काठमाडौं:  सात वटै प्रदेशका प्रमुखहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ । बुधबार बिहान राष्ट्रिपति भवन शितल निवासमा सात वटै प्रदेशका प्रदेश प्रमुखहरुले शिष्टाचार भेट गर्नुभएको हो । ...

सर्लाही:    जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।  बिहीबार राति १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमान्ले गोली हानी हत्या गरेका छन् । उनीहरुबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले गएराति घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।  घटनामा संलग्न युवकले विवादमा आफ्नै बुवा ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन् । 

गलकोट:     नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ ।  सूचनाको अभाव तथा भरपर्दो पर्यटकीय पूर्वाधार तथा सडकसमेत नभएका बारे गुनासोका बीच यहाँ आउने पर्यटकलाई सही सूचना प्रदान गर्ने उद्देश्यले सूचना केन्द्र निर्माण गर्न लागिएको हो।  ढोरपाटनमा सिकार खेल्न विदेशी सिकारी हेलिकप्टर चाटर्ड गरेर आउने गरेका छन् भने आन्तरिक पर्यटक स्थलमार्गमार्फत यहाँ भ्रमण तथा अवलोकनमा आउने गरेका छन् । यसैलाई लक्षित गरी पर्यटन विभागले चालु आर्थिक वर्षमा सूचना केन्द्र निर्माण गर्न लागेको जनाइएको छ ।  ढोरपाटन नगरपालिका उप्रमुख धनबहादुर कायतले पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि हुँदै गएपछि पर्यटन विभागले यहाँ पर्यटन सूचना केन्द्र निर्माण गर्न लागेको जानकारी दिनुभयो । नगरपालिकाको वडा नं ९ स्थित पाखाथरमा आकर्षक पर्यटकीय केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरिएको उहाँले बताउनुभयो ।   कायातकानुसार पहिलो चरणमा रु चार करोड लागतमा पर्यटन सूचना केन्द्र भवन निर्माणका लागि श्री डोलेश्वर महादेव निर्माण प्रालिसँग सम्झौता भएको छ । पूर्वाधार निर्माणसँगै पार्क, सङ्ग्रहालय तथा पर्यटकका लागि आवश्यक पर्ने अन्य जानकारी दिन उक्त केन्द्रले निर्माण गर्न लागिएको हो ।  “ढोरपाटनमा पछिल्लो समय १५ हजार आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेका छन्, जसमध्ये पर्याप्त सूचना र पूर्वाधारको अभावमा पर्यटक अलमल भएको हामीले महसुस गरेका थियौँ”, उपप्रमुख कायतले, “पर्यटन विभागसँग गरिएको समन्वयले यहाँ सुविधासम्पन्न पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ । सूचना केन्द्रसँगै व्यवस्थित पार्क बनाइनेछ, सङ्ग्रहालयसमेत बनाइनेछ ।”  चालु आर्थिक वर्षमा रु चार करोड लागतमा उक्त पर्यटकीय पूर्वाधार केन्द्र निर्माण गरिने छ । पर्यटकीय पूर्वाधारसहित सूचना केन्द्र्र निर्माणका लागि जग्गाको व्यवस्थापन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नगरपालिकाले बनाएको थियो ।  यस कार्यमा सङ्घीय सांसद् देविप्रकाश भट्टचनले यहाँ भित्रिएका पर्यटकलाई धेरैभन्दा धेरै ठाउँमा पु¥याउन, यहाँको पहिचान, कला तथा संस्कृतिको विषयमा आवश्यक जानकारी दिन नगरपालिकाको मागअनुसार सूचना केन्द्र निर्माण योजना अगाडि बढेको बताउनुभयो ।  नेपालकै एक मात्र सिकार आरक्ष भएकाले महङ्गो शुल्क तिरेर नाउर र झारलको सिकार गर्न यहाँ पर्यटक आउने गरेकाले उहाँहरूको सहजताका लागि सूचना केन्द्र उपयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  ढोरपाटनमा आर्थिक वर्ष २०८०/८१ मा १५ हजार पाँच सय ७३ जना आन्तरिक र बाह्य पर्यटक भित्रिएका र त्यसबाट रु १९ लाख राजश्व सङ्कलन भएको आरक्ष कार्यालयका संरक्षण अधिकृत मन्दिप पङ्गेनीले जानकारी दिनुभयो ।  उहाँले पर्यटकलाई ढोरपाटन प्रवेशद्वार देउरालीमा केही जानकारी दिने गरिए पनि सूचना केन्द्र स्थापना भएमा थप प्रभावकारी हुने बताउनुभयो । 

कास्की:    नेपालको पर्यटकीय राजधानी पोखरामा विश्व पर्यटन दिवसका अवसरमा मिनी सडक महोत्सवको हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले पर्यटन दिवसका दिन शुक्रबार साँझ फेवाताल किनार अम्बोटदेखि वाराही चोकसम्म एकदिने सडक महोत्सव गर्न लागेको हो ।  महोत्सवमा बाजा गाजासहित विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिने महोत्सवका संयोजकसमेत रहनुभएका रेवानका महासचिव वीरेन्द्र शेरचनले जानकारी दिनुभयो ।  ‘सडक मै खाउँ, सडक मै रमाउँ’ भन्ने उद्देश्यका साथ आयोजना हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको उहाँले बताउनुभयो ।  रेवानका अध्यक्ष विश्वराज पौडेलले महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ यहाँका विभिन्न जातीय संस्कृति, भेषभुषा, सांस्कृतिक नृत्य, पर्यटकीय ठाउँहरूको दृश्यावलोकन वृत्तचित्र तथा स्वदेशी र विदेशी खानाका परिकार प्रस्तुत गरिने बताउनुभयो ।  यसैगरी विश्व पर्यटन दिवसका सन्दर्भमा पोखराका विभिन्न पर्यटनसँग सम्बन्धित संघ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् ।

काठमाडौं:    नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ ।  बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १८ पैसा रहेको थियो । आज अमेरिकी डलर एकको खरिददर रु एक सय ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ छ पैसा रहेको छ । आजको विनिमयदरअनुसार युरोपियन युरोको मूल्य बढेको छ । युरो आज एकको खरिददर एक सय ४९ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ९४ पैसा कायम भएको छ । बुधबार नेपाली बजारमा युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २८ पैसा थियो । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ३२ पैसा रहेकामा आज घटेर खरिददर एक सय ७८ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ २३ पैसा कायम भएको छ । यस्तै, आजका लागि अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा तय भएको छ । बुधवार अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८५ पैसा थियो । स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ आठ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ ७८ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९९ रुपैयाँ ७५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ आठ पैसा छ । सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ३२ पैसा रहेको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७८ पैसा कायम भएको छ । आजको विनियमयदरअनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ आठ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ छ पैसा रहेको छ । यसैगरी, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३ रुपैयाँ ३५ पैसा तय हुँदा डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ दुई पैसा र बिक्रीदर २० रुपैयाँ ११ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १४ पैसा र बिक्रीदर १७ रुपैयाँ २२ पैसामा कारोबार हुनेछ । आजको विनिमयदरअनुसार कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय २९ रुपैयाँ २१ पैसा तथा बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ आठ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६७ पैसा कायम भएको छ । खुला बजारमा विदेशी मुद्राको विनिमयदर फरक हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्नुहुँदै  प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमालहरू पग्लिएको बताउनुभयो । समृद्री सतह वृद्धिका कारणबारे चर्चा गर्नुहुँदै उहाँले एसियाका दुई तिहाइ हिमालहरू पग्लिएसँगै कम्तीमा १० वटा नदी प्रणाली सुख्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य रहेको बताउनुभयो ।  प्रधानमन्त्री ओलीले हिमालयहरू प्राकृतिक ‘रिचार्ज सिस्टम’ भएकाले यिनलाई पग्लिन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।  “हानिकारक कण र प्रदूषण प्रवाह नियन्त्रणमा हातेमालो गर्दै जलवायु न्यायको नीति कार्यान्वयन गर्न लागौँ । उत्सर्जनकर्ता मुलुकले प्रभावित मुलुकलाई उचित क्षतिपूर्ति दिनुपर्ने कुरामा हामी सबैको साझा मत हुनुपर्छ”, उहाँले भन्नुभयो,“ आगामी वर्ष यस सवालमा उल्लेखित चुनौती सामना गर्ने विषयमा हिमाली र टापुजन्य मुलुकको बेग्लै बैठक राख्न म राष्ट्रसङ्घलाई आग्रह गर्दछु ।” यसैबीच प्रधानमन्त्री ओलीले आजै राष्ट्रसङ्घको जलवायु परिवर्तनबाट असुरक्षित फोरमको बैठकलाई सम्बोधन गर्नुभएको छ ।  उक्त बैठकमा जलवायु न्यायको आवाज उठाउनुहुँदै उहाँले विकसित मुलुकले पेरिस सम्झौताबमोजिम जलवायु वित्त कोषमा अतिरिक्त बजेट विनियोजन गर्नुपर्नेमा जोडदार माग गर्नुभयो ।  प्रधानमन्त्री ओलीले नेपालमा हुने सगरमाथा संवादमा सहभागी हुन फोरमका सदस्य राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई निमन्त्रणा पनि दिनुभयो । 

काठमाडौं:    हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको  जनाएको छ ।  कोशी, मधेस ,लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छभने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।     महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको  सम्भावना छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।  देशका तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।  त्यसैगरी आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका तराई भागका केही स्थानमा हुरीको  सम्भावना छ । आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  सबै प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको तथा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको  सम्भावना रहेको जनाउँदै महाशाखाले ती क्षेत्रमा हुन सक्ने बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको  जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम रहेकाले सतर्क रहन सम्बद्ध सबैमा अनुरोध गरेको छ । 

पोखरा:   रुपा गाउँपालिकामा चट्याङ लागेर एक जना घाईते भएकी छिन् । मंगलवार विहान परेको चट्याङबाट कार्यपालिका सदस्य ५३ बर्षीय कृष्णकुमारी घर्ती घाईते भएकी हुन् ।       रुपा गाउँपालिका वडा नं. ७ रामकोटस्थित घरको आँगनमा रहेको पानीको धारा खोल्ने क्रममा परेको चट्याङले वाँयाहातमा चोट लागेपछि उनलाई उपाचारको लागि तत्काल पोखरास्थित मेट्रो सिटी अस्पतालमा ल्याइएको थियो ।      उपचारपश्चात नयाँबजारस्थित छोरी रचना थापाको कोठामा आराम गर्दै आएकी छिन् । उनका अनुसार अहिले चट्याङको कारण वाँयाहातले राम्रो काम गरेको छैन र शरिरको एक हर सहनै नसक्ने गरि पोल्दछ ।   धारामा हात धुँन लाग्दा अचानक चट्याङ परेपछि थाहै नपाईकन घर भित्र विस्तरामा पुगेछु उनले भनिन् अस्पतालमा उपचार गरेर फर्केपछि अहिले पनि हात बढी पोल्दा घरको वरन्डामा राखेको मार्वल माथि राख्दै आएको छु चिसोले केही हदसम्म भएपनि आराम हुन्छ । रुपा गाउँपालिका वडा नं. ७ को भुमेकोटमा नेपाल टेलिकमले टावर निर्माण गरेर सञ्चालनमा आएपछि उक्त क्षेत्रमा बढी चट्याङ पर्ने गरेको स्थानीयवासिन्दाको गुनासो रहेको छ । चट्याङले रामकोटस्थित स्वास्थ्यचौकीमा समेत क्षेती पुगेको छ ।    

महोत्तरी:    यहाँको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।            पक्राउपर्नेमा जिल्लाकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले निजहरुउपर कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ ।            नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा विजयी हुनुभएका मुकेश सवार लु.प्र.०१–००१प।६३६२ नम्बरको मोटरसाइकल गत भदौ ९ गतेका दिन बिहानै जलेश्वर–बर्दिबास सडकखण्डको बर्दिबास नगरपालिका–८ स्थित कल्भर्ट नजिकै दुर्घटना भएको र वडाध्यक्ष यादवको शव कल्भर्टसँगै सडकभन्दा तल फेला परेको थियो ।           घटना शङ्कास्पद रहेको भन्दै नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले घटनाको अनुसन्धान गर्न सिआइबीको माग गरेका थिए ।  जिल्लादेखि केन्द्रसम्म दबाबमूलक कार्यक्रम गरेपश्चात् मुकेशको हत्या आरोपमा मुकेशकै साथीहरु  सञ्जीव र दिलीप पक्राउ परेका हुन् ।      घटनाको अघिल्लो राति सञ्जीव, दिलीप र अन्य दुई महिला साथीहरुले वडाध्यक्ष मुकेशलाई अबेर रातिसम्म बर्दिबासको विभिन्न होटलमा खुवाइपिलाइ गरेको, उनीसँगै अबेर रातिसम्म बसेको र बिहान उनको शव मृतावस्थामा फेला परेका कारण यस घटना शङ्कास्पद रहेको  माओवादी केन्द्रले जनाउँदै आएको थियो ।      पक्राउ परेका सञ्जीव र दिलीपलाई आजै कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थपगरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ । 

काठमाडौं:    भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।       भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा आज भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले भुटानलाई २–१ को गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।      खेलमा पहिलो अग्रता भने भुटानले लियो । खेलको ४३ औँ  मिनेटमा छिमी तोब्देन दोर्जीले गोल गरे । त्यसपछि खेलको ५६ मिनेटमा नेपालका कृष्णबहादुर आलेले गोल गर्दै खेललाई एकरएक गोलको बराबरीमा ल्याए । यसैगरी खेलको ८५ औँ मिनेटमा नेपालका अर्का खेलाडी सुजन डङ्गोलले गोल गर्दै नेपाललाई २–१ को जीत दिलाए ।      जीतसँगै नेपाल तीन खेलबाट ६ अङ्क जोडेर समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल पुगेको हो । दुई जीत र एक बराबरीसहित ७ अङ्क जोडेको पाकिस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ ।       नेपालले सेमिफाइनलमा समूह ‘ए’ को विजेता  भारतसँग खेल्नेछ । त्यस्तै अर्को सेमिफाइनल खेलमा पकिस्तान र बाङ्लादेशबीच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनल खेल यही असोज १२ गते हुनेछ ।