तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर एकतर्फी सञ्चालनमा आएको उक्त खण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो । ढुङ्गा हटाउनका लागि बिहान केही बेर सवारीसाधन रोकिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जिल्लाका सबै सडक सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
काठमाडौं : ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्ने भएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए। काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको उद्दार गरेका थिए। तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यावाद दिएको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले नगदसहित सम्मान गर्न लागेको जानकारी तामाङलाई गराइएको जानकारी दिए। विपद् प्रतिकार्यमा तामाङले खेलेको भुमिकाले नागरिक स्तरमा समाजसेवी भावना जागृत गरेको बताउँदै मुख्यमन्त्री लामाले सामाजिक कामका लागि सम्मान गर्न लागिएको जानकारी दिए। तामाङको सहासिक कार्यले विपद् व्यवस्थापनमा आम नागरिकले कस्तो भुमिका खेल्न सक्छन् भन्ने उदाहरण र प्रेरणा मिलेको बताउँदै मुख्यमन्त्री लामाले आगामी दिनमा विपद् प्रतिकार्यका लागि तामाङ जस्ता युवालाई प्रदेश सरकारले साथमा लिने बताए।
लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले रु १ करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि रु एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् । बैठकले गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष डा हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको छ । समितिमा सङ्घका विभिन्न पदाधिकारी, क्षेत्रीय संयोजक तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू समावेश छन् । पदाधिकारीको बैठक पछि राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को आपतकालीन संयुक्त बैठक आयोजना गरी सहयोग सङ्कलनमा थप छलफल गरिने जनाइएको छ । अध्यक्ष डा केसीका अनुसार एनआरएनएले राष्ट्रिय समितिको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा भौतिक रूपमा उपस्थित भएर राहत वितरण गर्ने तयारी गरिरहेको छ । बैठकले वर्षाका कारण उत्पन्न विपद्का घटनामा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जलि व्यक्त गर्दै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । यसैक्रममा सङ्घले प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न काठमाडौँमा रहेका सोम सापकोटा र कृष्ण तिमल्सिनासहितको समिति गठन गरेको छ । समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय परिषद् (केन्द्रीय समिति) बैठकमा प्रस्तुत गर्नेछ । बाढीपहिरोबाट काठमाडौँ, भक्तपुर, मकवानपुर, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, पाँचथर, धनकुटा, उदयपुर, सोलुखुम्बु, इलाम, महोत्तरी र सप्तरी जिल्लाका बासिन्दा प्रभावित छन् । सङ्घका महासचिव गौरीराज जोशीले सङ्घको वार्षिक साधारणसभाको तयारीबारे पनि बैठकमा छलफल भएको जानकारी दिनुभयो । उक्त साधारणसभा आगामी कात्तिकको ११ र १२ मा काठमाडौँमा आयोजना हुँदैछ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै प्रवेशाज्ञा (परमिट) लिन पाउने भएका छन् । विश्व पर्यटन दिवसका अवसर पारेर एक्यापले परमिट लिँदा चाहिने प्रवेश शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाएको हो । आयोजना प्रमुख डा रविन कडरियाले पर्यटकले राहदानी र मास्टरकार्डमार्फत प्रवेश शुल्क तिरेर अनलाइनबाटै प्रवेशाज्ञा लिनसक्ने बताउनुभयो । “प्रवेशाज्ञाका लागि शुल्क सङ्कलन काउन्टरमा हुने सेवाग्राहीको भीडलाई मध्यनजर गरेर प्रविधिमैत्री सेवा सुरु गरिएको हो, अनलाइन सेवा चौबीस घण्टा नै सञ्चालन रहनेछ”, उहाँले भन्नुभयो, “अब प्रवेशाज्ञाका लागि सेवाग्राहीले पालो पर्खनुपर्ने बाध्यता हटेको छ ।” यसअघि एक्यापले काठमाडौँको भृकुटीमण्डम, पोखराको ड्यामसाइड, लमजुङको सिमपानी र मुस्ताङको घाँसामा रहेको काउन्टरबाट प्रवेश शुल्क लिई पर्यटकलाई प्रवेशाज्ञा दिँदै आएको थियो । अब पर्यटकले जुनसुकै ठाउँबाट सहजै अनलाइनमार्फत प्रवेशाज्ञा लिनसक्ने आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । अनलाइन सेवाले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहजता थपिने उहाँको भनाइ छ । उहाँका अनुसार विदेशबाट पनि पर्यटकले अनलाइन माध्यमबाट उक्त क्षेत्रको प्रवेशाज्ञा लिन सक्ने व्यवस्था मिलाइएको छ । पदयात्रा पर्यटनका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक घुमफिरका लागि पुग्ने गर्छन् । यो वर्षको मुख्य पर्यटकीय याम भर्खर सुरु भएकाले त्यस क्षेत्रका गन्तव्यस्थलमा पर्यटकीय गतिविधि बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् । असोजदेखि मङ्सिर र चैतदेखि जेठसम्म पदयात्राका लागि उत्तम याम मानिन्छ । पदमार्ग मात्र नभएर मोटरमार्फत पनि सो क्षेत्रको भ्रमणमा जाने पर्यटकको सङ्ख्या उल्लेख्य रहने गर्छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा यसमा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङभञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, कागबेनी, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यस्थल हुन् । कास्कीको खुमैडाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङलगायत गाउँ पनि पदयात्राका लागि चिनिएका गन्तव्यस्थल हुन् । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । अन्नपूर्ण क्षेत्रमा गत आर्थिक वर्षमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । यसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक थिए । कोभिड महामारीका बेला सुस्ताएको यस क्षेत्रको पर्यटन विस्तारै पुरानै लयतर्फ फर्किएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । आन्तरिकपछि सबैभन्दा बढी भारतीय पर्यटक अन्नपूर्ण क्षेत्रको भ्रमणमा आउने गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज अपराह्न ४:०० बजे स्वदेश फर्कँदै हुनुहुन्छ । महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गर्नुभएको थियो । महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिने: वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भयो । न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो । उहाँले अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । उहाँले भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गर्नुभयो । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत हुनुहुन्छ ।
रघुगङ्गा गाउँपालिका–५ झिँमा परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुआत भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँमा परम्परागत जाैँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले परियोजना लागू भएको हो । प्रदेश सरकारको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत साझेदारीमा रु एक करोड लागतको परियोजना सुरु भएको रघुगङ्गा गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिनुभयो । “लोप हुँदै गएको परम्परागत जौँ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले परियोजना सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “जौँ र उवाको उत्पादसँगै किसानलाई गाउँमै आम्दानीको अवसर सिर्जना हुने अपेक्षा गरेका छौँ ।” ' परियोजनामार्फत झिँका दुई सय परिवार लाभान्वित हुनेछन् । तीन सय रोपनी क्षेत्रफल जमिनमा जौँ र उवाखेती गरिने भएको छ । परियोजनामार्फत जौँ र उवा प्रशोधन गरेर कुकिज र बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको गाउँपालिकाका कृषि अधिकृत दीपक सिंहले बताउनुभयो । किसानलाई सूचीकरण गरी परम्परागत जौँ र उवा बालीको महत्वबारे जानकारी गराउने, मिनीटेलर हलो, साना सिँचाइ, कम्बाइन मिल, ब्रस कटर, थ्रेसिङ मेसिन, सुकाउने त्रिपाल, भण्डारण गर्ने मेटलबिन, कुकिज, बिस्कुट बनाउन र पिठोलाई ब्राण्डिङ, प्याकेजिङ गर्न आवश्यक सामग्री उपलब्ध गराइने उहाँले बताउनुभयो । झिँका होटल र होमस्टेमा जौँ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ । जौँ र उवाको पिठोलाई ढिडो र सातुका रूपमा बिक्री गर्ने लक्ष्य रहेको छ । पोषिलो खाद्यान्न जौँ र उवाको पछिल्लो समय खेती घटेको छ । आगामी २०८२ जेठभित्र परियोजना सञ्चालन हुनेछ । जौँ हिन्दू धर्मावलम्बीहरूको र जौँको सातु बौद्ध धर्मावलम्बीहरूको धार्मिककार्यमा अनिवार्य मानिन्छ । जौँको आँटो, पिठोको ढिडो र सातु बनाएर उपभोग गर्न सकिन्छ । उवालाई भुटेर खाजा खाने गरिन्छ । सुक्खा र खडेरी सहने जौँ पहाडी र हिमाली क्षेत्रको मुख्य खाद्यबाली हो । युरोपका देशमा जौँबाट रोटी, पाउरोटी, बियरलगायत बनाउने बताइएको छ ।
नेपालका लागि डोङफेङ इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले पोखरामा आफ्नो प्रिमियम र स्मार्ट इभी नामीलाई सार्वजनिक गरेको छ । पोखरा इभेन्ट सेन्टरमा आइतबार आयोजना गरिएको विशेष समारोहमा हाइड्रो पावर व्यवसायी संघका निवर्तमान अध्यक्ष कृष्ण आचार्य, सर्वोच्च अदालतका पूर्व माननीय न्यायाधीश डा. आनन्द मोहन भट्टराई, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष गोकर्ण कार्की, एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त तथा नामी पोखरा भट्टराई एन्ड ब्रदर्सका संस्थापक अम्बिका भट्टराईले संयुक्त रुपमा नामी इभी सार्वजनिक गरेका हुन् । यससँगै बुकिङ खुला भएको जनाएको छ । नामी पोखराका संस्थापक अम्बिका भट्टराईका अनुसार सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी इभीले पोखराको इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास छ । ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो छ । प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन् । एक महिनाअघि काठमाडौंमा सार्वजनिक भएको नामी इभी नाडा अटो सोमा ७१७ युनिट बुकिंग भएको थियो । उनले पोखरामा स्मार्ट र इन्टेलिजेन्ट इभी नामीलाई सार्वजनिक गरेको बताउदै विक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए । ‘ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकता हुनेछ,’ उनले भने । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की तथा सर्वोच्च अदालतका पूर्व न्यायाधीशडा. आनन्द मोहन भट्टराई विश्वसनीय ब्रान्ड भित्र्याउनु भएकोमा बधाई र शुभकामना व्यक्त गरे । यस्तै इप्पानका पूर्वअध्यक्ष कृष्ण आचार्यले इभी कम्पनीहरु एफ्टर सेल्स सर्भिस र चार्जिंग स्टेसनलाई विशेष ध्यान दिनुपर्ने धारणा राखे । उनले पोखराको लेकसाइड क्षेत्रमा फोसिल्स फ्युलका गाडीलाई प्रवेश निषेध गरेर इभीबारे देशभर सन्देश फैलाउन सकिने बताए । ‘देशलाई सबैभन्दा ठूलो घाटा पेट्रोलबाट भइरहेको छ, उनले भने ‘देशमा उपलब्ध जलस्रोतको उपयोग गरेरलाई यसलाई पूर्ती गर्न सकिन्छ ।’ एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त गाडी किन्ने निर्णय गर्नुअघि त्यो ब्रान्डको लेगेसीबारे बुझ्नुपर्ने बताए । यस्तो छ, ‘फिचर’ नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ । यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंग टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको छ । साथै इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड र भेन्टिलेटेड सिटले यो कारको कम्फर्ट र कन्भिनियन्सलाई अझ माथि पुर्याउनेछ र हरेक यात्रालाई प्रिमियम बनाउनेछ । यो फ्युभरिस्टिक ह्याचब्याक इभीप्रेमीलाई सुहाउने गरी नामी ई १, नामी ई २ र नामी ई ३ गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ जसको मूल्य २९.९९ लाखदेखि ३४.९९ लाख रुपैयाँ रहेको छ । नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर , १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिंग फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु रहेका छन् । यो इभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियर अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ । एमएडब्लु वृद्धिले सोमबार पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्यामको आयोजना गर्दैछ जहाँ ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नुहुनेछ जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नुहुनेछ भने नामी इभीमा ७ किलोवाटको चार्जर पाउनेछन् । ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन् । यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्ने बताइएको छ ।
काठमाडौं: अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताउनुभयो ।
सप्तरी: पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझबाट यातायात सुचारु गरिएको छ । कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिनुभयो । कोशी पुलमा बाढी आएर थुपारिएको लेदो, प्लास्टिकजन्य पदार्थ, दाउरासहितका फोहर सफा गरिएकाले यातायात सुचारु गर्न सहज भएको उहाँले बताउनुभयो । प्रजिअ मग्रातीले भन्नुभयो, “कोसीमा पानीको प्रवाह अत्यधिक भएर पुलमाथिबाटै बग्न थालेपछि शनिबार दिउँसो ४ बजेबाट सो पुल भएर आउजाउमा रोक लगाइएको थियो । आइतबार बिहानबाट कोसीमा पानीको बहाव निरन्तर कम हुँदै गएपछि आइतबार साँझबाट सर्वसाधारणका लागि आवतजावत खुला गरिएको छ ।” कोशीको पुलमा बाढीले थुपारेको फोहर सफा गर्न आठ घण्टा लागेको थियो । सुरक्षाकर्मी, स्थानीय बासिन्दा र डोजर प्रयोग गरी पुलको फोहर हटाएर कोशीमै फालिएको छ । कोशी नदीमा पानीको बहाव घट्ने क्रममा छ । कोशी ब्यारेज नियन्त्रण कक्षले दिएको जानकारी अनुसार आइतबार साँझ ७ः३० बजे पानीको प्रवाह घटेर तीन लाख ४५ हजार चार सय १५ क्युसेकमा झरेको छ । पूर्वी–पहाडी तथा मधेससहित तराईका जिल्लामा दुई दिनदेखि परेको लगातार वर्षाका कारण शनिबार ५६ वर्षकै इतिहासमा सबैभन्दा बढी कोशी नदीमा छ लाख ६१ हजार क्युसेक पानीको प्रवाह पुगेको थियो ।