जुम्ला: जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रु आठ लाख सहयोग रकम प्रदान गरेको छ । उक्त रकमको चेक आइतबार एक कार्यक्रमबीच बैंकले प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । कृषि विकास बैंक लिमिटेड कर्णाली प्रदेश कार्यालयका निर्देशक सुरोज टन्डनले प्रतिष्ठानका रेक्टर डबलबहादुर धामी र रजिस्ट्रार नृपेन्द्र महतलाई उक्त चेक हस्तान्तरण गर्नुभएको थियो । निर्देशक टन्डनले बैंकको सामाजिक उत्तरदायित्वलाई सदुपयोग गर्ने उद्देश्यले प्रतिष्ठानलाई सो सहयोग रकम प्रदान गरेको बताउनुभयो । कर्णाली प्रदेशको स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरूमा बैंकले सहयोग गर्दै आएको छ । बैंकले समाजका लागि शिक्षा र स्वास्थ्यमा योगदान पु¥याउने नीति अनुरूप प्रतिष्ठानलाई सहयोग गरेको निर्देशक टन्डनले जानकारी दिनुभयो । “स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रहरूमा सहयोग पु¥याउनु नै हाम्रो सामाजिक उत्तरदायित्वको प्रमुख उद्देश्य हो”, उहाँले भन्नुभयो । संस्थागत सामाजिक उत्तरदायित्व भन्नाले कुनै पनि संस्थाले आफ्नो नाफाबाहेक समाजमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले गरिने प्रयासलाई जनाउने निर्देशक टन्डनको भनाइ छ । संस्थाहरूलाई समाजप्रतिको जिम्मेवारी वहन गर्न वातावरणीय, सामाजिक, आर्थिक क्षेत्रहरूमा दीर्घकालीन र दिगो विकासका लक्ष्य लिने संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत् प्रतिष्ठानलाई महत्वपूर्ण सहयोग प्राप्त भएको प्रतिष्ठानका रेक्टर डा डबलबहादुर धामीले जानकारी दिनुभयो । “बैंकको यस किसिमको सकारात्मक कदम सदैव स्वीकार्य छ । कृषि विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र वातावरणीय संरक्षणमा निरन्तर योगदान दिनु एउटा उदाहरणीय कार्य हो”, उहाँले भन्नुभयो । प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बैंकको सामाजिक उत्तरदायित्वको अभ्यासले प्रतिष्ठानलाई संस्थागत रुपमा खुसी मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले स्वास्थ्य सेवामा गुणस्तर सुधार्न सहयोग गरेको छ । बैंकको स्थानीय समुदायको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।” सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई आत्मसात गर्दै बैंकले यस प्रकारको सहयोगलाई निरन्तरता दिनुपर्ने रजिस्ट्रार महतले बताउनुभयो । कृषि विकास बैंकले देशभरका दुई सय ८५ शाखाबाट सेवा प्रवाह गरेको सो बैंकको कर्णाली प्रदेश कार्यालयले जनाएको छ ।
झापा: नेपाल आयल निगमको सिलिगुडी–झापा (चारआली) पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रीनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि परियोजना प्रभावित भएको छ । निमगले पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आधुनिक स्मार्ट टर्मिनल बनाउन स्थानीय व्यक्तिहरुबाट विसं २०७४ मा मेचीनगर नगरपालिकाको वडा नं. १३ मा २३ बिघा तीन कठ्ठा १३ धुर जग्गा खरिद गरेको थियो । निगमले छ वर्षअघि खरिद गरेको जग्गा गतवर्ष नाप जाँच गर्दा दुई बिघा अपुग भएको थियो । खरिद गरेको क्षेत्रफल पु¥याउनका लागि निगमले नापी र प्रशासनको सहयोग लिएर छत्रबहादुर र उहाँको परिवारले भोगचलन गरिरहेको दुई बिगाहामा घेराबेरा गरेपछि जग्गा विवाद सुरु भएको हो । दुई बिघा जग्गा थप नगरी आफ्नो क्षेत्रफल नपुग्ने निगमको भनाइ छ भने बिक्री गरेको श्रेस्ताबाहिर गएर निगमले घेराबेरा गरेपछि आफ्नो जग्गा गुमेको कार्की परिवारको गुनासो छ । निगमले पाँच बिघा १५ कठ्ठा जग्गा स्थानीय छत्रबहादुर कार्की र उहाँको परिवारका सदस्यहरुबाट खरिद गरेको थियो । कार्की परिवारले आफूले नबेचेको जग्गा पाँच वर्षपछि कब्जा गरेको भनेर निगम विरुद्ध झापा जिल्ला अदालतमा विसं २०८० फागुन २० गते मुद्दा दर्ता गरेको थियो । मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै गत चैत ६ गते जिल्ला न्यायाधीश तेजबहादुर खड्काको एकल इजलासले विवादमा परेको कित्ता नं। १४० र १२६६ को जग्गामा कुनै संरचना नबनाउनु भनेर निषेधाज्ञा आदेश जारी गरिसकेको छ । अदालतले निषेधाज्ञा जारी गरेका कारण निगमले त्यसपछि परियोजनाका काम अघि बढाएको छैन । परियोजनाअघि बढाउन खटिएका निगमका सञ्चालक समितिका सदस्यहरु र कर्मचारी मुद्दा तथा जग्गा नापजाँचको प्रक्रियामा व्यस्त छन् । नेपाल आयल निगमका सञ्चालक समिति सदस्य वीरेन्द्रबहादुर चन्दले राष्ट्रिय गौरवको आयोजना भएकाले परियोजनामा कुनै पक्षबाट पनि बाधा पु¥याउन नहुने धारणा राख्नुहुन्छ । “जग्गाको विवाद दुई बिघामा मात्र हो, त्यस बाहेकका जग्गामा आवश्यक संरचना बनाउन र परियोजनाको काम अघि बढाउन बाधा हुनु हुँदैन”, उहाँले भन्नुभयो । निगमका सहायक प्रबन्धक कपिलदेव भट्टले परियोजनास्थलमा सुरक्षा गार्ड बस्ने सानो संरचना मात्र बनाइएको र परियोजनाको प्रमुख चयन गर्न बाँकी रहेको जानकारी दिनुभयो । हाल निगमले परियोजनाका लागि चार जना सुरक्षा गार्ड र एक जना ओभरसियरलाई ज्यालादारीमा काम लगाएको छ । उहाँले सम्झौता बमोजिम इन्डियन आयल कर्पोरेसनले भारतको सिलिगुडीदेखि नेपालको चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र चारआलीमा १९ हजार पाँच सय किलोलिटर भण्डारण क्षमताको ‘स्मार्ट भर्टिकल ट्याङ्की’ र अत्याधुनिक ग्रीन टर्मिनल निर्माण गर्ने बताउनुभयो । “पाइपलाइन, ट्याङ्की र टर्मिनलको सम्पूर्ण लागत भारतीय पक्षले नै व्यहोर्ने छ”, सहायक प्रबन्धक भट्टले भन्नुभयो, “नेपाली पक्षले काँकरभिट्टादेखि चारआलीसम्मको पाइपलाइन स्थल र चारआलीस्थित भण्डारण स्थलको जग्गा व्यस्थापन र समन्वय गर्नुपर्ने छ ।” ग्रीनफिल्ड टर्मिनलमा उच्चस्तरीय ल्याबसहितको अग्निसमन उपकरण जडित स्वचालित प्रणाली हुने र यसको निर्माण आगामी चार वर्ष छ महिनामा पूरा गरिने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । परियोजनास्थल रहेको मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले हाल अदालतमा विचाराधीन रहेको जग्गा विवादको समाधान भएपछि राष्ट्रिय गौरवको परियोजनाको निर्माण द्रूत गतिमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । “निगमले किनेको दुई बिघा जग्गा हराएको देखिन्छ, कहाँ छ भनेर नापजाँच भइरहेको छ,” वडाध्यक्ष सिग्देलले भन्नुभयो, “अदालतबाटै नापजाँचको आदेश भएकाले जग्गा विवादको समाधान पनि अदालतबाटै आउने छ ।” अदालतमा मुद्दा दायर गर्नुहुने मेचीनगर–१३ निवासी छत्रबहादुर कार्कीले आफुले निगमलाई बिक्री गरेको जग्गा कुनै हालतमा अपुग नरहेको जिकीर गर्दै यदि कूल क्षेत्रफलमा अपुग रहेको भए निगमलाई जग्गा बिक्री गर्ने अरु १० जना बिक्रेताको जग्गाको कित्ता नापजाँच हुनुपर्ने माग गर्नुभयो । “निगमको नपुगे नपुगोस् भन्ने हाम्रो भनाइ कदापी होइन”, उहाँले भन्नुभयो, “अरु १० जनाले पनि निगमलाई जग्गा बेचेका थिए । अरुले हडपेको भए त्यसको जिम्मा मैले लिन सक्दिन । तर, निगमले मैले बेच्दै नबेचेको कित्ताबाट जबरजस्ती जग्गा अतिक्रमण गरेर घेराबेरा गरेपछि आपत्ति जनाउँदै अदालतको ढोकामा पुगेको हुँ ।”
म्याग्दी: मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले खेर गइरहेको तातोपानीलाई पर्यटकीय गन्तव्य बनाउने र उपयोगमा ल्याउन पहल थालिएको बताउनुभयो । “लोमान्थाङको नजिकै भएर पनि ओझेलमा परेको तातोपानीको मुहानलाई व्यवस्थापन गर्न चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेका छौँ”, उहाँले भन्नुभयो, “तातोपानीलाई व्यवस्थित रुपमा उपभोग गर्न सक्ने हो भने पर्यटन र आर्थिक हिसाबले धेरै राम्रो हुने सम्भावना छ ।” लोमान्थाङ खोलाको किनारमा रहेको तातोपानीलाई पोखरीमा सङ्कलन गरेर स्नानको गर्ने व्यवस्था मिलाउने तयारी गरेको अध्यक्ष गुरुङले बताउनुभयो । चिसो हावापानी र मौसम हुने लोमान्थाङमा रहेको तातोपानीको मुहन प्रकृतिको वरदान हो । खोलाको किनारमा जमिनभित्रबाट करिब ५० डिग्री सेल्सियस तातोपानी निस्कन्छ । लोमान्थाङ–सुर्खाङ पदमार्गमा पर्ने तातोपानी कुण्ड नजिकैसम्म सडक पुगेको छ । बेनी–जोमसोम–कोरला सडक निर्माण भएपछि विकल्पमा पुराना घोरेटो बाटोलाई स्तरोन्नति गरेर पर्यटक हिँडाउन थालिएको हो । कुण्डको नजिकै आश्रयस्थल र स्नान गर्ने ठाउँ पनि छ । जमिनभित्रबाट भुक्लुक भुक्लुक गरेर तातोपानी निस्कने गर्छ । स्थानीयवासी भने तातोपानी नुहाउनका लागि जाने गर्छन् । पोखरीको पानीलाई भाडामा राखेर शरिरमा राख्दै नुहाउने गर्छन् । व्यवस्थित र प्रचारप्रसार नभएकाले लोमान्थाङ आउने पर्यटक कुण्डसम्म पुग्न नसकेका लोमान्थाङका वडाध्यक्ष ढुढुके विष्टले बताउनुभयो । कुण्डलाई व्यवस्थित गरेर लोमान्थाङ घुम्न आउने पर्यटकको बसाई लम्बाउने प्रयासमा रहेको उहाँले बताउनुभयो । लोमान्थाङदेखि ३० मिनेट पैदलयात्रा गरेपछि तातोपानीको मुहानमा पुगिन्छ । स्थानीयका अनुसार तातोपानी कुण्डमा स्नान गर्दा हाडजोर्नी तथा छालासम्बन्धी रोग निको हुन्छन् । तातोपानीमा स्नान गरेपछि थकान मेटाउन र शारीरिक स्फूर्ति हुन्छ । विशाल फाँटको बीच भागमा माटोको पर्खालले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेको बस्ति हो । वरपर सुक्खा कलात्मक पहाडको बीच भागमा रहेको लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको यो ठाउँ समुद्री सतहदेखि तीन हजार सात सय २० मिटरको उचाइमा छ । समथर खेतीयोग्य फाँटको बीचमा बसेको लोमान्थाङ वरपरको भूगोल मनमोहक र आकर्षक छ । फाँटको फेदीमा तातोपानीको मुहान रहेको छ । माटोको पर्खालभित्र रहेको ऐतिहासिक बस्ती, दरबार र गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको आकर्षण भएको लोमान्थाङ गाउँपालिका–५ का वडासदस्य लाक्पा वाङदी गुरुङले बताउनुभयो । अर्धनिषेधित क्षेत्रमा पर्ने उपल्लो मुस्ताङमा वार्षिक तीन हजार जनाको अनुपातमा विदेशी पर्यटक आउँछन् । त्यहाँ हिजोआज भने नेपाली पर्यटकको चहलपहल छ ।
जनकपुरधामबाट प्रहरीले २ सय २१ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन् । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका-१४ स्थित चेकजाँचको क्रममा बाबा आयलस सेन्टर नजिकबाट ना. ५ ख १७७ नम्बरको मिनी ट्रकमा लुकाएर लैजाँदै गरेको गाँजासहित उनलाई पक्राउ गरेको हो । ट्रकमा फल्स बटन बनाएर राखेको १६ वटा पोकामा रहेको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ। अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन। दमौली बजारमा डिजाइन सेन्टरबाट २३/२३ मिटरलाई आधार मानेर सडक विस्तार सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार दमौली बजार खण्डमा नाला निर्माण भइरहेको छ। ‘केही समय पहिला बिजुलीको नयाँ पोलहरु गाडीएको छ। बिजुलीको पोललाई आधार मानेर त्यसभित्र सडक विस्तार हुनेछ,’ उनले भने। पाण्डेकाअनुसार सडकविन्दुबाट १२.२५ मा नाला निर्माण हुनेछ। बिजुलीको पोलभन्दा बाहिर दुई मिटरमा पैदलमार्ग निर्माण गरिने उनले जानकारी दिए। ‘दसैँ बिदा अगाडिदेखि काम सुरु गरिएकामा दसैँ बिदा सकिएपछि कामले झनै गति लिएको छ। मुग्लिन पोखरा सडकको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी, बन्दीपुरमा कामले गति लिँदा सदरमुकाम दमौलीमा काम हुन सकिरहेको थिएन,’ उनले भने। सडक विस्तारका क्रममा दमौली बजारका ७४ घरटहरा भत्काइनेछन्। त्यसभित्र जिल्ला प्रहरी कार्यालयको गेट, दुर्गा मन्दिर लगायतका संरचना पर्छन्। केही लाभग्राहीले पहिलो किस्ता बापतको रकम बुझिसकेको पाण्डेले बताए। पूर्वी खण्डमा आर्थिक वर्ष २०८०/८१ मा एकतर्फी रुपमा ५५ किलोमिटर दुई लेन कालोपत्र भएको छ। हालसम्म भने एकतर्फी रुपमा ६३ किलोमिटर कालोपत्र सकिएको पाण्डेको भनाइ छ। पाण्डेकाअनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन्। त्यस्तै दुई ठूला पुल र १०३ वटा कल्भर्ट निर्माण सकिएको पाण्डेले जानकारी दिए। व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको र अब स्ल्याब र बिम बनाउने चरणमा पुगेको उनले बताए।
बलात्कार आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । वडा प्रहरी कार्यालय घोराहीको नियन्त्रणमा रहेका प्युठान सरुमारानी गाउँपालिका–४ घर भई ज्वालामाई गण भालुवाङमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले झुन्डिएर आत्महत्या गरेका हुन । वडा प्रहरी कार्यालय घोराहीको शौचालयको झ्यालमा प्रयोग गरिएको फलामको रडमा आफूले लगाएको स्याण्डो र टिसर्टले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए । प्रहरी उपरीक्षक तिमिल्सिनाका अनुसार सोमवार बिहान करिब पाँच बजेतिर शौचालय गएको र लामो समयसम्म नफर्किएपछि ढोका खोलेर हेर्दा झुन्डिएको अवस्थामा भेटिएका थिए । गत असोज २४ मा भलुबाङका १४ र ८ वर्षीय दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङस्थित शस्त्र प्रहरी बल ज्वाला माई गणका दुई प्रहरी नियन्त्रणमा थिए । आरोपित अर्का एक जना हिरासतमै छन् ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले १ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ४ गैह्रापाटन बस्ने २७ वर्षीय डा. शास्वत कोइराला रहेका छन् । कास्की प्रहरीका अनुसार पोखरा १२ परिवार नियोजनको कार्यालय अगाडी चेकजाँजको क्रममा उनलाई ग ३ प ९७४४ नम्बरको कारमा ओपोट्याब (OPOTAB) ५० र तपेन्टाडोल (Tapentadol Tablets) ४ सय ट्याब्लेट फेला पारेको थियो । त्यसपछि उनको घरमा खानतलासी गर्दा थप १ सय ६० चक्की लागुऔषध फेला पारेको थियो । यसैगरी नवलपरासीको मध्यविन्दु नगरपालिका ३ लेडा घर भई पोखरा १० हस्पिटलचोक बस्ने २४ वर्षीय सञ्जय चौधरीपनि लागुऔषधसहित पक्राउ परेका छन् । चौधरीको साथबाट ओपोट्याब (OPOTAB) ५० र तपेन्टाडोल (Tapentadol Tablets) १ हजार ३ सय ट्याब्लेट बरामद भएको थियो । पक्राउ परेका दुवै जनालाई १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेग कोरला नाका अवलोकन भ्रमण गर्नुभएको छ । प्रदेश अन्तर्गतका जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन भ्रमण गर्ने क्रममा मुस्ताङको कोरला नाकासम्म पुगी अवलोकन गर्नुभएको हो । प्रदेश प्रमुख भट्टले नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट यताका नेपालका भुुभाग निरीक्षण गर्नुभयो । त्यसअघि जोमसोममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले प्रदेश प्रमुख भट्टलाई कोरला नाका, त्यहाँ नेपाल तर्फका प्रगति विवरण तथा सडकको स्तरोन्नतिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले चीनतर्फ भव्य भवन लगायतका आधुनिक संरचना बनिसकेको जानकारी पनि गराउनुभयो । तिब्बततर्फ भन्सार लगायतका कार्यालयका लागि भव्य भवन र सहरी योजना बनाइसकेकाले नेपालतर्फ पनि आवश्यक संरचना आवश्यक भइसकेको प्रजिअ भुसालले बताउनुभयो । बेनी जोमसोम र जोमसोम कोरला सडक स्तरोन्नतिमा ढिलाई गर्न नहुने उहाँको भनाई थियो । धेरै पहिले नेपाल–तिब्बत व्यापारको महत्वपूर्ण नाका रहेकाले अब यसलाई सहज रुपमा खुलाउन सकेमा गण्डकी प्रदेशसँगै समग्र मुलुककै आर्थिक विकासमा टेवा पुग्ने लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बताउनुभयो । नेपाल–चीन जोड्ने अन्य नाकाहरू भन्दा कोरला नाका सुरक्षित र छोटो भएकाले यस नाकालाई नेपाल सरकारले तुरुन्त खोल्न सके व्यापार मात्र होइन, पर्यटन क्षेत्रलाई पनि फाइदा गर्ने उहाँको भनाई थियो । लोमन्थाङ गाउँपालिका वडा नं.ं २ अध्यक्ष कर्म नाम्ग्याल गुरुङले चीन तर्फका सबै संरचना बनिसकेकाले कोरला नाकालाई सहज रुपमा खुलाउन अब समस्या नरहेको भन्दै पहलका लागि प्रदेश प्रमुखको ध्यानाकर्षण गराउनुभयो । लोमन्थाङलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने खाँचो उहाँले औंल्याउनुभयो । कोरला नाका खुलाउँदा नेपालको आर्थिक वृद्धिमा सहयोग हुने मुस्ताङका स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी र पोखराका व्यवसायीको पनि विश्वास छ । कोरला नाका खुलाउन सके पोखरा आर्थिक केन्द्र बन्न सक्ने नेकपा एमाले लोमन्थाङ गाउँपालिका कमिटि अध्यक्ष लाक्पा वाङ्दी गुरुङले उल्लेख गर्नुभयो । शालिग्राम उत्पत्ति भएको ठाउँ दामोदरकुण्ड पनि यहीँ रहेकाले मुक्तिनाथ हुँदै यस क्षेत्र धार्मिक पर्यटनको पनि केन्द्र बन्न सक्ने गुरुङले बताउनुभयो । जिल्लाको पर्यटन विकासमा नेपाल सरकार र गण्डकी सरकारले विशेष ध्यान दिनुपर्ने बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. १ का अध्यक्ष प्रमेश गुरुङले बताउनुभयो । गण्डकी प्रदेश प्रमुख भट्टले कोरला नाका यस प्रदेशकै महत्वपूर्ण सम्पति रहेकाले सहज रुपमा खोल्ने र आवश्यक संरचना तथा भन्सार सञ्चालनका लागि नेपाल सरकारको ध्यान रहने बताउनुभयो । उपल्लो मुस्ताङसम्मको अवलोकन भ्रमणका क्रममा प्रदेश प्रमुख भट्टले पर्वतका पुलहरू, बञ्जी स्थल, बागलुङ कालिका भगवती दर्शन, मुक्तिनाथ मन्दिरमा दर्शन, घमीको स्याऊ खेती, लोमन्थाङ गाउँ अवलोकन, नेचुङ नजिकैको पाँच तले शिजा झोङ गुफा र कोरला नाकाको नेपाल क्षेत्र अवलोकन भ्रमण गर्नुभएको थियो ।
काठमाडौं: नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको छ । जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपाललाई तीन विकेटले पराजित गरेको हो । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा नेपालले दिएको २ सय ८७ रनको लक्ष्य पछाएको अमेरिकाले ४९।४ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि शयान जगागिरले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान मोनांक पटेलले ६२, हर्मीत सिघले ५७ रन बनाएका थिए । नेपालका लागि कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर चार विकेट लिए । सोमपाल कामीले दुई र ललित राजवंशीले एक विकेट लिए । यसअघि नेपालले टस हरेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुँदै २ सय ८६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाएका थिए भने अनिल शाहले ५६, आसिफ सेखले ५२ र आरिफ सेखले ३७ रन बनाएका थिए । नेपाल लिग(२ मा नौ खेलमा सातमा हार, एकमा जित र एक खेलमा अंक विहीन हुँदै तीन अंकका साथ सातौं स्थानमा छ । अमेरिका दश खेलमा सात मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ । अब सिरिजमा अर्को खेल भोली मंगलबार राति नेपालले स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।
 
                    
