काउन्सिलका नवनियुक्त सदस्यद्वारा पद तथा गोपनीयताको शपथ
काठमाडाैं | कात्तिक १४, २०८१

काठमाडौं: प्रेस काउन्सिल नेपालका नवनियुक्त बोर्ड सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण तथा पदबहाली गर्नुभएको छ ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नवनियुक्त सदस्यद्वय केशवशरण लामिछाने र विजयराज अधिकारी तथा नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष बाला अधिकारीलाई आज यहाँ आयोजित एक कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । काउन्सिलमा पत्रकार महासङ्घको अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।
यसैबीच अध्यक्ष बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गर्नुभएको छ ।
नयाँ खुलेका अनलाइन सञ्चारमाध्यमका सम्पादकका लागि आज काउन्सिलमा आयोजित अभिमुखीकरणमा उहाँले सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेष फैलाउने गरी गलत सूचना सम्प्रेषण गर्नेलाई काउन्सिलले कानुनी कारबाही गरिरहेको बताउनुभयो ।
अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिता उल्लङ्घन गर्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले जिम्मेवारीपूर्ण ढङ्गले पत्रकारिता गर्न सबैलाई आग्रह गर्नुभयो ।
“केही मिडियाबाट एकपक्षीय भनाइ, पूर्वाग्रही अभिव्यक्ति, सुनियोजित ढङ्गले तथ्यहीन आरोप लगाउने काम भइरहेका छन् । सामाजिक सद्भाव बिथोल्न सकिन्छ कि भनेर त्यसरी आइरहेका सामग्रीप्रति काउन्सिल सचेत छ र आवश्यक कानुनी कारबाही भइरहेको छ”, उहाँले भन्नुभयो ।
अध्यक्ष बस्नेतले डिजिटल दुनियाँमा हाल फस्टाइरहेका अनलाइन र युट्युब सञ्चार माध्यमहरू कुनै स्वार्थ समूहबाट प्रयोग हुनसक्ने अवस्थाबाट सधैँ सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
प्रेस काउन्सिलले दुई साताअघि मात्रै पत्रकारिताको आवरणमा गलत काम गर्ने ४३ वटा युट्युब माध्यमलाई कानुनी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाएको थियो । केही सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही बढाइरहेको छ ।
पत्रकार अभिमुखीकरणमा विषयगत विज्ञका रूपमा गोरखापत्र संस्थानका डिजिटल प्रमुख नारदमुनि गौतमले पत्रकार आचारसंहिता र सूचना विभागका निर्देशक एवं प्रवक्ता भरत गौतमले विभिन्न सञ्चार निर्देशिका र पत्रकारका जिम्मेवारीबारे सहजीकरण गर्नुभएको थियो ।
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित सिइसी काठमाडौंसँग पोखरा महानगर क्रिकेट क्लबले लज्जास्पद पराजय व्यहोरेको छ । पोखरा क्रिकेट खेल मैदानमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी दोस्रो केपी ओली कप ...
पोखरा: प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना गरेको छ । गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र उपभोक्ता वर्गलाई लक्षित गरी हब स्थाप...
म्याग्दी: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन भएको छ । मन्त्रालय अन्तरगतको सिँचाइ तथा जलस्रोत ...