काठमाडौं:   सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार ९कात्तिक १५० भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो । ...

 प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाईले दिदीबहिनीबाट टीका लगाएका छन् ।   यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाईटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।   आज भाईटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ ।   दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाईले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।   दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।   भाईटीका लगाउन आज दिनभर बाधा नभए पनि साइत खोज्नेका लागि भने समितिले मध्याह्न ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो ।   राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यताअनुसार बिहान ११:३७ बजे नै टीका लगाएको जनाइएको छ ।   आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिएका छन् ।   तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी दिनुभयो ।   टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाईले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रहीआएको छ ।   दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको थियो ।   बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी नहुनेहरु भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

दमौली:  भगवान् वेदव्यासको अवतरणभूमि व्यासगुफा तथा आसपासका धार्मिक क्षेत्रको प्रचारप्रसर एवं प्रवद्र्धन गर्ने उद्देश्यले आगामी बुधबारदेखि व्यासगुफा परिसरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हुने भएको छ ।   वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय समितिको आयोजनामा हुने ज्ञानमहायज्ञमा धार्मिक एवं आध्यात्मिक गतिविधिका अतिरिक्त स्थानीय संस्कृति झल्किने झाँकी प्रदर्शन गरिने प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले राससलाई जानकारी दिनुभयो ।   “व्यास जन्मभूमिलाई विश्वसामु चिनाउने कार्यक्रमको मुख्य उद्धेश्य हो । यसमा सबै सङ्घसंस्था, व्यक्ति, राजनीतिक दलको साथ र सहयोग आवश्यकको अपेक्षा गरेका छौँ”, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वको व्यासभूमिको प्रचारमा गर्नुपर्नेमा उहाँले जोड दिँदै अध्यक्ष उहाँले भन्नुभयो, व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यास क्षेत्र विकास कोषको सक्रियतामा एक सय आठ फिट अग्लो व्यासको मूर्तिका निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण सुरु गरिएको छ ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र व्यास नगरपालिकाबीच सम्झौता भई पहिलो चरणमा रु पाँच करोड ८४ लाख ८४ हजार ५२ को लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माणाधीन छ ।

भाइटीकामा दिदी बहिनीले दाजुभाइलाई टीका लगाएर मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गर्ने चलन छ । आफ्नै दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकीका दिदी बहिनीसँग भाइटीका थाप्छन् । तर यहाँको व्यास नगरपालिका–१० सेवरका मदन तिमिल्सिना र सुमन तिमिल्सिनाले विगत सात वर्षदेखि एकअर्कालाई भाइटीका लगाएर तिहार मनाउँदै आउनुभएको छ । आफ्नै दिदीबहिनी नभएपछि सात वर्षदेखि यसैगरी भाइटीका मनाउँदै आएको मदनले बताउनुभयो । मदन र सुमन दुई दाजुभाइ मात्रै हुन् ।   “आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौँ । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नुभयो । हामी टिका थाप्न कुरिरहेका थियौँ । नआएपछि मन खल्लो भयो । त्यसपछि हामीले एकअर्कालाइ टीका लगाउने सोच बनाएर सुरु ग-यौं । त्यसपछि निरन्तर त्यसरी मनाउँदै आइरहेका छौं,” उहाँले भन्नुभयो ।   मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने ।   दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन । सुरुका वर्ष उहाँहरू आफैँलाई असहज महसुस भयो ।   दाजुभाइले भाइटीका लगाउन थालेपछि ‘हामी लगाइदिन्छौं’ भन्नेहरू भेटिए । तर, उहाँहरूले सुरु गरेको भाइटीकालाई निरन्तरता दिन छाड्नुभएन । दिदीबहिनी नभएपनि दाजुभाइले भाइटीका गर्दा तिहारमा निधार खाली राख्न नपर्ने भाइ सुमनको भनाइ छ ।   “दाजुभाइले भाइटीका गर्दा सम्बन्ध सुमधुर बन्छ । हामी सदैव यसैलाई निरन्तरता दिनेछौँं,” उहाँले भन्नुभयो ।

 तिहारमा तनहुँ कारागारका कैदीबन्दीलाई भाइटीका लगाउने अवसर प्रदान गरिएको छ । कैदीबन्दीलाई चाडपर्व खल्लो नहोस् भन्ने उद्धेश्यले आइतबार बिहान ७ बजे देखि पाँच बजे सम्म भाइटिका लगाउने प्रबन्ध मिलाईएको तनहुँ कागारका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।   तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउन पाउने भएपछि कैदीबन्दीको निधार खाली नहुने भएको हो ।   दसैँमा पनि आफन्तजनबाट कैदीबन्दीलाई टीका लगाउन दिइएको अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार दुई सय ९८ जना पुरुष र २४ जना महिला कारागारमा छन् । महिला बन्दीगृहमा दुई जना आश्रित बालबालिका रहेका छन् ।   अधिकारीले भन्नुभयो ‘महिला र पुरुष दुवैलाई भाइटीका लगाउन र लाउन पाउने प्रबन्ध मिलाएका छौं, दसैंमा पनि टिका लगाउने अवसर मिलाएका थियौं ।’   साईत लगाउन मिल्नेले साइत अनुसार नै लगाउन पाउने र अनुकुल नमिलेकालाई अन्य साँझ पाँच बजेसम्म नै लगाउन पाउने गरी व्यवस्था गरिएको अधिकारीले बताउनुभयो ।

जिल्लाको म्याग्दे गाउँपालिकाका तीन युवाले तिहारलाई लक्षित गरी रु एक लाखको सयपत्री फूल बिक्री गरेका छन् । यसै वर्ष पहिलोपटक सयपत्री फूलखेती गरेका यहाँका तीन युवाले तिहारलाई लक्षित गरी रु एक लाख बढीको फूल बिक्री गरेका हुन् । अक्षय कायस्थ, सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले म्याग्दे गाउँपालिका–६ धैरेनीमा उत्पादित सयपत्री स्थानीय स्तरमा बिक्री गरेका छन् । मागअनुसार सयपत्री फूल पुर्‍याउन नसकिएको अक्षयले जानकारी दिनुभयो ।   फूल लगाउन ढिलाइ भएकाले उत्पादन कम भएको भन्दै माग धेरै आएकाले माग अनुसार पुर्‍याउन नसकिएको उहाँले उल्लेख गर्नुभयो । अक्षयले भन्नुभयो, “बारीमा लगाएकोमध्ये एकतिहाइ मात्र फूल उत्पादन भएको छ । अझै फूल उत्पादन हुन बाँकी छ । तिहारमा मनग्ये बिक्री भयो । बजार मूल्य राम्रो पाउँदा हामी उत्साहित भएका छौँ ।”   उहाँले प्रतिकिलो रु दुई सय ५० मा फूल बिक्री गरिएको जानकारी दिनुभयो । फूल बिक्रीका लागि म्याग्दे–४ थर्पुमा बिक्री केन्द्र स्थापना गरिएको थियो ।   गाउँपालिकाको सहयोगमा बिक्री केन्द्रमा राखिएको फूलले बजार पाउन सफल भएको अक्षयको भनाइ छ ।   उहाँले भन्नुभयो, “एकादशीका लागि पनि फूल बिक्री हुन्छ । त्यतिबेला उत्पादन गर्नेगरी तयारी गरेका छौँ ।” म्याग्दे गाउँपालिकाको पुष्पखेती कार्यक्रममार्फत पहिलोपटक युवाहरूले सयपत्री फूलखेती सुरु गरेका हुन् । सयपत्री फूलखेतीका लागि गाउँपालिकाले बीउ खरिदमा ७५ प्रतिशत अनुदान दिएको थियो ।   फूलखेतीमा आबद्ध अक्षय गाउँपालिकाका कर्मचारी हुनुहुन्छ भने सन्तोष पशुपालन व्यवसायमा आबद्ध हुनुहुन्छ । स्थानीय किसानलाई प्रोत्साहन र हौसला दिन गाउँपालिकाले फूल बिक्रीका लागि सहयोग गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।   अन्य कार्यक्रममा पनि स्थानीयस्तरमा उत्पादित सयपत्री फूल प्रयोग गर्न प्रोत्साहन गरिने उहाँले उल्लेख गर्नुभयो । 

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाउनुभएको छ । राष्ट्रपति पौडेललाई उहाँहरूले राष्ट्रपति भवनमा टीका लगाइदिनुभएको हो ।   उहाँहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,बदामसहितका सौगात प्रदान गर्नुभयो भने राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।   नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो ।   यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले आज वालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाउनुभएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ ।   नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो ।   उत्तम साइत पछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ ।   यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।

हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले निर्माणलाई निरन्तरता दिएको छ ।   ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाले निर्माणलाई तिहारमा पनि निरन्तरता दिएको हो ।   आयोजना निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले आज पनि कामलाई निरन्तरता दिइएको आयोजना कार्यालयले जनाएको छ ।   दिउँसो र राति गरी दु‘सिफ्ट’मा निर्माण भइरहेको छ । चरण–१ मा बाँध निर्माणका लागि जग हाल्ने कार्य धमाधम भइरहेको छभने चरण–२ मा मुख्य सुरुङको ‘क्रङ्क्रिट लाइनिङ’ र विद्युत्गृहको काम भइरहेको आयोजनाका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार दुई चरणमा दुई सय जना जनशक्ति परिचालन गरी काम भइरहेको छ ।   यसअघि दसैँमा आयोजनाको काम निरन्तर गरिएको थियो । सिफ्टमा आलोपालो मिलाएर तिहारलगत्तै काममा फर्किने गरी केही नेपाली कामदारलाई तिहार मनाउन बिदा दिइएको बताउँदै अधिकांश कामदारले भने काम गरिरहेका आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।   “आयोजनाको तीन चरणमध्ये अहिले दुईवटा चरणमा निरन्तर काम सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो, “निर्धारित समयमा निर्माण सम्पन्न गर्न चाडपर्वमा पनि काम रोकेका छैनौँ ।” चरण–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालिले गरिरहेको छ ।   चरण–२ अन्तर्गत पावरहाउसतर्फको काम तीव्र रूपमा भइरहेको प्रमुख भण्डारीले बताउनुभयो ।   उहाँका अनुसार सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत काम भइरहेका छन् । चरण–२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युत्गृहमा रहने उपकरण जडानलगायत कार्य भइरहेका छन् । आयोजनाको समग्र मूल्याङ्कन गर्दा हालसम्म ६२ प्रतिशत काम पूरा भएको भण्डारीले जानकारी दिनुभयो ।   पुँजी संरचना तथा वित्तीय व्यवस्थापनका लागि प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी ५० करोड ५० लाख अमेरिकी डलर रहेको आयोजना कार्यालयले जनाएको छ ।   एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोेर्नेगरी वित्तीय व्यवस्थापन गरिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

दाङमा जुवा खेलिरहेका दस जना पक्राउ परेका छन्। आइतबार बिहान १ बजे तुलसीपुर उपमहानगरपालिका-१७ बनकट्टाबाट प्रहरीले जुवा खेलिरहेका दस जनालाई नियन्त्रणमा लिएको हो।   जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी ईश्वर थापाका अनुसार पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका – १७ का ५७ वर्षीय भिम वली, ४९ वर्षीय लुमासिंह बस्नेत, ३२ वर्षीय नरबहादुर चौधरी, ५८ वर्षीय केशरबहादुर वली, ३६ वर्षीय शरद वली छन् ।   त्यस्तै तुलसीपुर – १७ कै  ३८ वर्षीय सुशिल वली, ४१ वर्षीय रेखबहादुर वली, ४९ वर्षीय मदन वली, घर धनी ५१ वर्षीय देवबहादुर वली र घोराही उपमहानगरपालिका– ९ अश्वाराका ४९ वर्षीय बालाराम वली पक्राउ परेका छन्।   उनीहरुको साथवाट एक लाख ३३ हजार ११० रुपैयाँ बरामद भएको डिएसपी थापाले जानकारी दिए।   स्थानीय देवबहादुर वलीको घरमा ठूलो धनराशी हारजित हुने गरी जुवा खेल भइरहेको भन्ने गोप्य सूचनाको आधारमा  डिएसपी थापाको कमाण्डमा जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय नारायणपुरवाट खटिएको टोलीले मध्य राति छापा हानेको थियो।