मुस्ताङ:  मुस्ताङको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन् । ...

म्याग्दी:    मालिका गाउँपालिकाको छ सय बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विद्युतीकरण गरेको हो । मालिका–२ रुम, बेली, जेम, घ्याङ्लेपानीमा दुई ५६, मालिका–३ खतेनमा ५०, लुप्सीपारमा ५४, पात्लेका एक सय २०, मालिका–४ ओखरबोटमा एक सय दुई घरमा बिजुली बलेको नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले जानकारी दिनुभयो । प्राधिकरणको विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका चारवटा वडामा बत्ती बलेको हो ।   म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि रु २२ करोड बजेटको योजना सञ्चालन भएको छ । घ्याङलेपानीबाहेकका बस्तीका बासिन्दाले यसअघि उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गरेका थिए् । वर्षौँको प्रयासपछि बिजुली बलेपछि स्थानीयमा खुसीयाली छाएको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो ।  मालिका गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने पात्ले, लुप्सीपार, किटेनी, डाडागाउँ, औला, सेउलीबाङ, अदिभारा, इग्रे, खतेन बस्तीका तीन सय २५ घरमा विद्युतीकरण भएको उहाँले बताउनुभयो । केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि स्थानीयलाई घरायसी कामकाज गर्न, विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा सहज भएको मालिका–३ पात्लेकी बालकुमारी रोकाले बताउनुभयो ।   विद्युत् सुविधा विस्तारका लागि ४७.६ किलोमिटर मुख्य, एक सय २६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न २०८० असोजमा रविन्द्र÷ढुङ्गाना जेभीसँग रु तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो । सोही ठेक्कामार्फत मुख्य, शाखा लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो । मिटरबक्स जडान र वायरिङको काम उपभोक्ता आफैँले गरेका हुन् ।  आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ११ स्थानमा एक हजार चार सय ३८ उपभोक्ता थपिएका विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताउनुभयो । गत वर्ष थपिएकासहित केन्द्रमा २३ हजार ग्राहक छन् ।

ललितपुर:    शुक्रबारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेललमा मानव स्वास्थ्य, ऊर्जा भण्डारण, कार्बन उत्सर्जनलाई कम गर्ने विषयमा छलफल भएको छ ।  सम्मेलनको दोस्रो दिन शनिबार ऊर्जा, वातावरण र बायोमेडिकलबारे भएका पछिल्ला अनुसन्धान, अन्वेषणबाट पत्ता लागेका कुरा तथा अनुसन्धानबाट हासिल उपलब्धिको उपयोगिताको सम्भावनाका बारेमा समेत छलफल भएको छ । ‘नेपाल मटेरियल्स साइन्स सोसाइटी’को आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको सहआयोजनामा जारी ‘एड्भान्स फङ्सनल मटेरियल्स’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन सुरुआतमा चीनको साङ्घाइस्थित  दोङ्वा विश्वविद्यालयका प्राध्यापक बिन दिङले ऊर्जाका क्षेत्रमा गरिएको आफ्नो अनुसन्धान र विश्वमा पछिल्लो समय भइरहेका अन्वेषणबारे आफ्नो धारणा राख्नुभयो । उहाँले नयाँ प्रविधिको प्रयोग गरेर न्यानो फाइबरको उत्पादन र यसको उपयोगिताबारे जानकारी गराउनुभयो ।  न्यानो फाइबरलाई ऊर्जा भण्डारण, ब्याट्री बनाउन, मानव स्वास्थ्यका लागि हानिकारक ग्यास सोस्नेलगायत विषयमा उपयोग गर्न सकिने प्राध्यापक दिङले जानकारी दिनुभयो । उहाँले न्यानो फाइबरलाई मानव स्वास्थ्यको उपचारका लागि पनि प्रयोग गर्न सकिने उल्लेख गर्नुभयो । त्यसैगरी जापानस्थित नेशनल इन्स्टिच्युट फर मटेरियल्स साइन्स (निम्स)का प्राध्यापक डा लोककुमार श्रेष्ठले ऊर्जा, वातावरण र नानो मटेरियल्स’सम्बन्धी शीर्षकमा धारणा राख्दै ऊर्जा भण्डारण गर्ने उपकरण कसरी निर्माण गर्न सकिन्छ र यसको कार्यक्षमता के हुन्छ भन्ने विषयमा सहभागीलाई अवगत गराउनुभयो । हेल्थकेयर, बायोमेडिकल शीर्षकमा मन्तव्य राख्दै त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र विभागका प्रा डा पारसना यादवले नेपालमा क्यान्सरको उपचारका सम्बन्धमा भए–गरेका अनुसन्धानबारे जानकारी गराउनुभयो ।  त्यस्तै सोही विषयमा धारणा राख्दै डा कृष्ण कट्टेलले क्यान्सरको उपचारमा विश्वमा चलिरहेको नयाँ पद्धतिको अनुसन्धान र उपचार विधिका बारेमा व्याख्या गर्नुभएको थियो । यसैगरी आइआइटी रुड्की भारतका प्रा डा विमल श्रीवास्तवले वायुमण्डलमा उत्सर्जन भएको कार्बनडाइक्साइडलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनुभयो ।  उहाँले वायुमण्डलमा कार्बन उत्सर्जनलाई कम गर्ने मात्र नभएर उत्सर्जित कार्बनडाइक्साइडबाट अल्कोहल बनाउन सकिने विषयमा आफ्नो धारणा राख्नुभयो । नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रा डा टिस्टा प्रसाईँ जोशीले पिउने पानीमा देखिने आर्सनिकको मात्रा कसरी घटाउने र त्यो झिकिएको आर्सनिकको बहुउपयोगिता कसरी गर्न सकिन्छ भन्नेबारे आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो ।  सम्मेलनको दोस्रो दिन विभिन्न मुलुकका ३० भन्दा बढी वैज्ञानिक तथा अनुसन्धानकर्ताले ऊर्जा, वातावरण र बायोमेडिकलबारे विभिन्न अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गर्नुभयो । भारत, चीन, मलेसिया, इण्डोनेसिया, दक्षिण कोरिया, जापान, संयुक्त राज्य अमेरिकालगायत १६ देशका वैज्ञानिक तथा अनुसन्धानकर्ता सहभागी उक्त सम्मेलन आजसम्म चल्नेछ ।

काठमाडौं:     नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा तोकिएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १२ रुपैयाँ ६९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।  राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौं:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक–नागरिक संवादका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।    पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेस गर्न निर्देशन दिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले विषम परिस्थितिमा पार्टीका जिल्ला भेलाहरू स्थगित गरेको भए पनि सांगठनिक र पार्टी गतिविधि भने सञ्चालन गर्नेछ । 

पोखरा:    राइजिङ क्रिकेट क्लब पोखरामा जारी क्लब स्तरीय एक दिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ ।  कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी अन्तर क्लबस्तरीय एक दिवसिय क्रिकेट च्याम्पियनसिपमा राइजिङले कास्की क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । १०३ रनको विजयी लक्ष्य पाएको राइजिङले २४.३ ओभरमा ७ विकेट गुमाउँदै १०५ रन बनायो ।  राइजिङका लागि ओपनर अनिल गुरुङले ४६ रन बनाउदै नटआउट रहे । उनले ६७ बलमा ६ चौका समेत प्रहार गरे । यस्तै विमल विक्रम खत्रीले ४५ रनको योगदान दिदैँ आउछ भए । उनले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । नविन पोखरेल र कृष्ण पौडेलले १÷१ रन जोडे भने निर्मल पिसी क्षेत्री, अस्विन अधिकारी, विशाल रिमाल, लोकेन्द्र गहतराज शुन्यमै आउट भए । समिर भुजेल शुन्यमा नटआउट रहे ।  कास्कीका लागि दित्य थापाले ७ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए भने विश्वास पराजुली र नितेश गिरिले समान २÷२ विकेट लिए । त्यसअघि टस जितेर व्याटिक थालेको कास्कीका लागि राइजिङका अन्जन केसी निकै भारी परे । उनी एक्लैले ६ विकेट लिदाँ कास्की समस्यामा परेको थियो ।  कास्की ३०.१ ओभरमा १०२ रनमा अलआउट हुन पुगेको थियो । कास्कीका लागि ओपनर सचित कार्कीले ११ रन जोडे । सफल श्रेष्ठले ७८ बलमा ५ चौकाको मद्धतमा ३४ रनको योगदान दिए । अदित्य थापाले २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोडे ।  आयुष संैन्जु ३, विश्वास पराजुली २, सुप्रल श्रेष्ठ १, अनुप पौडेल १ र सचिन यादव, नितेश गिरि, राजन बस्ने शुन्यमै पेभिलियन फर्र्किए ।  राइजिङका लागि अन्जन केसीले ८.१ ओभरमा २ मेडनसहित २० रन खर्चेर सर्वाधिक ६ विकेट लिए । जारी प्रतियोगितामा कुनै बलरले सर्वाधिक विकेट लिएको यो पहिलो पटक हो । यस्तै समिर भुजेलले ९ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिए ।   कास्की जारी प्रतियोगितामा समुह चरणको विजेतामध्ये उत्कृष्ट टिम हो । उता राइजिङ भने हारका बाबजुत फाइनल प्रवेश गरेको टिम हो । राइजिङ उपविजेता टिम मध्ये उत्कृष्ट हुँदै फाइनल प्रवेश गरेको थियो । १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ९ टिमको सहभागिता रहेको थियो । ति टिमलाई तीन समुहमा विभाजन गरि समुह विजेताहरु र उपविजेतामध्ये बाट अंक र रनरेटको आधारमा उत्कृष्ट रहने टिम सेमीफाइनमा प्रवेश गरेको थियो । प्रतियोगितामा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको साथ रहेको छ ।   

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बाल्छन् र आफ्ना पदचिह्न छाड्छन्’ भन्ने आहानलाई कायम राख्न आग्रह गर्नुभएको छ ।      विश्व नेपाली साहित्य महासङ्घद्वारा आज यहाँ आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलनमा प्रधानमन्त्री ओलीले साहित्य मनोरञ्जनका साथै समाजलाई जागृत गर्दै अग्रगमनको सन्देश दिने विधा भएकाले यसको महत्व अधिक रहेको बताउनुभयो ।       उहाँले देशको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलन सहयोगी हुने बताउँदै कोभिड–१९ का बेला ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’लाई पुनः निरन्तरता दिने तयारी गरिएकाले उक्त सम्मिलिनमा सहभागिताका लागि स्रष्टाहरुलाई आग्रह गर्नुभयो ।      प्रधानमन्त्री ओलीले सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङसहितका साहित्यकारहरुलाई सम्मान पनि गर्नुभयो ।

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षा र थप विकासका लागि आफ्नो पार्टीले निरन्तर अभियान चलाउने बताउनुभएको छ ।      माओवादी केन्द्रको वाग्मती प्रदेश समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो पार्टी जनअधिकार संरक्षण गर्न लागिपरेको र थप अधिकार प्रदान गर्न उद्यत रहेको उल्लेख गर्नुभयो ।  उहाँले पूर्ववर्ती सरकारले विद्युत् व्यापार सम्झौता गरेको, आर्थिक विकास एवं सुशासनका पक्षमा प्रतिबद्ध भएर अभियान सञ्चालन गरेको तथा चीन र भारतसँग सुदृढ सम्बन्धको विकास गरी मुलुकको हितमा काम गरेको स्मरण गर्नुभयो । पूर्वप्रधानमन्त्री दाहालले कुशासन र अनियमितताका विरुद्धमा निर्मम भएर प्रस्तुत हुन सरकारलाई आग्रह गर्नुभयो । आगामी निर्वाचनमा माओवादी एक्लै जाने स्पष्ट पार्दै उहाँले पहिलो पार्टी भएर देखाउने दाबी गर्नुभयो । विभिन्न समूहमा विभक्त माओवादी धारका पार्टीबीच पनि चाँडै एकता हुने उहाँले बताउनुभयो ।   उत्पादन अभियानलाई निरन्तर रुपमा अगाडि बढाउने र युवालाई रोजगारी प्रदान गर्ने बताउँदै अध्यक्ष दाहालले निर्वाचन प्रणालीका कारण अनियमितता बढेको हो भन्नुभयो ।  उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै मुलुकका लागि ग्राह्य भएको बताउनुभयो । सहकारी र लघुवित्त पीडितले न्याय पाउनुपर्ने र दोषीमाथि कारवाही हुनुपर्नेमा उहाँको जोड थियो ।          पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको महान् अभियान पूरा भएकाले आर्थिक विकासको अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।  उहाँले मजदुर र किसान वर्गको हितका खातिर नयाँ विशेषतासहितको समाजवादको आधार तयार पार्न पार्टीले विशेष प्रयास थालेको बताउनुभयो । आफ्नो पार्टी नेतृत्वको पूर्ववर्ती सरकारले देश र जनताका पक्षमा दूरगामी महत्वका काम गरेको विवरण पनि उहाँले सार्वजनिक गर्नुभयो ।      केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेता हितमान शाक्य, यशोदा सुवेदी, दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत सिर्पाली, पूर्वमन्त्री रामेश्वर राययादव, परशुराम तामाङलगायत वक्ताले माओवादी केन्द्र सशक्त रुपमा अगाडि बढ्ने बताउनुभयो ।          आमसभामा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका कलाकारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसअघि राजधानीको विभिन्न स्थानबाट निस्केको जुलुस प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत भएको थियो । 

तनहुँ:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पर्यटनबाट समृद्धि सम्भव रहेको बताउनुभएको छ ।       तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित पर्यटकीयस्थल ऐनापहराको आज भ्रमणपछि महासचिव गुरुङले पर्यटनलाई रोजगारीसँग जोडेर अगाडि लैजानुपर्नेमा जोड दिनुभयो ।  नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको जनाउँदै महासचिव गुरुङले पर्यटन क्षेत्रको विकासमा स्थानीय तहले गरेको कार्य प्रशंसनीय रहेको बताउनुभयो । गाउँपालिकाले ऐनापहरामा पर्यटन पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्ने खालका गतिविधि बढाएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।       गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पूर्वाधार निर्माण गरिएको जानकारी गराउनुभयो । चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिएको बताउनुभयो ।  उहाँका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ । यहाँ दैनिक तीन सयभन्दा बढी पर्यटकले भ्रमण गर्ने गरेको चुमानको भनाइ छ ।      उहाँले भन्नुभयो, “यसै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको हो ।” झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छभने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ ।       ऐनापहरामा उद्यान निर्माणका लागि गत आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको थियो । गाउँपालिकाले यस ठाउँमा स्काई साइक्लिङ र सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । 

पोखरा:    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अनियमितता गर्ने जो कोहीलाई छुट नहुने बताएका छन् ।       एमाले कास्कीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अनियमिततामा संलग्न जो कोहीलाई कानुनअनुसार कारबाही हुने बताए ।         भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जो कोहीलाई कानुन र विधिसम्मत ढंगले कारवाही हुने स्पष्ट पार्दै उनले देशमा अराजकता फैलाउने र सद्भाव खलबलाउने छुट कसैलाई नभएको बताए ।            राष्ट्रको आवश्यकताअनुुसार देशका प्रमुख राजनीतिक दल एक ठाउँमा भएको बताउँदै उनले आफूहरू कानुनका पक्षमा रहेको उल्लेख गरे ।      हाम्रा चाडपर्वहरू सामाजिक सद्भावका आधार रहेको उल्लेख गर्दै नेता पोखरेलले यस्ता चाडपर्वले सामाजिक सद्भाव र एकतालाई मजवुद बनाउने बताए ।       एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले लोकतन्त्रको विकल्प अरु हुन नसक्ने बताउँदै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न निशारालाई चिर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।         एमाले स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक प्रणालीलाई सुदृढ गर्दै सुशासनको अभियानमा लाग्नुपर्नेमा जोेड दिए ।       नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले देश र जनताका पक्षमा एकाकार भएर लाग्नुपर्ने बताउँदै अदालतमा प्रवेश भइसकेका विषयलाई सडकबाट प्रभावित गराउन खोज्न नहुने बताए ।