पोखरा: निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपाली नारीहरुको पर्व हरितालिका तिज सामुहिक रुपमा मनाउने संस्कार बढेको बताउनु भएको छ । माझठाना पोखरा सम्पर्क समाजद्धारा आज...

म्याग्दी:     म्याग्दीको बेनी नगरपालिका–९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका–२ ज्यामरुककोटका ७१ वर्षिय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आउनुभएको छ । गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, दुवै जना गाउँभर सूचना पु¥याउन डाँडा उक्लिहाल्नुहुन्छ ।  सदरमुकामसँगै जोडिएकोले यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन । गाउँमा इन्टरनेट, विद्युत्, मोबाइल, टेलिभिजन, पत्रपत्रिका, रेडियोलगायत सञ्चारसाधनको राम्रो पहुँच छ तर चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा भीमबहादुरलाई भ्याइनभ्याइ छ ।  उहाँ विशेषगरी गाउँको सरसफाइका लागि प्रत्येक हप्ताको शनिबार समुदायलाई जुटाउनका लागि कलुवाल कराउनुहुन्छ । यसैगरी गाउँमा पाहुना आउने खबर र भेला बैठकका लागि पनि समुदायलाई सूचना पुर्‍याउने जिम्मा उहाँकै छ ।  म्याग्दीका ६ वटै स्थानीय तहका प्रायः सबै गाउँमा अझै पनि कटुवाल प्रथा कायमै छ । सञ्चार तथा सूचना प्रविधिको पहुँच विस्तार गरी परम्परागत प्रथालाई आधुनिकीरण गर्दै लैजानेतर्फ भने कसैको पनि ध्यान पुग्न नसकेको पत्रकार हरिकृष्ण गौतमको भनाइ छ । यसरी परम्परागत प्रथा जोगाउन महत्वपूर्ण भूमिका खेले पनि उहाँहरूको पारिश्रमिक भने न्यून छ । बगरफाँटमा एक सय ९७ घरधुरी छन् । तीमध्ये बसाइँसराइका कारण कैयौं घर खाली छन्, कतिपय घरमा गाउँ बाहिरबाट आएका मानिस भाडामा बसेका छन् ।  बसोबास गर्नेहरूबाट विकले वर्षभरको ज्याला प्रतिघर दुई पाथी अन्न मात्र पाउने गर्नुभएको छ । यसले जीविका धान्न मुस्किल भइरहेको उहाँको गुनासो छ । “बाबुबाजेले गर्दै आएको पेसा धान्नका लागि अरू काममा ध्यानै दिइएन । यसैलाई निरन्तरता दिन आफ्नो सम्पूर्ण समय खर्चियो । गाउँमा अन्य पेसा र विकल्प पनि भएनन् तर कटुवाल कराउने काम गरेर जीवन धान्न सकिएन”, विकले भन्नुभयो ।  कटुवाल दिलबहादुर दमाईको पनि यस्तै गुनासो छ । विगत २० वर्षदेखि कटुवालको काम गर्दै आउनुभएका उहाँले दैनिकजसो बस्ती नजिकैको डाँडामा आफ्नो कर्नाल फुक्दै चिच्याएर थरिथरीका सूचना सुनाउनुहुन्छ । दसैँको बेला त झन् व्यस्तता बढ्छ । दसैँमा गाउँघरमा बाटो सफाइ गर्नेदेखि मदिरा सेवन नगर्न, कोतघरको पूजा, वडा कार्यालयबाट आउने सूचनाहरू बस्तीसम्म पु–याउन दिलबहादुरलाई भ्याइनभ्याइ हुन्छ । “सुन हो गाउँले हो, दसैँको बेलामा आफ्नो बाटोघाटो सरसफाइ गरेर बस्नुहोस् । कसैले रक्सी नखानुहोला, नबेच्नुहोला, रक्सी खाएर होहल्ला नगर्नुहोला ।” एकाबिहानै यस्तायस्तै सूचना बोकेर अग्लो डाँडामा गएर कराउनु उहाँको काम हो । सामाजिक सुरक्षाभत्ता, पूजाआजा, विभिन्न भेला, कार्यक्रम तथा बैठक, सुख वा दुःखका कुरा घरघरमा पु¥याउ थालेको पनि उहाँलाई दुई दशक बितिसकेको छ ।  उहाँले ज्यालामजदुरीसँगै कटुवाल पेशालाई निरन्तरता दिँदै आएको बताउनुभयो । “सूचना हुदाँ भोकै घरबाट निस्किन्छु, पूरै गाउँ डुलेर सूचना भन्दाभन्दै जहाँ पाइन्छ त्यही खान्छु” दिलबहादुरले भन्नुभयो,“केही सूचना नभएको दिन जे पाउँछ त्यही ज्याला मजदुरीमा काम गर्छु ।” आफ्नो पीडा कसलाई सुनाउनु ! गाउँलेलाई सूचना र खबर सुनाउने दमाईले आफ्नो पीडा सुनाउने ठाउँ भने कतै नपाएको बताउनुभयो ।  “पीडाको पहाडले मलाई थिचेको छ । एकमात्रै छोराको उपचारको क्रममा मृत्युपछि अपाङ्गता भएकी श्रीमती र दुई नातिलाई बिहान–बेलुकी ‘हातमुख जोड्ने’ खर्च जुटाउनेदेखि आफ्नो नियमित जिम्मेवारी पूरा गर्नैपर्छ । छोरोको उपचारमा लागेको ऋण अहिलेसम्म तिर्न सकेको छैन । कहिलेकाहिँ त पेटभरी खाने अन्न पनि हुँदैन”, दिलबहादुरले दुःखेसो पोख्नुभयो,“एक्लो कमाइले श्रीमती, दुई नातिलाई पेटभरी खान समेत पुग्दैन । कटुवाल कराएबापत समुदायस्तरबाट आउने खाद्यान्न नपुगेपछि सहयोग माग्दै हिड्ने गरेको छु ।” उहाँले गाउँलेका सूचना दिने कर्ममा लागेको मान्छेले आफ्नै सूचना सुनाउने ठाउँ नपाउँदा खिन्न हुने गरेको सुनाउनुभयो । “एउटा नातिको आँखामा समस्या छ, उपचारका लागि पैसा छैन । अरूले जस्तै राम्रो लाउने र मिठो खाने चाहना राख्छन् तर आफ्नो कमाइले पुग्दैन”, दिलबहादुरले भन्नुभयो ।  कटुवाल पेसाले परिवारको गुजारा जसोतसो चले पनि नातिको शिक्षादीक्षा, उपचारमा सहयोगको खोजीमा रहेको उहाँको भनाइ छ । उहाँलगायत लामो समयदेखि कटुवालको काम गर्दै आएका यहाँका सबैजसोलाई आजभोलि अन्न बालीभन्दा पनि काम गरेबापत नगद पाउन पाए हुन्थ्यो भन्ने लागेको छ । आफ्नो कामबापत आउने अन्नबालीको सट्टा पैसा दिएमा छोराको उपचारमा लागेको ऋण तिर्ने र नातिको उपचार गर्न सहज हुने दिलबहादुर बताउनुहुन्छ । बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसी दिलबहादुरको इमान्दारिता र सूचना प्रवाह गर्ने भूमिकाको तारिफ गर्नुहुन्छ । “उहाँलाई सूचना प्रवाहमा सहज बनाउने छौँ । वडाबाट सक्ने सहयोग गरिएको छ, अझै पनि थप प्रोत्साहन गछौँ”,  वडाध्यक्ष केसीले भन्नुभयो ।  कटुवालको सहजताका लागि हाते(माइकको व्यवस्था गर्नसमेत माग गरिएको छ । “बेनीसहित सबै गाउँपालिकामा अझै पनि कटुवाल प्रथा कायम नै छ । त्यसैले सूचना प्रवाहमा सहजता ल्याउन प्रविधि सहयोग र यस काममा लागेका हामीहरूको जीविकोपार्जनलाई ध्यानमा राखेर आवश्यक काम गर्न हाम्रो आग्रह छ”, कटुवाल विकले भन्नुभयो । 

तनहुँ:    तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् ।  केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दङ्गसँगै खुसी भएका थिए ।       बन्दीपुरस्थित होटल हिमालय दरबारमा बसेका उनीहरुलाई होटल सञ्चालकले टीका र जमरा लगाइदिएका थिए ।  होटलका सञ्चालक वैश गुरुङले दसैैँको टीका र जमरा लगाएपछि पर्यटकले खुसी व्यक्त गर्दै यस चाडको बारेमा सोधपुछ गरेको बताउनुभयो ।      उहाँले भन्नुभयो, “नेपालीको रीतिरिवाज र कलासंस्कृतिबारे विदेशी पर्यटक उत्सुक भएको पायौ । दसैँको बारेमा सोधपुछ गरेपछि हामीले यस पर्वको बारेमा जानकारी गरायौ ।”      केही दिनदेखि बन्दीपुर भ्रमणमा रहेका विदेशी पर्यटकलाई दसैँ टीका लगाएर बिदाइ गरेको उहाँको भनाइ छ । दसैँ सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको गुरुङले बताउनुभयो ।  उहाँले भन्नुभयो, “अब बन्दीपुरमा पर्यटकको चहलपहल हुने समय हो । विदेशी पर्यटकको आगमन बढ्दो अवस्थामा छ ।”

काठमाडौं:    लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ ।  साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना रहेकोे जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले जारी गरेको मौसमी बुलेटिनका अनुसार हाल कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यम बदली रहनेछ ।       आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।  रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।        असोज २८ गते सोमबार पनि कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली साथै बाग्मती प्रदेशक  र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । 

काठमाडौं:    बडादसैँको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् ।  असोज  २४ गते फूलपाती र २६ गते(महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् ।       त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्र गरेका छन् ।       यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एकसय सात उडानमार्फत १६ हजार पाँच सय नौ र असोज २५ गते पनि एकसय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ ले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो ।      यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए ।  ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका छन् ।  यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्धहुँदा हवाई उडानमा चाप भएको थियो ।          अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवना यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ ।  यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो । 

तनहुँ:    बडादसैँको दशौ दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा सॉझ ५ः३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो ।  सोक्रममा ८३ जना कैदीबन्दीले टीका लगाएको तनहुँ कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । उहॉले भन्नुभयो, “दुई सय ३७ जना आफन्तजनले कैदीबन्दीसँग भेट गर्दैं दसैँ मनाएका छन् । दसैँ मनाउन पाउँदा कैदीबन्दी खुसी भएका छन् ।’’  विभिन्न अपराधमा सजाय भोग्न कारागारमा रहेका कैदीबन्दीले आफन्तसँग टीका लगाउन पाउँदा खुसी व्यक्त गरेको अधिकारीले उल्लेख गर्नुभयो । कारागारमा रहेका कैदीबन्दीले दसैँ मनाउनका लागि रकम सङ्कलन गरेका थिए ।  सोही रकमबाट उनीहरुले खसीको व्यवस्थापन गरेका थिए । सरकारले दसैँ मनाउका लागि प्रति कैदीबन्दी रु तीन सय र लत्ताकपडा बापत रु दुई हजार पाँच सय उपलब्ध गराएको थियो ।   केही कैदीबन्दीले मूढा विक्री गरेर समेत दसैँ खर्च जुटाएका थिए । तनहुँ कारागारमा तीन सय ३० कैदीबन्दी छन् । उनीहरुलाई कारागारभित्र रहेका दुई वटा ब्लकमा व्यवस्थापन गरिएको छ ।

काठमाडौं:    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रु पैयाँ ८० पैसा निर्धारण गरिएको छ ।      युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।        अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३० पैसा र बिक्रीदर ९० रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३० पैसा र बिक्रीदर ७९ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ ।     जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।        केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ तीन पैसा र बिक्रीदर चार रुपैयाँ आठ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा कायम छ ।  साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १२ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १९ रुपैयाँ ७४ पैसा तोकिएको छ ।        राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५५ पैसा तोकेको छ ।      भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौं:   आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ ।       आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् ।      आज एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । ‘पापाङ्कुशेति विख्याता सर्वपापहरा परा’ यस   एकादशीमा मानिसले ‘पद्मनाभ’ नाम गरेको लक्ष्मीनारायण भगवान्को पूजा गर्नुपर्ने ती ग्रन्थमा उल्लेख गरिएको छ ।        जबसम्म मनुष्यले पद्मनाभ अर्थात पापाङ्कुशा एकादशीको गर्दैनन्, तबसम्म उनीहरूको शरीरमा पापले निवास गर्दछ भनी ती ग्रन्थमा लेखिएको पण्डित बालमुकुन्द देवकोटाले जानकारी गराउनुभयो । यो एकादशीले स्वर्ग, मोक्ष, आरोग्यता, सुन्दर स्त्री तथा अन्न र धनलाई प्रदान गर्दछ ।       एकादशीको व्रतको समानता गङ्गा, गया, काशी, कुरुक्षेत्र र पुष्कर नामक तीर्थले पनि गर्न सक्दैनन् । हरिवासर अर्थात एकादशीको व्रत लिनाले र जागरण गर्नाले सहजै मनुष्यले विष्णु पद प्राप्त गर्दछ । यो व्रत नगर्दा पाप बाँकी रहन्छ र अन्त्यमा नरकमा जानुपर्दछ । कलिकालमा मनुष्यहरुले दुर्लभ यो चोलालाई सुलभ बनाउन यो व्रत बस्नु उचित मानिन्छ ।        यो एकादशीको विधिपूर्वक व्रत गर्नाले आमापक्षका दश पिँढी, बाबुपक्षका दश पिँढी अनि आफ्नी पत्नीका र पतिका पक्षका दश पिँढी त्यसपछि विगतका स्त्री र पुरुषलाई उद्धार गरिदिन्छ अर्थात् वैकुण्ठमा बास गराइदिने विशवास पनि गरिन्छ । बाल्यावस्था, युवावस्था र वृद्धावस्थामा यस व्रतलाई लिनाले पापी मनुष्य पनि दुर्गति प्राप्त नगरी सद्गति प्राप्त गर्दछ ।       आश्विन मासको शुक्लपक्षको यस पापांकुशा एकादशीको व्रत जुन मनुष्यले गर्दछ, त्यो अन्त्यमा हरिलोक पुग्दछ तथा समस्त पापबाट मुक्त हुन्छ । सुन, तिल, भूमि, गौ, अन्न, जल, छाता तथा जुत्ता दान गर्नाले मनुष्यले यमराज देख्नै पर्दैन भन्ने विश्वास पनि रही आएको छ ।

कास्की:   विजयादशमीका दिन आज पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क बस सञ्चालन भएका छन् ।  विगत वर्षहरुमा जस्तै टीकाको दिनमा यातायातको साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकाले यातायात समितिसँगको सहकार्यमा निःशुल्क बस सञ्चालन गरेका हुन् ।      कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पोखराका सातवटा रुटमा चारवटा कम्पनीका १८ बसले निःशुल्क सेवा दिने जानकारी दिनुभयो । ती बसहरु आज अपराह्न ४ः०० बजेसम्म सञ्चालन हुनेछन् ।       पोखराका कोत्रे–पृथ्वीचोक–चिप्लेढुङ्गाहुँदै बागलुङ बसपार्कसम्म, फेदी–हेमजा–हरिचोकहुँदै पृथ्वीचोकसम्म, लामाचौर–बगर–महेन्द्रपुल–चिप्लेढुङ्गा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर–महेन्द्रपुल–चिप्लेढुङ्गा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर महेन्द्रपुल–पृथ्वीचोक–विरौटा–सहिदचोकहुँदै लेकसाइडसम्म बस सञ्चालन हुनेछन् ।        यसैगरी लेखनाथ जनताको चौतारा–रुपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोकहुँदै बागलुङ बसपार्कसम्म, काहुँखोला–महेन्द्रपुल–पृथ्वीचोक–जिरो किमी हुँदै लेकसाइडको हल्लनचोकसम्म र बेगनासताल–तालचोक–पृथ्वीचोक–चिप्लेढुङ्गाहुँदै बागलुङ बसपार्कसम्म निःशुल्क बस सेवा सञ्चालन हुने छन् ।  निःशुल्क सेवा सञ्चालन गरिएका बसका चालक र सहचालकलाई पोखरा महानगरपालिकाले अतिरिक्त सुविधा उपलब्ध गराउने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।      उहाँले भन्नुभयो, “दसैँको टिका तथा आशीर्वाद थाप्न मान्यजनकहाँ जाने चलन छ । तसर्थ दसैँको दिन सार्वजनिक यातायात सहजरूपमा उपलब्ध नहुन सक्ने अवस्थालाई मध्यनजर गरी महानगर क्षेत्रमा यातायात सेवा दिइरहेका विभिन्न यातायात व्यवसायीसँगको सहकार्यमा स्थानीय प्रशासन र पोखरा महानगरपालिकाले संयुक्त रूपमा निःशुल्क बस सेवाको व्यवस्था मिलाएको हो ।” दसैँका बेला कुनै प्रकारको समस्या परे महानगरपालिकाको टोल फ्री नं ११८१ (हटलाइन) सेवामा सम्पर्क गर्न प्रमुख आचार्यले आग्रह गर्नुभयो ।       यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले यात्रुको सहजतालाई ध्यान दिएर निःशुल्क बस सेवा सञ्चालन गर्न सहकार्य गरेको बताउनुभयो । “जनताको सेवा र राज्यलाई आवश्यक परेको बेला सहयोग गर्न हामी तयार छौँ । त्यसैको कडीको रुपमा निःशुल्क बस सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । उहाँले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्नुभएको हो ।       साथै प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा अन्य परिवाजनलाई पनि टीका लगाइदिनुभएको उहाँको सचिवाललये जनाएको छ । यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ ।       यसपटक बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ ।         अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैँको टीकाको शुभ साइत आज बिहान ११ बजेर ३६ मिनेटमा आरम्भ भएको छ ।