पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले बडा दशैंको दिन विभिन्न स्थानमा बस सेवा उपलब्ध गराउने भएको छ । कास्कीको विभिन्न ७ रुटमा कुल १८ वटा निशुल्क बस सेवा सञ्चालन गर्ने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूच्ना अधिकारी शिव लम्सालले जानकारी दिए । उनका अनुसार पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अन्तरगत फोदी, हेमजा, हरिचोक र पृथ्वीचोक रुटमा ३ वटा, स्थानीय यातायात कम्पनी अन्तरगत कोत्रेदेखि पृथ्वीचोक, चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म २ वटा बस सञ्चालन हुनेछ । यस्तै पोखरा यातायात प्रालिको लामाचौर, बगर, महेन्द्रपुल,विरौटा हुदैं छोरेपाटनसम्म ३ वटा बस,महेन्द्रगुफा, महेन्द्रपुल चिप्लेढुंगा हुदैं लेकसाइड ३ वटा र काहुँखोला, पृथ्वीचोक हुदै हल्लनचोकसम्म ३ वटा बस सेवा सञ्चालन हुनेछ । यसैगरी बेगनास पोखार यातायात प्रालि अन्तरगत बेगनासताल, तालचोक, पृथ्वीचोक हुँदै बागलुङ बसपर्का २ वटा बस र राजाको चौतारा, सातमुहाने, खुदी हुँदैं बागलुङ बसपार्कसम्म २ वटा बस सेवा प्रदान हुनेछ ।
कोशी प्रदेश राज्यमन्त्री सिजना राईले रु एक लाख राशिको अक्षयकोष स्थापना गर्नुभएको छ । राज्यमन्त्री राईले पाँचधारे कला साहित्य केन्द्रमा ‘वीरेन्द्र गुरुङ स्मृति’ अक्षयकोष स्थापना गर्नुभएको हो । आफ्नो जीवनकालमा गायक गुरुङले साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप अक्षयकोष स्थापना गरेको राज्यमन्त्री राईले बताउनुभयो । “गुरुङले साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएको छ”, राज्यमन्त्री राईले भन्नुभयो, “यस्ता व्यक्तिलाई समाजले कदर गर्न अवश्यक छ ।”
पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ डुम्रेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा रामपुर नगरपालिका–१ हाँगेपिपलका २२ वर्षीय नारायण ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्बासे बताउनुभयो । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ३१ प ६५०७ नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेको लु २ ख ४६३१ नम्बरको टिपरलाई उछिन्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक बेल्बासेले बताउनुभयो । मोटरसाइकल चालक ठकुरीको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक रामपुर–१ हाँगेपिपलका १८ वर्षीय प्रवीण ठकुरी घाइते भएका छन् । निजको सोही कलेजमा उपचार भइरहेको छ ।
तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको बोतल रु १ सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई रु २ लाख जरिवाना गरेको छ । पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताउनुभयो । सोही स्थानका एक ग्राहकले रु २० पर्ने एक बोतल मिनरल वाटर रु एक सय तिरेको बिलसहित प्रशासनमा सिकायत गरेका थिए । स्थानीय प्रशासनले सो रेष्टुरेष्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको जनाएको छ ।
पोखरा महानगरपालिका १५ स्थित फलेपाटनमा सातौं खुला व्यायामशाला सञ्चालनमा आएको छ । आज (बुधबार) देखि सञ्चालनमा ल्याइएको व्यायामशाला पोखरा महानगरपालिकाको सहयोगमा निर्माण भएको हो । उक्त व्यायामशालाको उद्घाटन वडाध्यक्ष तोरण बानियाँले गरे । सो अवसरमा बोल्दै उनले वडाबासी स्वस्थ्य र निरोगी बन्नुपर्ने सन्देश दिने उद्देश्यसहित वडाका विभिन्न स्थानमा खुला व्यायामशाला सञ्चालनमा ल्याइएको बताए । ‘यसअघि हामीले वडाकै २० लाख लागतमा ६ वटा स्थानमा खुला व्यायामशाला निर्माण गरिसकेका छौं, अहिले महानगरको सहयोगमा यो बनाएका हौं, उनले भने, ‘मुख्यगरी नागरिक निरोगी र तन्दुरुस्त हुनुपर्छ भन्ने सन्देश दिन निर्माण गरिएको हो ।’ उनले नागरिक स्वस्थ्य भए समाज रुपान्तरण हुने बताउदै वडाले नागरिकमैत्री कार्यक्रमहरु अघि सारेको बताए । वडाले विभिन्न समयमा युवा, महिला तथा बालबालिका लक्षित अभिमुखीकरण कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आएको छ । वडाको विभिन्न स्थानमा यसअघि २० लाखको लागतमा ६ वटा खुला व्यायामशाला सञ्चालनमा आइसकेको छ । व्यायामशाला उद्घाटन समारोहकाबीच फलेपाटन टोल विकास संस्था र आदर्श आमा समूहको सँयुक्त आयोजनामा बडा दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।
असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् । बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी सडकखण्ड खुलाइए अझै पाँच वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनुसार अन्य आठ वटा सडकखण्ड भने एकतर्फी खुलाएर यातायात सञ्चालन गरिएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणमा यही ११ गतेदेखि बन्द रहेको काभ्रेपलाञ्चोकको रोशीस्थित बिपी राजमार्गको चारसयवेसी खण्ड पूर्णरुपमा अवरुद्ध छ । सोही राजमार्गको भ्याकुरे, रामेछापको मन्थली नगरपालिका–६ को सेलेघाट, भोटेकोशीको रामेछाप–सिन्धुली–खुरकोट, भोटेकोशीको बाह्रविसे–तातोपानी सडक तथा बझाङको जयपृथ्वी राजमार्गको बालुवाटार खण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोदावरीको लेले–टिकाभैरब, तह्रथुमको मध्यपहाडी लोकमार्गको तीनघरे, पाँथर फिदिमस्थित मेची राजमार्गको रमिते, भिमफेदीस्थित कान्ति लोकथप एकतर्फी रुपमा खुलाइएको छ । रोशीस्थित बिपी राजमार्गको कालढुङ्गा खण्ड, घुमाउने, हनुमानगढी केराघारी खण्ड र पृथ्वी राजमार्गको बेनीघाट कृष्णभीर खण्ड पनि एकतर्फी खुलाएर यातायात सञ्चालन गराइएको प्रहरीले जानकारी दिएको छ । उक्त विपद्मा परेर अहिलेसम्म दुई सय ४६ जनाको मृत्यु भइसकेको छ । अझै १८ जना जना बेपत्ता छन् ।
उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गर्नुभयो । “मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि भेटियो”, उहाँले भन्नुभयो, “थकित शरीरमा तातोपानी नुहाएपछि स्फूर्ति आयो ।” उहाँ जस्तै बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने र अन्नपूर्ण चक्रीय पदमार्ग घुम्ने पर्यटकका लागि भुरुङ्ग तातोपानी कुण्ड ‘रिफ्रेस सेन्टर’ बनेको छ । तातोपानीमा शरीर डुबाएर स्नान गर्दा शारीरिक स्फूर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुन्छ भनिन्छ । मुस्ताङको चिसो हावापानीबाट आएकाहरु तातोपानीमा स्नान गरेर न्यानो महसुस गर्छन् । पर्यटकीय यामको सुरुवातसँगै कालीगण्डकी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५५ डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउ र धारामा स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ । चिसो बढ्न थालेको, पर्यटकीय याम र मुस्ताङ जाने आउने पर्यटकको चापसँगै तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको पनि सङ्ख्यामा वृद्धी भएको कुण्डका सञ्चालक लट्टे गिरिले बताउनुभयो । “बर्खा रोकिएपछि मुस्ताङ जाने आउने पर्यटकको चहलपहलसँगै तातोपानी नुहाउने पनि बढेका छन्”, उहाँले भन्नुभयो “याममा दैनिक दुईदेखि तीन सय जनासम्मले स्नान गर्छन् ।” बेनी–जोमसोम सडकको छेउमा तातोपानी सङ्कलन गरिएको दुई वटा पोखरी र धाराहरु बनाइएको छ । धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ । बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म स्नान गर्न सकिन्छ । कुण्डमा स्नानका लागि स्वदेशीलाई रु ५० र विदेशीलाई रु एक सय ५० शूल्क तोकिएको छ । कुण्डमा प्रवेश शूल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ रु ५६ लाख २५ हजार तीन सय ७७ मा होटल हटस्पिरिङसँग ठेक्का सम्झौता गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा रु ५५ लाख नौ सयमा ठेक्का लगाएको थियो । भुरुङ्ग–तातोपानी कुण्ड नजिकै कालीगण्डकी नदीपारी अन्नपूर्ण गाउँपालिका–५ को भूगोलमा पनि अर्को तातोपानी कुण्ड पनि छ । सो तातोपानी कुण्ड सञ्चालनका लागि गाउँपालिकाले यस वर्ष रु २८ लाख ७६ हजार पाँच सय पाँचमा कालीगण्डकी रुफटप प्रालिसँग ठेक्का सम्झौता गरेको छ । भुरुङ्ग–तातोपानीदेखि पाउद्धार तातोपानी जोड्ने कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश सरकारमार्फत हालै झोलुङ्गे पुल निर्माण भएको छ । उनीहरुले सम्झौता गरेको रकम जम्मा गरेकाले १० प्रतिशत छुट पाएका अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताउनुभयो । कुण्डबाट हुने आम्दानी गाउँपालिकाले तय गर्ने योजना तथा कार्यक्रमका साथै तातोपानी स्थित सर्वोदय मावि, हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा परिचालन गरिएको छ । कुण्डबाट हुने आम्दानीबाट कक्षा ११ र १२ सञ्चालन गरिएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो । हिमालय आधारभूत विद्यालयलाई पनि सहयोग गरिएको छ । कुण्डको सहयोगमा तातोपानी स्वास्थ्य चौकीमा एक जना प्राबिधिकको तलब व्यवस्थापन गरी प्रयोगशाला सञ्चालन भएको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक सय ३४ रुपैयाँ पाँच पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । साथै हिजो युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा रहेकामा आजका लागि भने खरिददर एक सय ४७ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २८ पैसा र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ छ पैसा र बिक्रीदर नौ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ एक पैसा र बिक्रीदर १९ रुपैयाँ नौ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ एक पैसा र बिक्रीदर चार रुपैयाँ तीन पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर १० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २४ पैसा र बिक्रीदर १७ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
हालैको बाढीबाट मधेस प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति रु १९ करोड ५० लाखभन्दा बढीको हो । सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले रु १२ करोड ८० लाख तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट रु नौ करोड ५० लाखको क्षति भएको छ । यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका खोलाको बाढीले रु नौ करोड २५ लाख, बारामा रु आठ करोड ५० लाख, सिरहामा रु सात करोड ९० लाख, महोत्तरीमा रु सात करोड ५० लाख र पर्सामा रु पाँच करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । बाढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले रु आठ करोड निकासा गरेको छ ।