पोखरा: निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपाली नारीहरुको पर्व हरितालिका तिज सामुहिक रुपमा मनाउने संस्कार बढेको बताउनु भएको छ । माझठाना पोखरा सम्पर्क समाजद्धारा आज...

गोरखाका आँखाका बिरामीकोे निःशुल्क शल्यक्रिया गरिइएको छ ।   गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाका विभिन्न पालिकामा मोतियाबिन्दुको शल्यक्रिया शिविरमार्फत १३ जना आँखाका बिरामीको मोतियाबिन्दुको सोमबार शल्यक्रिया गरेको हो ।   केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले शल्यक्रिया गरिएकामध्ये छ जना महिला र सात पुरुष रहेका जानकारी दिनुभयो ।   केन्द्रले गोरखा र पालुङटार नगरपालिका तथा बारपाक सुलिकोट र भीमसेन थापा गाउँपालिकामा आँखाका बिरामीको शल्यक्रिया शिविर सञ्चालन गरेको हो ।   लायन्स सेवा केन्द्रले जिल्लाभित्रका विभिन्न समुदाय र विद्यालयमा पुगेर समयसमयमा समुदायस्तरमा निःशुल्क आँखा जाँच, औषधोपचार तथा चश्मा वितरण गर्दै आएको छ ।   शिविरमा मोतियाबिन्दुको समस्या भएका बिरामीलाई आवश्यकताका आधारमा केन्द्रमा ल्याएर समेत उपचार गर्ने गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ ।   विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ ।   कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना रहेको छ ।   अधिकतम तापक्रम देशका अधिकांश भू–भागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको आकलन सार्वजनिक गरिएको विभागकी सूचना अधिकारी एवं मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।   वर्षाको आकलन कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।     कोशी प्रदेशको उत्तरी भाग, मधेश प्रदेशको पश्चिमी भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत छभने कोशी प्रदेशको दक्षिणी भू–भाग, मधेस प्रदेशको पश्चिमी भाग, बागमती प्रदेशको उत्तर–पश्चिम भाग र गण्डकी प्रदेशको दक्षिण–पूर्वी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ ।   त्यसैगरी कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत नै रहेको विवरणमा उल्लेख छ ।   अधिकतम तथा न्यूनतम तापक्रम   यस्तै देशका अधिकांश स्थानमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना छ ।   बागमती प्रदेशको मध्य तथा दक्षिणी भाग, मधेस प्रदेशको पश्चिमी भाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भागमा अधिकतम तापक्रमा सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।   कोशी प्रदेशका मध्य भाग, मधेस प्रदेशका पूर्वी भाग र बागमती प्रदेशका उत्तरी भागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छभने बाँकी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना छ ।   सुदूरपश्चिम, कर्णाली प्रदेशका पश्चिमी भाग र लुम्बिनी प्रदेशका पश्चिमी भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।   त्यसैगरी कर्णाली प्रदेशका पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका मध्य भाग, गण्डकी प्रदेशका मध्य तथा उत्तरी भाग, बागमती प्रदेशको अधिकांश भाग, मधेस प्रदेशका पूर्वी भाग र कोशी प्रदेशमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छभने बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जानकारी गराएको छ ।

तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लामा ६१ योजना सम्पन्न भएका छन् ।   आयोजनाको सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत प्रभावित क्षेत्रमा ती योजना सम्पन्न भएका हुन् ।   जलविद्युत् आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापन कार्यक्रम सञ्चालन गरेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “आयोजना प्रभावित क्षेत्रमा विभिन्न विकास योजनाका लागि सहयोग गरिएको छ । यसअनुसार खानेपानी, सडक, विद्यालय भवन, खेलमैदानलगायत काम गरिएका छन् ।”   उहाँका अनुसार हाल नौवटा योजना सञ्चालनमा छन् ।   उहाँका अनुसार म्याग्दे गाउँपालिका–१ स्थित विजय आधारभूत विद्यालयको खेलमैदान सुधार, भिमाद नगरपालिका–५ स्थित दीपक माध्यमिक विद्यालय भवन निर्माण, व्यास नगरपालिका–५ पाटनस्थित पराशर आधारभूत विद्यालय भवन निर्माण, ऋषिङ गाउँपालिका–१ झापुटारस्थित सभाहल निर्माण, सोही वडाको होक्सेटारस्थित सेती नदी बायाँ किनार संरक्षण कार्य, बाँधतर्फबाट लोक्मा जाने पैदलमार्ग निर्माण, बन्दीपुर गाउँपालिका–६ स्थित भुतखोला साराङघाट सडकखण्ड ग्याविन निर्माण, ऋषिङ गाउँपालिका–१ धोवलास्थित धोवला सडक कल्भर्ट संरक्षण र ग्याजाटारस्थित ग्याजा महिला समूह भवन सहयोग कार्यक्रम जारी छन् ।   आयोजना प्रमुख भण्डारीले भन्नुभयो, “आयोजना निर्माणका लागि समुदायको महत्त्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिएका छाैँ । समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौँ, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ ।”   आयोजनाको समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ । प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सनले गरिरहेको छ ।   आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को निर्माणकार्य सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ ।   प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड भारतले गरिरहेको छ ।     कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको क्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले रु १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले रु १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले रु आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले रु आठ करोड ६० लाख डलर व्यहोेर्नेगरी वित्तीय व्यवस्थापन गरिएको छ ।

दसैँ नजिकिएसँगै गाउँमा चहलपहल बढेको छ । छिमेकीले घर लिपपोत गरेर शृङ्गारेका छन् ।   परदेशिएका र सहर पसेका पनि चाडबाड मान्न गाउँ फर्किरहेका छन् ।   दसैँको माहोलले गाउँघरमा रौनक छाएको छ । तर बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटाका पहिरोपीडितलाई उक्त रौनकले छाएको छैन । पहिराले घरबार र आफन्तविहीन बनेका धेरैको आँखा अझै ओभाउन सकेका छैनन् ।   त्रिपालको छाप्रो र आफन्तकहाँ आश्रय लिएका परिवारलाई दसैँको भन्दा पहिरामा गुमाएका आफन्तको चिन्ताले पिरोलिरहेको छ ।   गत साउन २२ गते आरुपाटामा आएको पहिराले स्थानीय बालीश्वर बुढामगरको दुईवटा घर पुरेको थियो ।   पहिरोले घर पुरिँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ११ जना गम्भीर घाइते भएका थिए । आरुपाटाको ठाउँठाउँमा पहिराले ७३ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारका सयौँ नागरिक अहिले कष्टपूर्ण दिन कटाउन बाध्य छन् ।   युवाहरूभन्दा बालबालिका र वृद्धवृद्धालाई निकै समस्या परेको छ ।   बालीश्वको घर पुरिँदा उहाँका ७५ वर्षीय बुबा जोगबहादुर बुढा, जुम्ल्याहा छोरी सात वर्षीया मधु र मालती बुढामगरको मृत्यु भएको थियो । उहाँ अहिले लेलमेला भन्ने ठाउँमा त्रिपाल टाँगेर ७५ वर्षीया आमासहित छ जनाको परिवार बस्दै आउनुभएको छ ।   वृद्धा आमा र साना छोरासहित त्रिपालमुनिको बास अत्यासलाग्दो छ । बेलाबेला पानी पर्दा पनि उहाँहरूलाई झस्काइरहन्छ । दुई महिनादेखि त्रिपालमुनि बस्दा बूढीआमा र साना छोरा बिरामी हुने गरेको बालीश्वरले बताउनुभयो । दसैँ नजिकिँदा गाउँ रमाइलो भए पनि आफूहरूका पीडा थपिएको उहाँ बताउनुहुन्छ ।   दुई छोरी र बुढेसकाल लागेका बुबा गुमाउँदा निकै पीडा भएको बालीश्वरको भनाइ छ । स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाले सहयोग गर्दा खानाको समस्या नभए पनि घर पुनःनिर्माण गर्न सक्ने स्थिति नभएको उहाँले बताउनुभयो ।   “दसैँ आयो, सबैतिर खुसीयाली छ, हाम्रा लागि त यो दसैँ दशा भयो, बस्ने घर छैन, पहिराले आफन्त पनि खोसेर लग्यो, बासको ठेगान नभएकालाई केको दसैँतिहार ?, यस्तो बेला चाडबाड आउँदा पिर पर्दोरैछ”, बुढामगरले भन्नुभयो, “मलाई त त्यही छोरीहरूको र बुबाको याद आइरहन्छ, उहाँहरू पहिरोमा नपरेको भए हाम्रो पनि चाडबाड रमाइलो हुने थियो, अहिले त साना छोरा छन्, उनीहरूलाई खुसी बनाउन पनि सकिएको छैन ।”   पहिरोका कारण स्थानीय मङ्गलसिंह बुढामगर पनि विस्थापित हुनुभएको छ । बालीश्वरको घर पुरिँदा मङ्गलसिंहका नौ र १२ वर्षीय दुई छोराको मृत्यु भएको थियो भने उहाँ पनि गम्भीर घाइते हुनुभएको थियो ।   लामो समय अस्पतालमा उपचार गराएर केही दिन अगाडि मात्रै गाउँ आउनुभएका मङ्गलसिंहको दुईवटै खुट्टा चल्दैनन् ।   उहाँको साथमा आठ र ११ वर्षीया छोरीमात्रै छन् ।   लामो समय अरुको घरमा बस्दा समस्या हुने भन्दै आफ्नो घर बनाउन सक्ने क्षमता नभएको मङ्गलसिंहले सुनाउनुभयो । चाडबाडका बेला छोरीहरूले राम्रो लाउन र मिठोमसिनो खान खोज्दा खुवाउन सक्ने स्थिति नरहेको उहाँको भनाइ छ ।   उहाँले भन्नुभयो, “यो साल त मलाई ठूलो दशा लागेको रहेछ, छोरालाई पहिराले लग्यो, घरमा बस्न सक्ने अवस्था छैन, भाइले बस्न दिएको छ, उसकामा कति दिन बसेर पुग्छ ?, गाउँलेले दिएको कोदो, मकै खाएर पेट भोको छैन, तर दसैँको बेला यी साना छोरीलाई के थाहा हुन्छ र हामीसँग आर्थिक छैन भन्ने, जसोतसो एउटा बस्ने घर बनाउन सके हुन्थ्यो, अहिले त धेरैले लत्ताकपडा र अरुसामान सहयोग गर्नुभएको छ, सरकारले घर बनाइदिए हुन्थ्यो ।”   बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनले पहिरोपीडितका लागि पालिकाले अतिआवश्यक सामग्री सहयोग गरेको बताउनुभयो ।   अहिले धेरै पीडित आफन्तकामा आश्रय लिएको हुँदा खानेकुरा र लत्ताकपडाको समस्या नभएको उहाँको भनाइ छ । गाउँपालिकाले विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग सहकार्य गरेर तत्कालका लागि सुरक्षित स्थानमा राख्ने र आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने कार्यलाई जोड दिएको उपाध्यक्ष वन बताउनुहुन्छ ।

बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ ।   गएराति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से४प ८६१८ नम्बरको मोटरसाइकलमा वडा नं ६ स्थित ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका चौधरीलाई हात्तीले आक्रमण गरेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताउनुभयो ।   वन क्षेत्रमा हात्ती कराएको आवाज सुनेपछि उमेशसहित २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नवीन चौधरी मोटरसाइकल छाडेर भागेका थिए ।   मोटरसाइलमा सवार रोशन र नवीन सम्पर्कमा आए पनि उमेश सम्पर्कमा नआएपछि खोजतलास गर्दा उनी सामुदायिक वन क्षेत्रमा मृतावस्थामा आज विहान फेलापरेको बताइएको छ ।   जिल्ला प्रहरी कार्यालयका अनुसार उमेश मृतावस्थामा फेलापरेको स्थानमा जङ्गली हात्तीको दिसा रहेको र रुख मडारेको जस्तो देखिएको छ ।   प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । एक साताअघि मात्र जङ्गली हात्तीको आक्रमणमा परी लालाझाडी गाउँपालिका–४ डाँडाजाइका ५९ वर्षीय रामदल रानाको मृत्यु भएको थियो ।

 पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुन:निर्माणलाई तीव्रता दिइएको छ ।   विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले एक वर्षयता पुन:निर्माणलाई अगाडि बढाएको थियो ।   यही असोज महिनामा घटस्थापनाको दिन पारेर पूर्वपट्टिको ढोका राखिएको छ ।   पुरानै स्वरुप प्यागोडा शैलीमा पुन:निर्माण गर्न लागिएको उक्त मन्दिरका झ्याल, ढोकामा बुट्टा भर्न भक्तपुरबाट ६ कालीगढ मगाएर काम भइरहेको छ ।   दसैँमा पुन:निर्माण सक्नेगरी काम अगाडि बढाइएको भए पनि मन्दिर पुन:निर्माणको विषयलाई लिएर पुरातत्व विभाग र समितिको कुरा बाझिएपछि काम ढिला भएको थियो ।   पछिल्लो समय पुरातत्व विभागको निर्णयअनुसार नै पुनःनिर्माणलाई अगाडि बढाइएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष निर्मल खत्रीले जानकारी दिनुभयो ।   तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले रु दुई करोड र पुरातत्व विभागले रु २५ लाखगरी कूल रु दुई करोड २५ लाखको लागतमा मन्दिरको पुनःनिर्माण सक्नेगरी योजना अगाडि बढाइएको खत्रीले जानकारी दिनुभयो ।   समितिले रु १० करोडको लागतमा गुरुयोजना नै तयार गरी मन्दिर पुनःनिर्माणलाई अगाडि बढाएको भए पनि पुरानो स्वरुपमा मन्दिर नबन्ने भन्दै पुरातत्व विभागले कामलाई रोकिदिएको थियो ।   अबको छ महिनाभित्र मन्दिर पुन:निर्माणको काम सम्पन्न गर्नेगरी अगाडि बढाइएको जानकारी कोषध्यक्ष खत्रीले दिनुभयो ।   तालको बीचमा मन्दिर भएकाले वर्षात्को समयमा काम गर्न कठिन भएकाले काम ढिला भएको उहाँले बताउनुभयो । फेवातालको बीच भागमा तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिरमा स्वदेशी तथा विदेशी दर्शनार्थीको बाह्रै महिना घुइँचो लाग्ने गर्छ ।   स्वदेशी तथा विदेशी दर्शनार्थीले दानस्वरुप प्रदान गरेको रु चार करोड ७० लाख समितिको अहिले बैंक खातामा छ । मन्दिरमा विशेषगरी दसैँको कोजाग्रत पूर्णिमाका दिन मन्दिरमा दर्शनार्थीको घुइँचो नै लाग्ने गर्छ ।   कास्कीका तत्कालीन राजा कूलमण्डन शाहले खरको झुप्रो बनाई मन्दिर स्थापना गर्नुभएको इतिहास रहेको तालबाराही मन्दिर गुठी व्यवस्थपन समितिका सचिव धु्रव बरालले बताउनुभयो ।   “मन्दिर १४४७ सालमा अस्तित्वमा रहेको अभिलेख छ”, सचिव बरालले भन्नुभयो, “प्राचीनकालमा माटोको ढिस्कोमा एउटा शिला रहेको र त्यही मन्दिर स्थापनागरी पूजा गरिँदै आएको अभिलेखमा छ ।”    

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघारका कान्छा कार्कीले नयाँ गाडी किनेर चलाउन थालेको महिना दिन पनि पुगेको थिएन ।   गत भदौ ३० गते रु ६५ लाखमा किनेको गाडी सोमबार दुर्घटनामा प¥यो । काठमाडौँबाट ३९ यात्रु बोकेर भोजपुरतर्फ जान ‘लागेको गाडी मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा अचानक पल्टियो ।   घटनास्थलमा कोलाहल मच्चियो । गाडीभित्र रहेकाहरु कोही बचाऊ ! बचाऊ ! त कोही रुवाबासी गर्न थाले ।   दुर्घटनाका प्रत्यक्षदर्शीले घटनास्थल नजिक रहेको महेन्द्रझ्याडी प्रहरी चौकीलाई खबर गरे ।   घटनास्थल नजिक रहेका प्रहरी १० मिनेटको अन्तरालमा घटनास्थल पुगे । प्रहरी र स्थानीय नागरिकले उनीहरुको उद्धार गरेका थिए ।   जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्का तथा सशस्त्र प्रहरी बल, सिन्धुलीका प्रहरी नायब उपरीक्षक बलराम प्रसाईंको नेतृत्वमा गएका सुरक्षाकर्मीले उद्धारमा सघाएका थिए ।   घटनास्थलमै पुग्नुभएका सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको रोयल भोजपुरको बस पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भयो ।   साङ्ग्रिला विकास बैंकको एटिएम र गाडी टिकटका आधारमा हतुवागढी गाउँपालिका–१ भोजपुरका २६ वर्षीय मृतक बुद्धिमान तामाङको पहचान खुल्यो ।   अर्का मृतकको पहिचान भने खुल्न सकेको छैन । मृतक दुवैको शव सिन्धुलीमाडीस्थित सिन्धुली अस्पतालमा राखिएको छ । गाडी दुर्घटनामा परेका २३ घाइतेलाई सिन्धुली अस्पतालमा ल्याइएको थियो ।   घाइतेमध्ये गम्भीर घाइते भएका १० जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । सामान्य घाइते १० जना उपचारपछि घर फर्किएका छन् । तीन यात्रु सिन्धुली अस्पतालमा उपचाररत छन् ।   अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटलगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।   गाडीमा सवार धेरैजसो यात्रु खोटाङका भएको बताइएको छ । गाडी मालिक ४६ वर्षीय कान्छा कार्की आफू निन्द्रामा रहेकाले गाडी दुर्घटना हुनुको कारण थाहा नभएको बताउनुहुन्छ ।   यो पनि पढ्नुहोस   सिन्धुलीमा बस दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु   हात र कम्मरमा चोट रहेका कार्कीका १२ वर्षीय छोरा वसन्त, दुई छोरीहरु २० वर्षीया गीताञ्जली र २१ वर्षीया पुष्पाञ्जलीसँगै उहाँको अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण गाडी दुर्घटना भएको हुनसक्ने गाडीमा सवार भोजपुर नगरपालिका–६ भँगेरीका ४० वर्षीय प्रमेश दाहालले बताउनुभयो ।   उहाँले भन्नुभयो, “काठमाडाँैबाट हेटौँडा बजारसम्म आउँदा सडकमा गाडीको चाप थियो, विस्तारै आयौँ । हेटौँडा बजारमा खाना खाएर मदन भण्डारी राजमार्ग प्रवेश गरेपछि सडक खुला रहेछ, सवारीसाधन त्यत्ति चलेका थिएनन् । चालकले गाडीको गति बढाउनुभयो ।”   उदयपुरका ४० वर्षीय रमेश दनुवारले गाडी चलाउनुभएको थियो । उहाँलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो ।   बस दुर्घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।   गाडीमा सवार यात्रुका अनुसार सोमबार दिउँसो ३ बजे आसपासतिर सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडा (द्वारखोला पुल नजिक) मा पल्टेको गाडी चाबहिलबाट सोमबार बिहान ४ बजे हिँडेको थियो ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुईवटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।   समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिर दर्शन र पूजाआजाका लागि आउने भक्तजनलाई लक्षित गरेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र गण्डकी प्रदेश सरकारले आकस्मिक उपचार केन्द्र सञ्चालन गरेका हुन् ।   वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङले उपचार केन्द्र सञ्चालन गरेर अक्सिजनको कमीले बिरामी पर्ने तीर्थयात्री र पर्यटकलाई तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।   “लेक लाग्ने समस्याबाट बिरामी परेका तीर्थयात्रीको तत्काल औषधोपचार गरी मृत्युबाट बचाउन दुई ठाउँमा औषधि र उपकरणसहित एक/एक जना स्वास्थ्य सहायक खटाइएको हो”, उनले भने, “उपचार केन्द्र प्रभावकारी बनेका छन् ।”   मुक्तिनाथ मन्दिरको उपचार केन्द्रमा औषधि खरिदका लागि आर्थिक वर्ष २०८१/८२ मा रु पाँच लाख विनियोजन भएको अध्यक्ष गुरुङले बताए ।   रानीपौवाबाट  मन्दिर जाने उकालो पदमार्गको बीच भागमा गत वर्ष नेपाली सेनाले बनाएको आश्रयस्थल भवनमा गण्डकी प्रदेश सरकारले अर्को उपचार केन्द्र सञ्चालन गरेको हो ।   सो केन्द्रमा प्रदेश सरकारले जोमसोम अस्पतालमातहत औषधि र उपकरणसहित एक स्वास्थ्य सहायक खटाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट तेजेस नेपालले बताए ।   उपचार केन्द्रमा खटिएका स्वास्थ्यकर्मीलाई गाउँपालिकाले मासिक रु १० हजार भत्ता उपलब्ध गराएको छ ।   बिहान ६:०० देखि दिउँसो ३:०० बजेसम्म तीर्थयात्रीको उपस्थिति र आवतजावत हुँदासम्म उपचार केन्द्रमा रहने स्वास्थ्यकर्मीले बिहान र साँझको समयमा रानीपौवाको उपचार केन्द्रबाट सेवा दिने मेडिकल सुपरिटेण्डेन्ट नेपालले बताए ।   जिल्ला प्रहरी कार्यालयका अनुसार आव २०७८–७९ मा छ जनाको लेक लागेर मृत्यु भएकामा आव २०७९–८० मा १२ जनाको मृत्यु भएको थियो । प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार गत आव २०८०–८१ मा १४ जनाले लेक लागेर ज्यान गुमाएका थिए ।   लेक लागेर मृत्यु हुनेमा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बढी छन् । चौधमध्ये १० भारतीय, तीन नेपाली र एक युक्रेनी नागरिक हुन् ।   वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक सञ्जिता सिंजालीले मुक्तिनाथमा उपचार केन्द्र सञ्चालन भएयता लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या शून्य रहेको बताए ।  

काठमाडौँ:   प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।   एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारवाहीको लागि पठाएको हो ।   काउन्सिलले सञ्चारमाध्यमका रुपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामग्री प्रसारण गरे सचेत गराई नसच्चिएमा थप कारवाहीका लागि प्रहरीमा पठाउँदै आएको छ ।   काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारवाही गर्ने निर्णय गरेको हो ।   काउन्सिलले आज जारी गरेको प्रेस विज्ञप्तिमा गत साउन महिनायता हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, हुँदै नभएको निराधार, अफ्वाह फैलाउने, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित तुल्याउने विरुद्ध कारवाही तीव्र पारिएको जनाएको थियो ।   गत चैत २० गते काउन्सिलले युट्युब व्यवस्थापन, सूचीकरण र अभिलेखिकरणसम्बन्धी कार्यविधि बनाई नियमित अनुगमन र कारवाही गर्दै आएको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा युट्युबसहित विभिन्न अनलाइन सञ्चारमाध्यमलाई भएका कारवाहीबारे जनाइएको छ ।   काउन्सिलले साउन यता मात्र आचारसंहिता पालना गर्न दिइएको निर्देशन पालना नगर्ने तीनवटा सञ्चारमाध्यमलाई अवज्ञाकारीको कालोसूचीमा राखेको छ । त्यस्ता सञ्चारमाध्यम राज्य तहबाट पाइने कुनै पनि सुविधा पाउनबाट वञ्चित हुनेछन् ।   कालोसूचीमा पर्ने सञ्चारमाध्यममा एबीपीक्राइम न्यूज डट कम, टीभिअन्नपूर्ण डटकम र सेतोखरी डटकम छन् । यो आर्थिक वर्षमा ७६ वटा उजुरी दर्ता भएका छन् भने दुईसय ६९ सामग्री काउन्सिलले स्वअनुगमन गरी कारवाही गरेको छ ।   पत्रकारिताको मूल्य मान्यताअनुरुप पत्रकारिता गर्ने उद्देश्यका साथ सञ्चालित युट्युब च्यानललाई व्यवस्थित तथा मर्यादित बनाउने उद्देश्यका साथ काउन्सिलले कार्यविधि बनाई काम गर्दै आएको छ ।   हाल युट्युब च्यानलबाट सम्प्रेषण हुने सामग्रीका विषयमा उजुरी र गुनासा बढ्दै गएको सन्दर्भमा कार्यविधि बनी नियमन गर्न थालिएको काउन्सिलले जनाएको छ ।   विज्ञप्तिमा मिडियाअन्तर्गत सञ्चालनमा रहेका तर आचासंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने पाँचवटा अनलाइन सञ्चारमाध्यमलाई हटाउन निर्देशन दिइ सचेत गराइएको, अरु पाँच वटा माध्यमका विवादास्पद सामग्री हटाइ स्पष्टीकरण सोधिएको उल्लेख छ ।   त्यस्तै, चार वटा दर्ता सूचीकरण नभएका वेबपोर्टल एवं सामाजिक सञ्जालका सामग्री हटाउन सचेत गराउँदै अन्यथा प्रचलित कानुन बमोजिम कारवाही हुने जनाएको छ ।   विधिवतरुपमा सञ्चालनमा नआई सामग्री सम्प्रेषण गर्ने तर पटकपटक सचेत गराउँदा पनि अवज्ञा गर्ने एक वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ ।   त्यस्तै, विवादास्पद समाचार सम्प्रेषण गर्दै आएका अनलाइनपाना डटकम, स्वास्थ्यलाइभ डटकम, जनताटाइम्स डटकम, खप्तडटिभि डट कम, गुडटिभी डटकम, अर्थसञ्जाल डटकम, ध्वनीखबर डटकमसहितलाई विशेष अनुगमनमा राखी काउन्सिलले निगरानी गरेको जनाइएको छ ।   विभिन्न खालका कारवाहीमा परेका सबै सञ्चारमाध्यमको विस्तृत विवरण काउन्सिलले आफ्नो वेबसाइटमा समेत राखेको छ ।