलो भयो भनेर । तर त्यसमा कुनै तर्क छैन । पहिलाको क्षेत्रीय र गाविसको संरचनाभन्दा प्रदेशको संरचना कम खर्चिलो छ । सङ्घीय सरकारको कुल बजेटको तीन दशमलव ४७ प्रतिशतमात्रै वित्तीय हिस्सा बागमती प्रदेश सरकारले ओगटेको छ । प्रदेश सरकारलाई स्थिर, सक्षम र थप कामकाजी र सुदृढ बनाउन सबैभन्दा पहिला सुशासन प्रवर्द्धन गर्नपर्छ । हरेक क्षेत्रमा सुशासनको प्रत्याभूति दिलाउनुपर्छ । भ्रष्टाचार चरम रुपमा बढेको छ । भ्रष्टाचार न्यूनीकरण गर्न पहिला सबैको सम्पत्तिलाई ‘अपडेट’ गरौँ । सम्पत्ति अपडेट भएपछि को सँग कति सम्पत्ति छ भने यकिन हुन्छ र त्यसपछि सम्पत्ति बढ्यो भने त भ्रष्टाचार गर्यो भन्ने थाहा हुन्छ । यसरी भ्रष्टाचार न्यूनीकरण हुन्छ । अन्त्यमा, संविधान दिवस, २०८१ को उपलक्ष्यमा नेपाली जनता र विशेषगरी प्रदेशवासीलाई के भन्न चाहनुहुन्छ ? नेपालको राजनीतिक इतिहासमै पहिलोपटक जनताबाट निर्वाचित प्रतिनिधिबाट संविधानसभामार्फत संविधान जारी भएको दिन असोज ३ गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाइरहेका छौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छ । यसका लागि संविधानले सङ्घीय, प्रदेश र स्थानीय सरकारले पूरा गर्नुपर्ने भनी निदृष्ट गरेका जिम्मेवारी बहन गर्दै राष्ट्रको समृद्धि हासिल गर्नका लागि निर्धारित लक्ष्य प्राप्तिको दिशामा अघि बढ्नुपर्ने आजको मूल दायित्व हो । यसमा सबै इमान्दार भएर लागौंँ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताउनुभएको छ । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै उहाँले टकरावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट नेपाललाई जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न शान्ति क्षेत्रको प्रस्ताव अघि बढाउने बेला आएको छ भन्नुभयो । अध्यक्ष दाहालले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण ‘एजेण्डा’ हुनसक्ने बताउनुभयो । “हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र विपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “तर अब बदलिएको राजनीतिक अवस्था र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ ।” नेपाललाई शान्ति क्षेत्र घोषणाका बारेमा पार्टीभित्र पनि छलफलको तयारी भइरहेको जनाउँदै अध्यक्ष दाहालले भन्नुभयो, “यसमा खुला छलफल गर्ने पक्षमा छु, पार्टीबाट नै यस विषयमा स्पष्ट दृष्टिकोण बनाएर जाने छौँ ।” आफूहरु केन्द्रीय समिति बैठकको तयारीमा रहेकाले उस्तै परे यही बैठकबाट पनि एउटा प्रस्तावको रुपमा यसलाई लैजान सकिने पनि उहाँले जानकारी दिनुभयो । अध्यक्ष दाहालले विश्व शान्तिको केन्द्र लुम्बिनीलाई प्रमुख आधार बनाएर यो क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा अघि सार्न आवश्यक हुने उल्लेख गर्दै यसमा जनस्तरबाट बहस थालिनु सकारात्मक भएको बताउनुभयो । उहाँले आफ्नो पार्टीको तर्फबाट यो अभियानलाई सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । दाङका वरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा अभियानको अध्यक्ष रहनुभएको छ । अभियानका तर्फबाट बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापनपत्र बुझाउँदै संयुक्त राष्ट्रसंघको महासभामा आवाज उठाउन आग्रह गरेको उपाध्यक्ष दोर्जी छिरिङ शेर्पाले जानकारी दिनुभयो । दाङबाट सुरु भएको सो अभियानले दाङ, लुम्बिनी र काठमाडौँमा विभिन्न समयमा विचार गोष्ठी आयोजना गरिसकेको जनाएको छ ।
काठमाडौँ: लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५७ हजार एक सय निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य आज तोलामा रु ३५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय १५ निर्धारण भएको छ ।
बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छभने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर एक सय ३३ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २० पैसा कायम भएको छ । बिहीबार यस मुद्राको मूल्य एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको थियो । युरोपियन यूरोको आजको मूल्य एकको खरिदर एक सय ४९ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ७४ पैसा कामय भएको छ भने बिहीबार यस मुद्राको मूल्य एकको खरिददर एक सय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ४३ पैसा निर्धारण भएको थियो । बिहीबार केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४४ पैसा कामय भएकामा आज एकको खरिदर एक सय ७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ३९ पैसा कायम भएको छ । यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ३६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३९ र बिक्रीदर एक सय तीन रुपैयाँ ८६ पैसा कायम भएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा कायम छ । राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८१ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १६ पैसा र बिक्रीदर १३ रुपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९९ पैसा र बिक्रीदर २० रुपैयाँ ०८ पैसा छ । हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १४ पैसा र बिक्रीदर १७ रुपैयाँ २२ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९१ पैसा छभने बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ०८ पैसा कायम भएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
लमजुङ: बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदामार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन् । धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार बर्खायाममा दैनिक दुई–चार जना पर्यटक आउने गरेकामा हाल एक सय ५० जना आउन थालेका छन् । पर्यटक आगमनसँगै पदमार्ग क्षेत्रका होटल व्यवसायी पनि व्यस्त भएका छन् । सन् २०२४ को जनवरीदेखि हालसम्म उक्त पदमार्गमा १२ हजार तीन सय ५५ जना पर्यटक आएका प्रमुख गुरुङले बताउनुभयो । अघिल्लो वर्षको सोही अवधिमा १० हजार आठ सय ९७ जना पर्यटकले पदयात्रा गरेका थिए । हालसम्म फ्रान्सका एक हजार एक सय ७२, इजरायलका एक हजार ८२, जर्मनीबाट आठ सय ९२, भारतका आठ सय २८ जना पर्यटकले यो भेगको भ्रमण गरेका उहाँले जानकारी दिनुभयो । पर्यटक आउने याममा दैनिक ५० हजारभन्दा बढी आम्दानी हुने गरेकामा बर्खायाममा पर्यटक नआउँदा दैनिक रु दुई–चार हजार आम्दानी हुँदै आएकामा हाल रु १५ देखि ३० हजारसम्म कारोबार हुने गरेको मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी मेखबहादुर गुरुङले बताउनुभयो । हिमाल, उच्च पहाडका र पहाडका साथै यहाँको रीतिरिवाज, वेशभूषाबारे जानकारी लिँदै संसारको सबैभन्दा अग्लो मानिसएको थोराङला पासबाट मुस्ताङक र पोखरा जान पर्यटकहरू अन्नपूर्ण पदमार्गमा आउने गरेका छन् । पर्वतारोण र पदयात्राका निम्ति प्रख्यात मनाङ आउने पर्यटक थोराङलातर्फ पनि जाने गरेका छन् । यो स्थान पार गर्न करिब २१ दिन लाग्ने गरेकामा केही स्थानमा सवारीसाधनसमेत सञ्चालनमा आएपछि थोराङलाको यात्रा १२ दिनमा टुङ्गिने गरेको पदयात्रा व्यवसायीहरूले बताएका छन् । विगतका वर्षहरूमा झै यो वर्ष पनि दैनिक चार सय पर्यटकले मनाङ भ्रमण गर्ने उनीहरूको अपेक्षा छ ।