काठमाडौं: बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ”, उहाँले भन्नुभयो । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८ः३३ बजे रहेको छ । लगाइमाग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने बताउनुहुन्छ धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई । यसरी बस्दा आशीर्वाद लिनेको दाहिने चन्द्रमा पर्छन् । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँले सुनाउनुभयो । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । अहिले पनि नेपालका धेरै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ– आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।। शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते । विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।। अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ । यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरुप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ । जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।। जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा यी नाम गरेकी देवी तपाइँलाई धेरै धेरै नमस्कार छ । यिनै मन्त्रले आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंड्ने मानिसको बाटामा भीड लाग्छ । नेपालका केही भागमा भने कुल, परम्परा अनुसार आजमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । अधिकांश स्थानमा भने कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ ।
गण्डकी: पोखरा महानगरपालिका वडा नं २१ रामदीस्थित एकहाते देवी मन्दिरमा १७औँ शताब्दीदेखि नै पूजाआजा हुँदै आएको छ । साविक कृस्ती नाच्ने चौर गाउँ विकास समिति वडा नं ४ स्थित रामदीमा रहेको यो मन्दिर मट्टीखान कालिका कोट स्थापना भएपछि विसं १७५९ मा स्थापना गरिएको उल्लेख छ । पहिले आसपासका सर्वसाधारणले मात्र पूजाआजा गर्दै आएको यस मन्दिरमा अहिले भने टाढाटाढाबाट दर्शनार्थीहरू आउने गरेको मन्दिरका प्रमुख संरक्षक एवम् सल्लाहकार विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । किंवदन्ती अनुसार प्राचीन कालमा पोखरा जलमग्न भएको समयमा यस मन्दिर रहेको ठाउँ एक हात मात्र जमिन बाँकी रहेकाले त्यसलाई आधार मानेर यस ठाउँको नाम नै एकहाते भनिएको हो । एकहातेमा स्थापित भएका कारण यहाँस्थित देवीलाई एकहाते देवीका रुपमा पूआजा गरिएको हुनसक्ने उहाँले बताउनुभयो । मन्दिरमा श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेमा मनले चिताएको पुुग्ने विश्वासका कारण पनि यहाँको महिमा र गरिमा चुलिएको उहाँको भनाइ छ । मन्दिरमा बराह र देवीको पूजाआजा हुने गरेको छ । तत्कालीन समयमा स्थानीयले ढुङ्गा र माटोको प्रयोगबाट मन्दिर निर्माण गरी खरले छाएको र पछि सामान्य जस्तापाताले छाइएको थियो । अहिले भने प्यागोडाशैलीको मन्दिर निर्माण गरिएको छ । मन्दिर स्थापना यता विभिन्न समयमा मन्दिर जीर्णोद्धार हुँदै वर्तमान अवस्थामा आइपुुगेको रामदी एकहाते टोल विकास संस्थाका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार १९९० सालको भूूकम्पपछि जीर्णेद्धार गरिएको मन्दिर त्यस यता पनि जीर्णेद्धार एवम् मर्मत सम्भार गरिदै आइएको थियो । विसं २०७२ को भूकम्पबाट पनि क्षतिग्रस्त भएपछि हालै प्यागोडा शैलीको पक्की मन्दिर निर्माण गरिएको छ । हालको मन्दिर निर्माणका लागि मन्दिरका प्रमुख संरक्षक विष्णुुप्रसाद पौडेलले रु पाँच लाख ५५ हजार ५५ सहित मन्दिरको अगाडि बाघको दुुईवटा मूर्ति समेत निर्माणमा सहयोग गर्नुुभएको देवकोटाले जानकारी दिनुभयो । मन्दिर निर्माणमा महानगरपालिका, समाजसेवी, चन्दादाताआदिबाट सहयोग प्राप्त भएको उहाँको भनाइ छ । मन्दिरमा शीलामा कुदेर बनाइएको शीलाको मूर्ति छ । प्रत्येक वर्षको बडा दसैँ र चैते दसैँका समयमा मन्दिरमा विशेष पूजाआजा हुँदै आएको छ । यस समयमा श्रद्धालु भक्तजनले चढाएको भेटी सङ्कलनबाटै पूजाआजा सञ्चालन गर्ने गरिएको छ । देवकोटाका अनुसार मन्दिरको संरक्षणका निम्ति विसं २०७९ सालमा मन्दिर व्यवस्थापन समिति गठन गरी जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता गरिएको छ । मन्दिर परिसरमा रहेको छ आना एक पैसा जग्गा २०३२ सालको नापीमा व्यक्तिका नाममा दर्ता भएपनि उहाँहरूबाट स्वतस्फूर्त मन्दिरलाई नै फिर्ता भएको देवकोटाले जानकारी दिनुभयो । पर्यटकीय रुपमा पनि उत्तिकै महत्वपूर्ण एकहाते देवी मन्दिर पर्यटकीय रुपमा पनि उत्तिकै सम्भावना भएको स्थानमा रहेका कारण यस तीर्थस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सक्ने देखिएको छ । पर्यटन राजधानी पोखराको मनमोहक स्थानमा अवस्थित यहाँबाट उत्तरतर्फ लहरै देखिने चाँदी जस्तै टलक्क टल्कने हिम शृङ्खला, पूर्वतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसहितको पोखरा बजार, बायाँतर्फ विश्व शान्ति स्तूप, पुम्दीकोटस्थित विशाल महादेव मूर्ति ९भूमेश्वर महादेव० लगायतका दृश्यले जोकोहीलाई लोभ्याउने गरेको छ । मन्दिरको इतिहास, यहाँको भूबनोटसँगै पर्यटकीय सम्भावनालाई जोड्न सकेमा यसलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिने स्वतन्त्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले बताउनुभयो । “हामी यस्ता ऐतिहासिक सम्पदाको प्रवद्र्धन गर्न नसक्दा पछाडि परिरहेका छौँ”, उहाँले भन्नुुभयो, “इतिहास, संस्कृति र पर्यटकीय सम्भाबनालाई उजागर गर्न सकेमा यो स्थल पोखरामा आउने जोकोहीका लागि पुग्नैपर्ने गन्तव्यका रुपमा स्थापित बन्ने पक्का छ ।” यस्ता ऐतिहासिक सम्पदाको संरक्षण र विकाससँगै पर्यटकीय उपयोग हुनु अपरिहार्य भएको बताउँदै उहाँले यसका लागि सरोकारवाला सबैको सामुहिक प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।
गोरखा: त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको झोलुङ्गे पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको छ । गोरखाको सहिद लखन गाउँपालिका–३, सिलिङटार र चितवनको इच्छाकामना गाउँपालिका–४, चरेस जोड्ने त्रिशूली नदी माथिको झोलुङ्गे पुल झन्डै दुई सातापछि मर्मत गरेर सञ्चालनमा ल्याइएको हो । सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरका अनुसार चाडबाडका बेला स्थानीयवासीलाई आउजाउमा समस्या भएपछि गाउँपालिकाले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मतका लागि आवश्यक सबै सामग्री खरिद गरेर मर्मत गरिएको हो । “सस्पेन्सन ब्रिज डिभिजन काठमाडौँबाट आएको इन्जिनियरसहितको प्राविधिक टोलीले क्षतिग्रस्त पुल मर्मत गरेको हो”, अध्यक्ष थापामगरले भन्नुभयो । स्थानीय समुदायसमेतको सहयोगको पुलको मर्मत गरेसँगै नागरिकलाई पुलबाट आउजाउ सहज भएको छ । “बाढीले पुलको लट्ठामा क्षति पु¥याएको थियो,” उहाँले भन्नुभयो, “टाइफर मेसिनको प्रयोग गरेर पुलको लट्ठा तानेर पुलको छेउछाउमा जाली भरेर आवातजावत गर्न मिल्नेगरी पुल सञ्चालन गरिएको छ ।” कुल १६१ मिटर लम्बाइ रहेको उक्त झोलुङ्गे पुललाई यहीँ असोज ११ गते त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको थियो । मर्मत गरिएको उक्त पुलमा मोटरसाइकल सञ्चालन नगर्न स्थानीयलाई सचेत गराइएको छ ।
कास्की: कास्कीमा अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको शालिक राखिएको छ । सोही पदमार्गको बादलडाँडामा पार्कसहित उहाँको शालिक निर्माण गरिएको हो । तत्कालीन समयमा फाट्टफुट्ट भकारी र चित्राले बारिएका भेडीगोठ मात्रै रहेको मर्दीमा पदयात्रा पर्यटनको विकासको लक्ष्यका साथ गौतमले गरेको निरन्तरको प्रयासले नै मर्दी हिमाल पदयात्रा विश्वमाझ प्रख्यात बनेकाले उहाँको शालिक निर्माण गरिएको माछापुच्छे« गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो । गौतमको विसं २०७९ असोज १४ गते बादलडाँडामै भिरबाट लडेर ३५ वर्षको उमेरमा निधन भएको थियो । माछापुच्छ«े गाउँपालिका, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० गण्डकी प्रदेश, मर्दी हिमाल पर्यटन होटल व्यवसाय व्यवस्थापन समिति र नेपाल पर्यटन बोर्डले पार्कसहित शालिक निर्माण गरेका हुन् । सन् २००७ मा गौतमले मर्दी हाइक्याम्पमा होटेल ट्रेकर्स प्याराडाइज सञ्चालन गर्नुपूर्व ‘हाइक्याम्प’मा मात्र नभइ मर्दी पदयात्रा मार्गका फरेस्ट क्याम्प, लो क्याम्प, बादलडाँडा, डुँडखर्कलगायतका कुनै पनि स्थानमा होटेल थिएनन् । पदयात्रामा डेढ दशकअघिसम्म केबल भैँसीगोठ मात्रै रहेका अवस्थामा क्याम्पिङका भरमा रात कटाउनुपर्ने बाध्यता गौतमकै प्रेरणासँगै बनेका होटेललगायतका पर्यटन पूर्वाधार बनेपछि अन्त्य भएको जनाइएको छ । गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले मर्दी हिमाल पदमार्ग विकास र विश्वमा परिचित गराउन सुदीपले धेरै मेहनत गरेको बताउनुभयो । “मर्दी पदयात्राले आज जुन चर्चा र लोकप्रियता पाएको छ । यसमा मुख्य देन सुदीपको रहेको छ । छोटो समय बाँचेर पनि उहाँले पर्यटनमा धेरै कुरा दिनुभएको छ”, उहाँले भन्नुभयो । माछापुच्छे« गाउँपालिका अध्यक्ष गुरुङले मर्दी पदमार्गलाई अहिलेको अवस्थासम्म ल्याउन गौतमको ठूलो भूमिका रहेको बताउनुभयो । टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले सुदीपको सपना मर्दीलाई विश्वभर चिनाउने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउने रहेको र उहाँ मरेर गए पनि इच्छा साकार हँुदै आएको बताउनुभयो । पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ«े गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जिपबाट पुगेर मर्दी पदयात्रा सुरु हुन्छ । जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार ९७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ । माछापुच्छे«कै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाट पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यु पोइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुग्ने गरिएको छ ।
काठमाडौं: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा निर्माण हुने पार्टी केन्द्रीय कार्यालयको शिलान्यास भएको छ । उद्यमी मीनबहादुर र सावित्री गुरुङले प्रदान गर्नुभएको १० रोपनी १४ आना जग्गामा भवन निर्माण हुने एमालेका महासचिव शङ्कर पोखरेलले बताउनुभयो । हालको पार्टी कार्यालयमा बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण हुन लागेकोे हो । यसैबीच, व्यवसायी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र एमालेलाई पनि मद्दत गरेको बताउनुभयो । एक वर्षभित्र भवन निर्माण गर्ने उहाँले बताउनुभयो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा आज काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभएको छ । उहाँसँगै प्रथम महिला सविता पौडेलले समेत उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभयो । उक्त अवसरमा राष्ट्रपति पौडेलले उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा लिइन्छ । यस अवसरमा देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर पुग्ने गर्छन् । बडादसैँका सन्दर्भमा आज काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ ।
बैतडी: बैतडीको विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको छ । यहाँका भगवती मन्दिरमा पशुबलिसहित जात्रा सम्पन्न भएको हो । घटस्थापनादेखि महाअष्टमीसम्म यहाँका भगवती मन्दिरमा करिब एक हजार पशुबलि चढाइएको जनाएको छ । जिल्लाकै प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा लागेको अष्टमी मेलामा मात्रै पाँच सय १२ पशुको बलि दिइएको छ । दशरथचन्द नगरपालिका–२ स्थित निङ्गलाशैनी भगवति मन्दिरमा तीन सय १७ राँगा र एक सय ९५ बोकाको बलि दिइएको निङ्गलाशैनी मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज बोहराले जानकारी दिनुभयो । पाटन नगरपालिका–६ स्थित उदयदेव मन्दिरमा ३८ राँगा र १२ बोकाको बलि दिइएको छ । मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा घटस्थापनादेखि आजसम्म दुई सय २० पशुको बलि दिइएको छ । जसमा एक सय राँगा र एक सय २० बोकाको बलि दिइएको मन्दिर व्यवस्थापन समितका अध्यक्ष नरेश नायकले जानकारी दिनुभयो । सुर्नया गाउँपालिका–५ स्थित फल्ङासैनी मन्दिरमा २१ वटा पशुको बलि दिइएको छ । बिहीबार राति १४ राँगा र सात बोकाको बलि दिइएको सो गाउँपालिकाका वडा नं ५ का वडाध्यक्ष केशवसिंह बिष्टले जानकारी दिनुभयो । डिलासैनी गाउँपालिका–५ को कफलासैनी भगवती मन्दिरमा ३० वटा राँगा र ३५ वटा बोकाको गरी ६५ पशुको बलि दिइएको वडा नं ५ का वडा अध्यक्ष यज्ञ भट्टले जानकारी दिनुभयो । डिलासैनी–६ को निङ्गलाशैनी भगवती मन्दिरमा २१ राँगा र दुई बोका गरी २३ पशुको बलि दिइएको मेला व्यवस्थापन समितिका सदस्य आँसु मालले बताउनुभयो । पुर्चौडीका विभिन्न भगवती मन्दिरमा गरेर १२ राँगा र ४२ बोकाको बलि चढाइएको छ । डिलासैनी–१ को दुर्गाभवानी मन्दिरमा नवरात्रिभर १८ बोकाको बलि दिइएको स्थानीय शिक्षक धर्मराज भट्टले जानकारी दिनुभयो । यस्तै दोगडाकेदार गाउँपालिका ३ सिल्लमा रहेको रणशैनी भगवती मन्दिरमा २६ राँगा र ३२ बोकाको बलि दिइएको रणशैनी भगवती मेला व्यवस्थापन समिति सदस्य जनक चन्दले जानकारी दिनुभयो । यहाँका मन्दिरमा लाग्ने जात्रामा छिमेकी राष्ट्र भारतका समेत दर्शनार्थी आउने गरेका छन् । भगवतीका मन्दिरमा सम्पन्न जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताउनुभयो ।
काठमाडौं: प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ । मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई बिशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ । नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ । महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ । हनुमानढोकाको दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खोलिँदै हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ । मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको जनाइएको छ ।
म्याग्दी: बडा दसैँको नवमीमा बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने पाँच लाखको बोलकबोल लागेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि रु चार लाख ७१ हजारको बोलकबोल भएको हो । बिहीबार राति भएको कालरात्रिमा खुला बोलकबोलमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । करिब ४५ मिनेट चलेको बोलकबोलमा सहभागी तीनजनाको प्रतिस्पर्धामा रघुगङ्गा गाउँपालिका–३ अक्षताका सोवित भण्डारीले सबैभन्दा धेरै कबोल गर्नुभएको भगवती कोत मन्दिर पुजा व्यवस्थापन समितिले जनाएको छ । बोलकबोलमा भगवतीका रमेश कटुवाल र अक्षताका भण्डारीबीच प्रतिस्पर्धा हुँदा समितिले तीन मिनेटको समय दिएको थियो । अन्तिममा लिखित रुपमा भएको बोलकबोल भण्डारीको पक्षमा गएको थियो । सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिलाई नै मार हान्न दिने परम्पराअनुसार नवमीको मार हान्ने व्यक्तिको टुङ्गो लगाइएको भगवतीका वडा अध्यक्ष अमृत भण्डारीले जानकारी दिनुभयो । गत वर्षको नवमीमा एकेन्द्र भण्डारीले सबैलेभन्दा धेरै रु तीन लाख ३० हजार रकम तिरेर सरकारी मार हान्नुभएको थियो । यस क्षेत्रकै शक्तिपीठ मानिने भगवती कोतमा यसअघि २०७९ सालको नवमीमा रु तीन लाख १५ हजार, २०७८ सालको दसैँको नवमीमा भगवतीमा रु तीन लाख, २०७६ सालको दसैँमा दुई लाख ८० हजारमा मार हानेका थिए । नवमीको दिन बली दिइने राँगो मार हान्ने व्यक्तिहरुको मनोकांक्षा पूरा हुने जनविश्वासका कारण आकांक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउमार्फत छनौट गरिँदै आइएको भगवती कोतमन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । भगवती कोत मन्दिरमा कालरात्रिमा कोटमन्दीरमा सर्वसाधारणको बीचमा खुल्ला बोलकबोल गर्ने परम्परागत छ । कोत मन्दिरमा सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास छ । तत्कालीन बाइसे÷चौबीसे राज्यकालदेखि यहाँको कोतमन्दिरमा बढीबढाउ गरी राँगो हान्ने चलन छ । नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन छ ।