पोखरा: निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपाली नारीहरुको पर्व हरितालिका तिज सामुहिक रुपमा मनाउने संस्कार बढेको बताउनु भएको छ । माझठाना पोखरा सम्पर्क समाजद्धारा आज...

राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ ।   उहाँले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।   उक्त विधेयक सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए ।

नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्ने अभियान थालेको छ । यही असोज दोस्रो साता परेको अविरल वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न छ हजार सकल दर्जा खटिइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताउनुभयो । जल तथा मौसम विज्ञान विभागको अनुमानसँगै सेनाले १४ हजार जनशक्ति विपद् प्रतिकार्यमा खटाउन तयार गरेको थियो । विपद् प्रभावित जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरसँगै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, रामेछाप र पाँचथरमा तत्काल खोज तथा उद्धारमा जुटेको उहाँले जानकारी दिनुभयो । बिपी राजमार्ग, अरनिको राजमार्ग, मध्यपहाडी लोकमार्ग, त्रिभुवन राजपथ र पृथ्वी राजमार्गलगायतका राजमार्ग तथा ग्रामीण सडक, दुई जिल्ला जोड्ने पक्की पुल निर्माण गरी यातायात सञ्चालन गर्न सेनाका प्राविधिकसहितका जनशक्ति खटिएका छन् । “मुख्य जिम्मेवारीका रुपमा खुर्कोटस्थित सुनकोसी नदीमा ‘बेलीब्रिज’ राख्ने तथा रोशी खोला करिडोरअन्तर्गत बिपी राजमार्गको ठाउँठाउँमा क्षतिग्रस्त सडकको विस्तृत अध्ययनका लागि सेनाका प्राविधिकले सडक विभागको टोलीलाई सहयोग पु-याएको छ”, सहायक रथी केसीले भन्नुभयो । सेनाकै पहलमा कान्ति राजपथका पहिरो पन्छाएर सोमबार साँझदेखि यातायात सञ्चालनमा आइसकेको छ । “पहिलो चरणमा खोज, उद्धार र राहतका काम सम्पन्न भएसँगै प्राथमिकता निर्धारण गरी पुनःनिर्माण र पुनःस्थापनामा सङ्गठनले जनशक्ति खटाइरहेको छ”, प्रवक्ता केसीले भन्नुभयो । सेनाभित्र विपद् व्यवस्थापनका लागि सहायक रथीको नेतृत्वमा विपद् व्यवस्थापन निर्देशनालय र मातहत काठमाडौँको सुन्दरीजल र चितवनमा गरी दुई वटा गण क्रियाशील छन् ।

तनहुँको भानु नगरपालिका–१ बोटेगाउँमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् ।   स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा प्रहरीले उनका श्रीमान ४० वर्षीय पञ्चबहादुर बोटेलाई आज पक्राउ गरेको हो ।   सोमबार राति पत्नीको हत्या गरी फरार भएको आरोप लागेका बोटेलाई आज गोरखाको पालुङटार नगरपालिका–७ बिरुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पञ्चबहादुरले श्रीमतीको घाँटी डोरीले कसेर हत्या गरेको आशङ्कामा प्रहरीले खोजतलास गरेको थियो । पञ्चबहादुरले छिमेकी बुहारीलाई आफ्नो श्रीमतीको मृत्यु भयो भनी घरको साँचो फालेर भागेको प्रहरीले जनाएको छ ।   छिमेकीले प्रहरीलाई खबर गरी ढोका खोलेर हेर्दा पूर्णमायाको शव भेटिएको थियो ।   मृतकको घाँटीमा निलडाम रहेको र नजिकै डोरी भेटिएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन् ।   प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँको सरकारी निवासमा आज कोषका प्रमुख प्रशासक जीतेन्द्र धितालसहित सञ्चालक सदस्यले रु दुई करोडको चेक हस्तान्तरण गर्नुभयो ।   यसैगरी, नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष लक्ष्मी कुँवरले रु पाँच लाख ५५ हजार ५५५ को चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभयो । 

पोखरा:   केही काला, केही सेता–काला च्याङ्ग्राहरु सडक छेउ कुना कुदिरहेका छन् ।    मुस्ताङ र बझाङ आसपास जिल्लाको लेकबाट झारिएका ति भेडा च्याङ्ग्राहरुले यतिबेला याम्दी जौबारी क्षेत्रमा हैकम जमाएका छन् ।    ति बथानबाट केही पोखरामै खपत हुन्छन् भने केही बुटवल, चितवन, दमौली, काठमाडौंसम्म पुग्छन् । गत वर्ष आधा लाख पर्ने च्याङ्ग्राको मूल्य यो वर्ष ३५ हाराहारीमा झरेको छ । चीनबाटपनि च्याङ्ग्रा नेपाल भित्रिएपछि नेपाली भेडा च्याङ्ग्राको मूल्य ह्वात्तै घटेको व्यापारीहरु सुनाउँछन् ।   ‘सरकारले राम्रो गरेन युवा विदेश पलायन भए मात्रै भन्छ । अहिले सरकारले चीनबाट भेडा च्याङ्ग्रा ल्याएर हामीलाई घात गरेको छ त्यसैले हाम्रो भाउ परेन ।’ अछामबाट ४ दिन लगाएर पोखरा आइपुगेका च्याङ्ग्रा व्यापारी दीपक बोहरा गुनासो पोख्छन् ।   उनी आफ्नो काकाको व्यापार देखेर पोखरा आएका हुन् ।  ‘काकाले पोखरामा व्यापक व्यापार हुन्छ भन्नुहुन्थ्यो । त्यही भएर म पनि अनुभव गर्न आएको हुँ तर अहिले सरकारले हामीलाई चीनको नाका खोलेर घात गर्याे । त्यसैले सोचेजस्तो व्यापार भएन,’ उनले भने ।   बझाङबाट मात्र नभएर मुस्ताङबाट पनि पोखरा झार्न उस्तै सकस छ ।   कतै ट्रकमा हुल्नुपर्ने, कतै चरनका लागि झार्नुपर्ने । भने, कतै शुल्क तिर्नुपर्ने बाध्यता छ ।   ‘यहाँसम्म आउनत साह्रै मुस्किल छनी हजुर, अनेक दिग्दारी खेप्नुपर्छ । बाटो भर पैसा तिर्दै आउनुपर्छ । गाडीमा हाल्ने झार्ने गर्दा पोखरा आइपुग्न चार दिन जति लाग्यो । यो वर्ष व्यापार भएपनि सस्तो भएकाले साहुलाई तिर्नमात्र पुग्छ जस्तो छ ।’   उनले अहिले ग्राहकको इच्छाअनुसार ३२ हजार सम्म विक्री गरेको सुनाए । ‘उतै मेरो २६/२७ जति परेको छ मैले अहिले ग्राहकहरुको इच्छाअनुसार ३२/३३ (हजार) मा दिइराको छु । दुख अनुसार फाइदा छैन ।’ बोहराले भने ।   बोहरा जस्तै अन्य व्यापारीहरुपनि सडक किनारमा भेडा च्याङ्ग्रासँगै घेरिएका छन् । रोजीरोजी विभिन्न बथानमा मोलमोलाई भइरहेका छन् ।    भेडाको मूल्य केही कम छ भने च्याङ्ग्राको मूल्य साइज अनुसार निर्धारण गरिएको छ । बोहराका अनुसार च्याङ्ग्राको मूल्य ३० हजारमाथि छन् ।      ‘विगतका वर्षहरुमा भन्दा यस वर्ष भेडा–च्याङ्ग्राको मूल्य कम भएको पाए, नागडाँडाका भवानी प्रसाद गौतमले भने, ‘मैले सुने अनुसार चीनबाट पनि आएको कारणले यो वर्ष अलि सस्तो भएको रहेछ ।’   गौतम जस्तै पोखरा १२ फूलबारीकी अंशु गर्बुजाको परिवार पनि हरेक वर्ष च्याङ्ग्राको स्वाद  लिने गर्छन् ।     दशैँमा भेडा च्याङ्ग्राको मासु खाने प्रचलन अनुसार च्याङ्ग्रा किन्न पुगको बताइन् । ‘यो सिजनल जस्तै हो । हामीले चाहदैमा अरुबेला पनि किन्न पाइदैन, उनले भनिन्, ‘त्यसैले दशैँको अवसरमा खाने गरिन्छ । अर्काे कुरा यसले लेकका जडिबुटी खाएका हुनाले स्वास्थ्यबर्दक हुने विश्वासले हरेक वर्ष च्याङ्ग्रा खाने गरिन्छ ।’   बद्लिदो समय र मूल्य   याम्दी आसपासमा यतिबेला भेडा च्याङ्ग्रा किनबेचको माहौल छ ।   त्यहाँ सानोतिनो मेलानै लागिरहेको छ । च्याङ्ग्रा व्यापारी, ग्राहक र रमाइलो हेर्नेहरुको भीड देखिन्छ ।   त्यही भीडमा भेटिएका पुराना गोठाला जो उमेरले ३ बिसे १४ पुगे । उनले विगत सम्झदै वृद्ध प्रेम बहादुर शाहीले भने, ‘हामीले जम्मा २० रुपैयाँ नाफा राखेर च्याङ्ग्रा​ बेच्थेऔं।’     उनले करिब ५० वर्ष पहिले १ सय देखि १ सय ५० सम्म च्याङ्ग्रा बेच्ने गरेको बताए । ‘अहिले यहाँ रमाइलो हेर्न आएको हुँ । मेरो बेलामा च्याङ्ग्रा हेरेर बेचिन्थ्यो, स्मरण गर्दै शाहीले भने, ‘१ सय, १ सय २० देखि बढीमा १ सय ५० रुपैयाँसम्म बेचेको याद । त्यै हो २० रुपैयाँ जति नाफा खाइन्थ्यो ।’   १ सय रुपैयाँमा च्याङ्ग्रा बेचेका शाहीको उमेरसँगै बजार भाउ पनि बद्लिएको छ । र  च्याङ्ग्राको मूल्य यसवर्ष ५० हजारसम्म पुगेको छ ।   शाहीले परिवर्तित समयानुसार मूल्य वृद्धि हुनुपर्ने तर्क राखे । ‘मुन्छेहरुले खेती किसानी गर्न छाडे । दुख गर्न छाडे । अहिले त किन्न पाए भाछ, उनले भने, ‘ मै पनि त ७४ वर्ष पुगे । त्यही भएर यो महंगी ठिकै लाइच ।’ (शाही कै भाषामा)                

पाठेघरको क्यान्सरबाट पीडित यहाँस्थित दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष छुपिमाया गुरुङको मृत्यु भएको छ ।   दूधपोखरी गाउँपालिका–५ कोल्की भञ्ज्याङ निवासी गुरुङलाई उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा गएराति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो ।   नेपाली कांग्रेसका जिल्ला सदस्य रामहरी न्यौपानेका अनुसार गुरुङको पाँच दिनअघि मात्रै दोस्रो पटक ‘किमोथेरापी’ गरिएको थियो । सोमबार बिहानसम्म अवस्था सामान्य रहेकामा दिउँसोबाट गाह्रो भएपछि राती अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेर उहाँ निर्वाचित हुनुभएको थियो । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय उहाँ हाल कांग्रेसको गण्डकी प्रदेश कार्यसमिति सदस्य तथा महासमिति सदस्य हुनुहुन्थ्यो ।

लेखनाथमा कारले चार पाङ्ग्रे स्कुटरलाई कारले ठक्कर दिँदा अपांगता भएका १ जना घाइते भएका छन् ।   सोमबार दिउँसो करिब १ बजे पोखरा २७  तालचोकस्थित पृथ्वीराजमार्गमा ठक्कर दिँदा ५६ बर्षीय रामबहादुर छन्त्याल गम्भीर घाइते भएको कास्की प्रहरीले जनाएको छ ।   उनको फेवासिटी अस्पताल उपचार भइरहेको छ । गोरखाबाट पोखरातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-०२९ च २३५० नम्बरको कारले सडक छेउमा रोकेको ग२४प ७४०२ नम्बरको चारपाङ्ग्रे स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।    ठक्कर दिएको आरोपमा कार चालक गोरखा नगरपालिका(११, एघारकिलोका २५ वर्षीय सरोज कुमाललाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ ।

गण्डकी प्रदेशमा चाडपर्वको समयमा नियमितभन्दा बढी भाडा नलिनेमा यातायात व्यवसायी सहमत भएका छन् ।   प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाबीचको बैठकमा यातायात व्यवसायीले नियमितभन्दा बढी भाडा नलिने प्रतिबद्धता जनाएका हुन् ।  बैठकले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा नलिने, सिट संख्याभन्दा बढी यात्रु नराख्ने, सुरक्षित यात्रा गर्न÷गराउनेसहित चाडपर्व केन्द्रित ६ वटा निर्णय गरेको मन्त्री केसीले जानकारी दिए । यातायात व्यवस्थापनलाई चुस्त बनाउन आपसी समन्वय गर्ने, लामो दुरीमा चल्ने सवारी साधनले यात्रु टिकट अनिवार्य काट्नुपर्ने, उपभोक्ताको अधिकारलाई ध्यान दिएर व्यवसायिक मूल्य–मान्यतालाई कायम गर्दै तोकिएको भाडा लिएर यात्रुलाई गन्तव्यमा पु¥याउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यातायात सेवालाई प्रभावकारी बनाउने, यातायात कार्यालयले आ–आफ्नो कार्यक्षेत्रमा अनुगमन गर्ने निर्णय बैठकले गरेको छ ।  विमानस्थलमा ट्याक्सीले बढी भाडा लिने गुनासोबारे ट्राफिक प्रहरी खटिएरै अनुगमन गर्ने निर्णय बैठकले गरेको मन्त्री केसीले जानकारी दिए । ‘विमानस्थलमा ट्याक्सीले साह्रै धेरै भाडा लिएको गुनासो धेरै छ । त्यहाँ ट्राफिक प्रहरी खटेर त्यसको अनुगमन गर्नुहुन्छ,’ मन्त्री केसीले भने, ‘चाडपर्वको बहानामा दुःख दिने काम राम्रो होइन । यो समयमा यातायात सेवालाई सहज बनाउनु सरकार मात्र होइन व्यवसायीको पनि दायित्व हो ।’   बाढीपहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध हुने समस्या रहेको र प्रदेश सरकारका संरचना आफ्नो कार्यक्षेत्रभित्र रहेर त्यसलाई समाधान गर्न चाडपर्वको अवधिमा पनि सक्रिय रहने मन्त्री केसीले बताए ।   बढी भाडा लिने, भनेअनुसार भाडा नदिए गन्तव्यसम्म नलैजाने गरेर दुःख दिने काम यातायात व्यवसायीबाट भएमा तत्काल ट्राफिक प्रहरीलाई खबर गर्न उनले आग्रह गरे ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी संयोजक केदार पौडेलले राजमार्गमा खाल्डाखुल्डी धेरै रहेकाले त्यसलाई समाधान गरिदिन प्रदेश सरकारलाई आग्रह गरे ।   कम जनघनत्व भएका ठाउँमा गाडी चलाउँदा निकै घाटा रहेको भन्दै उनले सरकारले सहुलियतको व्यवस्था गर्नुपर्ने बताए ।    पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बाढीपहिरोजस्ता दुर्घटनाले पछिल्ला दिनमा बसमा यात्रुको चाप कम रहेको सुनाए । उनले चालक–सहचालकलाई प्रशिक्षण, समय–समयमा अनुगमन, सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताए ।    राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी प्रमुख एसपी जनकबहादुर शाहीले लामो दूरीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने बताए ।   उनले आफूहरुले चालक राखे÷नराखेको विषय कडाइका साथ अनुगमन गर्ने सुनाए । एसपी शाहीले लामो दूरीमा निस्कनुअघि आफ्ना सवारीमा अनिवार्य यान्त्रिक परीक्षण गर्न यातायात व्यवसायीलाई सुझाव दिए ।   उनले कुनै सवारीले बढी भाडा लिएर दुःख दिएमा १०३ वा १०० मा फोन गर्न सर्वसाधारणलाई आग्रह गरे ।    बैठकमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) दुर्गा सिंह, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, भौतिक पूर्वाधार मन्त्रालयका सचिव ई. कमलकुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलिया, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी प्रदेश प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाही, सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति अरुण शर्मा, गण्डकी प्रदेशभित्रका यातायात व्यवसायी, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेय, नागरिक उड्यान प्राधिकरणका प्रतिनिधि योगेन्द्र कुँवर, उपभोक्ता हित संरक्षण मञ्च गण्डकीका सचिव राजुराज अधिकारी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी संयोजक केदार पौडेल, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसी, गण्डकी ट्याक्सी व्यवसायी प्रा.लि अध्यक्ष गान्धीराज गिरीलगायत सहभागी थिए । 

हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ ।   रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार पोल्याण्डका राहदानी नं ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको सूर्यकुण्ड आसपास क्षेत्रमा मृत्यु भएको हो ।   नेपाली सेनाको श्रीनाथ गण र जिल्लास्थित नेपाल प्रहरीको सहयोगमा शव गोसाइँकुण्ड ल्याई आज बिहान हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाइएको छ ।   रियल हिमालय ट्रेकिङ कार्यालयको अनुरोध तथा जिल्लास्थित सुरक्षा निकायको सहयोगमा शव काठमाडौँ ल्याएको एयर डाइनेष्टीका उडान प्रबन्धक विवेक अधिकारीले जानकारी दिनुभयो ।   थप अनुसन्धानका लागि स्थलगत रूपमा जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रहरी प्रमुख भट्टराईले लेक लागेर वा अन्य कारणले निधन भएको हो भन्ने विषयमा शव परीक्षण प्रतिवेदनपछि मात्र थाहा हुने बताउनुभयो ।