पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो
मुस्ताङ | कात्तिक १३, २०८१

मुस्ताङ: मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ ।
यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु दसैँलगत्तै आउन थालेका हुन् ।
कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पण गर्नका लागि दैनिक सयौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।
दिवङ्गत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि देशका विभिन्न जिल्लाका साथै भारतबाट धार्मिक तीर्थालु कागबेनी आउने गरेका पुजारी हिमाल सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार, दैनिक दुई सयभन्दा बढीले दिवङ्गत आफन्तको सम्झनामा कागबेनीमा श्राद्ध गर्ने र तर्पण दिने गरेका छन् ।
मुक्तिनाथ र दामोदरकुण्डबाट बगेर आउने कालीखोला र मुक्ति गण्डकीको सङ्गम रहेको कागबेनी पितृतर्पणका लागि महत्वपूर्ण तीर्थस्थलका रुपमा मानिन्छ ।
कागबेनीमा बडादसैँ र चैते दसैँको औँशीमा हजारौँको सङ्ख्यामा पितृतर्पण गर्नेहरुको घुइँचो लाग्ने गरेको पुजारी सुवेदीले जानकारी दिनुभयो । यस वर्ष बाढी पहिराका कारण सोह्रश्राद्धको समयमा उल्लेख्यमात्रामा तीर्थयात्री आउन सकेका थिएनन् ।
“बाढी, पहिरोले सडकमार्ग अस्तव्यस्त बनाएपछि सोह्र श्राद्धमा ठूलो सङ्ख्यामा भक्तजन आउन सकेका थिएनन्, दसैँपछि मौसममा सुधार भएपछि कागबेनीमा तर्पण दिन दिनहुँ भीड लाग्ने गरेको छ”, पुजारी सुवेदीले भन्नुभयो ।
दामोदर कुण्डबाट बगेर आएको काली र मुक्तिनाथका एक सय आठ धाराबाट बगेर आएको गण्डकीको सङ्गम भएकाले यहाँ पुगेर पिण्डदान गर्दा सबैभन्दा ठूलो फल मिल्ने कुरा शास्त्रहरूमा उल्लेख छ ।
परापूर्वकालमा काग भुसुण्डे ऋषिले हिमाली तालतलैयामा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरूका नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुआत भएको धार्मिक मान्यता छ ।
कागबेनीमा भगवानको दैवीशक्ति प्रकट भएकाले यस स्थानमा आएर पितृको नाममा श्राद्ध ,पिण्ड र तर्पण दिनाले पितृ उद्धार हुने धार्मिक किवंदन्ती रहेको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटबाट पितृ तर्पण गर्न पुग्नीभएका शालिकराम रिजालले बताउनुभयो ।
विश्वमा शालिग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकीबाट सङ्कलन भएका शालिग्राम शिलालाई भगवान्का रुपमा भक्तजनले लैजाने गरेका छन् ।
भक्तजनको आगमन बढेसँगै शालीग्राम शिलासँगै पूजा सामग्रीको बिक्री बढेको स्थानीय देवबहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार, शालीग्राम शिलालाई भक्तजनहरुले विष्णु भगवान्को अवतारका रुपमा मुस्ताङको चिनोका रुपमा लैजाने गर्छन् । कागबेनी धाममा श्राद्ध गर्न आउने तीर्थालुहरू यहाँ पितृ उद्धारका कर्म पूरा गरेपछि मात्र मुक्तिनाथ दर्शन गर्न जान्छन् । भक्तजनको सङ्ख्या बढेसँगै कागबेनी क्षेत्रका होटल भरिभराउ भएका छन भने व्यापार व्यवसायसमेत चलायमान भएको छ ।
दसैँ तिहारको बिदाको समयमा मुस्ताङमा दैनिक करिब पाँच हजार पर्यटक भित्रने गरेका छन् । बेनी–जोमसोम सडक मार्ग र अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये अधिकांश कागबेनी र मुक्तिनाथमा पुग्ने गरेका छन् ।
चैत्र १५ गतेको हिंसात्मक प्रदर्शनपछि फरार रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा आफ्नो नियन्त्रणमा लिएर काठमाडौं ल्याइँदैछ । तीनकुनेमा चैत...
पोखरामा चैत अन्तिममा मिडिया कप किङ्गस बुद्धिचाल प्रतियोगिता हुने भएको छ । चैत ३० गते शनिबार प्रतियोगिता हुन लागेको हो । माईन्ड फ्रेस चेस क्लब पोखरा कास्कीको आयोजनामा हुने प्रतियोगिता नेपाल पत्रका...
पोखरा: गण्डकी मेडिकल कलेज (जीएमसी), पोखराका आवासीय चिकित्सकहरु अस्पताल प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । समान ज्यालाको माग गर्दै आन्दोलित चिकित्सकहरुले बिहीबार साँझ अस्पताल परिसरमा मैनबत्त...