भत्किएको कोठामा कार्यालय प्रमुख
दाङ | कात्तिक ९, २०८१

दाङ: जिल्लाको बेलझुण्डीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला छ । सोही ठाउँमा एथ्लेटिक्सको सिन्थेटिक ट्रयाक छ । त्यही गौरवको उक्त रङ्गशाला संरक्षण गर्ने जिम्मा–दाङ जिल्ला खेलकुद विकास समिति हो । तर, त्यही समितिका कार्यालय प्रमुख बस्ने कोठा सुरक्षित छैन ।
सोही रङ्गशालासँगै निर्माण भएको नयाँ भवन अस्तव्यस्त छ । छतमा राखिएको जिप्सन पूरै भाँचिएको छ । गत जेठमा आएको हुरीबतासले पूरै जिप्सन उप्किए पनि त्यसको मर्मत हुनसकेको छैन ।
“हामीले मर्मतका लागि पटकपटक सम्बन्धित निकायमा भनेका छौँ”, कार्यालय प्रमुख शान्ति सोमैले भन्नुभयो, “तर सुनुवाइ भएको छैन ।” कतिबेला माथिबाट सबै खसेर चोट लाग्ने भन्ने डरैडरमा बस्ने गरेको प्रमुख सोमैले दुखेसो पोख्नुभयो । विसं २०७६ मा उक्त भवन निर्माण भएको हो । दुईवटा कोठामा त्यस्तो समस्या देखिएको प्रमुख सोमैले बताउनुभयो ।
रङ्गशालामा उम्रियो घाँँस
त्यस्तै यहाँको फुटबल रङ्गशालामा पनि घाँस उम्रिएको छ । त्यहाँ उम्रिएको घाँस काट्ने औजार छैन । घाँस काट्नका लागि सेनालाई गुहार्नुपर्छ । केही महिनाअघि घाँस काटेको भए अहिले पुनः पलाएर ठूलो–ठूलो भएको छ ।
त्यो मेसिन खरिदका लागि पनि पटकपटक माग गरेको भए पनि प्राप्त हुन नसकेको कार्यालय प्रमुख सोमैले बताउनुभयो । त्यसले गर्दा पनि यसरी घाँस उम्रिने गरेको उहाँले बताउनुभयो ।
अन्तराष्ट्रियस्तरको उक्त रङ्गशालामा अठौँ राष्ट्रिय फुटबल तथा एथ्लेटिक्स प्रतियोगिता भएका थिए । रु २४ करोड २४ लाख लागतमा रङ्गशाला निर्माण भएको हो । दिवा एवं प्रतिष्ठा जेभीले भिआइपी प्यारापिटसहित रङ्गशाला निर्माण गरेको हो ।
रङ्गशालामा भिआइपी प्यारापिट, बाथरुम, बिजुली र रङरोगनसमेत गरिएको छ । रङ्गशालामा फुटबल मैदानका साथै सेन्थेटिक ट्रयाक पनि निर्माण गरिएको छ । जुन मोफसलमा पहिलो हो । त्यहाँ भिआइपी प्यारापिटभित्र खेलाडीका लागि चेञ्जिङ रुम, अफिस, कन्फ्रेन्स हल, रेफ्रीका लागि छुट्टै कोठा निर्माण गरिएको छ ।
रङ्गशालाको पश्चिमतर्फ निर्माण गरिएको भिआइपी प्यारापिटमा चार सय १२ सिट छन् । रङ्गशालाको पूर्वी भागमा दर्शकका लागि साधारण प्यारापिट निर्माण गरिएको छ । भिआइपी प्यारापिटका लागि आवश्यक धातु तथा दर्शक बस्ने सिट मलेसियाबाट ल्याइएको हो ।
रङ्गशालामा प्रयोग गरिएका तारबारसमेत विदेशबाटै ल्याइएको हो । फिफा मापदण्डअनुसार निर्माण गरिएको फुटबल मैदानमा ‘बरमुडा’ दुबो रोपिएको छ । यो दुबो भारतको कोलकताबाट ल्याएर रोपिएको थियो ।
चितवन: चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोव...
काठमाडौं: आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय ...
नवलपरासी: पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे...