चितवन: अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार अविरल वर्षाका कारण पहिरो खस्न सक्ने भन्दै सडकखण्ड रात्रिकालीन समयमा बन्द गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश्वर रिमालले आज र भोली यस सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । उहाँले बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको बताउनुभयो । अत्यावश्यक सवारी साधनबाहेक अन्यलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने रिजालले जानकारी दिनुभयो ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको बताएका छन् । नेपाल क्रिकेट संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले खेलकुद क्षेत्र अन्तर्गत क्रिकेट खेलमा नेपालले प्राप्त गरेको उपलब्धी प्रशंसनिय रहेको उल्लेख गरे । “क्रिकेटका कारण विश्वभर भएका सबै नेपाली एक भएका छौं । हाम्रो भावनालाई मजबुत बनाएको छ ।”, उनले भने । सम्पूर्ण खेलाडी र क्यान परिवारलाई बधाई दिँदै मन्त्री थापाले खेलकुदको विकासमा खेल संघसंस्थाहरुको सक्रियता र योगदान अनुपम र उदाहरणीय रहेको बताए । सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्र मिलेर नै नेपालको खेलकुदको विकासमा गति बढाउन सकिने भनाई उनको छ । नेपालको संविधान २०७२ ले खेलकुद क्षेत्रलाई तीन तह संघ, प्रदेश र स्थानीयको जिम्मेबारीमा सुम्पिएको र राष्ट्रिय खेलकुद निकाय ऐन २०७७, प्रदेश खेलकुद विकास ऐन २०७७ र स्थानीय कानून निर्माण भएको जानकारी उनले गराए । मन्त्री थापाले खेल सम्बन्धि संघसंस्थाहरुको पनि स्थानीय तह, जिल्ला, प्रदेश हुँदै संघीय संरचना निर्माण भएको हुँदा सबै संघसंस्थाहरुले आ—आफ्नो साधारण सभा मार्फत अध्यावधिक हुनुपर्ने धारणा राखेका छन् । जसमा नेपाल क्रिकेट संघको थालनी अनुकरणीय र उदाहरणीय रहेको भनाई उनको छ । गण्डकी प्रदेश सरकारले स्थानीय तह, जिल्ला र प्रदेश तहमा रहेका खेल संघसंस्थाहरुको नियमन र संचालनका लागि मापदण्ड लागु गरेको जानकारी उनले गराए । खेलाडीहरुको पहिचान, अवसर र सम्मानका लागि रेफ्री÷कोच÷खेलाडीका लागि वार्षिक आकस्मिक विमा कार्यान्वयन गरिएको उनले उल्लेख गरे । ओलम्पियन ९ जना खेलाडीलाई प्रदेश सरकारले वार्षिक भत्ताको व्यवस्था गरेको भनाई उनको छ । यसका लागि खेलाडी कल्याणकारी कोष र गण्डकी प्रदेश खेलकुद पदकको स्थापना र संचालनको कार्यविधि निमार्णको चरणमा रहेको उनले बताए । राष्ट्रिय खेलकुद परिषद र संघीय सरकारका गण्डकी प्रदेश भित्र रहेका खेलकुद पूर्वाधारहरुको निर्माण र मर्मत सम्भार सँगै व्यवस्थापनमा प्रदेश सरकार र प्रदेश खेलकुद परिषदसँग समन्वय गनुपर्ने आवश्यकतालाई मन्त्री थापाले औंल्याएका छन् । गण्डकी प्रदेश सरकारको २०८० चैत ९ गतेको निर्णयले तनहुँको शुक्लागण्डकी नगरपालिका ८ गणपतिस्थित गाउँ फर्कोदय माध्यमिक विद्यालयको खेलमैदान र नवलपुरको कावासोतीको नवदुर्गा खेल मैदानलाई प्रादेशिक क्रिकेट खेल मैदानको रुपमा घोषणा गरेको र यसले पोखरा र चितवन भरतपुरको खेल मैदानलाई समेत टेवा पुग्ने विश्वास उनको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एनपीएलका लागि टीयुुको खेलमैदानमा स्कोर बोर्ड संचालनमा ल्याउने तयारी भएको जानकारी गराए । उनले खेलकुदलाई उद्यम, आयआर्जन सँग जोड्न परिषद लागिरहेको उल्लेख गरे । घरेलु क्रिकेटको स्ट्रक्चरलाई मजबुत बनाउन आवश्यक रहेको भनाई उनको छ । नेपाल क्रिकेट संघका महासचिव पारस खड्काले नेपाली क्रिकेट टोलीले १९ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइएको बताए । पूर्व कप्तान समेत रहेका उनले नेपाली क्रिकेटलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन् । जिल्ला स्तरबाट नै व्यवसायिक रुपमा खेलाडीलाई जोड्नुपर्ने आवश्यकता रहेको भनाई उनको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर कँडेल लगायतले बोलेका थिए ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले पार्टीमा सङ्गठनात्मक एकता आवश्यक रहेको बताउनुभएको छ । एमाले पार्टी मुख्यालय ललितपुर, च्यासलमा आज आयोजित अखिल नेपाल महिला सङ्घको चौथो बैठकमा उहाँले सङ्गठनात्मक एकताले नै पार्टीमा देखिएका चुनौतीलाई समाधान गर्न सकिने बताउनुभयो । महासचिव पोखरेलले पार्टीलाई बलियो बनाउन सबै तहका पार्टी सङ्गठनका नेता कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने र यसका लागि पार्टी नेतृत्व आवश्यक सहजीकरण गर्न तयार रहेको धारणा राख्नुभयो । उहाँले पार्टीलाई निर्णायक शक्ति बनाउनका लागि वार्षिक कार्यतालिकामा तर्जुमा गरी पाटी गतिविधिलाई टोलटोल र बस्तीबस्तीसम्म लैजान आवश्यक रहेको उहाँको भनाइ थियो । महासचिव पोखरेलले यसवर्ष पार्टीले ४० वर्ष मुनिका युवालाई लक्षित गरेर युवा शिखर सम्मेलन गर्न लागेको समेत जानकारी दिनुभयो । यसैगरी उहाँले राजनीतिक स्थायित्व हुनेगरी संविधान संशोधन, सरकारको स्थायित्व र आर्थिक अवस्था सुदृढीकरणका लागि नेपाली कांग्रेससँग मिलेर सरकार बनाउनु परेकाले सोहीअनुसार बुझ्न र बुझाउन आग्रह गर्नुभयो । “संविधान जारी भएको १० वर्षका सबल र दुर्बभ पक्षको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधान गर्ने गरी राजनीतिक समीकरण बनेको छ । यसरी बनेको सरकारले सामाजिक अराजकता, आर्थिक सङ्कट र शान्ति प्रक्रिया टुङ्ग्याउने कुरालाई समाधान गरेर अगाडि बढ्ने छ”, महासचिव पोखरेलले भन्नुभयो, । उहाँले ठुला पार्टी मिलेर सरकार बनाउने कुरा उचित नभए पनि राजनीतिक स्थायित्वका लागि मिल्नुपर्ने अवस्था आएको धारणा राख्नुभयो । “पार्टी—पार्टी मिलेर सरकार बनाउने कुरा सामान्यता उचित होइन तर स्थायित्वका लागि दुई पार्टी मिल्नुपरेको हो”, उहाँले भन्नुभयो । महासचिव पोखरेलले सरकारको काममा प्रभावकारी देखिन थालेको, राजस्व बढ्न सङ्कलन बढ्न थालेको, वैदेशिक लगानी र रेमिट्यान्स बढ्नु सरकारको कामको प्रभावकारिता रहेको बताउनुभयो । यसले मुलुक सङ्कटबाट मुक्त नभए पनि सुधारका सङ्केत देखिएको उहाँको भनाइ थियो । स्थायी कमिटी सदस्य भानुभक्त ढकालले संविधान संशोधन गरेर हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व ५० प्रतिशतको सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घका अध्यक्ष टुकाभद्र हमालले महिलाका अधिकारलाई संविधान संशोधनबाट थप सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
काठमाडौं: कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । आज ४५औँ विश्व पर्यटन दिवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्याइरहेको योगदानको प्रशंसा गर्नुभयो । सहरी विकासमन्त्रीसमेत रहनुभएका सिंहले अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरिरहेकाले सरकारले पर्यटन क्षेत्रलाई सहज बनाउँदै लैजाने बताउनुभयो । उहाँले देशको आर्थिक तथा सामाजिक विकासका लागि शान्ति अपरिहार्य रहेको भन्दै शान्ति, सुरक्षाबिना पर्यटनको विकास सम्भव नहुने धारणा राख्नुभयो । “नेपालको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “यसका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।” कार्यवाहक प्रधानमन्त्री सिंहले कूल गार्हस्थ उत्पादनमा पर्यटनको योगदान बढाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो । पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको भए पनि सन्तोषजनक अवस्था भने नरहेको भन्दै उहाँले आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने योगदान थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यवाहक प्रधानमन्त्री सिंहले नेपाल साहासिक पर्यटन, ट्रेकिङ, हिमाल आरोहण, स्काई ड्राइभिङका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको बताउँदै पर्यटन क्षेत्रमा निजी क्षेत्रले आफ्नो व्यवसाय सञ्चालन गर्नसक्ने अवस्था सिर्जना गर्न सरकारले येजना बनाइरहेको उल्लेख गर्नुभयो । अस्थिरताका कारण देशमा समस्या देखिएकाले राजनीतिक स्थायित्वका लागि संसद्का दुई ठूला दल मिलेर सरकार गठन भएको भन्दै उहाँले सरकार जनताको पक्षमा सशक्त रुपमा अघि बढ्ने बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेको उल्लेख गर्दै पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न राज्य र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताउनुभयो । “यो वर्षको विश्व पर्यटनको नारा पर्यटन र शान्ति छ । पर्यटनका लागि शान्ति अपरिहार्य छ । एकातिर जलवायु परिवर्तनले विश्व आक्रान्त बनेको अवस्था छ । यसका असरलाई कम गर्दै लैजानु पर्नेछ । अहिले विश्वले शान्ति खोजिरहेको छ । त्यसैले ‘पर्यटन र शान्ति’ लाई सँगसँगै लैजाने गरी आधार तयार गर्नुपर्नेछ”, उहाँले भन्नुभयो । मन्त्री पाण्डेले देशको कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान बढाउन चाहेकाले निजी क्षेत्रको सहयोग आवश्यक पर्ने खाँचो औँल्याउनुभयो । उहाँले देशको पर्यटनको विकासका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई बलियो बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै नीतिगत सुधार र व्यावसायिक बजार योजनासहित निगम सुधार गरिने उल्लेख गर्नुभयो । पर्यटनराज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सरकारले पर्यटनमैत्री नीति बनाउनेतर्फ काम गरिरहेको जानकारी दिनुभयो । पर्यटन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेले पर्यतीय पर्यटनमा नेपाल विश्वमा अग्रणी रहेको उल्लेख गर्दै पर्यटनबाट थप लाभ लिन सबैपक्षबीच सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो । बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटन र शान्तिबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै पर्यटनमैत्री नीतिले मात्रै पर्यटन प्रवर्द्धन सम्भव हुने धारणा राख्नुभयो । होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटल क्षेत्रमा अर्बौँको लगानी रहेका, करिब १० लाखलाई रोजगारी सिर्जना गरेको अवस्थामा राज्यले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । होटल व्यवसायी सङ्गीता श्रेष्ठले नेपालमा पर्यटनको सम्भावना बढी रहेकाले पर्यटनबाट आर्थिक समृद्धिको यात्रा तय गर्न सकिने धारणा राख्नुभयो । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५औँ विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा पर्यटन क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । यसैबीच आजै जजिरा एअरलायन्स र फ्लाई दुवईबाट नेपाल आउने पर्यटकलाई विमानस्थलमा स्वागत गरिएको थियो । नेपाल पर्यटन बोर्डमा आयोजित स्वगागत कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले पर्यटकलाई खाँदा तथा बुद्ध मूर्ति प्रदान गरी स्वागत गर्नुभएको थियो ।
काठमाडौं: पछिल्लो १२ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखको विवरणमा सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको उहाँले बताउनुभयो । विगत १२ घण्टामा कोशी प्रदेशको झापा, इलामलगायत क्षेत्रमा अति भारी वर्षा भएको छ । झापाको अनारमणीमा दुई सय तीन मिलिमिटर र चन्द्रगढी विमानस्थलमा दुईसय ६० मिलिमिटर र इलाममा दुई सय ४३ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् महर्जनले जानकारी दिनुभयो । पछिल्लो एक घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा तुलनात्मक रुपमा कम वर्षा भएको छ । काठमाडौँका थोरै स्थानमा भारी वर्षा भएको छ । कीर्तिपुरमा ८४ मिलिमिटर र बूढानीलकण्ठमा ६५ मिलिमिटर, काठमाडौँका अन्य क्षेत्रमा ६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ । ललितपुरको लेलेमा एक सय १५ दशमलव पाँच र गोदावरीमा ९३ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ । अहिले सबै प्रदेशमा निरन्तर वर्षा भइरहेको भन्दै भोलि पनि दिनभर वर्षा हुने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । आइतबार मध्यान्हपछि मौसममा केही सुधार आउँदै जाने महाशाखाले जनाएको छ । निरन्तरको वर्षासँगै उपत्यकालगायत मुलुकका अधिकांश नदीनालामा जलसतह बढेको छ । काठमाडौँको बागमती, विष्णुमती, धोबीखोला, ललिपुरको कर्मानासा, भक्तपुरको हनुमन्ते खोलामा जलसतह उच्च रहेको छ । वर्षाले काठमाडौँसहित मुलुकभरको जनजीवन सामान्य प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागले मोबाइलमार्फत सूचना पठाएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौँ उपत्यकास्थित बागमती नदी, खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा भएकाले नदी तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि नेपालमा रहेको महाशाखाले जनाएको छ ।
काठमाडौं: काठमाडौं प्रहरीले ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षित राजधानी’ नारासमेत अघि सारेको छ । यसका लागि जिल्ला प्रहरी परिसर काठमाडौँले आउँदा चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याइ जनजीवनलाई सहज र सरल बनाउन विशेष सुरक्षा योजना अघि सारेको छ । सुरक्षा व्यवस्था अझ राम्रो बनाउन काठमाडौंलाई विभिन्न १४ इलाकामा विभाजन गरेर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रत्येक युनिटमा १०÷१० जनाको टोली बनाइ परिचालित गरिने काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले दसैँ, तिहार, छठलगायत चाडपर्वका लागि काठमाडौँ जिल्लाभित्र कुल तीन हजार सात सय ६५ जनशक्ति परिचालन गरी विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक रजौरेले जानकारी दिनुभयो । घटनास्थलमा १० मिनेटभित्र पुग्ने गरी ‘इलेक्ट्रोनिक क्विक रेस्पोन्स टिम’ (इ–क्युआरटी), सिआरभी र मोबाइल टोलीलाई तयारी अवस्थामा राखिएको छ । घटनास्थलको तस्वीर तथा श्रव्यदृश्य लिन ‘गोप्रो क्यामेरा’, तैनाथीको अवस्था बुझ्न जिपिए र तत्काल रेस्पोन्सका लागि आवश्यक सामग्रीसहित इक्युआरटी टिमलाई परिचालित गरिएको छ । घटनास्थलमा थप प्रतिकार्यका लागि बढीमा ३० मिनेटभित्र यथेष्ठ प्रहरी तैनाथी हुने व्यवस्था मिलाइएको छ । प्रहरीले अपराध हुनसक्ने सम्भावित क्षेत्रमा पैदल, सवारी र ड्रोनमार्फत गस्ती गर्नेछ । प्रहरीले स्थानीय बासिन्दाका खाली घर, आर्थिक कारोबार हुनसक्ने स्थान, सरकारी कार्यालय, भीडभाड हुने स्थान, गरगहना पसल, बसका टिकट काउन्टर, धार्मिकस्थल, बसपार्कलगायतलाई सुरक्षा क्षेत्रका रुपमा पहिचान गरेको छ । सम्भावित क्षेत्रमा सूचना सङ्कलनका लागि सादा पोसाकमा ३८ टोली परिचालित हुनेछन् । ‘सिल एण्ड सर्च’का लागि २८ तथा ‘एम्बुसिङ’ र निगरानीका लागि २२ टोली परिचालित गर्ने काठमाडौँ प्रहरीको तयारी छ । काठमाडौं भित्रने नाकामा प्रत्येक दिन कुकुरमार्फत उच्च निगरानी गरिने, विभिन्न ३५ स्थानमा सुरक्षा व्यवस्थासम्बन्धी चेतना फैलाउन पर्चा वितरण गर्ने, काठमाडौंका प्रमुख १२ स्थानका टिकट काउन्टरमा सहायता कक्ष सञ्चालन गरी सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन विविध कार्यक्रम गरिनेछ । बैंक तथा वित्तीय संस्थामा चोरी लुटपाट हुनसक्ने, सामान किनबेच हुने स्थानमा अत्यधिक भीडभाड भई किनबेच कार्यमा असुविधा तथा पसलहरुमा चोरी तथा लुटपाट हुन सक्नेतर्फ ध्यान दिँदै प्रहरीले निगरानी गर्नेछ । एटिएम बुथ तोडफोड गरी चोरी हुनसक्ने हुँदा सो क्षेत्रतर्फ गस्ती गरी सुरक्षा व्यवस्था मिलाइने प्रहरी नायब उपरीक्षक रजौरेले बताउनुभयो । चाडपर्वमा लुटपाट तथा कुटपिट, चोरी, डकैती, सवारी दुर्घटना, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, मदिरा सेवन गरी झै–झगडा, ट्राफिक नियमको उल्लङ्घन, आगजनी तथा विस्फोटन, महँगो भाडा असुलीलगायत आपराधिक गतिविधि हुनसक्ने भएकाले उच्च निगरानी राखिएको प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले जानकारी दिनुभयो । काठमाडौंलाई सुरक्षित सहर बनाउन आमनागरिकको सावधानी आवश्यक रहेको भन्दै उहाँले काठमाडौंलाई सुरक्षित बनाउन प्रहरीले कुनै कसर नराखिने स्पष्ट पार्नुभयो
महोत्तरी: महोत्तरीको गौशाला नगरपालिकास्थित गौशालाको अस्तित्व स्वामित्व विवादले सङ्कटमा परेको छ । विसं १९८३ मा भारतको दरभङ्गास्थित महाराजाले हिन्दू र हिन्दूत्वको रक्षा गर्ने हेतुले गौशाला स्थापना गरेका थिए । राष्ट्रिय जनावर गाई सेवा तथा संरक्षणका लागि विहारको तत्कालीन प्रान्त सरकार दरभङ्गाका महाराजले नेपाललाई गौशाला उपहार दिएका थिए । त्यतिबेला दुई सय बिघा जग्गा खरिद गर्दै दरभङ्गा महाराजले एक हजार पाँच सय दूधालु गाई राखेर गौशाला नगरपालिका– ३ स्थित निगौल गाउँमा गौशाला स्थापना गरेका थिए । पछि त्यसको देखरेख, व्यवस्थापन र सञ्चालनको जिम्मेवारी अञ्चलाधीश हुँदै प्रमुख जिल्ला अधिकारीलाई प्रदान गरिएको थियो । तर उनीहरुले विभिन्न कारणवश गौशालामा रहेका गाईको उचित रेखदेख, व्यवस्थापन र सञ्चालन गर्न नसकेपछि गौशालामा रहेको गाईको अवस्था दयनीय बन्यो । ९५ वर्ष पुरानो सरकारी स्वामित्वको गौशाला अहिले सरकारी बेवास्ता, राजनीतिक दोहन र स्वामित्वको खिचातानीले लथालिङ्ग बनेको छ । गौशालामा उन्नत र स्थानीय जातका गाईका लागि सुविधायुक्त छुट्टाछुट्टै गोठ छन् । २० बिघा जग्गामा हरियो घाँस रोपिएको छ भने गोदाममा भुसा, पराल र अन्य आहारा पर्याप्त छन् । विगत १३ वर्षदेखि उक्त गौशाला राष्ट्रिय सहकारी विकास बोर्ड अन्तर्गत सञ्चालनमा छ । तर गौशालाका गाईको उचित रेखदेख, पौष्टिक आहार र उपचार हुन सकेको छैन । सहकारी बोर्डलाई गौशाला हस्तान्तरण गरेको १३ वर्ष भए पनि खासै सुधार हुन नसकेको हो । यसैबीच गौशाला नगरपालिकाले गौशाला आफ्नो स्वामित्वमा ल्याउन प्रयास गरिरहेको छ । गाई पालनका लागि पर्याप्त भौतिक संरचना र जनशक्ति भए पनि लगानी अनुसार दूध उत्पादन र आम्दानी हुनसकेको छैन । कर्मचारी, गोठाला, घाँस काट्ने मजदुर, गाईको आहार, औषधि उपचार, घाँसखेतीमा हुने लगानी अनुसार आम्दानी नहुँदा गौशालालाई बर्सेनि ऋणको भार थपिएको छ । गौशालाको स्वामित्वमा एक सय ४८ बिघा जग्गा छ । त्यसमध्ये ८७ बिघा दुई कट्ठा भाडामा लगाइएको छ । २० बिघा घाँसखेतीका लागि राखिएको छ । नौ बिघामा पोखरी र १० बिघामा बगँैंचा छ । १० बिघा क्षेत्रफलमा कार्यालय परिसर र दुई बिघामा पुरानो गोठ फैलिएको छ । गौशालाको दुई बिघामा पशु हाटबजार लाग्दै आएको छ । यसैबीच गौशालाको कार्यालय परिसर, बजार र भाडामा लागेको जग्गा चौतर्फी अतिक्रमणको चपेटमा परेको छ । पर्याप्त जग्गा हुँदाहुँदै पनि घाँस र अन्य बाली व्यवस्थित रूपले लगाउन नसक्दा गाईलाई आहाराको अभाव छ । गौशालाका निमित्त कार्यालय प्रमुख वीरबहादुर चौधरीले गौशाला व्यवस्थापन भन्दा आफू अनुकुलका कर्मचारी भर्ना गरी जग्गा कब्जा, पोखरी तथा बगैँचा ठेक्कामा चलखेल, पशु बजार ठेक्काबाट लाभ लिन राजनीतिक दल र जनप्रतिनिधिबाट दोहन हुने गरेको आरोप लगाउनुभयो । उहाँले गौशालाको खेतीयोग्य ८७ बिघा जग्गा यहाँका अगुवा नेताहरूले आफू अनुकुलका कार्यकर्तालाई बाँडेको, बजार क्षेत्रको गौशालाको जग्गामा राजनीतिक दलकै संरक्षणमा पक्की घर बनाएर जग्गा अतिक्रमण गरेको जानकारी दिनुभयो । गौशालाको जग्गा, पोखरी, बगैँचा र घर भाडामा लिएर पनि राजनीतिक संरक्षण पाएर लामो समयदेखि पैसा नतिरेको प्रष्ट्याउनुभयो । सोही कारण गाईलाई पौष्टिक आहार तथा दाना खुवाउनसमेत समस्या भएको निमित्त प्रमुख चौधरीले बताउनुभयो । गौशालाकै जग्गामा परापूर्वकालदेखि लाग्दै आएको पशुहाट लगाइने ठेक्काको २५ प्रतिशत रकम गाई गौशालाले पाउनुपर्ने सहमति भए पनि गौशाला नगरपालिकाले रकम दिन आनाकानी गर्दै आएको छ । गौशालाको जग्गा दिनानुदिन अतिक्रमणको चपेटमा पर्दै गएकोमा नगरपालिकाबाट अतिक्रमण रोक्न पहल हुनपर्नेमा उल्टै राजनीतिक तहबाटै अतिक्रमण गर्नेहरू संरक्षित भइरहेको दुखेसो निमित्त कार्यालय प्रमुख चौधरीको छ ।
काठमाडौं: प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ जनकपुर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा मात्रै उडान भइरहेका छन् । भद्रपुर, सिमरा, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा आज कुनैपनि उडान नभएका बताउँदै विराटनगरतर्फ दिउँसो ३ बजेदेखि नियमित उडान भइरहेका उहाँले जानकारी दिनुभयो । अन्तर्राष्ट्रियतर्फ पनि दुई विमान करिब एक घण्टा ‘होल्ड’मा परेर अवतरण गरेका प्रवक्ता शेर्पाले बताउनुभयो । भारतको नयाँ दिल्लीबाट काठमाडौँ आइरहेको इण्डिको एयरलाइन्सको विमान र थाइल्याण्डको बैंककबाट आएको थाई एयर होल्डमा परेका बताउँदै अन्य अन्तर्राष्ट्रिय उडान पनि केही ढिलाइ (डिले) भएका उहाँले जानकारी दिनुभयो । अन्तर्राट्रिय उडान भने अहिले नियमित भइरहेका छन् । लगातारको वर्षाले भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा ‘इन्ट्रमेन्ट फ्लाइट रुल्स’ ९आइएफआर० उडान मात्रै भइरहेका प्रवक्ता शेर्पाले बताउनुभयो । मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान ९माउन्टेन फ्लाइट० नभएका एयरलाइन्सले जनाएका छन् । देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै भारतको उत्तरमध्य महाराष्ट्र तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले मौसममा बदली हुनुका साथै वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं: सत्तारूढ पार्टीको नेतृत्वका लागि भएको मतदानमा विजयी भएपछि पूर्व रक्षामन्त्री शिगेरु इशिबा जापानको आगामी प्रधानमन्त्री बन्नुहुने आधिकारिक मतगणनाले देखाएको छ । सतसठ्ठी वर्षीय रेलप्रेमी इशिबाले मुलुकको पहिलो महिला नेता बन्ने दौडमा रहनुभएकी कट्टर राष्ट्रवादी सनाए ताकाइचीलाई एक सय ९४ विरुद्ध दुई सय १५ मत ल्याएर पराजित गर्नुभयो । टोक्योमा लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी० को मुख्यालयमा आफ्नो विजय घोषणा भएपछि इशिबाले मुस्कुराउँदै आफ्नो चस्मा फुकालेर आँसुले भरिएका आँखा पुछ्नुभयो र आफ्ना सहयोगीहरूले बधाई दिँदा बारम्बार शिर झुकाउनुभयो । “म जनतामा विश्वास गर्न, साहस र इमान्दारीका साथ सत्य बोल्न र यस मुलुकलाई पुनः एकपटक सबैजना मुस्कानसहित बस्न सक्ने सुरक्षित स्थान बनाउन पूरा कोसिस गर्नेछु”, आफ्नो संक्षिप्त सम्बोधनमा उहाँले भन्नुभयो । इशिबा पहिले पनि शीर्ष पदको नजिक पुग्नुभएको थियो । सन् २०१२ मा उहाँ राष्ट्रवादी शिन्जो अबेसँग पराजित हुनुभएको थियो । अबे जापानको सबैभन्दा लामो समयसम्म सेवा गर्ने नेता हुनुहुन्थ्यो र पछि उहाँको हत्या गरिएको थियो । जापानमा एलडिपीले दशकौँदेखि करिब निरन्तर शासन गरेको छ र बहुमत कायम राखेको छ । यसको अर्थ इशिबालाई मङ्गलबारसम्म संसद्ले प्रधानमन्त्री चुन्नेछ । सन् १९७० को दशकमा पप आइडलहरूप्रति झुकाव राख्ने सैन्य मोडल निर्माता इशिबाले कृषि सुधारजस्ता कठिन मुद्दाहरू सम्हाल्ने आफ्नो अनुभवले आफूलाई यो पदका लागि योग्य बनाएको बताउनुभएको छ ।